Wednesday, December 10, 2008

शिर्षक चैं के राख्नेहोला ? : ब्लगसँगको मितेरीमा ३०० औं टाँसोपछिको कम्पन !

अपडेट : साँच्चै राखिसकेको शिर्षक नहटाई यो पोष्टको शिर्षक पनि थपेर हेर्न मन लाग्यो ।

कैलाश : तपाईंले त ब्लग सुरु गर्नुभएको निक्कै भएन र ?

म : निक्कै भन्दा पनि २००६ को जुलाई देखि हो ।

कैलाश : अनि तपाईंले ब्लगिङ्ग गर्दाको अनुभव समेटेर अहिले सम्म लेख्नुभएको छ कि छैन ?

म : छैन ।

कैलाश : लेख्नुस् न त , यौटा राम्रो विषय हुन्छ यो ।

म : अँ अब लेख्नु पर्ला । मेरो ब्लगमा ३०० वटा पोष्टहरु हुन लागेको छ । ठ्याक्कै ३०० औं पारेर लेख्नुपर्ला ।

कैलाश : ए ! अहिले कतिवटा छ ?

म : चारपाँच वटा बाँकि होला ३०० पुग्न ।

कैलाश : ए भनेपछि छिट्टै पढ्न पाईने रहेछ ।

खुत्रुक्कै यस्तै त हैन तर यस्तै वार्तालाप भएथ्यो केहिदिन अघि कैलाशजीसँग । त्यसदिन देखि म ३०० औं पोष्टको लागी ब्लगिङ्ग गर्दाको अनुभव भनेर के लेखौं कसरी लेखौं भनेर घरीघरी सोचिटोपल्न पनि थालेको थिएँ तर म आफुलाई त्यतिकै हुस्सु भन्दिँन क्या साँच्चैको हुस्सु छु म । कैलाशजीकै शब्द सापट लिएर भन्दा मैले त होस नै नराखी ३०० औं पोष्ट ठेलीसकेछु ब्लगमा ।


'ला ! बर्बादै भएछ नि ! ' भन्दै ड्यास बोर्डामा यताउति हेर्दैथिएँ - मैले त ब्लगिङ्गको अनुभव जस्तै दुईवटा पोष्टहरु पहिले नै लेखेको पनि रहेछु । यौटा मैले ब्लग किन सुरु गरेँ ? भनेर २००७ को जनवरी १० मा लेखेको रहेछु भने अर्को चैं ब्लगिङ्गको एक वर्ष भनेर २००७ को जुलाई ३ मा । तब पो याद आयो मैले ब्लगमा दुई वर्ष पुरा गर्दा भनेर २००८ को जुलाई ३ मा पनि लेख्ने योजना बनाएको थिएँ तर त्यो बेला म हवाईबाट अलास्का आउने ध्याउन्नमा हुँदा बिर्षेको थिएँ । यो सब त विर्षें रे ल तर कैलाशजीले ब्लग गर्दाको अनुभवहरुको बारेमा लेख्नुभएको छ कि छैन भन्दा पनि पो थपक्कन छैन भन्दिएछु - बिर्षेरै त होला नि ।


जे होस् कैलाशजीलाई धन्यवाद भन्दै आज तिन सय औं न सहि तिन सय औं एक पोष्टमा ब्लगिङ्गका अनुभवहरु बारे लेख्न बसेको छु । बसेको त छु तर लेख्ने के त ? भन्ने चैं एकखाले प्रश्न ठडिएकै छ मेरो अगाडी । अलिकति नाटकिय ढँगले ( प्रस्तुतिलाई मात्रै ) आफैंले आफ्नो अन्तर्वार्ता लिए झैं पारेर स्वन्तरवार्ता शिर्षक राखेर लेख्नुपर्यो भनेर ठिक परिसकेको पनि थिएँ तर आफ्नै चित्त बुझाउन सकिनँ र 'आ ! जे त पर्ला ' भनेर यसरी नै अघि बढेको हुँ ।

माथी उल्लेख गरेका दुई पोष्टहरु मैले ब्लग किन सुरु गरेँ ?ब्लगिङ्गको एक वर्षमा नै पनि मैले अहिले भन्नुपर्ने खालका केहिकुराहरु त भनिसकेकै रहेछु र पनि थप्नुपर्दा ब्लगिङ्गले मलाई सबैभन्दा धेरै आत्मियता दिएको छ साथीभाईहरुको । कोही कहाँ कोहि कहाँ हुँदा पनि यहि ब्लगले हामीलाई कोही लसुन , कोही प्याज , कोहि चम्सुर , कोहि पालुङ्ग भएपनि यौटै करेसोबारीमा रहेझैं बनाईदिएको छ । त्यसो त आत्मियताको घेरो भित्र रहनुभएका कुनै पनि ब्लगर मित्रहरुसँग मेरो भेटघाट भएको छैन प्राय हामीहरुकै ( सबैजसोकै ) नभएको हुनसक्छ र पनि कोहि अपरिचित झैं महसुस हुँदैन । ब्लगरहरुसँगको भेटघाटकै कुरा गर्दा मैले अहिले सम्म भेटेको यौटै ब्लगर क्यालिफोर्निया जेफ ढुँगाना हुन । उनले चलाउने ब्लग यहाँ छ । झण्डै दुई वर्ष अगाडी जेफसँग मेरो कोलोराडोको डुराङ्गोमा बस्दा भेट भएको थियो । आजभोली त म उनको ब्लगमा छिर्न पनि छाडिसकेछु । उनिचाँही California to Patagonia: A Cycling Expedition मै ब्यस्त रहेछन् । Let the world change you... and you can change the world भन्ने उनको नारा मलाई पनि मनपर्छ ।


साथीभाईको न्यानो आत्मियता झैं ब्लगिङ्गले मलाई दिएको अर्को महत्वपुर्ण कुरा भनेको संतुष्टी हो । आफ्ना रचनाहरु ब्लगमा राखेर त्यसमाथी प्राप्त प्रतिक्रिया र सुझावले साँच्चै मिठो आनन्द प्रदान गर्छ मलाई । पहिले नै उल्लेख गरेझैं ब्लग सुरु गरेदेखि मैले ब्लगको कारणले गुमाएको केहि छैन भने पाएको आत्मियता र सँतुष्टी भने आफुले हिसाब गर्न सक्ने भन्दा धेरै छ ।

यो तीन सय औं एक पोष्टमा आजसम्म ब्लग गर्दाका अनुभवहरु लेख्ने जमर्को गरेपनि अनुभव गरेका कुराहरु खासै केहि लेख्न सकिनँ सायद त्यती धेरै उल्लेखनिय अनुभव बटुल्न नसकेको पनि होला त्यसैले यो पोष्ट ३०१ पोष्ट भएको धक्कु जस्तो मात्रै पनि भयो होला - त्यस्तो भएको भए क्षमा चाहन्छु र यो गन्थनको पुछारमा आईपुगेर टुँग्याउन लाग्दा पनि यसको शिर्षक चैं के राख्नेहोला ? भै'राखेको छ । अस्तु ।

8 comments:

आकार said...

मैले भन्नुपर्ने अनि मलाई लागेको कुराहरु पनि माथि नै रहेछन् ।
"कुनै पनि ब्लगर मित्रहरुसँग मेरो भेटघाट भएको छैन प्राय हामीहरुकै ( सबैजसोकै ) नभएको हुनसक्छ र पनि कोहि अपरिचित झैं महसुस हुँदैन ।"

त्यस्तै:"साथीभाईको न्यानो आत्मियता झैं ब्लगिङ्गले मलाई दिएको अर्को महत्वपुर्ण कुरा भनेको संतुष्टी हो । आफ्ना रचनाहरु ब्लगमा राखेर त्यसमाथी प्राप्त प्रतिक्रिया र सुझावले साँच्चै मिठो आनन्द प्रदान गर्छ मलाई । पहिले नै उल्लेख गरेझैं ब्लग सुरु गरेदेखि मैले ब्लगको कारणले गुमाएको केहि छैन भने पाएको आत्मियता र सँतुष्टी भने आफुले हिसाब गर्न सक्ने भन्दा धेरै छ ।"

अनि लागेको कुरा लेख्न सकिएन भन्नुभएको छ, यो धेरै हदसम्म मेरो केस मा पनि लागू हुन्छ । मनमा चाँहि यो लेख्छु र त्यो लेख्छु जस्तो लाग्छ तर लेख्न थालेपछि भने "मन को कुरो मन मै रह्‍यो" भने झैँ हुन्छ ।

ब्लगिङ मा निरन्तर रहनुहोस्, शुभकामना छ !

Dilip Acharya said...

सर्ब प्रथम त ब्लगलाई निरन्तरता दिंदै ३०० पोष्ट नघाउनु भएकोमा बधाई र शुभकामना ।

यहि बहानामा तपाईका केहि पुराना टाँसोहरु पनि पढने मौका जुर्‍यो ।

यो टाँसोको शिर्षक चाहि "ब्लगको मितेरी" भन्दा कस्तो होला?

कैलाश said...

हिजैदेखि तपाईको यो टाँसोमा प्रतिक्रिया ठेल्ने जमर्को गरेको यो चौथो पटक हो। हिजो चाहि लोड सेडिङले ठेल्दा ठेल्दै मेरो कर्म खेर गो। आजचाहि नेटले धोका दिएरै दुःख पाए। यस्तो लेखौला उस्तो लेखौला भन्दै भित्र छिर्दै बीचैमा हराउदै गर्दाखेरी त मनमा लागेका कुरा जति छरपष्ट भएर कता बिलाए कता। अनि यो नयाँ प्रतिक्रिया पो जन्मियो दीपकजी।

जे होस्, तपाईले ३०० औँ अंकभन्दा एक कदम अगाडि बढेरै ब्लगिङको बारेमा धेरथोर ठेल्नु। खुशी लाग्यो। तपाईलाई बधाई छ । यसैगरी निरन्तरता दिनुहुनेछ भन्ने कुरामा म विश्वस्त। आकारजीले दिनुभएको कमेन्टमा मेरो पनि सहमति छ । अरु त खै मैले पनि बेकारको गन्थनले मात्रै ठाउँ भराएछु। फुरेपछि अरु थप प्रसंगको कुरा ठेल्छु है त।

ए अँ त तपाई मलाई भन्नुहुन्थ्यो बारम्बार मेरो भुल्ने बानी छ भनेर । हो रछ भन्ने माने मैले। किनकी तपाईले पहिल्यै नै लेखीसकेको कुरालाई छैन भनेर भन्नुभएको थियो। खैर यो दुनियाँदारीको चक्करमा कुनै कुनै कुरा भुल्नु नौलो कुरा पनि हैन।

cheers!!!

जोतारे धाइबा said...

र्सवप्रथम त ब्लगिङको दुई वर्षन्दा बढी अवधिको सफल एवम् प्रभावकारी सफरको लागि बधाई ! र आगामी दिनमा पनि यो भन्दा बढी लाभ र तृप्तिको योग यहाँले पाउनुहोस् भन्नेमा शुभेच्छा मेरो र Cafe मङ्गलम्‌को तर्फबाट । जुलाईदेखिको त्यो यात्राले तपाईँ आफ्नो त भलाइ गरेकै छ, पाठक-मित्रले पनि यतिन्जेलमा मन मिठ्याउने र दिमाग तताउने खुराक पाएकै छन् । यो दुवै तुलोको लाभान्वित पक्ष भयो । ब्लगिङ कुनै नौलो कामभन्दा पनि लेखन र अभिव्यक्तिकै विस्तारित माध्यम हो, अर्थात् लेखन र भाव सम्प्रेषणअनतर्गतकै आनन्दको स्रोत । ब्लगिङबारे पुराना कुरा मैले त पढेकै रहेनछु । तपाईँका कुरा थप जान्न पाइयो ।
अनि साँच्ची यो पोष्टको शीर्षक के राख्ने भनेर आफैँमा अनकनाउँदै हामी पाठकलाई पो बडो धर्मसङ्कटमा पारिदिनुभयो ! र पनि पढिसक्दा दिमागले खुट्याएको एउटा तीर त सोझ्याउन मनै लाग्यो । मैले विचार गर्दा '३०० पछिको धक्का' राख्दा कसो होला ? यसलाई चुनौतीको अर्थमा भन्न खोजेको मैले । पोष्ट ३०० र अबको मोड । हुन त तपाईँ-हामी सीदा-सादा जीवलाई 'धक्का' र 'धक्कु' अलि नसुहाउँदो कुरा होला ! र पनि अक्षरको खेतीमा रहस्य र रौनक जगाउनु त धर्म नै हुनजान्छ ।

Luna said...

दिपक जि !
३०० पोस्ट पुरा गर्नु भएकोमा बधाई छ अनी निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।
आज तपाईं सँग मलाई खुब गफ गर्न मन लागेको छ । लुना त हो , मौका पाए पछी कहाँ छोड्छे र ! हे! हे!
अब गफ के भने नि तपाईं लाई धर्म संकट मा पारु कि नपारु भन्ने बिषय मा नि !
बिचरा डर लागिसक्यो होला है :)
भो ! भो ! त्यस्तारी ड राउनु पर्दैन क्या !
कुरा के भने नि त्यो तपाईंको यो सिर्शक राख्ने बिषय मा नि !
अब तपाईंले भन्नु भो ले राख्ने होला सिर्शक ! अनी कता कता जिम्मा त हामी लाई दिनु भए जस्तो ! कत्ती बाठो मान्छे ! तर थाहा छ तपाईं लाटो म्जान्छे - मान्छे !
किन भन्नुस् न ? लौ सुन्नुस् -अब हामीलाई जिम्मा दिनु भए पछी हामी मध्य को को बाट छानेर लिने तपाईंले ?
मैले खुब समय लगाएर सोचुला , अनी तपाईंले मन पराइदिनु भएन भने कता कता मेरो मन खिन्न हुँदैन ? त्यस्तै अर्को साथीले समय लगाइ लगाइ सोच्नु होला - त्यस्तै अर्को साथीले ! अनी तपाईंले कस्को चाँही रोज्ने ?
माया त तपाईं सबैलाई ब रा बारी गर्नु हुदो हो --- भएन फसाद !
त्यसैले भन्या नि दिपक जि तपाईं लाई धर्म संकट मा पारु कि नपारु भनेर नि ! :)
भो ! पार्दिन धर्म संकट मा । के गर्ने मेरो पनि मनै हो । नत्र त बुझ्नु भो सिर्शक त कती लेखी दिन्थे कती ! हे! हे! हे! हे! ( जोक है , त्यस्तो खुबी कहाँ छ र त्यती बिघ्न )
म पनि क म् बाठी छु र भन्या ! कती मजाले उम्के है । :)
तपाईं आँफै भन्नुस् न ? यस्तो अप्ठ्यारो काम पनि दिने भन्या !
त्यसैले भन्या नि आज तपाईं सँग गफ गर्छु भनेर ! गरिन त गफ ? :)
फेरी पनि ,
हिर्दय देखी नै शुभ कामना है निरन्तरताको ।

दीपक जडित said...

हार्दिक धन्यवाद सबैलाई । यहाँ हरुकै शुभकामनाले म ब्लगिङ्गमा निरन्तर रहिरहनेछु भन्ने विश्वासाउन पलाएको छ । साथै शिर्षक जुराउन सहयोग गरिदिनुभएकोमा थप धन्यवाद दिलीपजी र धाईवाजीलाई । 'ब्लगसँगको मितेरीमा ३०० औं टाँसोपछिको कम्पन !' यसो गरेँ है त ।

देख्नुभो त लुनाजी साँच्चै लाटो त म पनि कहाँ छु र ? अनि कैलाशजी भुल्न चैं साँच्चै भुल्छु है म नत्र कस्लाई मन लाग्ला र म हुस्सु भन्न ।

बिमल गिरी said...

Deepak jee,
300post pura garnu bhayekoma mangalamaya shubhakamana.

बेदनाथ पुलामी ( उमेश ) said...

म त झन्नै छुटेछु - ३ दिन भो ब्लग मा छिर्न नपाएको । त्यसमा पनी तपाईको एस्तो विशेष पोस्ट हेर्न को लागी । कामै काम ले गर्दा ।- तपाईको कुरा र साथिहरुको कमेन्ट हेरे मलाइपनि खूब मज्जा लाग्यो । साच्चैनै मित्रहरुको आत्मीयता र आत्मा संतुष्टि -ब्लगबाट पाइने भिटामिन रहेछ ।

तपाईको रफ्तार र मिठास सधै यस्तै रहिराहोस । हिर्दय देखी नै शुभ कामना6 निरन्तरताको ।