Tuesday, July 03, 2007

ब्लगिङ्गको एकबर्ष ।

'ब्लगर बन्ने रहर कसरी पलायो मनमा ?'

'खै थाहा छैन मैले पहिले नै कतै भने जस्तो लाग्छ आफ्ना रचनाहरुलाई एकत्र गर्ने उध्येश्यले ब्लगर बनें सायद ।'

हैन यो समय किन यस्तरी छिट्टो बित्छ ? अस्तिकोदिन देखि ब्लग शुरुगरे जस्तो लाग्छ आज एक बर्ष भै सकेछ । मैले एकबर्षको ब्लगिङ्गको अनुभव उत्पातै लेख्ने गरी केहि बटुलेको छैन । मेरो ब्लगमा पाठकको कमि भएर पनि त्यसो भयो होला सायद । यो कुरा पनि मैले पहिले नै कतै ब्लगमै स्विकारेको छु कि म आफ्नै सन्तुष्टीको लागी बनेको ब्लगर हुं र धेरै पाठकको अपेक्षा पनि गरेको थिईनं त्यसो त म मा धेरै पाठकलाई लोभ्याउने क्षमता नै पनि के छ र ?
ब्लगर बनेर बनाएका दुई चारसाथीहरु भने यति प्रगाढ भएका छन कि मानौं हामीले साथी बन्ने आजिवनको सक्रिय सदस्यता लिएका छौं त्यसपछि आफ्नो सन्तुष्टी त छंदैछ समग्रमा ब्लगले मलाई केहि क्षति पुर्याएको छैन बल्कि थोरै नै भएपनि फाईदा दिएको छ ।

रहर जहाँबाट पलाएको होस - मैले ब्लगर भएर ब्लगरको धर्म पुरा गरेको छु त ? आफैंले आफैलाई सोध्दा म संग यो प्रश्नको जवाफ छैन । समय पाउञ्जेल सम्म मैले केहि न केहि लेख्ने कोसिस गरेको छु । हुन सक्छ कतिपय अवस्थाहरुमा म असफल ब्लगर भएंहोला तर म आफुलाई त्यसो भन्दिनं । ब्लगलाई ब्यावशाय नै बनाउने मेरो पाईंन छैन । केवल मन बिसाउने देउराली भएको छ मेरो ब्लग मेरो लागी । म थाकेको बेला सुस्केरा फेर्छु , खुसी भएको बेला गीत गाउंछु ईत्यादी ईत्यादी जे होस समयलाई सदुपयोग गरेको बहानामा म आयु घटाएको लेखो राख्छु ।

हिजोआज म संग समयको अवाभ छ । लेख्न मनलागेका कुराहरु पनि लेख्न सकिरहेको छैन । बसाईं सराईको कारणले गर्दा समय निकाल्न सकिरहेको छैन । नयाँ ठाउंमा स्थान जमाउने र जीवन यापनको नियमित क्रम शुरु गर्ने अल्झोमा फंसेर त्यसै अल्मलिईरहेको छु । आशा छ अब एकाध साता भित्र नयाँ क्रमले जीवन चल्नेछ र आफ्नो ब्यक्तिगत कुराहरुको लागी थप समय निकाल्न सक्ने छु ।

बर्षदिन पार गर्दा अहिले यो समेत गरेर मैले १८४ वटा पोष्टहरु राखेको रहेछु । म आफैंलाई यो क्रमलाई निरन्तरता दिईनै रहने बचन दिन चाहन्छु ।

No comments: