Wednesday, July 11, 2007

लास भेगास : मृगतृष्णा र वास्तविकता ।

त अप्रिल ५ तिर डुराङ्गो छोड्दा मैले एक महिना जति घुमेर फेरी डुराङ्गोमै फर्कने योजना बनाएको थिएं तर समयले के गराउन चाहेको छ मलाई कहाँ थाहा थियो र ? त्यसबेला भेटघाटको क्रममा म म डेन्भर गएको थिएं । डुराङ्गो जानुभन्दा पहिले म झण्डै ३ बर्ष जति डेन्भरमै बसेको हुनाले मलाई अन्यत्रै घुम्न जाने रहर थियो त्यसैले डेन्भरबाट फर्किएर म घुम्नकै लागी म नेभाडा राज्यको लास भेगास गएं । त्यहाँ रहनुहुने केहि साथीहरु संग बस्ने प्रबन्ध भएकोले पनि म लास भेगास गएको थिएं । लास भेगासमा जाने र फर्किने क्रम लगातार ३ पटक भयो यो पाली । यो भन्दा पहिले म २००५ तिर एक पटक गएको थिएं । त्यसबेला लास भेगासमा त्यहाँको प्रसिद्द पाँचतारे होटल भिनिसियनमा बसेर लास भेगास घुम्दा देवताका राजा ईन्द्र बस्ने सहर अमरावतीनै पुगेको भान भएको थियो । बत्ति नै बत्तिको सहर भनेर संसारमा प्रसिद्द सहर लास भेगास लाई चन्द्रमाबाट पनि देखिन्छ भनिन्छ तर यो कुरामा कति सत्यता छ भन्न सकिन्न । मैले कुनै प्रकारको प्रमाणिक आधार भेटेको पनि छैन ।

साँझदेखि रात अबेर सम्म देवताका राजा ईन्द्रकै अफ्सरा उर्वशी , रम्भा , तिलोत्तमाहरु झैं अनेक हाव भाव र कटाक्षले युक्त सुन्दरीहरु हातमा मदिरा लिएर अर्धनग्न बस्त्र पहिरिएर चहलपहल गरिरहेको देख्दा भानुभक्तले कान्तिपुर नगरलाई अमरावतीको संज्ञा दिंदै

चपला अवलाहरु एक सुरमा
गुनकेशरीको फूल ली शिरमा
हिंड्न्या सखीलिकन वरिपरी
अमरावती कान्तिपुरी नगरी ।
भनेर श्लोक रचना गरे समान भावमा द्रबिभुत भएको थिएं म तर तत्काल मैले कुनै कविता रचना भने गरिंन । भानुभक्त यदि मेरो ठाउँमा हुन्थे भने यसरी अर्को श्लोक रचना गर्थे होलान र गुनकेशरीको ठाउँमा मदिराको बयान हुन्थ्यो होला ।

झिकेछन शिरबाट कठै ! गुनकेशरी
लिई हातमा मदिरा अहो ! सुनकेशरी
हिंडन्याछन जोडीलीकन उचालेर उर
भेगास हो धर्तीकै अमरावती पुर ।


लास भेगास बस्ने क्रममा म क्यालिफोर्निया राज्यको लस एञ्जलस पनि पुगें । ए एन ए अर्थात एसोसिएशन अफ नेपलीज इन अमेरिकाको २५ औं बार्षिक भेलाको अवशर पारेर त्यहाँ गएको बेला नेपालबाट आउनुहुने कलाकारहरु न्यु बज्राचार्य , दीपक बज्राचार्य , सञ्जय श्रेष्ठ लगाएत चर्चित गीतकार तथा कवि नवराज लम्साल समेतलाई भेट्ने अवसर मिल्यो । लास भेगास रहंदाका रमाईला पक्षहरु निक्कै भएपनि त्यहाँ बस्न खोज्ने मेरो ईच्छा अन्तत मृग मारिचिका साबित भयो । बत्तिको रमझम जतिनै भएपनि एक सय सत्र डिग्री फरेनहाईट सम्म तापक्रम पुग्ने यो सहरमा म जति बस्दै गएं यो सहर प्रतिको मेरो मोह उति नै भंग हुँदै गयो । बिहान आठबजेको तापक्रम मैले झापामा अनुभव गरेको प्रचण्ड गर्मी बराबर हुन्छ भने रात २ बजे सम्म वातावरण सेलाईसकेको हुंदैन । यति बिघ्न गर्मी हुँदा पनि यो सहरमा मान्छे थपिने क्रम बढ्दो छ । पर्यटकिय उध्येश्यले मात्र नभएर यहाँ बस्नको लागी पनि बिगत केहि बर्षदेखि मान्छेहरु थपिने क्रम दोब्बर तेब्बर हुंदै गै रहेको छ । मेरो हकमा भने उपयुक्त काम नपाएकोले साथै अत्याधिक गर्मी भएकोले पनि यो सहर उपयुक्त भएन ।

आदीकाल देखि नै मानिसले बसोबास गर्दा कुनै नदी ताल आदीको किनारमा वा बातावरणिय हिसाबमा अनुकुल रहुञ्जेल सम्मको स्थानमा गएर मात्र बसोबास गर्ने तथ्यलाई चुनौती दिंदै सम्पन्नताकै धाकमा अमेरिकाले विकराल मरुभुमीमा जबर्जस्ती बसाएको सहर हो लास भेगास । यहाँ मानिसहरुको अथक मेहनतले नपाले / नहुर्काए सम्म मानिसहरु बाहेक अन्य कुनै बनस्पती या जीव जन्तु बस्न हुर्कन सक्दैन त्यसो त मानिसहरुको आडमा केहि पंक्षीहरु र जीब जनावारहरु नभएको त हैन । आधुनिक सुबिधा युक्त मोटरमा बसेर एयर कन्डिसन खोलेर यो सहर घुम्दा पट्टकै लाग्दैन कि यो कुनै मरुभुमी हो तर यथार्थ के हो भने पुर्वकालमा पुर्वीसमुन्द्र किनारा नजिक बस्ने मानिसहरुको लागी यो सहर भएकै स्थानमा फैलिएको अत्यन्तै बिकराल मायबु मरुभुमी पार गर्न कल्पना बाहिरको कुरा थियो । त्यो समय अमेरिकामा आजको जस्तो मोटरबाटो ईत्यादीको संजाल बिकशित भैसकेको थिएन त्यसैले भनिन्छ अमेरिकाको पश्चिमी समुन्द्र तटमा मानिसहरु निक्कै पछिमात्र पुगेका थिए र क्यालिफोर्निया राज्यमा निक्कै पछि मात्र बसोबास शुरु भएको थियो ।

हरेक क्षेत्रमा प्रक्रितीलाई मानिसले चुनौती दिईरहेको आजको परिप्रेक्ष्यमा लास भेगास सहर बसाउनु त्यसो त ठुलो कुरा पनि रहेन । यो सहरले प्रत्येक दिन लाखौं मानिसहरुलाई आफुतिर बत्तिले पुतलीलाई आकर्षित गरिरहे झैं तानिरहेको हुन्छ । जुवा , मदिरा र वेश्याको लागी यो सहर प्रसिद्द भए पनि वेश्याव्रित्ती यहाँ गैह्रकानुनी मानिन्छ । जुवाको हकमा पनि यो सहर मकाउ पछि विश्वकै ठुलो अखडा मानिन्छ र विश्वास गरिन्छ कि आउंदा केहि बर्षमै यो सहरले जुवामा मकाउलाई पनि उछिन्ने छ । बाहिरी मुलुकबाट घुम्न आउनेहरुको लागी साथै अमेरिकाकै अन्य भागहरुबाट घुम्न आउनेहरुको लागी पनि यो यौटा घुम्नै पर्ने हेर्नै पर्ने स्वप्नलोक हुन सक्छ । मैले चाहिँ यो सहरमा बस्ने संभावनाको खोजीक्रममा अनुभव गरेको मृगतृष्णा र वास्तविकतालाई मनन गरेर यो सानो अनुभव साट्ने प्रयास गरेको हुँ । अन्तत यो पंत्तीहरु लेखिरहंदा म बत्तीहरुको सहर लास भेगास छाडेर कोलोराडोको माईल हाई या नि की समुन्द्री सतह भन्दा एक माईल उचाईमा अवस्थित डेन्भर सहरमा आईपुगेको छु ।

नोट : यो ब्लग लेखिरहंदा मैले युनिकोडमा केहि शब्दहरु शुद्ध लेख्न कठिनाई महशुस गरेको छु । अनेक प्रयास गर्दा पनि मैले शुद्ध गरेर प्रक्रिती , क्रिपा , प्रिथ्वी , प्रक्रिया ईत्यादी शब्दहरु लेख्न सकिंन । तपाईँलाई यदि उपरोक्त शब्दहरु शुद्ध लेख्न आउंछ भने क्रिपा ( फेरी अशुद्ध ) गरेर मलाई सिकाईदिनु होला ।

No comments: