Sunday, December 07, 2008

म हाँसेको कुरा - भाग ३

खासमा स्मरण योग्य र तपाईंहरुलाई सुनाउन मन लागेका आफ्ना संस्मरणहरुका खातबाट रमाईला रमाईला कुराहरु छानेर म हाँसेको कुरा भन्दै पहिले भाग एक दुई टक्र्याईसकेको हुँ र त्यसैको भाग तिन जोड्ने प्रयासमा छु यसपाली । हँसाउने सवालमै चैं उस्तो सफल नहुन सक्छन् यि कुरा त्यसैले अहिले नै हँसाई अलि कम पनि हुन सक्छ है भनेर जनाउ पनि लेख्दैछु यहाँ । आउनुस् कुरा शुरु गरौं नाच हिँडाउंदाको यौटा रमाईलो प्रसंगबाट -

थपिनी आमैले नाच हेरेको

लोड सेडिङका कुरा अर्कै हुन् , गाउँमा बत्ति जाने भनिन्छ , तर गाउँ यतिबेला बिजुलीका खम्बा ठडिएर र बाँस झ्याङ होस या धानबारी जतासुकैबाट घरसम्म बिजुलीका तार जोडिएर मात्रै पनि उल्कै झिलिमिली भएको छ । बल्नु नबल्नु त भाग्यको कुरा हो बिजुली चैं घरघरै आ'को छ यतिबेला भनेर महिना मर्ने बित्तिकै कति रात अँध्यारोमा अलपत्र पार्दै बलेन हैन कति पैसा आउने भयो यो घरबाट भनेर मिटर रिडर दाई टुप्लुक्क आईपुग्दा सबैलाई हेक्का हुन्छ ।

गाउँका मान्छेले यतिबेला धन्यधन्य नै सम्झनुपर्छ आफुलाई पुरै महिनामा राती त सबैलाई सुत्नै पर्यो दिउँसो दिउँसो गरेर टाकनटुकुन दश पन्ध्रदिन बिजुलीबत्ति बालेको पैसा टक्र्याउँनलाई पनि एकदिनको दिनभरीको काम माया मारेर बिजुलीबत्तिको अफिस भए ठाउँतिर पुग्नुपर्छ । एकदिन दिनभरी घुम्न पाईने क्या मज्जा !! उ बेला त्यस्तो भाग्य कहाँ थियो र ? बिजुलीका खम्बा नभएर गाउँ नै अँध्यारो थियो । बिहेकार्जे , उत्सव ईत्यादीमा पनि लालटिन र ल्यामपोस् नत्र भने टुकी आदीकै भर हुन्थ्यो । यो लालटिन भन्दा अहिले सम्झना भयो कोहीकोही भन्थे लालटिनलाई त बालटिन भन्नु पर्ने भनेर अनि बाल्टिनलाई हालटिन भन्नुपर्ने भनेर । हुनपनि हो बाल्नेलाई लालटिन हाल्नेलाई बाल्टिन भन्ने कुरा र चिल्ने ( टोक्ने ) लाई उडुस र उड्नेलाई चिल भन्ने कुरा अनौठै छ ।

कुरा अध्याँरोको उठाउंदै थिएँ म । त्यो बेला अँध्यारोले केहिपनि छेकेको चैं थिएन बिहेकार्य पनि राती नै हुन्थ्यो धेरजस्तो । हामी कात्तिके अँध्यारोमा पनि नाना भाँति उज्यालो बालेर तिहारमा देउशी नाच हिँडाउथ्यौं । त्यस्तै एकपल्ट अलि सानो सानो खालको नाच हिँडाएका थियौं । ईज्जत गरेर त्यसबेला गाउँलेले हाम्रो त्यो नाचलाई टुहुरे नाच भन्दिन्थे । अभिवावक भन्न लायक कुनै ब्याक्तिपनि नाचमा समावेश नभएकोले होला नि त्यसो भनेको । भन्नेले त के भन्दैनन् र तर हामी छोड्दैन पनि थियौं । त्यसरी नै दुईचार लालटिनको सहारामा नाच हिँडाउँदै हामी थापाको घरमा पुगेका थियौं । कति गीतमा हामीले गाएर थोत्रे मादल , गिटार बजाएर नचाउँथ्यौ त कति नाच क्यासेट प्लेयरमा गीत बजाएर ठिकठिकैको साउण्डबक्सबाट वरपर थर्किने गरेर पनि देखाउंथ्यौ ।

त्यतिबेला थापाको घरमा ' आमैले भन्थिन धाराको पानी........ ' भन्ने गीत क्यासेट प्लेयरमा बजाई कुनै साथी तरर तरर तरर भन्दै नाच्दैथियो । उता थपिनी आमै हातमा टुकी लिएर नाच हेर्न बरण्डामा निस्किईन् । उनले टाउकोमा सरदार ( पञ्जाबी ) ले झैं निक्कै ठुलो फेटा गुँथेकि थिईन् सायद आमै सेलरोटी पोल्दै थिईन् अँगेनोमा । त्यो अँध्यारोमा माथी बरण्डाबाट तल आँगनमा हेर्दा केहि देखिनन् क्यार आमैले त्यसैले हातले समातेको टुकीलाई यसो पछाडी तिर पारेर हेर्न लागिछन् तर हातको टुकीभने रोटी पोल्दा अँगेनोको रापले खरिएको आमैको टाउकोको फेटातिर पुगेछ र आमैको टाउकोको फेटा हुरुरु बल्न शुरु भएछ । आमै भने आफ्नै टाउकोमा आगोलागेको पत्तो नपाएर नाचहेर्न मस्त । नाचटोलीकै हामी मध्ये कसैले देखेर टाउको बल्यो !! टाउको बल्यो !! भनेर कराएपछि पो आमैले टाउकोको फेटा र हातको टुकी एकै झट्कामा तल नाच देखाउँदै हामी बसेतिर मिल्काईदिईन् । टुकीको मट्टीतेलसँगै फेटा अझ ठुलो दन्किएर बल्दै हामीतिर झर्यो तर हामी लाई केहि भएन उता माथी आमैको टाउकोबाट बरण्डाको बिममा झुण्ड्याएर राखेको मकैको झुत्तामा समेत आगोले समातेछ । हामी दौडेर गएर बल्दै गरेका मकैका झुत्ता निकालेर आँगन तिरै फ्याँक्यौं । प्रायजसो फुस ( खर / पराल ) का घर हुने गाउँमा ति आमैको घरमा जस्ताको छानो थियो र मात्रै नत्र त्यो दिन अनर्थै हुनेथियो । यता आमैको भने अलिकति कपाल डढ्न पनि भ्याएछ ।

त्यत्रो काण्ड मच्चिएर पनि त्यो घरबाट सिदा ( दक्षिणा ) थापेर विदा भै फर्कंदा ' ति आमैलाई आज हामीले जोगाएर अलि धेरै पैसा दिईछन् नत्र कम्ति लोभी थिईनन् ' भन्दैथियौं हामी । अहिले सम्झन्छु बुद्धि त त्यो गतिको थियो अनि के नभनुन् त टुहुरे नाच हाम्रो नाचलाई ?

सर्प गन्हाएको

भदौको बेला हुनुपर्छ । पानी नपरेको भएपनि धर्ती ओसिलो थियो । खोलामा बाढी घटिसकेको थियो । गाउँभरी प्रायजसो सबैले मैजारो ( रोपाईं को विधिवत समाप्ती ) गरिसकेका थिए । त्यसबेला गाउँलेलाई साह्रै आनन्द हुन्छ । कामको चटारो हुँदैन त्यसमाथी आउँदै गरेको चाड ( दशैं ) को घनघोर प्रतिक्षा ।
हामी ठिटौलेलाई पनि फुर्सद टन्नै हुने । बरालिएको छ , यता र उति लखरलखर डुलेको छ अनि घर गएर भात हसुर्न पाएकै छ । अरु के चाहियो ? त्यो फुर्सद हामी सँधै दिउँसोको तिनबजे देखि खोलाको बगरमा गएर भकुण्डो खेलेर उपयोग गर्थ्यौं र तिनबजे शुरुहुने भकुण्डो खेलको लागी हामी आ आफ्नो फुर्सद अनुशार दिउँसो एक दुई बजे देखि नै खोलाको डिलमा भएका रुखका सिँयालतिर भेला हुँदै गर्थ्यौं । एकदिन म , सेखरदाई ( मेरो फुपुको छोरा ) र अर्को एकजना साथी कुले - नाम त कुल हो क्यारे हामी धक नमानी एकलखे थपेर कुले भन्थ्यौं , त्यस्तै दुईबजे तिर खोलाको डिलतिर जाँदैथियौं । खेतको आली आली हिंड्दै जाँदा खेतकै आलीमा भएको यौटा सानो सानो रुखको फेदमा हामीले यौटा सर्प लम्पसार परेको देख्यौं । बर्षामास हाम्रोतिर बिषालु गोमन सर्प पनि बग्रेल्तै निस्कन्छन् तर त्यो भने ढोडिया थियो । पानीमा पनि बस्ने त्यो ढोडिया जातको सर्पसँग हामी त के ढोडिया हो भनेर चिनेभने आईमाई केटाकेटी पनि डराउँदैनन् । ( यहाँ आईमाईहरु चैं डरपोक नै हुन्छन् भन्न खोजेको हैन है । गाउँघरतिर तुलनात्मक रुपमा आईमाई हरुनै अलि डराउने थाहा पाएको आधारमा भनेको ) ।

त्यो सर्प देख्दा ढोडिया नै भएपनि पहिले त हामी सजग भएका थियौं तर पछि त्यो सर्प माथी घिउ कमिला चढिरहेको देखेपछि सेखर दाईले भन्नुभयो , ' ए यो सर्प त मरेको रहेछ । '

' हो त । कस्ले मारेर यहाँ छोडेछ ? अझै पनि खाल्डो खनेर गाड्न सक्दैनन् यौटा सर्प , पछि यस्को काँढा बिझ्छ अनि थाहा पाउँछन् ? ' मैले थपेँ ।

' छि ! यो त गन्हाएछ पनि । यस्लाई त गाडिदिनै पर्छ । ' नाक छोप्दै कुलेले भन्यो । नभन्दै कुलेले नाक छोपेपछि हामीलाई पनि गन्हायो । कुलेले सर्प कतै लगेर गाड्नलाई रुखको सुकेको हाँगाको लठ्ठी लिएर उठाउन गयो । जसै उसले सर्पको शरिरको बिचभागमा लठ्ठी घुसारेर उठाउन खोजेको थियो सर्प त निन्द्राबाट अत्तालिएर बिउँझेझैं बटारिएर सलल कुदयो । बिष रहित ढोडिया सर्प भएकोले हामीले खेदीखेदी मार्नुपर्ने आवश्यकता देखेनौं तर मरुञ्जेल हाँस उठ्यो हामीलाई त्यो मरेको ठानेको सर्प गन्हाएकोमा ।

5 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

राम्रै लाग्यो अझ यी हरफ हरु झन गजब का लागे _ "ओहीकोही भन्थे लालटिनलाई त बालटिन भन्नु पर्ने भनेर अनि बाल्टिनलाई हालटिन भन्नुपर्ने भनेर । हुनपनि हो बाल्नेलाई लालटिन हाल्नेलाई बाल्टिन भन्ने कुरा र चिल्ने ( टोक्ने ) लाई उडुस र उड्नेलाई चिल भन्ने कुरा अनौठै छ ।"

हामी पनी त्यस्तै थियौ नि ! तिहार मा त -तपाइले भने जस्तै -" कति गीतमा हामीले गाएर थोत्रे मादल , गिटार बजाएर नचाउँथ्यौ त कति नाच क्यासेट प्लेयरमा गीत बजाएर ठिकठिकैको साउण्डबक्सबाट वरपर थर्किने गरेर पनि देखाउंथ्यौ । "

अर्को हासो चाहि त्यति गजब भएन की तर तपाईहरु नराम्ररी झुकिनु भएछ । अनी तपाईहरु kun खोलाको बगारमा bal खेलन जानू हुन्थियो ni?

दीपक जडित said...

प्रतिक्रियाको लागी धन्यवाद बेदनाथजी , हामीले भकुण्डो चैं खेल्ने किस्ने (कृष्ण) खोलाको बगरमा हो ।

Basanta Gautam said...

रमाईलो संस्मरण सुनाउनुभयो दीपकजी, धन्यबाद!

Luna said...

बाल्टिन - लाल्टिन - चिल ( टोक्ने - चिल्ने ) - उडुस का नाम मार्फत निकै रोचक सँग आफ्नो स्समरण सुनाउनु भो । धन्यवाद तपाईं लाई ।
अब बाल्टिन खोज्नु पर्दा हाल्टिन भन्दै खोज्ने भए मैले :)

Dilip Acharya said...

रमाईलो संस्मरण, तर भाग १ र २ का १-२ घटना भने अहिले सम्झदाँ पनि हाँस उठछ ।