Friday, December 19, 2008

गीत , तिमी र म

'आजभोली तपाईं चेन्ज हुनुभएको छ । '

केहि अगाडीनै तिमीले यसो भन्दा मैले आफुलाई त्यसबेला जस्तो छु त्यो भन्दा फरक बनाउन पहिले जस्तो थिएँ त्यस्तै हुन नखोजेको हैन । कोसिस भरमग्दुर गरेको थिएँ तर म असफल भएछु र अहिले जस्तो भैसकेको छु त्यस्तै रहन गएछु । यो मैले महसुस गर्न नसकेको तर तिमीले महसुस गराएको कुरा हो । अझै तिमीलाई सम्झना भए म फेरी दोहोर्याउँ यहाँ कुनैदिन मैले तिमीलाई सुनाएको थिएँ यो गीत -

मलाई कसैले यति धेरै माया दियो
म आज खुशीले नाचिरहेछु
मेरो यो मनमा उसकै लागी
मैले पनि चोखो माया साँचिरहेछु ।

पुरै गीत लेख्न नपर्ला । तिमीलाई थाहै छ यो गीतलाई आफैंले लेख्दा नै एक किसिमले कम्पोज पनि गरेको हुँदा मैले गाएर पुरै गीत सुनाउन सकेको थिएँ । अहिले सम्झन्छु मैले त्यो गीतमा लेखेको कसै र उसैलाई तिमीसँग परिचय नै गराएनछु क्यार या हुनसक्छ मैले चिनाएर पनि तिमीले चिनेनौ अथवा हुनसक्छ मैले चिनाउँदा तिमीलाई विश्वासै लागेन ।

मनमा तिम्रो कुरा आउँदा मलाई सबैभन्दा पहिले यौटा गीत नै याद आउने गर्छ । तिमीले गाएर सुनाएकि थियौ । कस्को गीत , कस्ले गाएको , कस्ले सँगीत गरेको त्यता मैले कहिल्यै ध्यान दिईन मलाई त्यो गीत तिम्रो स्वरमा सुन्दा जति आनन्द त्यो गीतलाई खोजेर सुनेँ भने नआउला भन्ने डर लाग्छ ।

बहारसँगै उड्यो मन किन थम्दैन
पलपल तिम्रो याद आयो यो मन मान्दैन

चाँदनी रातमा जूनको किरणसरी तिमी आई न्यानो स्पर्श देउ
संगीतको मधुरो सरगम सँगै राग नयाँ सजाउ
पल पल तिम्रो याद आयो यो मन मान्दैन .............।

शब्दहरु पनि ठ्याक्कै यहि हो भन्न सक्दिंन तर यस्तै पक्कै हो । अझैपनि तिमीलाई सम्झेको बेला आँखा चिम्लेर यो गीत तिम्रो स्वरमा सुनेको महसुस गर्न मन लाग्छ । यस्तो लाग्छ म कुनै पत्थर हुँ कुनै पहरो मुन्तिर त्यसै पढिरहेको तिमी झरना हौ पहरामाथीबाट फालहालेर मलाई ब्युँझाउने प्रयत्न गरिरहेकी र तिम्रो स्वरको यो गीत त्यही झरना त्यही चट्टानमाथी खस्दा निस्केको छङ्गछङ्ग आवाज हो । तब लाग्छ म क्रमश ब्युझँदैछु त्यही झरना खस्दा उठेको कञ्चन फिँजहरुसँगै भुल्भुल्लिएर । यो अनुभुति यि हरफहरु कोरुञ्जेलसम्मका स्थाई अनुभुति हो । म यस्मा परिवर्तन आउन दिन चाहन्न । प्रतिज्ञा हो यो मेरो ।

कुरा जहाँबाट उठाए पनि मैले पुग्नुपर्ने यो लेख्दै गरेको गन्थनको शिर्षक सम्म मात्रै हो । म ब्यस्त छु आजभोली । के के , यस्तै त्यस्तै , जे पायो त्यहीमा । यहि गीतले मलाई ब्यस्त राखेको छ र यो ब्यस्तता नै तिमी र म बिचमा तेर्सिँदैछ । यस्लाई यसरी भनौं गीतले हामीलाई एकैठाउँ ल्यायो , गीतले मलाई अस्तब्यस्त बनायो र गीतले हामीलाई टाढा लाँदैछ । भन्नलाई मैले भनेपनि यो अनुभुति तिम्रो हो । मैले त जिन्दगीनै यौटा भ्रम हो भनेर पहिल्यै ठम्याईसकेको हुँ र त्यही भ्रम नै सत्य हो भनेर पनि बुझेको हुँ । त्यो भ्रम म हुँ , त्यो भ्रम तिमी हौ र त्यो भ्रम यो संसार हो । त्यही भ्रम सत्य हुँदा त्यो सत्य म हुँ , त्यो सत्य तिमी हौ र त्यो सत्य यो संसार हो तसर्थ मेरो अनुभुतिले त गीतले मलाई सत्यसँग छ्यातछ्याती पारेझैं बनाउँछ । भनौं न तिम्रो न्यानो स्पर्शमै राखेझैं गराउँछ ।

गीतले ( गीतसँगै कविता , गजल ईत्यादि आ उलान् ) मलाई छोड्दैन , म गीतलाई पछ्याईरहन्छु । यो क्रम धेरै अघिदेखि चलिरहेको छ । गीत र मेरो बिचमा यो यौटा भ्रम खडा भएको छ र यहि कुरा यौटा सत्य बनेर पनि खडा छ गीत र मेरो बिचमा । यस्तो अवस्थामा तिमीलाई गीत र मेरो बिचमा छिर्न नसकेको महसुस हुनसक्छ । अरुअरुको हकमा यो लागु हुन्छ कि हुँदैन होला भनेर जिज्ञासा पनि पैदा भएको छ म मा तर यस्को स्पस्ट जवाफ त तिमी नै गीत भएर म सँग छौ भन्ने नै हो नि । आँखिर गीतले नै त हामीलाई एकै ठाउँ पारेको हो त्यसैले तिमीले गीत बनेर म भित्र टाँसिईरहेको बेला म र गीतको बिचमा आफुलाई खोज्नु नै ब्यर्थ छ ।

आउ आज तिमीलाई गीतसँगको अझै थप भ्रम खोल्न चाहन्छु । गीत आदीकाल देखि थियो र अन्त्यकाल सम्म हुनेछ । म त बिचमा कहाँबाट गीतसँग जोडिन आईपुगेको मात्रै हुँ । गीतसँगको मेरो साईनोको पनि दुईवटा पाटोहरु छन् । यौटामा गीत बनेर तिमी छौ भने अर्कोमा गीत बनेर तिनी थिईन फरक केवल तिमी र तिनीको र छौ र थिईनको मात्र हो । तर म छु , गीत छ अनि तिमी गीतभित्रै छौ । गाँठी कुरा यत्ति हो । मैले गीतलाई भर्खर भर्खर भेट्दा जस्तो भेटेँ त्यस्तै मात्र चिन्थेँ । गीत मेरो कानबाट जसरी पस्थ्यो मुखबाट त्यसरी नै निस्कन्थ्यो - गुन्गुनाहट बनेर । यो क्रम चल्दै जाँदा मैले गीतलाई अलिअलि भित्रै लुकाउन पनि थालें । भित्रभित्रै हुर्काउन थालेँ र बिस्तारै त्यसलाई नयाँ स्वरुपमा कागजका पन्नाहरुमा निकाल्न थालेँ ।

लेख्दै थिएँ म गीतहरु कुनैदिन मलाई मेरो गीतले नै सजाय दियो अझ धेरै गीत लेख तैँले भनेर । सजायको त्यो कालकोठरी सजाय पाउनुभन्दा अगाडीसम्म मेरो निंती स्वर्गको एक टुक्रा थियो तर सजाय पाएको बखत मनबाट ह्वातह्वाती गीत निस्किरहँदा कोर्नलाई कपि कलम समाउन पनि अनुमति थिएन । बिद्रोह गरेर मैले कापी कलम समाएको भए नसक्ने कुरै हुँदैनथ्यो तर गीतले दिएको सजाय हुनाले केहि हदसम्म मञ्जुर भयो मलाई । मैले कपी समाईन तर कलम गीतले थाहा पाउँदैन भनेर समाएँ । गीतले थाहा पाएर पनि नपाएझैं गर्यो अथवा मैले कलम समाएको उसलाई मञ्जुरी थियो । ११ दिनको त्यो कालकोठरीमा मैले आफुलाई आधामरेको भनेर फालेको शरिर लडाउनलाई बिछ्याएको यौटा सेतो च्यादर ( तन्ना ) मा २१ वटा गीतहरु लेखेको थिएँ । गन्ति अझै याद छ मलाई ति मध्येका ६ वटा गीतहरुलाई सबैलाई एकमुष्ठ सुनाउनको लागी पूर्ण गीतको स्वरुप पनि दिएको थिएँ तिमीले पनि सुनेकि छौ ति गीतहरु । ति ६ वटामा नपरेको तर २१ वटा भित्रको यौटा गीत यस्तो थियो -

मैले लाएको माया झुठो ठानेउ कि तिमीले
भुलेउ कि सँगै बाँच्ने कसम खाएको हामीले
र एक्लो भएँ म आज आउन्नौ तिमी म सँग
सपनाको हाम्रो संसार बनायौ भताभुङ्ग ।

दुनियाँ हाँस्छ म देखि हाँसोस् म रोईदिउँला
तिम्रो नाम लिएरै बरु सनकी म होईदिउँला
श्रीष्टीमा जब सम्म रहला यो आकाश र धरती
राख्ने छु साँचेर चोखै तिम्रो मेरो पिरती ।

बर्षन्छ तिम्रो माया जलका प्रतेक कणमा
बसेउकी गएर तिमी नभका सितारा गणमा
प्रलय भएर बरु भत्केला मेरो धरातल
भत्कन्न कहिले पनि तिम्रो मायाको सत्तल ।

यसरी गीतसँग चल्दै आएको मेरो घनिष्टता कम से कम म गीतसँग रहुञ्जेलसम्म रहनेछ । स्वरुप अलग भएर आउला त्यो अर्कै कुरा हो । आँखिर स्वरुप अलग भएर पनि छाड्यो गीतको । स्वरुप अलग भएपछिकै कुरा हो मलाई एकदिन गीतले अब गीतमा दुख बेदना मात्र नलेख्न अह्राएको थियो । याद छ होला नि तिमीलाई ? तिम्रै आवाजमा गीतले मलाई लेखीनै रहनु गीतहरु तर दुख र पिँडा कम लेख्नु खुशीको सिँगै आकाश छ त्याँहा जून ताराको झिलिमिली छ अबको गीतमा त्यस्तै लेख्नु भनेको थियो । मैले कोसिस गरेँ - कति सफल भएँ कति असफल भएँ त्यो गीतले नै भन्ला तर अनेक कोसिसको बावजुद पनि भर्खरै मैले यो गीत लेखेँ -

ओभाएनन् यि नयनहरु
छातीभित्र पहिरो रोकिएन
केहि कदम अझै हिँड्न चाहन्थे
के भयो ? पाईला टेकिएन ।

त्यही लामो तिम्रै चुल्ठोमा राखेको थें यो मन बाटेर
फुकाएर खसाईदियौ कि फ्याँकिदियौ चुल्ठो छाँटेर
फेरी अर्को हार भए झैं मैले बाजी राख्नै नपाई
आँशु खस्यो मनको खुशी ओठसम्म आउँदै नआई ।

देख्यौ तिमिले मुटु मेरो पत्थर जस्तै कडा कसरी
पग्लिरहेथ्यो चुहिरहेथ्यो अगेँनुको त्यो नौनी जसरी
रात अझै लामो भएझैं छट्पटीएर काट्नै नपाई
रातै पर्यो बिहान नहुँदै उज्यालो कति आउँदै नआई ।

क्षमा चाहन्छु म मेरो गीतसँग , गीतलाई तिमी मानेर तिमीसँग । यो उद्विग्नताको स्थिती किन आउँछ नचाहँदा नचाहँदै जिन्दगीमा ? लौ न पुरौं यो खाडल अझै गहिरो हुन नपाई ।

प्रिय काली ,
गीत , तिमी र म बिचको सत्यको साथै भ्रमको निवारण गर्नलाई यहिँ सजिलो महसुस गरेँ । म भित्र तिम्रो स्थान खोज्न गीतलाई पर सार्नु पर्दैन । गीतसँगै मिसिएर तिमी म भित्र छौ । तिमीलाई महसुस भएको म चेञ्ज भएको कुरा पनि सायद सहि अनुमान नै होला । परेँहोला म परिवर्तनशिल समयको चपेटामा तर चिन्तित हुनुपर्ने गरेर म परिवर्तन भएँ भन्ने विश्वास त कसरी लाग्ला र तिमीलाई ?

भुलचुक् माफी पाउने अधिकार खोज्दै बिदा है त
तिम्रो देव

9 comments:

कैलाश said...

अहो गीत, काली, कालीको मिठो स्वर अनि देवको भावना र कालीको सोधाई मिठो लाग्यो दीपकजी। खै तपाईले भनेझै यहाँ त समयको परिधि खासै देखिन्न क्यारे। यो त जहिले नि जोसुकैको जीवनमा लागू हुन्छ नि हैन र?

Luna said...

मेरो त गला नै अबरुद्द भो तपाईंको हिर्दयस्पी लेख र गीत पढेर दिपक जि । प्रा र्थना गर्दछु तपाईंलाई गीत - गजल -कबिता मार्फत सधैं पढ्न पाइयोस ।कामना गर्दछु तपाईंको बर्तमान मधुर गीत म य होस् ।

Luna said...

दिपक जि !मेरो यो थोरै हरफ तपाईंको उनलाई जो बर्तमान मा हुनुहुन्छ ।
( यहाँ हरफ मा तिमी भनेर सम्बोधन भएको छ , म लेख्दा खेरी असाध्यै भाबुक भएर लेख्छु , त्यती खेर जो पनि मेरो हिर्दयको नजिक हुन्छ र म तिमी सम्बोधन गर्छु । यहाँ यस्तै भएको छ )
-----
उु भन्छ जिबन भ्रम
उु यतार्थ मा छैन
जिबन भ्रम भए पनि
यथार्थ भ्रम छैन --
°
उु दुखेको छ बिछ्ट्टै
मल्हम बनिदेउ तिमी
उु टुटेको छ बिछ्ट्टै
आधार बनिदेउ तिमी
°
सम्हाल उस्लाई तिमीले
भाबनाको अगालोमा
अ गाल उस्लाई तिमीले
मायालु भाबमा ।
°
उु गीत जिबनको
उु प्रित गीत को
तिमी धुन बासुरिको
तिमी जून उन्को मनको ।
°

सिकारु said...

जडित जि नमस्कार.. तपाइको साहित्यमा पाइला राख्न पुगेको छु ।आसा छ गोरेटो खुल्ला छ । अनि कालिसंगको त्यो रमाइलो क्षण निकै भावनात्मक लाग्यो। लेखाइ कुनै साहित्यकारको भन्दा कमि छैन जस्तो लाग्छ मलाइ त । अझ प्रगतिको कामना....

Dilip Acharya said...

भावनात्मक मानव संबेदनाको छुट्टै प्रस्तुती !!
सिकारु जीले भने जस्तै यो प्रस्तुती प्रशंसा योग्य र उच्चकोटीको लाग्यो ।

बिमल गिरी said...

दीपक जी,
तपाईंका यी भावनाहरुले
च्वास्स छोयो अन्तर हृदयमा।
नचाहदा नचाहदै पनि जिन्दगीमा
तिता मिठा स्पर्षहरु बर्षी दिदारहेछन
अचानक र अन्जानमै।
गीतमा उनिएको यो प्रणयरसको माला
भनिन्छ नओइलिवस तर...

दीपक जडित said...

कैलाशजी , भूतले खाजा खाएकोबेलामा म त्यो समयमा थिएँ यहाँ खुलाईरहनु आवश्यक नपरी टरेछ । स्पस्ट भन्दा मैले सजाय पाएको बखत गीत लेख्दाको कुरा लेखिरहँदा भूतले खाजा खाँदैथियो । धन्यवाद तपाईंको प्रतिक्रियाको निंती , वास्तवमै सामान्य कुरा भनेर हेर्छु म त यस्ता कुराहरुलाई र पनि बेलाबेला ख्याल नगरे सानातिना कुराले नै अप्ठ्यारो पार्न सक्छ भन्ने लागेर नै यो बिधी गन्थन कोरेर गन्गने भएको हुँ ।

लुनाजी , तपाईंको शुभेच्छा सँधै पाईरहुँ । मेहनत गरेर गीत लेखिदिनु भएकोमा आभारी छु । तपाईंको यो प्रयासले पनि सघायो मलाई ।

सिकारुजी , हार्दिक स्वागत तपाईंको पदार्पणलाई । मेरो साहित्य संसार भनेर आफ्नै मात्र रचना एवँ गन्थन मन्थन राख्ने गरेको भएपनि सकेसम्म सबैको शुभेच्छा लिएर , विचार साटेर हिँड्न चाहन्छु म । यो गोरेटो एक्लै हिँड्ने हुँदै होईन - हातेमालो गर्दै , सिक्दै बुझ्दै सबै हिँडौं । प्रतिक्रिया पाउंदा हर्षित छु - धन्यवाद !

दिलीपजी , यो गन्थनमा पनि लेखेछु केहि भन्ने लाग्यो । धन्यवाद !

विमलजी , तपाईंको शुभेच्छा पनि सँधै साथ रहिरहोस् । धन्यवाद !

बेदनाथ पुलामी ( उमेश ) said...

जडित जी सबैले राम्रो भने भनेर राम्रै भन्नु पर्छ भन्ने छैन तर के गर्नु राम्रो कुरा लाइ राम्रो भन्नै पर्दों रहेछ । त्यही हाल भो मेरो पनी । पर्यावाची शब्द जस्तै रहेछ गीत र तपाई साची भनेको । आफु संगै अरुलाई पनी हराउन सक्नु भएको छ । कति जाती ।

Jotare Dhaiba said...

देव र कालीबीचको आत्मीय सम्बोधनसँगै तपाईँको गीति सरगर्मी पनि प्रगाढ भएर आएको पाइयो । यो अनुभूतिको जराले तपाईँभित्रको संवेदनशीलताको फैलावटलाई सतहमा ल्याएको छ । कल्पनाशीलताको वहाब पनि भरपूर छ । तपाईँको गीति जागरणले आजको जस्तै र यसभन्दा उपल्लो कोमलता/गहिरो प्रभाव देखाउँदै जाओस् ।
वहारसँगै उड्यो मन…. बोलको गीत मेरो ठम्याइमा जहाँसम्म लाग्छ गायिका रीजा उप्रेतीको स्वर हो ।