Friday, December 12, 2008

दुई गजलहरु : बत्ति बाल्ने नै भए र बाटो उनलाई

गजलमा ओर्लेकै त हुँ , म त कोर्दैछु मनपरी गजलहरु । यसपटक पहिलो नेपालमै छँदा लेखेको गजललाई सम्झी सम्झी पुनर्लेखन गरेको हुँ भने दोश्रो नयाँ नै हो । दिक्क नमान्नुस् है एकोहोरो गजल कोच्यायो भनेर अझै तिनचार वटा (केहि बन्दै गरेका केहि बनेका ) लाईनमा छन् तर तिन्लाई भने अलि अन्तर पारेर मात्रै राख्छु ।



बाबा ! यिन्ले त बत्ति बाल्ने नै भए ।
जात गुन्द्रुक् कै झोल् मा फाल्ने नै भए ।

भन्नै आफुलाई पंकीरेगी भन्छन् ,
नयाँ लुगा काटेर टाल्ने नै भए ।

ऐना के हेर्लान् मन्मा हमाल जो छ ,
अनि त जुल्फि लामो पाल्ने नै भए ।

भन्दै जिन्दगीको मजा बेग्लै हुन्छ ,
दिउँसै नशा तान्न थाल्ने नै भए ।

सिन्को नभाँचे नि यिनै हुन्छन् लाडे ,
आमा बालाई तब दाल्ने नै भए ।

सम्झाउनेलाई जातै मुन्द्रे परे ,
ठाम् को ठाम् मुक्का हानी ढाल्ने नै भए ।

( उ बेला नेपालमा बत्ति बालेर भन्ने थेगो चलेको थियो भने नेपाली फिल्ममा चैं बनको बनमारा झैं राजेश हमालको कपाल चलेको थियो )



गन्हायो रे म हिँडेकै बाटो उनलाई ।
भएँ रे म आजभोली लाटो उनलाई ।

नटेक्नु रे भुईँ पनि बस्नु रे आकाश् मा ,
मैलो लाग्ने छुँदैखेरी माटो उनलाई ।

अन्न उहि पेट भर्ने खाने रोटो उहि ,
नाक लाग्ने मैले खाने आटो उनलाई ।

बाँचेकै छु म नि सञ्चै नै छन् उनि पनि ,
फापेकै छ हामी बिच् को फाटो उनलाई ।

संसार् आफ्नै आफ्नै छुट्टै भेट्दा अझै पनि ,
आँखा तर्दै फेर्नुपर्ने साटो उनलाई ।

माया हो कि के हो अझै दुख्नै मजा लाग्ने ,
बल्झाउँछु सम्झी घाव् को खाटो उनलाई ।

9 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

बाबा ! यिन्ले त बत्ति बाल्ने नै भए ।

गीत ,गजल र कविता तथा समझनाहरु ब्लगमा राख्ने नै भए ।

माया ममता आफ्नो टासो संगै साट्ने भए ।

============

यी गजलहरु संगै आउने

बाटो उनलाई -

टासोहरु संगै का फाटोहरु उनलाई ....दीपक जी लाई ।

Luna said...

काजी सा'ब का कुरै तेस्रा
नबुझेर कोर्न बसे खेस्रा
~~~~~
निहु खोज्न असाध्यै जान्या
आ फ्ना कुरा ठुला नै मन्या
~~~~~
सुझाब लाई गाली ठान्या
निहु खोज्न असाध्यै जान्या
~~~~
सिधा लाई बङाइ बोल्या
रङ्ग मा बेरङ्ग घोल्या
~~~~
काजी सा'ब ! किन यस्तो चर्ती !
मान्नु पर्छ घरती को पनि अर्ती
~~~~
काजी सा'ब लाई जित्नै प र् या
उन्कै कु रा बलिया ठ र् या !
~~~~~

उजेली said...

रमाईला गजल लागे दुईवटै दीपक दाइ !!!!!

"आमा बालाई तब दाल्ने नै भए ।"
मैले यो हरफ अलि बुझिनँ ।

बिमल गिरी said...

डीपक जी,
शब्द सम्योजन बेजोडकाछन। गजलको बिचार पक्षलाई हेर्दा अभिब्यक्ती,उक्तिउपमा र शब्द प्रयोग अतिनै राम्राछन। सफलताको लागि शुभकामना।

Basanta Gautam said...

सटीक शब्द-संयोजन छन् दीपकजी! गज्जब लाग्यो!

दीपक जडित said...

धन्यवाद ! प्रतिक्रिया गरिदिनुहुने सबैजनालाई ।

लुनाजी , मेरो अनुमानमा दोश्रो गजलको पहिलो शेरको कारणले यो प्रतिक्रिया लेख्नुभएको जस्तो लाग्यो यदि हो भने जस्तो बुझ्नुभयो वा अर्थ्याउनुभयो त्यसो हैन है । अनि उजेलीजी , दाल्नु भनेको नबुझ्नु भएको हो कि ? दाल्नु एकप्रकारले घुर्क्याउनु हो । घुर्क्याईको उच्चतम रुप हो भन्छु म त ।

Jotare Dhaiba said...

पहिलो गजलभन्दा दोस्रो नै मन पर्‍यो । सायद रचनात्मक समयको नयाँपनले होला । तर त्यतिले मात्र त होइन, दोस्रो गजल अलि गहन पनि छ । सम्बन्धको मामिलामा पनि वर्गभेदको कुराले अठ्याङ पारेको मुद्दा सबल तरीकाले उठाउनुभएको छ । कलकलाउँदो काया र सङ्घर्षको यात्रामा धुस्रेफुस्रे भएको ज्यानबीच आजको समयमा 'एकीकरण' कहाँ पो हुन सक्छ र !
वर्णविन्यासगत हिसाबमा, मात्रासँगै गेयात्मक पक्ष मिलाउने ध्याउन्नमा हलन्त नहुने वर्णलाई समेत हलन्त पार्नुभएकोमा अलि बिझायो । मात्रा मिल्छ भने र उच्चारणमा हलन्त देखिए पनि (जस्तै कथ्य रूपमा 'भात्' भए पनि हाम्रो वर्णविन्यासको नियमले लेख्य रूपमा 'भात' नै चलाएको छ ।) लेखाइमा त त्यस्तो टड्कारै बिझ्ने गरी हलन्त नबनाएकै राम्रो होइन र ? त्यसो त लयात्मकतामा सम्झौता गर्ने कुरा मैले गरेको होइन । तर सकभर चलनचल्तीका पूरा अक्षरलाई नभाँचीकनै लेख्‍नु न्यायसङ्गत होला । घाउ (संस्कृत घात) को ठाउँमा पनि 'घाव्' राख्‍नुभएको रहेछ । हेर्दै अलि मिलेन । अन्यथा लिनुहुने छैन ।

दीपक जडित said...

धाईबाजी ,

हार्दिक धन्यवाद गजलमाथीको टिप्पणीको निमित्त । वास्तवमा साहित्यमा के कसरी लेखिने भन्ने लेख्य नियमको निमित्त म अज्ञानी नै छु । यस गजलमा पनि मैले एक हिसाबले प्रयोग राखेको हुँ - मैले बुझेसम्म सममात्रामा गजल लेखिँदा अक्षर बराबरी नहुँदा पनि उच्चारणले बराबर मानेर मिसरामा गन्तीमा कमबेसी अक्षरहरु राख्न पाईन्छ क्यारे , त्यस हिसाबले हेर्दा मैले अलि मिचेरै लेखेको हुँ । तर यो गजल लेख्दै गर्दा आधा लेख्न मन लागेका केहि अक्षरहरुलाई आधा नै लेख्ने कोसिस गर्न मलाई मोतिराम भट्टको गजल

इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे

भन्ने गजलले यो उपध्रो गर्न प्रेरित गरेको हो है । यसो नगर्दा नि हुन्थ्यो भन्ने लाग्या त हो ।
यो गजलमा अक्षर भाँचिएको कुरालाई लिएर अरुपनि टिप्पणीको अपेक्षा गरेको थिएँ मैले उता गजल ग्रुपमा पनि तर यहाँ कस्लाई फुर्सद छ र ? कस्ले के कसरी लेख्दैछ भनेर चियो गर्नलाई । तपाईंको टिप्पणीको निमित्त पुन हार्दिक धन्यवाद ! यस्लाई मैले अन्यथा लिने भन्ने त कुरै आ उँदैन बरु म त नियमित यस्तै छलफलमा जुट्न पाए हुन्थ्यो पो भन्छु ।

Jotare Dhaiba said...

That's very nice thought Jaditji.
I will do my best for you.