Monday, January 19, 2009

कथा : माथ्लो घरको ढिकी

' साबित्रा ? '

'.............'

' ए , साबित्रा ?

'......................'

' हैन चालचुल छैन गाँठे , कहाँ मर्न गईछे ? आज पनि ब्रत हो कि क्या हो यस्को ? हैन यि आईमाईले कति ब्रत बस्न सकेका होलान ? काम धन्दा केही गर्नुपरेन ब्रत छ भन्यो , मिठो मिठो खान खोज्यो , कति सजिलो हो ईन्लाई ? ' शिबरामले फत्फताउँदै आँगनको एक कुनामा भएको कुखुराको खोरमाथी जुवा मिल्कायो । बिहानभरी खेत जोतेर लखतरान परेर आएको शिबरामलाई जोतेर आईपुग्दा घरमा स्वस्नीले जोतेर थाकेका गोरुलाई भुसपानी ठिक पारिदिओस , आफुले मेलो सकेर आउनेबित्तिकै हातगोडा धोएर एकछिन आराम गर्न पाईयोस भन्ने लाग्थ्यो तर उसकि स्वास्नी साबित्रा कहिल्यै उसले चाहेको जस्ती भईन ।

' वर्षभरी खाने अन्न उब्जाउने खेत जोत्ने गोरुलाई भूसपानी ठिक पार्नु त कहाँ हो कहाँ बिहानभरी जोतेर आएको लोग्नेलाई समेत भात खुवाउन घर छैन ' , भुत्भुताउन नछोडी उसले बस्तुभाउलाई पानी खुवाउन बनाएको मुढाको डुँड पल्टायो र सफा गरेर भुसपानी ठिक पार्यो ।

'ओहो ! थुक्क ! गोरु त बाँधेकै थिएन मैले ।' उसले झट्ट सम्झ्यो र गोठतिर नजर दौडायो । गोरु त अघि नै सिमाना काटेर माथ्लो पट्टी गँगे कार्कीको खेतमा पुगिसकेछन । छिस्रिक्क यौटा कुखुरा उसको खेतमा पस्यो भने त खाँडो जगाउँछ त्यो गँगे , हल गोरु नै उसको खेतमा पसेको देख्यो भने त के गर्ला बाबै ? उसले हतार हतार गँगेको खेतबाट गोरु निकाल्यो र थलामा हुलेर पगा लगायो ।

' धन्न मुखमा महला थियो नत्र आज गँगेको चार पाते मकै खत्तम पार्ने । ' उसले मनमनै भन्यो र गोरुको मलाहा खोलेर तान्दै डुँडतिर ल्यायो ।

उसका पहिलेका गाजले र पुँडे गोरु साह्रै सुबानी थिए । यसैपाली बेच्यो उसले बुढा भएर र यि हल मिलेका खराने रँगका बहर गोरु किनेर ल्याएको । पहिलेका गोरु मेलोबाट फुकाएर छोडेपछि थपक्क गोठमा आफ्नै थलोमा आईपुग्थे यि भने पछि लागेर गोठसम्म ल्याईपुर्याउँदा पनि आँखा झिमिक्क गर्न नपाई कहाँ बिगार गर्न पुगिसक्छन ।

' खराने रँगका गोरु त सुबानी नै हुन्छन् भन्थे यि डिँगा चैं किन यस्ता भ'का होलान् ' मनमनै असन्तोस जनायो उसले आफ्ना हल गोरु माथी ।

' ए ! आज किन छिट्टै गोरु खोल्यौ ? अघि आईसकेछौ त भर्खर दुई बज्दैछ । ' साबित्रा हातमा यौटा पोको बोकेर आँगनमा झुल्किई शिबराम माथी मालिक्नी पारा देखाउँदै । शिबरामको रिसको पारो चढेर टुप्पीबाट धुँवा भै पुत्पुताउँदै बाहिरियो ।

' कतिबेर सम्म जोत्नुपर्ने त मैले ? बेल्का पाँचबजि सम्म ? ' साबित्री तर्फ पुलुक्क एक दृष्टि फ्याँकेर उसले भन्यो । उसलाई आज धुमधाम गाली गर्न मनलागेको थियो स्वास्नीलाई । भित्रभित्रै काँप्तै थियो उ तर रिस थाम्यो उसले । नथामेर पनि के गरोस विचरा ! उसले एक बचन बोल्दा साबित्राले दश बचन फर्काईसक्थी । धेरैपटक उसले ऐँच्याएर राख्न खोजेको हो स्वास्नीलाई तर जति पटक प्रयास गर्यो उति पटक नै घरमा भाँड भैलो उठ्यो । छरछिमेकी आएर साबित्रीकै पक्ष लिए । नारीलाई हेप्ने , नारीलाई दमन गर्ने नामर्द पुरुष भनेर सँज्ञा भिराए ।

गाउँघरका महिलालाई प्रौढ कक्षा पढाउने र केटाकेटीलाई ट्युशन पढाउने साबित्री मुखले वरपर साखुल्ले बन्न सिपालु थिई । तर उसले कहिल्यै शिबरामलाई थोरै ईज्जत दिने कष्ट गरिन त्यसैले उसले आफ्नी स्वास्नीमाथी गर्व गरेर पनि प्रकट गर्न कहिल्यै सकेन ।

बिहे भएर आएको एकाध महिनासम्म तपाईँ हजुर गरेर बोल्ने साबित्रीले उसको सोझो चालाढाला पत्तो पाएदेखि तिमीमा झरेकी थिई । शिबरामले आफुले पनि तिमीनै सम्बोधन गर्छु के फरक पर्छ र भन्दै प्रतिवाद गरेन । ईज्जत राखिदिए तिमी भन्दैमा र तपाईँ हजुर भन्दैमा के पो फरक पर्ला र ? भन्ने सोच्यो उसले तर साबित्राले त्यसको पनि फाईदा उठाएर हरेकपटक अलिकति कुरा बाझ्यो कि तँ तँ र म म नै गर्न थालेकी थिई त्यसैले पनि शिबराम बेईज्जत हुनुभन्दा बोल्दै नबोल्नु निको ठान्थ्यो ।

' मैले त आज भात पनि पकाईंन । मेरो ब्रत थ्यो पिठो कुट्न माथ्लो घरको ढिकीमा ग'कि उतै रोटी बनाएर खाएँ कर्कीनी दिदीसँग । तिमीलाई पनि त्यही ल्याईदिएकी छु । आलुको अचार पनि छ सिदे नुन हालेर बनाको । ' घरभित्र पस्दै साबित्रीले भन्न भ्याई । शिबरामले चुपै लागेर सुनिरहयो र मनमनै भन्यो , ' किन पकाउँथिस त आफुलाई खान नपरेपछि ? म को हुँ र पकाएर ख्वाउने ? '

फेरी उसले झट्ट सम्झ्यो गँगे कार्कीकी श्रीमती त उसले जोतुञ्जेल धेरैबेर सम्म उनैको खेतमा घाँस काट्दैथिईन् । सिमाना जोडिएको माथ्लो पट्टीको खेतबाट उनले ' ए शिबराम कैले सक्छौ मकै छर्न हाम्रा गोड्नेबेला हुन लागीसके ? ' भनेकी थिइन् । उ भाउजु भन्थ्यो गँगेकी श्रीमतीलाई , ' ख्वै भाउजु , कैले सक्नु हो , हाम्री घरकीलाई सिँगार पेटार र ब्रत लिँदै फुर्सद छैन , त्यस्को पनि मन अलि चट्पटाए पो छिट्टो हुन्थ्यो ? आफ्नो त सँधै कामीको पालो कात्तिक भने झैं हो । ' उसले यसरी जवाफ पनि फर्काएथ्यो ।

' ढाँट्न पनि कति सकेकी ? बिहानभरी कुनकुन मुलुक अन्मरिएर आईर'छे ! ' , मनमनै बोल्यो उ र प्रकटमै भन्यो , ' ए त्यै भएर पो कर्कीनी भाउजुले डोकाभरी घाँस काट्न भ्याएकि रछिन् बिहान भरी । '

' जान्यौ जान्यौ तिमीले नै ? मलाई पिठो कुट्न सघाई ओरी ग'कि हुन घाँस काट्न मैले रोटी बनाईसक्दा आईसकेकी थि'न् । हेमकलाकि आमा पनि आ'कि थि'न् । उनेरको पनि ब्रत हो आज । ' आफुलाई माथी पार्न साबित्रीले दलिल पेश गरी । शिबराम चुपचाप गोरु खुटाउन खेततिर लाग्यो ।

त्यसदिन निक्कै अबेरसम्म उसले साबित्रीले ल्याएको रोटी खाएन । आ ! खान्न है एक छाक नखाएर मलाई केहि पनि हुँदैन भन्दै पकाएर खान पनि निच मारेर यताउता बस्तुभाउको सुसुल्को गर्दै बस्यो । साबित्रा घर बस्ने कुरै थिएन । बिहान केटाकेटीलाई ट्युशन , दिउँसो प्रौढ कक्षा पढाउन जानुपर्ने उसलाई अरुबेला पनि घरको सिन्को भाँच्ने फुर्सद हुने हैन । साँझ पर्न पर्न लागेपछि उसको पेटको क्षुधाग्नी यस्तरी बल्न थाल्यो कि जलाएर उसलाई भष्मै पार्ला जस्तो बनायो तब भने उसले ' स्वास्नी पो वैरी परी यो रोटी त वैरी होइन नि ' भनेर आलुको अचारसँग साबित्रीले ल्याईदिएको रोटी सुम्ल्यायो र फेरी घरधन्दा मै लाग्यो । बस्तुभाउ , कुखुरा , बाख्रा सबैको थान्कोमुन्को लगाएर बेलुकीको खाना पकाउनु पनि उसको नित्य कर्म नै थियो । त्यसैले उ सास नफेरी काममा जुटीरहयो ।

यौटा चुल्हामा दाल बसालेर अर्कोमा भात टेकाउन आगो जोर्दैथियो उ । एकहुल केटाकेटीहरु आँगनमा खैलाबैला गर्दै आए । उनिहरु उसैलाई डाक्दैथिए , ' शिबेदाइ ? ए ! शिबेदाइ ?? '

' हैन के भयो हँ भाइ हो ? ' शिबराम आँगनमा निस्कियो ।

' के हुनु नि शिबेदाइ हामी त चन्दा माग्दै हिँडेका , हामीले क्लब खोलेका छौं क्या ? अब चन्दा उठाएर क्लबको नाममा फुटबल , भलिबल , नेट के के किन्ने । खेलकुदमा हाम्रो गाउँ पछि पर्यो क्या शिबेदाइ । पोहोर पनि हामीले वार्ड स्तरिय फुटबलमा शिल्ड जितेनौं , अब यसपाली चैं जितेर छाड्ने । ' हुल मध्येको यौटाले एकै सासमा बेलीबिस्तार लगायो ।

' ए ! म त के के न भएछ भनेको ? पैसो सैसोको कुरो चैं भाउजुलाई भन उ सँगै हुन्छ रकम खाता । म त आफैं जोगी हुँ भाई हो । ' शिबरामले जवाफ फर्काउँदा केटाहरु गलल हाँसे । यौटाले थप्यो , ' हो यार बिचरा शिबेदाइ आफ्नै घरको हली हुन् बरा ! कहाँबाट दिउन ? भाउजुसँगै माग्नु पर्छ । भाउजुले दिन्छिन पनि साह्रै मनकारी पो छिन् । ' उसको बचन शिबरामले कष्टले पचायो , ' हुनपनि हो म आफ्नै घरको हली नै हुँ ।' शिबराम भित्र पस्यो ।

' कस्तो नामर्द हो यो शिबेदाइ त छि ! म भए त त्यस्ती स्वास्नी उहिले लेखेटिसक्थेँ । '

' सप्पैले राम्रो भन्छन् तर मलाई त त्यो साबित्री भाउजु मनै पर्दैन , सोझो लोग्ने पाएर साह्रै पात्तिएकि , गंगे कार्कीसँग लसपस छ भनेको सुनेथेँ मैले त्यस्को । ' , आँगन कट्दै गर्दा अल्लारेकेटाहरुको मुटु छेड्ने तिखो बचन सुनेर भित्रभिरै मुर्मुरियो उ ।

त्यसरात उसलाई रातभरी निन्द्रा लागेन् । छट्पटाई रहयो । ओल्टे कोल्टे फेरी रहयो । ' अब त गाउँमा यस्तो हल्ला पनि चल्न थालेछ । कहाँबाट यो सत्र अलच्छिनी मेरै फन्दामा परिछे भगवान ? हे ! भगवान ! यो कुरा झुटो होस् है । ' , रातभरी उसले भगवान सम्झिरहयो ।

' हैन त्यो गँगेको स्वास्नी छे , हुर्केका छोराछोरी छन , त्यसले किन मेरी स्वास्नीलाई आँखा लगाउँथ्यो होला र ? गाउँमा त्यसै भनेका होलान नि मान्छेले ।' , घरी उ आफैंलाई ढाडस दिन्थ्यो ।

' गँगे मान्छे त अलि बेसारे नै हो हुनत । फेरी दोष यै फुँडीको पनि त हुन सक्छ । मेरा बालबच्चा भ'का छैनन् , त्यही निहुँमा पो फकायो कि ? यो अलच्छिनी फेरी मलाई दोष दिन्छे बच्चा भएनन् भनेर , के थाहा सल्केकि पो छे कि त्यै गँगेसँग ? ' फेरी शँका पनि गर्थ्यो उ ।

छट्पटिंदै उसले नाडीको घडी हेर्यो बिहानको तिन बज्नै लागेछ । ' कुखुरा बास्ने बेला भै सकेछ किन निन्द्रा नलाग्या होला ? निन्द्रा लागे त यो टेन्शन कम् से कम् अहिलेलाई त हुँदैनथ्यो ' , मनमनै बर्बराउँदै उसले अलिकति टाउको उठाएर पल्लो खाटमा सुतेकि साबित्रीलाई हेर्यो । उ मस्तले निदाईरहेकी थिई तर उसलाई भने पट्टक्कै निन्द्रा आएन । सोच्न थाल्यो , ' हावा नचली पात हल्लिंदैन भन्छन । नचल्नु गाउँमा कुरा चलिसकेछ अब यो कुरा अगाडी नफैलियोस् भनेर त मैले सोच्नै पर्छ । के गर्ने होला ? ' चिन्ताको भुमरीमा रुमलियो उ , ' यो ढिकीकै बाहाना बनाएर दिनदिनै माथ्लो घर जान्छे । यस्लाई ब्रत न लि पनि कसरी भन्नु ? भने पनि मान्ने होइन बरु एउटा ढिकी घरमै हाल्न पाए आनन्दै हुन्थ्यो कि ? ' उसले रात छर्लङ्गै काटेर घरैमा ढिकी हाल्ने निधो गरीछाड्यो । रातीनै उसले करेसामा तेर्स्याएर राखेका मुढाहरु मध्ये ढिकीको लागी कुन उपयुक्त छ भनेर छान्यो । ढिकीको टेको , मुसल , आग्लो सबै उसले राती नै छान्यो आफुसँग भएका कुनै बारेका , कुनै करेसामा तेर्स्याएका मुढाहरु मध्ये तर ओखलको निमित्त उपयुक्त काठ फेला परेन ।
भोलीपल्ट बिहान कुनै सुरतमा पनि ढिकी बनाएरै छाड्छु चाहे ओखलको लागी काठ किन्नै किन नपरोस भन्ने ठान्दै उठेर उ भर्याङ्ग ओर्लँदा उसले बर्षातले भर्याङ्ग जमिनमा नधसियोस भनेर भर्याङ्गको फेदमा ओच्छाएको राम्रै लम्बाई चौडाई भएको काठ ओखलको निमित्त उपयुक्त हुने देख्यो ।

' के खोज्छस् कानो आँखो ' बिहानै चियासिया पिएर उ भर्याङमुन्तिर खन्न थाल्यो ।

' हैन ब्यान् ब्यानै कल्लाई पुर्न आँङ्नामा खाल्डो खन्न थाल्यौ ? ' साबित्रीले निधीखोजी गरी ।

' याँ अर्कै काठ हाल्नुपरो यो काठ अन्त काम आउँछ कि भनेर । ' उसले यतिमात्रै भन्यो ।

' लौ जे जे मन लाग्छ तेई तेई गरेर बस । सबैका मकै उहिल्यै छरीसके , तिमीलाई चैं जोत्न जानु नि पर्दैन । आङ्नामा खाल्डो पारेर मलाई पुर्ने हो कि आफैं पुरिने हो ? म त हिँडे पढाउन । ' साबित्री हिंड्ने तरखरमा लागी ।

' चिया खाएर जाउ , गिलासमा हाल्देको छु । ' उसले अनुरोध गर्यो ।

' भो म उतै खान्छु । ' उ हिँडी ।

यस्लाई केटाकेटी पनि त्यही गँगेकै घरमा पढाउनु पर्ने ? बुढी आईमाईहरु पनि त्यै गंगेकै घरमा पढाउनु पर्ने ? आफ्नै घरमा पनि त पढाउँदा हुन्थ्यो । ' फत्फताउँदै उसले भर्याङ्गमुनि राखेको ठुलो मुढा झिक्यो र त्यसको ठाउँमा यौटा बाकली हालेर पुरपार पारेर गोरु लिएर जोत्न हिंड्यो ।

त्यहीदिन दिउँसो देखि शिबराम दत्तचित्त भै ढिकी बनाउन लाग्यो । हलो , जुवा , कोदालो , फरुवा ईत्यादी मर्मत गर्नलाई उसँग बसिला , राँबो , छिनु , हथौडा ईत्यादी सामाग्री मौजुदा छँदैथियो । उसले जिन्दगीकै ठुलो योजना ठानेर ढिक्की निर्माण थाल्यो । हुनपनि त उसको जिन्दगी कै सवाल थियो त्याँहा । उसको घरमा ढिकी हुँदो हो त उसकी स्वास्नी गँगेको घरमा ढिकीमा जाने निहुँ बनाएर नजाँदी हो अनि गाउँका मान्छेले उसकी स्वास्नी गँगेसँग लहसिएकी छे भनेर कुरा नगर्दा हुन । प्रमाणित रुपमा कसैले कुरा नगरे पनि गाईँगुईँमै उसले सचेत हुनु नै बुद्धिमानी ठानेको ठिकै हो ।

लगातारको परिश्रमले तिनचार दिनभित्रै उसले घरमै ढिकी तयार पारीछाड्यो । उसले ढिकी बनाएको थाहा पाउने गाउँलेले ' अहा ! कति मजाको ढिक्के बनायो यो शिबेले ' भनेर तारिफ गरे । उ एक प्रकारले ढुक्क भयो अब त कम्तीमा ढिकीको निहुँ गरेर उसकी स्वास्नी गँगेको घर नजाली भनेर । तर लागेको बानी कहाँ छुट्ने ? साबित्रीले ढिकीको निहुँ लिएर गँगेको घरजाने क्रम रोकिनँ । उसले सोध्यो पनि , ' मैले तिम्रै लागी घरमै ढिकी बनाएको छु तिमी किन खाली माथ्लो घरको ढिकीमै जान्छ्यौ ? ' भनेर ।

उसले सहज जवाफ दिई , ' तिमीले बनाएको यो गह्रौँ न गह्रौँ ढिकी कस्ले कुट्न सक्छ ? मेरो तेत्रो तागत छैन फेरी तिम्रो ढिकी तिमी जस्तै ढिकीच्याउँ छ , सिधा लाग्छ र ? आफुजस्तै बना'का छौ ढिकी अनि के गर्नु ? '

' ख्वै तिमीलाई नै बाउँठे भएछ तेसोभए सबैले राम्रो , सजिलो छ भन्छन् यो ढिकी । ' ह्रदयभित्रै एकप्रकारको ठेस महसुस गरेर शिबरामले भन्यो ।

साबित्रीलाई पुगीहाल्यो , ' तिमी आफैं कुट तिम्रो ढिकी तेसोभए ? कसैको नभ'को ढिकी हालेछौ ? के के न गरेँ भन्ठानेका होलाउ हैन ? यो गह्रौं ढिकी म कुट्न सक्छु ? माथ्लो घरमा त कैले कर्कीनी दिदीले सघाईदिन्छिन् , कैले गँगेदाइले सघाईदिन्छन् र पो सजिलो हुन्छ । यहाँ कस्ले सघाईदिन्छ ? तिम्रो फुर्सद हुन्छ मलाई सघाउन कहिल्यै ? ' आगोको रापले भेट्दा प्लास्टिकको भाँडा खुम्चिएझैं निधार खुम्च्याएर चर्किंन थाली उ ।

शिबरामलाई पनि औडाहा छुटेर आयो । केटाहरुले साबित्री भाउजुको गंगे कार्कीसँग लसपस छ रे भनेको कहाँ कसरी मनबाट पोखुँ भैरहेको थियो उसलाई । थाम्न नसकेर साबित्रीलाई नै भन्दियो , ' तिम्रो गँगेदाइले त सघाईहाल्छ नि तिमीलाई ? गाउँभरी गन्हाईसकेको थाहा छैन । अझै गँगेदाइ रे त्यो बेसारेलाई ? मेरो त कहिल्यै ईज्जत गरिनौ गरिनौ , कम्तिमा आफ्नो त ईज्जतको ख्याल राख ? '

' के रे ? के भन्यौ रे ? त्यो बुढो भ'को मान्छेलाई ? तेत्रा हुर्केका छोराछोरी छन । श्रीमती छिन् , तिमीले कसरी यस्तो असत सोच्न सक्यौ ? त्यै पनि आफ्नै श्रीमती माथी ? गाउँलेले के भन्छन् के भन्दैनन् ? गाउँलेको कुराको पछि लाग्छौ तिमी ? तिमीलाई तिहारमा गँगेदाइको हातको फूलटिका लगाएर देखाउनु पर्यो कि तामा तुल्सी छुनुपर्यो मैले भन ए असती ? तिम्रा मुखमा त भोली नै स्याउँ स्याउँती किरा उब्जिन्छन् । हेरीमात्रै राखन किरा परेर मरेनछौ भने तेतीखेर मलाई भन्नु । कहीँ नभा'को जान्ने अक्कडो । क कस्को के के कुरा सुन्छ र मलाई नानाथरी भन्छ । ' रुँदै साबित्रीले उसलाई सरापी र कोठामा पसी । त्यो दिन दिनभरी नै रोईरही उ ।

जतिसुकै बैगुनी भए नि आँखिर स्वास्नी नै हो । अन्तत उसलाई माया लागेर आयो । हतार मुख फोरेर प्रमाण बिनाको कुरा ओकलेकोमा पश्चताप पनि लाग्यो उसलाई । राती उसले माफी माग्यो र करले भात खुवायो ।

भोलीपल्ट देखि नै केटाकेटीहरु पढाउन र प्रौढ महिलाहरुलाई पढाउन उसले गँगे कार्कीकै घर जानु नै पर्थ्यो गई । उसको काम नै हो , शिबरामले आपत्ती जनाएन तर फेरी पनि ब्रत छ भन्दै ढिकीमा जाने निहुँले उसले गँगे कार्कीको घरजान छोडिन । उसलाई यत्ति नै मन पर्दैनथ्यो । ' गाउँका मान्छेहरु एकोहोरो खनिए भने नखाएकै विष पनि लाग्न के बेर भोली उसकी साबित्री गाउँ समाजको अगाडी बद्नाम भै भने उसले पनि कसरी मुख देखाउने ? उसले भनेजस्ती छैन तर स्वास्नी त उसैकि हो । बेईजत उसैको हुन्छ । अब के गर्ने ? ' उ सोच मै डुब्न थाल्यो र अन्तत गँगे कार्कीको ढिकी भत्काएर काम नलाग्ने नै बनाएर छाड्ने अठोटमा पुग्यो उ ।
एकसाँझ भात खाँदैगर्दा उसले साबित्रीलाई भन्यो , ' आज मलाई तल्ला गाउँ जानु छ , गोठ छाउनलाई निरेको बाउलाई भन्नुपर्यो म अहिले नै जान्छु है । ' उसले स्विकृती मागेको देखेर साबित्रीले साबिकझैं चढिएरै भनी , ' राती हुँदो किन जानु पर्यो ? तिमीलाई भोली बिहान हुँदैन र ? बिहान गए पनि त हुन्छ । '

बोली चढिएको भएपनि आज उसले त्याँहा प्रेम मिसिएको देख्यो र मनमनै दँगहुँदै भन्यो , ' हुन्छ नि बिहान त तर बिहान भएदेखि रात हुन्जेल सम्म मेरो फुर्सद कैले को दिनमा हुन्छ र ? फेरी भएन बिहान गएर निरेका बाउलाई पनि त भेटिँदैन उनि पनि त काममा निस्कन्छन् त्यसैले मैले त अहिले नै जानु पर्छ । '

' हुन्छ जाउ तेसो भए तर अलि ख्याल गरेर हिंड्नु , रातीको माम्ला काल जमाना ठिक छैन । कतिबेला आ उँछौ ? ' यो पल्ट साँच्चै नरम भएर साबित्री बोली मानौं उनिहरुबिच कहिल्यै मनमुटाब भएको थिएन ।

' ख्वै , लाग्ला नि डेढ दुई घण्टा पुगेपछि यसो कुराकानी गरिहालिन्छ । ' भात खाईसकेर चुठ्न उठ्दै उसले भन्यो ।

' ल ल आएर मलाई बोलाउनु नि , म भित्रबाट चुकुल लगाएर बस्छु । ' साबित्रीले सत्य साबित्रीकै छाँटले भनी । हात चुठेर 'ल म गएँ ' भनेर शिबराम हिंड्यो । खासमा उसलाई निरेका बाउकोमा हैन गँगे कार्कीकोमा जानुथियो । आज उसले गँगे कार्कीको ढिकी भत्काएरै छाड्ने विचार लिएको थियो त्यसैले अलि चकमन्न होस भनेर उ खेतमा गएर निक्कैबेर धुम्धुम्ती बसिरहयो र अब चैं गँगे कार्कीको घरमा सबै सुतिसके भन्ने भएपछि उ सरासर त्यतै लाग्यो ।

गँगे कार्कीको ठुलो घरको पछिल्तिर बारबेर गरेर चट्ट पारेर हालेको हालिएको थियो ढिकी । घरका सबै मान्छे माथ्लो तलामा सुतिसकेपछि तलबाट आएर ढिकी भत्काएको कसैले पत्तो पाउँदैनन् भन्ने उसको ठम्याई थियो । सुमुसुमु अँध्यारोमा गँगे कार्कीको ढिकीनेर पुग्दा उसले कोही गुनुगुनु बोलेको सुन्यो र अँध्यारैमा बेराको आड लागेर कान थापेर सुन्यो ।

ढिकीनेर बाट उसकै स्वास्नी साबित्री मसिनो स्वरमा भन्दैथिई , ' अब त मेरो बुढोले पनि पत्तो पाईसक्यो हाम्रो कुरा । गाउँभरी गन्हाईसकिस् भन्दैथियो मलाई । त्यो नामर्दसँग त म मरे नि बस्दिनँ अब कि त मलाई भगाएर लैजानुस् कि चैं कान्छी स्वास्नी बनाएर हुल्नुस् घरमा जे पर्ला देखा जाएगा । '

' अलि ठण्डा दिमागले सोचन मेरी साबि , आवेशमा आएर केहि पनि काम बन्दैन । कि चैं यो बच्चा पनि गिराउ पहिले कै जस्तै नत्रभने घरमै पाउ न त्यै शिबेको भन्नु क्या कस्ले थाहा पाउँछ ? अब यो उमेरमा कहाँ तिमीलाई भगाएर हिंड्नु म ? घरमा हुल्न पनि भनेको जस्तो सजिलो कहाँ हुन्छ ? ' गँगे कार्कीले पनि उसैगरी मसिनो आवाजमा बोलेको सुन्यो शिबरामले । उसलाई अगाडी सुन्नु नै के बाँकी थियो र ? उसको ओठतालु खक्रक्कै भएर सुक्यो । अँध्यारैमा उसले चारैतिर झिल्झिल सितारा देख्यो । हिँजोसम्म तामा तुल्सी छुने , तिहारमा फूलटिका लाउने कुरा गर्ने स्वास्नीलाई त्यहीँ गएर भकुर्न मन लाग्यो । ठाउँको ठाउँ एक्कै ताल हानेर गँगेको ज्यान लिन मन लाग्यो तर उसले केही गरेन ।

सम्हालिएर उ लुरुलुरु घर फर्क्यो । ' हे भगवान ! मैले किन यस्ती स्वास्नी पाएँ ? यो कि त मरे हुन्थ्यो कि त आजै राती त्यै गँगेसँग पोईला गए हुन्थ्यो । भोली मैले यो गाउँ समाजमा कसरी मुख देखाउंने ? म मर्नु कि बौलाउनु प्रभु ? ' भगवान पुकार्दै घर फर्केको शिबराम रनाहामा परेर अँध्यारोमा कता लाग्यो घर आईपुगेन ।

7 comments:

Dilip Acharya said...

निक्के मार्मिक कथा लैख्‍नु भएछ । गंगे कार्कीको ढिकी भत्काएरै भए पनि ईज्जत जोगाउन खोज्ने शिबरामको मनोबृत्तीको राम्रो चित्रण छ ।

बाँकि तपाईको कथा र गजलमा पनि गाँउघरको सुगन्ध भएको र ठेट नेपाली शब्दहरुको उचित प्रयोग गरीएको हुन्छ । जसले गर्दा पढ्दै जाँदा यौटा पात्र कथाको पात्र मात्रै नभई चिनजानको मानिस भएको जस्तो आभाष दिन्छ, जुन मलाई भने एकदमै मन पर्छ ।

Luna said...

यस् कथामा ' साबित्रा ' पात्र ले प्रौढ शिक्षा र केटाकेटिलाई ट्युसन पढाउने गर्छिन भनेर लेखिएको छ । भने पछी साबित्रा केही शिछित नै देखिन्छिन । यतिको शिछित नारिले आफ्नो श्री मान लाई त्यसरी हेपेर बोल्न सक्छ र ? अब रह्यो साबित्रा गङ्गे पात्र सँग लसपस भएको कुरा , यो चाँही हाम्रो समाजदेखिन्छ । सोझो श्रीमान लाई हेपेको कुरा प्रसस्त देख्न सुन्न पाईन्छ ।
पुरुष पात्र 'शिव राम ' जस्ता सिधा पात्रहरुको पक्षमा यो कथाले न्याय गरेको छ ।
समाज मा नारी हेपिएर जनाबरको जस्तो जिन्द गि बिताउनु परेको कथा -उपन्यास धेरै मात्रामा पढियो । दिपक जि को कथामा चाँही पुरुष पनि श्री मती पीडित हुन सक्ने यथार्त लाई बडो सजिब सँग प्रस्तुत गर्नु भो ।
हाम्रो समाज मा देखिने यस्ता बिकृतिलाई सरल शब्द च् यन गरेर बडो मार्मिक सँग प्रस्तुत गर्नु भएको यो कथाले नौलो स्बाद दिने छ साहित्य प्रेमी लाई र बि स्तारै मान्छे हरु श्रीमती पीडित पुरुष का लागि बकालत गर्ने छन ।
समाज का यस्तै बिकृतिहरुलाई कथाको रुप दिदै लेख्दै जानु होस् , साहित्य पनि समाज को एना भएको हुनाले मान्छे हरु ले आफ्नो अनुहार यस्तै साहित्य मार्फत देख्दै जाउन । निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

Basanta Gautam said...

सजीब चित्रण गरेको छ हाम्रो समाजको एउटा पाटोको! भाषा-शैली र संवाद पनि सललल बगेको छ, पढ्दा कतैपनि ठेस लाग्दैन।

कथा सकिँदाचाहिँ कता-कता के-के अझै आउन बाँकी जस्तो लाग्यो। सफल कथाले छोड्ने रन्को यहि होला शायद।

अर्कोतिर शिबराम चाहिनेभन्दा सोझै भएको हो। प्रमाणविनै त केहि गर्ने कुरा त भएन तर रंगेहात भेटेपछि त अलिक छिनोफानो गरेरै छोड्नु पर्ने हो। यसपछि शिबराम जोगी भयो होला र समाजले फेरि उसैलाई लाछी र नामर्द भन्यो होला।

अर्कोतिर यो कथाको अर्को पाटो त्यो नहुन पनि सक्छ जुन हाम्रो दिमागमा आएको छ। शिबरामलाई देउताजस्तो गरेर पेश गरिएको छ। कुनै पनि ब्यक्तिमा केहि न केहि कमजोरी त हुन्छन् नै। साबित्री यहाँ देखाएजस्ती साबित्री हुनुमा शिबरामकै यहाँ नदेखाईएका (अथवा अप्रत्यक्ष रुपमा देखाईएका) कमजोरीको पनि केहि योगदान छ कि भनेर शंका गर्नु पनि गलतचाहिं नहोला।

कैलाश said...

कथा निकै मार्मिक छ। र यहाँ शिवरामको मौनताभित्रको पीडालाई मजाले चित्रण गर्नुभएको छ दीपकजीले। जसलाई सामान्यता लोग्नेमान्छेको स्वास्नीमान्छेप्रतिको डोमिनेसको वास्तविकता र त्यसमाथिको थपथाप हाउगुजीले ढाकेर राखेको छ सबैको नजरमा। त्यही अदृष्य र अब्यक्त पीडा बाहिर आएको छ दीपकजीको कथाबाट। जुन पीडा हाम्रै वरिपरिको उस्तै शिवराम पात्रलाई हेर्ने हो भने पनि सायदै हामीले उसको भित्री मर्म र वास्तविक अवस्था बुझ्न सक्छौ, या कल्पना गर्न सक्छौ होला। तर पनि यस्ता घटना या अवस्था सृजना भइरहेको हुनसक्छ। र त्यही कुरा शिवरामको झैँ वास्तविक रुपमा बाहिर आएको खण्डमा या त त्यसलाई त्यही रुपमा स्वीकारेर एक्सेप्सनल केस भनेर भनिने गरिन्छ। या त दीपकजीले भनेझैँ हुतीहारा या नामर्दको संज्ञा दिइन्छ हाम्रो समाजमा। अथवा दुवै मत बोकेका फरक फरक जमात पनि हुनसक्छ। तर सम्बन्धित व्यक्तिको व्यक्तिगत मनोभाव र अवस्था, चाहना र उसले भोगेका भित्री पीडा र त्यसपीडाले जन्माएको बाहिरी प्रतिक्रियाप्रति खासै वास्ता गरिदैन। त्यसलाई खाली सामाजिक या पारिवारिक कुरासँग गाँसेरै बढी मात्रामा बुझिने या विश्लेषण गरेर सामान्यीकरण गर्ने गरिन्छ। समस्या र पीडलाई बुझ्दा व्यक्तीको भनेर बुझिन्छ। तर त्यसको नतिजा या बाहिरी स्वरुपलाई चाहि अनेकौ जालोभित्र राखेर सामाजिक कुराको रुपमा हेरिन्छ। हुन त यो मेरो बुझाई मात्रै पनि हुनसक्छ।

साँची नै शिवरामको सोझोपनाको बदलामा साबित्रीको व्यवहार चाहि अप्रिय नै छ। त्यो चाहि मानवीय व्यवहार भएन। त्यस्ता स्वास्नी पनि हुन्छन् होला। तर यहाँनेर लुनाजीको विचार पनि जोडिएर आउँछ। साथै आखिर शिवरामको सोझोपना र जे भएपनि चुपचाप झेल्ने स्वभावकै बदलामा मात्रै साबित्रिले त्यस्तो व्यवहार गरेको हो? भन्ने पनि मनमा प्रश्न उब्जियो। सायद यो प्रश्न चाहि माथी बसन्तजीले 'अप्रत्यक्ष देखाइएका कुरा' भनेर इंगित गर्नुभएको कुरासँगै गाँसिएर आउँदो हो। अनि शिबराम र साबित्रीको सम्बन्धबीच 'अप्रत्यक्ष देखाइएका कुरा'भित्र थुप्रै पाटो लुकेको हुनसक्ने देखिन्छ। जसको कारणले शिबराम चुपचाप बस्न अझ बाध्य भएको र साबित्रीको गलत कामलाई हाकाहाकी अंकुस लगाउन नसकेको र त्यही कारणले साबित्री अझ अघि बढिरहेको पनि हो कि भन्ने लाग्छ।

दीपक जडित said...

कथा लेख्नुभन्दा अगाडी नै जब दिमागमा यो कथाको रुपरेखा कोर्दैथिएँ त्यसैबेला यो कथाले तालीको शट्टामा गाली खुवाउँछ है भन्ने पनि लागेको हो त्यसको निम्ती कथा शुरु गर्नु अगाडी कुनै चलचित्रमा देखाईने झैं पात्र तथा घट्ना काल्पनिक छन् ईत्यादी लेखेर पनि नहुने । त्यसैले जस्तो कथा उम्रियो दिमागमा त्यस्तै लेखेँ । शिबराम पात्र चाहिने भन्दा धेरै सोझो भएको र उसकी साबित्री चाहिने भन्दा धेरै फटाई भएकि ( त्यसो त फट्याँई कहिल्यै चाहिने हुँदैन ) भएपनि सामान्यताको परिधी नाघेर हाम्रो समाजभित्र यस्ता पात्र पक्कै भेटिन्छन । कथाले उधिन्न भ्याएका बिसँगती र अध्कल्चो उधिनेर छोडेका असँगतीहरु माझ कथामा त्यसपछि के भयो भन्ने कुरा पढ्नेले नै टुँगो लगाउनु पर्ने गरेरै छोडेको हुँ ।

र मैले बुझेको यौटा कुरा लुनाजीलाई , एजुकेटेड हुनु यौटा कुरा हो अन्डरस्ट्याण्डिङ्ग हुनु अर्को कुरा हो तसर्थ प्रौढ कक्षा पढाउने अथवा स्कूल कलेज नै पढाउने किन नहुन् ब्याक्तिगत तवरमा क्षुद्र नहोलान् भन्ने हुँदैन र मान्छे पतनको बाटो लागेपछि पतित नहुञ्जेल सम्म म पतनको बाटोमा छु भनेर ख्याल गर्दैन अथवा त्यो ख्याल आयो भनेपनि पतित नहुञ्जेल आफैंलाई टेर्दैन । साबित्रीको चरित्रमा नलेखेरै यो कुरा देखाउन खोजेको हुँ । लेखेको भए अरु उपयुक्त हुने रहेछ भन्ने यतिखेर लाग्यो । वसन्तजी र कैलाशजीको प्रतिक्रियाले कथामा नदेखिने गरेर रहेको केही पाटोहरु देखाउनु पर्ने रहेछ भन्ने लागेको छ । सबैलाई धन्यवाद प्रतिक्रियाको लागी ।

Basu said...

दीपकजी,

कथाको शीर्षक र विषय वस्तुको तादात्म्यता एकदमै मिलेको देखें ।

पाठकलाई शुरू देखि अन्त्यसम्म कुतुहुलताकासाथ डोर्यौउने क्षमता पनि देखें । तर साबित्रीको व्यवहार भने अलि अतिशयोक्ति लाग्यो ।

बांकी त मैनालीको कथा पढ़े जस्तो लाग्यो ।

बधाई र शुभकामना ।
बासु

दीपक जडित said...

धन्यवाद बासुदाइ , साबित्रीको रुखो ब्यावहार त मलाई नै पनि मन् नपरेको हो ।