Monday, January 26, 2009

कविता : एक भै उठेको नेपाल देखियोस

हाम्रो देश आज बोलीरहेछ
दुखेका घाउहरु खोलीरहेछ
हामीले पोतेको युद्धको रँग
हाम्रै आँखामा घोलीरहेछ ।


सोधीरहेछ माटो हामीलाई
उसँगै हामी कति दुखेका छौं
सगरमाथा शिरमा हुँदा नि
किन हामी यसरी झुकेका छौं ?


आफन्तकै खुशी लुटेर हामी
एक्लै कुन खुसी हाँस्न चाहन्छौं
चुँडाएर सम्बन्ध आफ्नैसँग
कोसँग के नाता गाँस्न चाहन्छौं ?



सन्ततीलाई डोहोर्याई कता
तिन्को भविश्य के लेखिरहेछौं
बारुदले भरेको सिह्रानी हालेर
हामी कुन सपना देखिरहेछौं ?


उठौं न हामी लौ हात समाती
नेपाली भएर सब एकै सजाती
हसाऔं यो माटोलाई खुशी उमारी
नभोगोस देशले फेरी केहि नजाती ।


आँखामा सिँगै नेपाल नदेख्ने
मनमा कहिले एकता नलेख्ने
नेपाली भएर उभिएको छ त्यो
सँधै नै बाटो शान्तिको छेक्ने ।


हिमालमाथी जस्ले गर्व गर्दैन
तराईको दुखमा आँसु झार्दैन
नेपाली होइन त्यो आफैं हार्नेछ
उसको सामु हाम्रो देश हार्दैन ।


देश दुखेको सब मनहरुमा
चन्द्र सुर्यको गीत लेखियोस
मेटिएर मन र मन बिच दुरी
एक भै उठेको नेपाल देखियोस ।

पालोमा गीतले मन भरेको थियो
मनले ओठमा भाखा (गीतको) छरेको थियो
औंला गीत नै लेख्न अघि सरेको थियो
मैले गीत नै लेखेँ
मलाई नि केहि त लेख्नु परेको थियो ।
लेख्दै जाँदा गीतकै भाखामा मैले सामान्यतया गीत भनेर लेख्दा लेख्ने गरेको आकारको हदबन्दि नाघेपछि म अप्ठ्यारोमा परेँ - के भन्ने यस्लाई ? त्यसैले कविता भनेर पेश गरेको हुँ । यो के हो खासमा , छुट्याउने जिम्मा तपाईंहरुकै है ।

10 comments:

Sadhana Sharma said...

Dai, hajurko lekhan saili malai ekdum manparchha. Dherai siknu chha hajur bata, dherai dherai padhna paiyos ....

बेदनाथ पुलामी ( उमेश ) said...

म त यो असल भावना हो भन्न मन पराउछु ।

उजेली said...

यो गविता होला दीपक दाइ ॥ गीत र कविता मिलेर बनेको गविता । अनि गविताले एकदमै मुटु छोयो ॥

सिकारु said...

सोधीरहेछ माटो हामीलाई
उसँगै हामी कति दुखेका छौं
सगरमाथा शिरमा हुँदा नि
किन हामी यसरी झुकेका छौं ?

लौ जडित जी म पनि यस्लाई देशप्रेमको कबिता नै भन्न रुचाए । साच्चै हामि सम्पुर्ण कुरा भएर पनि झुकेका छौ । कबितामा जस्तै सबैको मनमा यो भावनाले सत्बुद्धिको सन्देश निर्माण गरोस । अति राम्रो सृजनाको लागि धन्यबाद ।

दीपक जडित said...

साधनाजी , ख्वै हौ सिकाउन सक्ने त म होईन क्यार तर हामीले एक अर्काबाट नै सिक्दै अगाडी हिंड्नु पर्छ है अब - साह्रै पछि परिसकिएको छ ।
बेदनाथजी , धन्यवाद म मा उठेको भावनालाई असल मानिदिनुभएकोमा ।
उजेलीजी , यो गविता तपाईं जस्तै उज्यालोको लागी हो जहाँ हामी छुटेका हातहरु देख्न सकौं ।
सिकारुजी , साँच्चै यतिखेर सबैको मनमा यस्तै भावना उठ्नु परेको छ । कामना र पहल गरौं सबैले एकताको ।

आकार said...

कामना गरौँ !
अनि सुरुवात आफैँबाट गर्नुपर्ने भएकोले अरु को भर नपरौँ !

Dilip Acharya said...

मेरो र तपाई हामी जस्ता धेरैको भावना हो यो। साह्रै चीत्त बुझ्ने गरी लेख्नु भएको छ । साथै आकारजीको शुरुवात आफैंबाट गर्नु पर्ने तर्क पनि सत प्रतिशत जायज छ ।

Luna said...

very very nice one .
keep it up .

Jotare Dhaiba said...

मीठो राष्ट्रप्रेमको भावना सरल अभिव्यक्तिमा पढ्न पाइयो । 'हामीले पोतेका युद्धका रङ हाम्रै आँखामा घोलिरहेछ' पङ्क्तिले त झन् विगत र वर्तमानको नेपाली जीवनको भावदशालाई सर्लक्कै उनेको छ । अर्को चसक लगायो- 'चुँडाएर सम्बन्ध आफ्नैसँग कोसँग नाता गाँस्न चाहन्छौँ' ले । समग्रमा देशको दु:खको भारलाई तपाईँले शब्द-सामर्थ्यमार्फत मर्म फुटाउने गरी बोक्नुभएको छ । मन खोलेर भन्दा, सात सिमानापारिबाट पनि मुलुकको व्यथा कति सूक्ष्म रूपमा टिप्नुभएको छ ।
तर पनि यस्तो लाग्छ जडितजी, यस्तो पीडाको मुहान हाम्रो नेपालमा हामीले अझै फुटाइरहनुपर्नेछ । एक भई उठेको नेपाल हेर्ने स्वप्न सिरानीमै च्यापिएर मर्ने हो कि भन्ने त्राही छ । घाउ पाकिरहनेछ, सदियौँदेखि खोजिरहेको वैद्य पाइने छैन ।
गीतको लम्बाइ उछिनेर तयार हुन पुगेको यस टाँसोलाई मैले त प्रस्टै किटानीसाथ भनिदिएँ - यो सोह्रै आना सशक्त कविता बनेको छ ।

दीपक जडित said...

यसपटक आकारजी , दिलीपजी , लुनाजी र धाईबाजीलाई हार्दिक धन्यवाद । वास्तबमै आकारजी हामीले हरेक कुराहरु जुन अरुबाट एवँ राज्यबाट अपेक्षा गर्दछौं त्यसप्रति पहिले स्वयँ जिम्मेवार नबनी हुँदैन । हामी केही सिक्दैछौं र जिम्मेवारी काँधमा लिन तयार हुँदैछौं पक्कै पनि ।