Tuesday, January 27, 2009

कविता : साँढेको सोमत कहिल्यै आउँदैन

अन्तिम सर्को ब्लग चहार्ने क्रममा वसन्तजीको ब्लगमा हग्नेलाई भन्दा देख्नेलाई लाज शिर्षकको लेख र त्यसैसँग सम्बन्धित कान्तिपुरको लेख पढेर तिलमिलाउँदै वसन्तजीको ब्लगमा कमेण्ट लेखेर सुत्ने उपक्रममा लागेको थिएँ । आजलाई ब्लगमा केहि नलेख्ने विचार थियो तर निन्द्रा परेन । हाम्रा नेताहरु किन सोमत नभएको साँढे बनिरहेछन् ? यिन्लाई आफ्नो ईज्जतको त ख्याल छैन जे गरुन् तर कम्तिमा देशको ईज्जत प्रतिष्ठाको सवालमा त एकजुट हुनु नि ? तर अँह यि साँच्चै साँढे भएछन् त्यसैले यिन्को सोमत कहिल्यै देख्न नपाईने भयो । यहि कुरा कविताको रुपमा नलेखि सकिनँ र ओच्छ्यानबाट उठेर लेखेँ यो कविता साँढेको सोमत कहिल्यै आउँदैन भन्ने ।

----------------

उहिले उहिले टुँडिखेलमा
त्रिशूलले डामेका साँढेहरु डुक्रिन्थे
यमानको जुरो हल्लाउँदै
नाकको पोरा फुलाउँदै
पाटीबास परेको वीरबहादुरको बास अगाडी
निरिह आईते माथी फुँकार छोड्थे
नपत्याए सोध्नुस्
भीमनीधि साक्षि छन् अझै
त्रिशूलले डामेका साँढेदेखि
सेती सँधै आतँकित हुन्थी
अरु त त्यसै नरभक्षी सिँह नै थिए - गर्जिन्थे
बिस्तारै सिँहहरु पाखा लगायौं हामीले
उबेलाका त्रिशूलले डामेका
साँढेहरु लोप भए
आजभोली खुल्लामञ्चमा
स्वास्तिकले डामेका साँढेहरु
बग्रेल्ती डुक्रिन थालेका छन्
उसैगरी फुँकार छाड्दै
त्रसित बनाईरहेछन् हामीलाई
कैलेसम्म झेल्ने हामीले
यो साँढे आतँक ?
कैलेसम्म बाँच्ने हामीले
वीरबहादुर , सेती र आईते नियति?
भर्खरै सुनियो लैनचौरमा
यौटा स्वास्तिकले धरी डाम्न नभ्याएको साँढेले
अर्को डामिएको साँढेसँग जुध्ने निहुँमा
फेरी हामीमाथी नै साँढे आतँक छरेको छ
अब त बुझिराखौं -
चाहे डामेको होस् या नडामेको
साँढे सँधै साँढे नै हुन्छ
साँढेको सोमत कहिल्यै आउँदैन ।

8 comments:

Dilip Acharya said...

पक्का कुरा, तपाईले निष्कर्ष नै निकाली सक्नु भएको छ :
चाहे डामेको होस् या नडामेको
साँढे सँधै साँढे नै हुन्छ
साँढेको सोमत कहिल्यै आउँदैन ।


अनी यो स्वस्तिकले डामेकोभन्ने शब्द पनि गज्जबसंग चयन गर्नु भएछ ।

घरमा पालेको डाम्ना भए त भाटाले बजार्नु हुन्थ्यो तर के गर्नु यिनिहरु त उल्टै हाम्रो बाली नाश गरेर हाम्रै बैईज्जत गरेर हिंडछन ।

Anonymous said...

हत्तेरी ! शुद हरुको अगाडि झगडा किन गर्नु पर्या होला !

Basanta said...

यस्तै हो! अब बोल्नै नसक्ने गरी मुखै डामेपछिमात्रै ठीक ठाऊँमा आऊँछन् कि!

कैलाश said...

कुरो सोह्रैआना सहि हो- साँढे आखिर साढे नै हुन्छ। साढेको सोमत आउला भन्ने आश गर्नु र कुकुरको पुच्छर सोझिने आश उस्तै कुरा हुन् सायद।

डीआर न्यौपाने'सूर्य' said...

अति सान्दर्भिक साढेको डामेको लेखाई ।अनि बसन्त जी ले त सारै गजबको उत्प्रेरणा जगाउनु भएछ नि जडित जी लाई ।

Prabesh said...

धेरै राम्रो दीपक दाइ !! मैले पनि एउटा 'साँढे गोरूले हान्न सक्छ' भनेर कविता लेखेको थिएँ । अहिले कता पर्यो पर्यो त्यो कविता । भेटेपछि हाल्छु ल ।

Yumesh Pulami said...

ति साँढे होइनन - यदी साँढे भए देशलाइ विश्वमा चिनाउन सक्थे आफ्नो आगाडी सारा लाइ झुकाउन सक्थे ....
म त भन्छु भतुवा कुकुरहरु हुन - जो आफ्नै आगनीमा मात्र भुक्न सक्छ - बाहिर भने उही कुकुर को पारामा - टांगा मुनि पुच्छर लाउने खालका न परे !
- कातिके कुकुर हरुलाई के को लाज ?- देख्ने हामीलाई पो लाज । काहा, के, कुन ठाउमा, के गर्न हुने /के बोल्न हुने वा नहुने केही मतलव छैन ।

Unknown said...

धन्यवाद सबैलाई , सिकारुजीले भन्नुभएझैं वसन्तजीकै उत्प्रेरणाले यो कविता लेख्न सकेको हुँ मैले । यही खबर अन्यत्र या अघिपछि पढेको भए सायद यति नै रिस उठे पनि यसरी यस्तै कविता लेख्दिंन थिएँ होला । बेदनाथजीले भन्नुभएको पनि ठिकै हो तर साँढे हामीले नै छोड्ने र साँढेबाट हामीनै सताईने पुरानो ( यदाकदा अझै होला ) परम्पराको यो आधुनिक स्वरुप हो । साँढेबाट कहिल्यै असल र हितको आशा गरिन्न त्यसैले भनिएको पनि साँढे हो ।