Friday, January 09, 2009

यस्को पनि शिर्षक छैन त्यसैले गन्थन भनुँ क्यार

खै के भ'को हो ? केहि बोल्नै मन छैन , केहि लेख्नै मन छैन । त्यसै निच मार्दा मार्दै नयाँ वर्षको पहिलो साता त सुलुत्तै चिप्लिसकेछ । नयाँ वर्षको उल्लास किन छाएन खै ? पहिलो दिन यस्तो र उस्तो बन्ने हो कि भन्दै सल्लाह गजल लेखेको थिएँ तर खै त साता बितुञ्जेल सल्लाह अनुरुप त केहि नै गरिएनछ । यतिखेर लाज पचाएर अल्छि गर्दागर्दै नयाँ वर्षको पहिलो साता त्यसै बितेछ , बितेछ पनि के भन्नु हौ , समय हो कसैलाई पर्खेर किन बस्थ्यो ? , बिताएँ भन्दैछु म ।

हरेक पल्ट अब केहि नयाँ नौलो केहि हुन्छ कि भन्ने आशा राख्यो नयाँ केहि हुनेको शट्टामा बरु नहुने नहुने अनेक ओली भएको देख्नु सुन्नु पर्छ - खै अबको नयाँ भन्नु नै यस्तै यस्तै उटपट्याँङ हो कि क्या हो ? निक्कै वर्ष अगाडी यस्तै महसुस गरेको बेला यौटा गीत लेखेको थिएँ , त्यो बेलाको माहौल पनि नयाँ वर्षकै थियो भलै त्यो हाम्रो आफ्नै बैसाखे नयाँ वर्ष थियो , त्यो बेला लेखेको गीत पनि सम्झन मन लाग्यो ( सम्झना आयो ) -

नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि उज्यालो
हावाको एक झोंकासंगै
निभेछ दियालो ।

बेफुर्सदी मान्छे सबै संधैं नै हतारो
भ्याई नभ्याई दौडादौडी फेरी नि पसारो
उहि कर्म गर्नै पर्ने बाध्यता के साह्रो
नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि अनौठो
साँझ बिहान निल्नैपर्ने
भए नि नमिठो ।

सबै खोज्छन जिन्दगीमा केहि बेग्लै गरुँ
भेटे सम्म नयाँ नौलो आफु एक्लै गरुँ
सके देखि आफुं मात्रै बैतरणी तरुँ
नयाँ दिन आयो कसरी म भनुँ
छैन कहिँ नयाँनौलो
भोग्नै पर्ने जिन्दगीमा
सधैं यै पुरानो ।

नयाँ केहि कहिल्यै नदेख्ने कहिले त यो एक प्रकारको रोग हो कि जस्तो पनि लाग्छ । नयाँ हुँदा पनि त्यसलाई आत्मसात गर्न नसक्नु , बल्लबल्ल प्राप्त भएको नयाँमा पनि नानाभाँति भाँजो आईलाग्नु नै हाम्रो सामुहिक नियति हो क्यारे । 'भाग्यले दिएको कर्मले ठेलेको' भन्थे बुढापाकाहरु सोईपरी । यौटा सुवर्ण अवशर जुराउँछ भाग्यले केहि नयाँ गर्ने तर हाम्रा कर्म पुरुषहरुको बदनियतपूर्ण कर्मले ठेलेर छाड्छ र दुनियाँ सामु लज्जित हुनुपर्छ सामुहिक हामीले । तिनै कर्म पुरुषहरु पनि पर्छन समुहमा तर लाज घिन मान्दैनन तिनिहरु । सन्दर्भमा पशुपतिका पूजारी काण्ड अगाडी आएको छ नयाँ वर्षको बेला । भन्ने नै हो भने यो नयाँ वर्ष अर्काको थियो तर यहि पूजारी काण्ड तेर्सिदिँदा नयाँ वर्षले हामीलाई गरम बनाएर छोड्यो । यस विषयमा अपरिपक्व र हतारमा निर्णय गर्न सिपालु भै सकेको सरकारको विरोध गर्दा पनि लज्जित हुनुपर्ने र समर्थन गर्नपनि नसकिने अवस्थाको सिर्जना भयो । जव ईमान्दारहरुको खडेरी पर्छ तव कुनै न कुनै एक बेईमान माथी नै ईमान्दारीको आशा राख्नुपर्छ भन्ने नसिहत समयले केहि अघि नै दिएको थियो यतिखेर भने समयले अन्तरमै बेईमानीको कालो ध्वाँसो भएपछि जति ईमान्दारीताको आशा राखे पनि बेईमान बेईमान नै रहन्छ भन्ने प्रष्ट पारेको छ । यो कुरा यतिबेला पशुपति पूजारी प्रकरण उब्जाउंने सरकारमा मात्र नभएर उसको विरोध गर्ने सबै दल र त्यसबाट फाइदा उठाउन खोज्ने छिमेकी भारतमा पनि देखिएको छ । त्यसमा पानीको हाहाकार भयो भनेर आगो निभाउन बनस्पति घ्यु हाल्ने हामी पनि पर्छौं त्यसैले त हामीले फेरी एकपटक सामुहिक हार खेपेका छौं र पनि आफैं झुकेर मख्ख छौं , आफैंलाई झुकाएर दंग छौं ।

पत्रपत्रिका , ब्लग चारैतिर तात्तातै यस विषयमा धेरै लेखिए । लेखिए जतिमा धेरै यो काण्डको विरोधमै लेखिए - नलेखियोस पनि किन ? सरकारको हरेक कार्य शैली परिवर्तनको नाउँमा जनता भड्काउने मात्र भएपछि तर पनि कतिबेला मौका पाईन्छ र यो सरकारको झाँको झार्नु भनेर कुरेकै बेला मौका पाए जस्तो हत्तार गरेर लेख्न मलाई अलि मन लागेन । हामीकहाँ परिवर्तन नहोस , यथास्थिती नै कायम रहोस भन्ने अभिप्रायले छिमेकी देश भारतमा जोगीहरुको समुह झोली तुम्बा भिरेर हातमा कमण्डलु र चिम्टा लिएर जुलुस निस्केको भर्खरै मात्र हो । त्यतीबेला धर्मकै आड लिएर उनिहरु हाम्रो राजनीतिक गति रोक्न तम्तयार थिए भने यतिखेर धर्ममा राजनीति मिसाउन पाईंदैन भनेर विरोधको चार अक्षर लेख्दा त्यही जोगीको हूल सञ्चालन गर्ने छिमेकी मुलुकको राजनीतिक मण्डलीलाई तत्कालै किन बल थप्ने भन्ने लाग्यो मलाई त । धर्ममा राजनीति हुनुहुँदैन भन्नु पनि ब्यर्थ हो । पौराणिक काल देखि नै धर्म र राजनीति सँगै गाँसिएर आएको छ । हामीले राजनीतिका अनेक दाउपेच धर्मकै ठेली पल्टाउँदा पनि सिक्न सक्छौं तर धर्मसँग जोडिन आउने राजनीतिको यौटा सँस्कार हुनुपर्छ त्यो हामीकहाँ छैन । कतै हुँदैन क्यार त्यसैले त धर्म र राजनीतिकै उपजले कुरुक्षेत्र देखि नै संग्राम हुँदै आएको ।

यतिखेर मलाई यो विषय उठाएर मात्रै पशुपतिनाथको मन्दिरसँगको आफ्नो सम्बन्ध लेख्न मन लागेको थियो तर कुरा धर्म र राजनीतिमै केन्द्रित भएछ । हुनत कुरा उठाउन मन लागेको पनि त्यसैकारण नै हो । पशुपतिको पूजारी काण्डको हल्लीखल्लीले मलाई आफु पशुपति गएको स्मरण भयो । चानचुन ६ महिना काठमाण्डौ खाल्डोमा बस्दा म मुश्किलले ३ पल्ट पशुपति मन्दिर क्षेत्र पुगेँ होला तर आरध्य देव श्री पशुपतिनाथको दर्शन गर्ने अभिलाषा म मा कुनै पटक पनि आएन क्यार त्यसैले कहिल्यै म जुत्ता खोलेर पस्नुपर्ने ठाउँ तर्फ गईनं । मन्दिर क्षेत्रमा पुग्दा नै म शुन्य भै सकेको हुन्छु । भगवानको अगाडी उभिएर न माग्नलाई केहि हुन्छ न भगवानलाई सुनाउनलाई केहि ( सुन्दा पढ्दा यो बनिबनाउ डाईलग कतैबाट कपि गरेजस्तो भएपनि मलाई यस्तै हुन्छ - धेरैलाई हुन्छ क्यार त्यसैले अरुले भनेको पनि सुनेको छु । ) , त्यसैले मैले अन्यत्र पनि मन्दिर भित्र भगवानको अगाडी उभिएर कहिल्यै केहि मागेको छैन । यतिबेला मलाई खल्लो लाग्यो पशुपतिनाथको मन्दिर भित्र पशुपतिनाथसंग माग्नलाई केहि नभएपनि पसेको भए के हुन्थ्यो ? भन्ने लागेको छ ।

पहिलो पल्ट पशुपति मन्दिर क्षेत्र जाँदा मन्दिरको पारीपट्टी बसेर मुर्दा जलाउँदै गरेको हेर्दैगर्दा एकजना जड्याहा पनि मातेर बर्बराउँदै गरेको देखेको थिएँ । त्यो बेला एक मनले यस्ता जँड्याहाहरु मन्दिर तिर किन आउँछन ? भन्ने लागेको थियो भने अर्को मनले बिचरासँग जँड्याहा हुनुको पनि छुट्टै कथा होला , त्यसै ईज्जत फालेर हिँड्न कस्लाई मन लाग्दोहोला र भन्ने लागेको थियो । त्यसबेला पनि मैले यौटा गीत लेखेको थिएँ । सम्झिउँ है -

आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा
अपबित्र भएं त के भयो यस्तै लेखिदिईस तगदिरमा ।


निहुराउंदिन यो शिर मेरो भगवान तेरो त्यो पाउमा
आएको हैन म तेरो आश्थाको हंस्सी उडाउने दाउमा
हिंजोको मेरो विश्वासको ईश्वर बदलियो आज पत्थरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।


पुजेर सँधै पत्थरको मुर्ती भएछु मान्छे म ढुँगाको
कृपाले तेरो यात्री भएं म डुब्नै लागेको डुँगाको
मरौं कि बाँचौ भएर आज बेरिएको छु म जंजीरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।

मन्दिर भित्र पसेर भगवानसँग गुनासो नगरेपनि मन्दिर बाहिरै भने यसरी गुनासो पनि गर्दोरहेछु म । आजभने भगवान पशुपतिनाथसँग टाढैबाट भएपनि केहि माग्न मन लागेको छ ।

हाम्रो देशमा मान्छेहरु राजनीतिमा लाग्छन , मान्छे भएरै चुनाव लड्छन , मान्छे भएरै चुनाव जित्छन तर जव तिनीहरु सरकार बनाउँछन तब छुट्याउन गाह्रो हुन्छ ति मान्छे नै रहेका छन कि पशु भैसके भनेर त्यसैले हे भगवान ! पशुपतिनाथ , सरकार बनाउने नेताहरु मात्र हैन राजनीतिमा सक्रिय लागीपरेका सबै नेताहरुलाई यदि तिनीहरु पशु नै भै सकेका छन भनेपनि गाई जस्तै साधु(सरल) बनाईदेउ साँढे जस्तो उन्मत्ता हैन । मान्छे नै रहेका छन भनेपनि अर्को मान्छेलाई मान्छे हो भनेर ठम्याउन सक्ने खालको मान्छे बनाईदेउ अरुलाई मान्छे नै नगन्ने मान्छे हैन । कहिल्यै तिमीसँग केहि नमागेको मैले यति मागेको छु - अरु केहि चाहिएको छैन र माग्दिंन पनि ।

[खै लेखेको ? भन्दै आजै चिमोट्नुहुने कैलाशजी र केहि अघि कति निदाएको भन्दै पानी खन्याउनुहुने ( नाम खुलाउन मनाईं छ ब्यारे ) प्रिय पाठकजी ( मलाई प्रिय लेखक भन्नुहुन्छ र नाईं ) लाई मुरी धन्यवाद सहित उपस्थित छु है ।]

7 comments:

Jotare Dhaiba said...

लुनाजीले सिर्जनामा तपाईंको निरशपनबारे कुरो उप्काउनुभएको थियो, तर नयाँ वर्षमा त तपाईं साँच्चै अत्यासमा पो रहनुभएछ ।
हुन त परिदृस्य सबैतिर निसास्सिँदो देखिन्छ, तर आफुलाई जोगएर हिंड्नुपरेको छ, के गर्नु ! हेरौँ, नयाँको नाममा साँच्चै पो केही हुन्छ कि ?
पशुपति पुगेपछि लेखेको गीतले चस्का लगायो दीपकजी ! हुरुक्कै बनाउने भव उन्नुभएको छ । यो पोष्टभरि तपाईंको संवेदनशीलता पाएर नतमस्तक भएँ ।

आकार said...

गन्थन पढेँ, पढेँ, मेरो दिमाग ले केही भेट्टाएन, शिर्षक जुराउन । अर्को पोष्टमा चाँहि शीर्षक जुराइदिउँला है !

Dilip Acharya said...

सर्रर पढ्दैं जाँदा एउटै टाँसोमा गित, कविता र पशुपतिको 'जात्रा' पनि एकै ठाँउमा हालेर गज्जबसंग स्वादिलो खिचडी बनाउनु भएछ ।

तपाईले 'भगवानको अगाडी उभिएर कहिल्यै केहि मागेको छैन' भनेकोमा म भने विना कुनै प्रश्न विश्‍वास गर्छु । किनकि म पनि केहि माग्दिन।

सृष्टीकै सबैभन्दा चेतनशील प्राणी बनाएर जन्माईसकेपछि अझै के माग्ने?

अरु साथीहरुलाई पनि चित्त नबुझ्ला तर मेरो विचारमा मानिसले भगवान संग केवल यौटै कुरा मात्र माग्न मिल्छ। त्यो हो माफी ।

Luna said...

सम साम यिक जल्दो बल्दो बिषय बस्तुमा दर्हो सँग लेख्नु भो दिपक जि ।
कबिता - गजल उहिले लेख्नु भए पनि अहिले को पिर मा लेखिए झै छन ति ।
निरन्तरताको कामना गर्दछु । साथइ मेरो मनको पिर पोख्ने अनुमती पनि माग्छु है ?
-------------------------
" दुख्नु नै हाम्रो नियती बनेछ "---
~~~~~
तिमीले मरुभूमिमा
जिबनको घडा बिताएका छौ ?
अनी त्यहा थाकेका छौ ?
त्यो पनि पानी पिउन नपाएर !
हो , ठीक त्यस्तै
म गलेकी थिए
एक्लै एक्लै आफ्नै मन सँग
किन मन कहिले काही
मरुभूमिमा पारीणत भाईदिन्छ यसरी !----
त्यतिखेर सोच्ने माथिङ्ग्ल
सार्है थाक्दो रहेछ
असाध्यै दुखेर --
अनी जब कोही
बादल बनेर छ इदिन्छ
मरुभूमी तुल्य मन माथिको आकाश मा
आँखाबाट आशु ब र् र् र् झर्दो रहेछ
एउटा आश मा - बिश्बास मा ---
त्यो आश - बिश्बास
कती मिठो र आत्मिय हुन्छ
म यहाँ कसरी बर्णन गरु !
तिमी त्यही बादल भएका छौ
मेरो निम्ती
असाध्यै दुखेकी थिए
अहिले चित्त बुझाउदै छु
तिमी पनि दुखेको देखेर
के गर्ने !
दुख्नु नै हाम्रो नियती बनेछ !---

सिकारु said...

धेरैदिनको आगमन पश्चात स्वागत जडित जि... सुनेको थिए दिपकजिको संसारमा पुगियो भने नतमस्तक् भैइन्छ भनेर । नभन्दै आज भावना र अनुभवको समिश्रण्ले गोरेटोमा हिडदै गरेको एउटा सिकारुलाई नयाँ सिकाइको ढोका खुले जस्तै लागिरहेछ ।

अनि जडित जि यसरि लामो समय सम्म चाहि हराउन पाइदैन ल। बिन्ति...........

बेदनाथ पुलामी ( उमेश ) said...

दीपक जी तपाइले त धेरै दिनको कुराहरु गुम्सेर रहेका सबै एक मुस्ट ठेल्नु भएछ नि ! अनि कति बाठो हुनु भएको हामीलाई मुस्किल मा पारेर -खै के शीर्षक दिउ ? उल्टै तपाईलाई नै पो सोध्नु पर्छ की क्याहो कुनि? ल त त्यही प्रश्न त्यतै फर्काए है ?

दीपक जडित said...

हार्दिक धन्यवाद सबैलाई प्रतिक्रिया लेखिदिनुभएकोमा ।
धाईबाजी , हेरौं केहि हुन्छ को आस त जतिसुकै हुँदापनि रहने नै हो क्यारे तरपनि बर्तमान बिचल्ली परेको परेकै रहने भो ।
आकारजी अनि बेदनाथजी , यस गन्थनलाई शिर्षक चाहिएला ? यो यस्तै भए नि हुन्छ ।
दिलीपजी , वास्तवमा मान्छेले भगवानसँग माग्ने माफी नै हो ता कि भगवानले माफी दिओस नदिओस मान्छेले अर्को गल्ति गर्न सकोस ।

लुनाजी , सहमती कविता राम्रो लाग्यो । दुखेरै हेरौं कुनै दिन त यो दुखाई सम्झँदा ए हामी त्यसरी दुखेका पनि थियौं नि ? भन्ने दिन आ उला ।
सिकारुजी , नियमित , कम से कम हरेक ३ दिनमा यौटा पोष्ट राख्न भन्छु के हुन्छ कैलेकाँही ढिला भ ईन्छ ।