Sunday, January 18, 2009

कविता : ओई ! ईश्वर , अब तैँले उठ्नै पर्छ

मन मार्दा मार्दै निक्कै दिन त्यसै पचाईएछ । खास गरेर पछिल्ला समयमा देशको राजनैतिक गिजोलोले मन साह्रै बिरक्तिएको थियो , छ , के थाहा कतिञ्जेल रहने हो ? हामी रन्थनिईरहेछौं , केहि अर्थ राख्ला नराख्ला हाम्रो रन्थनाईले तर यसबाट आफुलाई नछुवाई रहन पनि सकिँदैन । कैलेकाँही सम्झन्छु यहि परिस्थितीमा पनि यो राजनैतिक भुमरी एकदिन अवश्य सेटल भएर जानेछ भन्दै निरन्तर आफ्नो मिसनमा खटिने बर्तमानका राष्ट्रका एक नायक महाबिर पुनलाई र आफैंलाई प्रश्न गर्छु म यौटा पात पतिङ्गर किन यो भुमरीको हावामा उडिरहेको छु ? जवाफ पनि त्यहीँ छ भुमरीमा परेर उड्ने पातपतिङ्गरहरु नै हुन , रुखहरु त आँधीमा पनि अटल उभिने सामर्थ्य राख्छन नि । मैले आफुसँग भएको अल्पज्ञानी यो टाउकोले गर्न सक्ने कुरा गर्न पनि देशको त्यही राजनैतिक भुमरीले त्यसैले दिक्क लागेको छ भन्ने बहाना बनाउँदै चुपचाप बसेको रहेछु - नजाने जस्तो के गर्नु ? चुपचाप बसेको छु भनौं । अर्को हिसाबले नजानेकै पनि हो आज जानेँ फेरी भनुँ न , संसारमा अनेक उथलपुथल हुँदै जान्छ तर संसार चल्दै जान्छ , चल्दै जानै पर्छ , चलाउँदै पनि जानु पर्छ तबसम्म जबसम्म संसार आयुमा रहन्छ ।

हरेक पल केहि नयाँ सोच्न , केहि नयाँ सोचाईलाई अक्षरमा कपेर कुनै आकार दिन रुचि राख्ने म निक्कै बोधो भएकै हुँ पछिल्लो केहि समय कारण राजनैतिक अन्यौलता भैदियो । आफु परदेशमा बसिएको छ त्यो अर्कै कुरा हो तर देश जिम्मा लगाएका नेताहरुबाट केहि आशा गर्ने ठाउँ नरहेको , भरोषा गर्न नसकिएको अवस्था दिनदिनै बढ्दै जाँदा यो स्वभाविक हो त्यसको विपरित मैले भनिसकेको छु ।

जे होस् धेरैपछि मैले यौटा कविता लेखेको छु - आजभोली कविता लेख्दा पनि मलाई लेख्न आउनै छाडेछ क्या हो ? को महसुस हुन्छ । किन हो थाहा छैन तर यो पटक आज दिउँसो लेखेको कविता ल्याउँदैछु लामो अन्तराल पछि । माई संसारको शनिबार साहित्य अन्तर्गत फोटो हेर्नुस् कविता लेख्नुस् भन्ने फोटो माथी फेरी ईश्वरलाई तँ तँ र म म गर्दै लेखेछु यो कविता -



ओई ! ईश्वर ?
किन चुपचाप छस् तँ ?
लुकेर मान्छेहरुले बनाईदिएको चार पर्खाल भित्र
'आउन मान्छेहरु
सुतेको तँलाई जगाउन घण्टी बजाएर
छर्किउन पानी गँगाजलको अभिषेकम् भन्दै '
के यहि भ्रम पालेर अझै बसेको होस् तँ ?
सुन , ओई ! ईश्वर ?
मान्छेहरुले घोषणा गरिसके
तँ मरिसकिस् भनेर
फालीसके आफ्नो आत्माबाट तँलाई झिकेर
त्यसैले त देखिनस् तैंले ?
आज तेरो द्वारमा घण्टी बजाएर
तँलाई जगाउने हातहरु
कतै एकान्त जँगलमा कसैको घाँटी रेट्न ब्यस्त छन्
आज तेरो द्वारमा शिर टेकाएर
पवित्र बन्ने माथहरु
कतै अँध्यारोमा तैं विरुद्ध योजना बनाउन ब्यस्त छन्
सर्वोत्कृष्ट प्राणी 'मान्छे' बनाएर
तैंले गर्व गरेको त्यो दिन सम्झि त ?
आज मान्छेहरु कसरी यति निकृष्ट भए ?
ओई ! ईश्वर ?
कि तँ त्यही शरमले झुकेर
लुकिरहेको छस् चार पर्खालभित्र
मान्छेले दिएको एक टुक्रा नैवेदले चित्त बुझाएर ?
मान्छेहरुले तेरो द्वारमा घण्टी बजाईसके
अब तैँले उठ्नु पर्छ
र मान्छेहरुको मनको द्वारमा
पाञ्चायन शँख बजाउनु पर्छ
कौमोदकी गदा उठाउनु पर्छ
भन् तँ ईश्वर नै लाछी भईस् भने
ति निम्छरो मान्छेले के गर्लान् ?
जो अझै पनि कतै तँ लुकेको छस्
कुनै दिन त आउँछस् भन्दै बसेका छन्
सुन् , ओई ! ईश्वर
मैले पनि तँलाई
गाली गरेको छु पटक पटक
कोसेको छु लगातार
किनकि अझैसम्म तँलाई मैले
मारेर फालेको छैन मबाट
हार्न नदे ति मान्छेलाई
जो तेरो पर्खाईमा बसेका छन्
उठ् अहिल्यै र निस्कि चार पर्खाल बाहिर
देख्ने छस् त्याँहा
बर्कोभित्र लुकाएर सँकटकालिन् प्रेम
यौटा जिउँदो प्रतिनिधी आत्मा अझै तेरै पर्खाईमा छ
ओई ! ईश्वर , अब तैँले उठ्नै पर्छ ।

8 comments:

उजेली said...

ढुङ्गाको ईश्वरलाई त्यागेर आफ्नो मनको ईश्वर उठाउन तिर लागौँ ।

Luna said...

उत्कृष्ट कबिता लेख्नु भो दिपक जि ।
"भूमरी मा उड्ने त पातपतिङ्गर नै हुन , रुखहरु त आधिमा पनि अटल रहने सामर्थ्य राख्छन नि " --
यथार्त लेख्नु भो ।
मर्कामा त सधैं सर्बसाधारण जनता नै ----
मुलुकको अन्योलताको भूमरिमा रिङ्गगिने त सर्बसाधारण नै हो !

roopess said...

Man ko deuta lai baahira khojera saayed kaha bhetiyela!!

Basanta Gautam said...

राम्रो कविता लेख्नुभयो!

तर देवता आफैं कहिल्यै उठ्नेछैन किनभने देवता मानिसको आविष्कार हो र मानिस उठ्योभने ऊ नउठ्ने कुनै सम्भावनै छैन।

आकार said...

साह्रै धम्की नै पो, दिनु भएछ त, देवतालाई !

ईश्वर भनेको आफू भित्र हुन्छ । ईश्वर खोज्न अन्त भौँतारिनु पर्दैन । यदि ईश्वर आफू भित्र नभै अरुमा हुने भए, "उश्वर" भनिन्थ्यो, शाब्दिक हिसाब ले पनि । हो, आफू भित्र को ईश्वर सँधै जागा हुनुपर्छ ।

Sumiran said...

कविताको अभिव्यक्ती सुन्दर लाग्यो।
तर जुन इश्वरतर्फ कविता उन्मुख छ, त्यो त हाम्रै सृस्‍टि हो।
ईश्वर त यस कबिता मार्फत नै उठ्न खोजे जस्तो लाग्यो।
शुभकामना!

दीपक जडित said...

सर्वप्रथम त प्रतिक्रिया गर्नुहुने सबैसँग कृतज्ञता जनाउँछु ।

मिथ्यै मिथ्याले भरिएको सँसारमा हामी अनेकन मिथ्याहरु सत्य ठानेर हिँडेका हुन्छौं त्यसमध्येमा ईश्वर यौटा हो । ईश्वर कहाँ छ ? कहाँ हुन्छ ? भन्ने नबुझेर अथवा मन्दिरको चार पर्खालभित्र नै ईश्वर सुतेको छ भन्ने भ्रमलाई सत्य ठानेर यो कविता पक्कै लेखेको हैन मैले । भनेकै छु अहिले सम्म भगवान मारेर फालेको छैन मबाट , ईश्वर जहाँ छ त्यहीँ गएर धम्की ( आकारजीले भने झैं ) दिएको हुँ । अनास्थाले हैन अति आश्थाले पनि हैन र यो फोटोमाथी लेखिएको कविता भएको हुनाले ईश्वर मारेर फाल्नेहरु , ईश्वरको घर मन्दिर हो भन्नेहरु र ईश्वर हो त के हो ? (तपाईंहरु र म पनि ) भन्नेहरु सबैको पोल लगाउन खोजेको हुँ ईश्वरलाई त्यो मेरै मनभित्रको होस् या तपाईंको मनको होस् या हामीले निर्जिब मान्ने मुर्ति(जस्मापनि कणहरुको चाल हुन्छ भनेर मान्दछौं हामी) को होस् । साथै ईश्वरको सर्वब्यापकतालाई मान्दा ईश्वरलाई अब उठ्नै पर्छ भनेको मैले मलाई उठ्नै पर्छ , तपाईंलाई उठ्नै पर्छ समग्र मान्छे उठ्नै पर्छ भनेको पनि त हो नि ।

सबैको प्रतिक्रिया उस्तै पाएको हुनाले एकमुष्ट यति भनें है - स्पस्ट पार्न पनि कठिन नै हो यो कुरा जुन हामीसबैलाई थाहा छ ।

बेदनाथ पुलामी ( उमेश ) said...

It’s impressing for me. Really you have magic word.