Monday, December 21, 2009

प्रसङ्ग - अन्तरालका कुराहरुको

एक त के अनेक भूमिकाले पनि बाँध्न सक्दैन रहेछ बिथोलिएको अवस्थितीलाई चाहे त्यो मनको होस् या अर्थोकै केहिको ।

प्रसङ्ग - अन्तरालका कुराहरुको
समय - मैले हिसाब गर्न जाने देखि आजसम्म र यो तन्कँदै जानेछ म रहुञ्जेल
स्थान - मैले देखेजति आकाश र टेकेजति धर्ती


यो अन्तरालका कुराहरुको प्रसङ्गलाई अब थियो भन्ने कि छ भन्ने ? दोधारमा छु । यो दोधार छँदै थिएन जब मनमा लेख्ने तानाबाना बुन्दैथिएं तर लेख्दै जाँदा नितान्त ब्याक्तिगत कुराहरुलाई म यति महत्व दिएर किन लेखिरहेछु ? यो सब कुराहरुको अर्थ म स्वयंलाई बाहेक कति महत्वको छ र ? भन्ने जस्ता तर्कनाहरु उब्जँदै गए, कुनै बाली लगाईएको खेतमा झार पलाएझैं पलाएका तर्कनाहरु यस्तरी बलिया बनिदिए कि एक पटक हैन अनेक पटक मैले यौटा सानो अन्तरालका कुराहरु लेख्दै मेट्दै गरें र त्यसैले अर्को अन्तराल बनाउँदै गयो । हो रहेछ, अन्तराल यसरी नै बन्दो रहेछ । हामी निरन्तर प्रयासरत हुन्छौं जीवनका कुनै पक्षमा अन्तराल नबनोस् र त्यसको अप्ठ्याराहरु सामना गर्नु नपरोस् भनेर तर त्यहि प्रयासले अर्को अन्तराल निर्माण गरिरहँदो रहेछ र हामी जीवनमा आफैंले बनाउन पुगेका अन्तरालका गहिरा गहिरा खाडलहरुमा पुरिइरहँदा रहेछौं । ति खाडलहरु घातक नै हुन्छन् भन्ने पनि छैन । निस्कन्छौं, उम्कन्छौं ति खाडलहरुबाट तर उम्कनलाई गरेको प्रयासले या भनौं प्रयासरत रहेको समयावधीले फेरी अर्को खाडल निर्माण गरिसक्दोरहेछ र धकेल्दोरहेछ हामीलाई फेरी अन्तरालकै खाडलमा ।

प्रक्रिया उहि उस्तै चलिरहने निरन्तर जिन्दगीको र त्यसमा प्रत्येक पल भए/गरेको नयाँ देख्न नसक्ने हामी मुर्ख मनुवाहरु ।

यौटा निश्चित समयावधीको अन्तरालका कुराहरु उप्काउन खोज्दै जाँदा क्रमश आजसम्मकै जीवनका अन्तरालहरु उपस्थित हुँदै गए र म अन्यौलमा फँस्दै गएं कि कुन कुरालाई लेखुँ ? लेखिसकेका धेरै कुराहरु त मेटिसकेको छु । के अब सबै सुरुवातबाट लेखुँ ? अहँ यो यति सजिलै लेखिने कुरा होईन । यस्तै मात्र लागिरहयो, त्यसो त यहाँनेर पनि अन्यौलमा छु म, यो यस्तै लागेको नै हो कि अथवा मैले यस्तो लाग्नुलाई जोड दिएको हो ? लेख्दै जाँदा थपिँदै गएका कुराहरुले कि त मेरो लेखलाई भद्दा बनाउने छ या त जति लेखेर पनि यो अधुरो नै रहने छ । निचोड यस्तै बन्यो ।

लेख्न खोजिएको अन्तरालको कुरा लेख्ने नै हो भने दुई वाक्यांसमा लेखिएला तर अन्तरालका कुराको सीमा वृहद बन्दै गयो । थपिंदै गए अन्तरालहरु र म केवल गोडा पाँचेक हरफमा आफ्ना कुरा लेख्ने ब्लगर(लेखक नै भनुँ न) रहिनं । म स्वयं यौटा यस्तो पात्र बनें जस्ले भोगाईको हकमा जीवनका सबै यामहरु भोगेको छ र अन्तरालका कुराहरुमा ति सबै यामहरुको उपस्थिती आवश्यक छ । जो नफुल्नु खुशी फुलेको छ, नदुख्नु पीडा दुखेको छ र ति खुसी र पीडाका क्षणहरुले पनि अन्तरालका कुराहरुमा आफ्नो वर्चस्वको हकदाबी गर्दछन् । जब थोरै कुराहरु भन्न खोज्दा अर्थात लेख्न खोज्दा आफुलाई यस्तो अवस्थामा पाईंदोरहेछ तब लाग्दोरहेछ कि त यो लेख्नुको औचित्य छैन या फेरी लेख्ने समय नै भएको छैन ।

त्यसो त एक ब्लगर भएर मैले आफुलाई एक खुल्ला किताब भनेको छु । यो मलाई लाग्छ - म मात्र हैन हामी सम्पुर्ण ब्लगरहरु नै यौटा खुल्ला किताब सरह हौं जो आफ्ना मनका अक्षरहरु, ति जतिसुकै नितान्त ब्याक्तिगत किन नहुन ब्लगका पानामा कुनै न कुनै माध्ययमले छाप्ने गर्छौं र अलिकति राहतको स्वास फेर्छौं । यस्तो सोच्दासोच्दै, अनायस कति कुराहरुमा हामी मनका अक्षरहरुलाई ब्लगका पेजहरुमा हुबहु फोटोकपिझैं उतार्न सक्दैनौ पनि । भनौं न ब्लग मनको ऐना हो भने मनको अक्षर त्यसमा देखाउनलाई प्रतिविम्बित मात्रै गरेर पुग्दैन, त्यसो गर्दा त्यो उल्टो देखिन जान्छ यसर्थ हामी मनका अक्षरहरुलाई अरुले बुझ्ने गरेर र धेरैजसो चैं आफुले अरुलाई बुझाउन चाहे अनुशार आकार/प्रकारमा फेरबदल गर्ने गर्छौं । ब्याक्तिगत कुराहरुको लेखाईमा यो प्रयास प्रायस सबै ब्लगरहरुमा लागू हुन्छ । जस्तै मलाई नै भै रहेछ ।

अन्तरालका कुराहरु लेख्ने जमर्कोमा म ति नै अन्तरालका गहिरा खाडलहरुमा यसरी खसुँला भन्ने कहाँ थियो र ? लेख्दैथिएँ सरर सरर मानौं कि ममा उस जूगका महान लेखन्दास गणेशकै जस्तो बिद्युतिय लेखन शक्ति छ तर लेख्दै जाँदा महसुस हुँदै गयो लेखन्दास बन्ने शक्ति हुनु र लेखक बन्ने शक्ति हुनु दुई पृथक कुराहरु हुन् । प्रसंग उप्किंदा अलिकति गणेशको बारेमा बोलीहालुँ - त्यत्रो विद्युतिय गतिमा लेखन शक्ति भएका गणेशले किन यौटा पनि आफ्नो कृति लेखेनन् होला ? आफ्नो यौटा पनि कृति नलेख्ने गणेशको कस्तो बिद्युतिय गति थियो होला त लेख्ने ? के गणेशसँग कम्प्युटर थियो छिट्टो लेख्नलाई जस्तो अहिले मैले प्रयोग गरिरहेछु ? त्यसो हो भने गणेशसँग द्रुत गतिमा लेख्ने बिद्युतिय शक्ति हैन साधन थियो भन्न पर्छ होला सायद र साधन प्रयाप्त भएर मात्र निर्माण हुन्छ भन्ने जरुरी छैन । कृति तयार गर्नु एक प्रकारले निर्माण न हो जहाँ यथेष्ट परिकल्पनाको खाँचो पर्छ । त्यसैले गणेशले आफ्नो कृति लेखेनन् होला । आँखिर उनि परिकल्पना प्रेमी भन्दा पनि परिक्रमा प्रेमी त दरिएकै हुन् । लगभग त्यस्तै नै अवस्था होला मेरो यो अन्तरालका कुराहरु लेख्नु जो म साधन भएर मात्र लेख्न सकिरहेको छैन । सायद ब्यापक परिकल्पनाको खोजीमा छु ।

अन्तरालका कुराहरु लेख्ला यो ज्यानले । म आशावादी छु आफैंसँग । त्यसले समय लेला । त्यसको स्वरुप अहिले मैले कल्पना गरेको भन्दा अलग होला तर अन्तरालका कुराहरुले मनमा एक प्रकारको जुन घर बनाउँदैछन् तिनले पूर्णता पाएपछि त्यो अवश्य लेखिएला कुनै न कुनै उपायले । अहिलेलाई अन्तरालका कुराहरु मध्येको यौटा कथा एक हरफमा लेख्दैछु साथमा यौटा तस्विर राखेर । यो लेख्दिंन, लेख्नेबेला भएको छैन ईत्यादी ईत्यादी प्रतिको अन्तरविरोध हो अर्थात बनाउँदैछु । कथा भनिसकेपछि यौटा शिर्षक पनि चाहियो भनेर यो कथालाई 'जीवन साथी' शिर्षक दिएको छु ।

'जन्मेदेखि आज पर्यन्त कहिल्यै नछोडी सँगै लिएर हिँडीरहेको जीवनले थाहै नपाई बनाएका अन्तरालका गहिरा गहिरा खाडलहरु माझको कतै पुगेर साथी भेटाएको छ - जीवन साथी ।' यो फोटो कथा यति नै ।

फोटोको सम्बन्धमा: यो मेरो दोश्रो विवाहको तस्विर हो र उपज जीवन-अन्तरालकै ।

क्रमश...........(भलै यसको अत्तोपत्तो छैन ।).................

11 comments:

कैलाश said...

साँच्चै दिपकजी जीवन अन्तरालको यो कथा असाध्यै स्पष्ट र खुला छ। पढ्नेलाई पनि छर्लङ्ग र लेख्नेलाई त झनै निरन्तर बगेको सङ्लो पानी झै होला।
प्रसंग,समय र स्थानको विवरण ले नै मलाई त तान्यो। अनि अन्तरालका कुरामा म पनि बगे तपाईको शब्दसँगसँगै।

अँ त, तपाईको वैवाहिक सम्बन्धको सुखद संसारको लागि धेरै शुभकामना र तपाई दम्पत्ति दुबैलाई मनैदेखिको बधाई। (अन्तरालकै कुरा भएकोले यसो भन्नु ढिला भएको छैन भन्ने ठाने मैले।)

Dilip Acharya said...

अन्तरालका कुराहरु लेख्नेकाम सजिलो पक्कै छैन र जत्ति लेखे पनि वा खोले पनि
पुर्णस्य पुर्णमादाय पुर्णमेवावशिष्यते भने जस्तै केही कुरा अन्तरमनमै रहन्छन पनि ।

जे होस यहि पोस्टले पनि धेरै कुरा लेखिएका हरफहरुमा केही कुरा दुई अरफ बीचका खाली भागमा पनि बताएका छन जस्तो लाग्यो ।

वैबाहिक जिवनको सफलता र समृद्धिको शुभकामना सहित !

Jotare Dhaiba said...

अन्तरालका प्रसङ्गहरू पक्रिएर पनि छुटिरहने चिप्लेटी मोड हुन् कि जस्तो लाग्छ ।

स्वजनका नाताले यति कुरा थाहा पाउनु त हक नै हो कि जस्तो लाग्दैछ, नितान्त व्यक्तिगत कुरा पनि आफूबाहेककालाई महत्वको हुनसक्छ, रसायन गाँसिन्छ भने । नत्र त घोटाएर पिलाएको र साबित गरीगरी बनाएको नाताको विषालु रूप पनि देखिन्छ नै ।

यो कुराको साक्षी हुन पाउँदा निकै आत्मीय लाग्दैछ । दाम्पत्य जीवनको निकै धेरै शुभ कामना ! खुसी रहनुस् दुवै ।

कृष्णपक्ष said...

त्यसरी कहाँ लेख्न सकिन्छ र यति सजिलै आफ्नै मनका, जीवनका र भोगाईका अंतरालका कथाहरु?
यद्यपि जीवन साथी शिर्षकको नितान्त निजि फोटोकथा - निकै स्पष्ट र छर्लंग शेयर गर्नु भयो, कथाको भूमिका र अंतरालका प्रसंगका कुरा हरुले निकै मन छोयो

मेरो विचार said...

ब्लगरको हैसियतले मलाइ लाग्छ तपाईं एक खुल्ला किताब हुने प्रयत्न गर्नु भएको छ जुन प्रशंसनीय र हौसलाजनक पाएँ मैले | धेरै जसो अन्तरालका कुरा गर्भमा नै रहन्छन | स्वभाविक पनि हो, कसैलाई दोष दिने ठाउं छैन |
तर तपाइंले धर्मको निर्वाह र पालन गर्नु भो | हौसला र आँटको लागि बधाई |
अनि सबै भन्दा ज्यादा त वैवाहिक सम्बन्धको लागि बधाई र यसको दीर्घताको हार्दिक शुभकामना |

बासु

Unknown said...

कैलाशजी, दिलीपजी, धाईबाजी, कृष्णजी र बासुदाईलाई मेरो हार्दिक धन्यवाद ! कृतज्ञ छु तपाईंहरुको हार्दिकता प्रति ।

बिमल गिरी said...

Dhilai bhayepani yahaharuko naya jeebanko shubha sandhyama utarottar pragatiko lagi shubhakamana sahit kathako bhumika bhumikako barema bhanne thaunaichhaina..Deepak jee puna yek patak badhaichha....

पुष्प said...

आफ्नो लागि एउटी जीवनसाथी र छोरीका लागि एउटी आमा पाउनुभएकोमा बधाई तथा शुभकामना । यथार्थ जीवनकथा र तपाईंले लेख्न थाल्नुभएको 'जीवनकथा' सफल होस् ।

Unknown said...

हार्दिक धन्यवाद ! विमलजी र पुष्पजीलाई !

पुष्पजी मेरो ब्लगसम्म आईपुग्नुभएकोमा पनि धन्यवाद! सम्भवत यो तपाईंको पहिलो प्रतिक्रिया हो भन्ने लागेको छ मलाई ।

पुष्प said...

होइन दीपकजी, https://www.blogger.com/comment.g?blogID=877759375515587931&postID=4662827125613783732 यहाँ पहिलो हो । :)

तपाईंका कविताहरू साँच्चिकै राम्रा लाग्छन् । त्यसैले कहिलेकाहीँ यसो चिहाउन आइपुग्छु । अहिले भने तपाईंको प्रतिक्रिया पढ्नकै लागि फेरि उपस्थित भएको मात्र हुँ । अन्यथा देशको दुर्दशा भएको अवस्थामा राजनीतिकेन्द्रित गफबाहेक अरु त्यति रुचिकर लाग्दैन ।

पुष्प said...

.. अनि सं‍योग नै भन्नुपर्छ, पहिलो प्रतिक्रियामा दु:खमनाउ थियो भने दोस्रोमा खुशी बाँड्न पाएको छु ।