Friday, December 04, 2009

कविता : सुर्काउने केहि गाँठोहरु जिन्दगीका


सुर्काउने केहि गाँठोहरु
फुस्कँदै गए जिन्दगीका
मानौं सबै सबै नै थिए ति
यसैगरी फुस्कनलाई सहजै
जालान कतिहरु त अझै
फुस्कँदै झनै हेलैसँग
क्रमै अनुशार सुरुरु सुरुरु
जस्तो कि,
बाँधिएकै थिएनन् कतैपनि गाँठोहरु
जिन्दगीको डोरीमा
कुनै साईनोहरुको ।

साईनोहरु
अर्थात साईनोहरु जिन्दगीका
अप्रत्यासित बदलिएर
बाटिँदै पोया पोया डोरीझैं
सुर्काउने केहि गाँठोहरु
कसिँदै गए जिन्दगीका
भनौं यि पनि हुन सबै सबै
यसैगरी कसिनलाई सजिलै
जालान कतिहरु त अझै
कसिंदै झनै मेलैसँग
क्रमै अनुशार टिमिक्क टिमिक्क
जस्तो कि,
फुक्नै पर्दैन कहिल्यै पनि गाँठोहरु
जिन्दगीको डोरीमा
कुनै साईनोहरुको ।

हो साईनोहरु
अर्थात साईनोहरु जिन्दगीका
फगत सुर्काउने गाँठोहरु हुनभने
म मान्छे
किन रुन्छु बेस्सरी
फुस्कँदा जिन्दगीको
यौटा सुर्काउने गाँठो
किन फुर्किन्छु बेस्सरी
कसिंदा जिन्दगीको
यौटा सुर्काउने गाँठो ।

5 comments:

दूर्जेय चेतना said...

दिपकजी तपाईको यो कबिताको सार संग करिव करिब मिल्ने खालको भाव राखेर मैले पनि हालसालै एउटा लेख लेखेको थिए। जीवन समस्या र गाठोँहरुको चाल बाटै बन्दो रहेछ सायद।
साह्रै सुन्दार भाव बोकेको रहेछ कबिताले। खुसी लाग्यो।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

हो दीपकजी, साइनो का यस्तै अनगिन्ती गाँठो र फुस्काई को क्रममा बग्दो छ समय र हाम्रो जीवन ... त्यही त, यो स्वाभाविकताको ज्ञात भएरै पनि कहिले दुखि हुने र कहिले फुर्कने यो कस्तो मन है मान्छेको ?

कृष्णपक्ष उज्यालोको खोजिमा said...

हो दीपकजी, साइनो का यस्तै अनगिन्ती गाँठो र फुस्काई को क्रममा बग्दो छ समय र हाम्रो जीवन ... त्यही त, यो स्वाभाविकताको ज्ञात भएरै पनि कहिले दुखि हुने र कहिले फुर्कने यो कस्तो मन है मान्छेको ?

सूर्य/सिकारु said...

दीपक जी को साहित्यिक सागरमा फेरी पनि जम्न आइपुगे न्यानो अभिभादन सहित !!!! भावनाको सुर्कोलाई माथि साथीहरुले नै फुर्को लगाइहाल्नु भयो दु:ख र सुखको समाधि भनेर जसमा मेरो पनि समर्थन ।

Basanta said...

यथार्थको सटीक प्रस्तुति! जिन्दगी भनेकै यस्तै सुर्काउनेहरुको संयोग हो, कति लामो समयपछि मात्रै फुस्किन्छन्, कति चाँडैनै फुस्किन्छन्। तर गाँठो जस्तो भएपनि त्योसंग मान्छेको आत्मीयता बसिहाल्दो रहेछ।