Tuesday, December 01, 2009

यो केवल भूमिका हो भोलीको


हिसाब कैले पो गरिएको थियो र जिन्दगीलाई ? बेहिसाब यो जिन्दगीको पनि तर हिसाब खोज्न लागिंदोरहेछ कैलेकाँही । भनौं न जिन्दगीलाई हिसाब नगरी त राखिएकै थिएन । यहिँनेर जिन्दगीको केरमेट सुरु हुन्छ र पत्तै लाग्दैन कहाँ कैले के लेखियो र मेटियो । गर्दै नगरेका कामकुराहरुको पनि हिसाब निस्कन्छ कैले जिन्दगीमा त कैले एक एक हिसाब संगालेको जिन्दगी पनि बेपत्ता हुन्छ जिन्दगीबाट । कैलेदेखि आफुलाई हराएं ? कैले आफुलाई भेटाएँ ? कस्तो अवस्थामा जिन्दगीलाई छोडेको थिएँ ? र भेटाउँदा जिन्दगी कस्तो भयो ? नढल्नु अर्कै कुरा हो तर रिँगटा छुटट्छ जिन्दगीको हिसाब मिलानमा तब भनिंदो रहेछ - हिसाब कैले पो गरिएको थियो र जिन्दगीलाई । सायद जिन्दगीको भाउन्नबाट छुटकरा पाउन यसो भनिन्छ तर के पाईन्छ त छुटकरा जिन्दगीको भाउन्नबाट ? अहँ मलाई त पट्टक्कै लाग्दैन जबसम्म कोसिस गरिन्छ मिलाउन तबसम्म जिन्दगीको हिसाब किताबको झमेला कायम रहन्छ जब कोसिस गर्न बन्द हुन्छ तब झमेला पनि समाप्त हुन्छ ।

यसको गहिराईमा नगएकै राम्रो अहिले । अथाह गहिराई भएर पनि जिन्दगी आँखिर सतहमै समाप्त हुन जान्छ । हामी सतहबाट न माथी उठ्न सक्छौं न तल तल गहिराईमा पुग्न सक्छौं । जति पुगेका छौं भन्छौं त्यो केवल भ्रम हो भन्छु म । प्रकाश सायमिको शब्द सापटी लिएर भन्दा जिन्दगीको गोबर झ्याउलोमा लुट्पुटिएर म कतिखेर गोब्रेकिरो भएर जिन्दगी देखि हराएँ र आज जिन्दगीको धागो समाएर आएँ ? यत्तिकुराले फेरी ब्लगमा जोडिने कोसिस गर्दैछु वास्तवमा म । त्यसभन्दा पर जिन्दगीको कुरा त कुरै मात्र न हो ।

लामो भएको हो यो अन्तराल । समयको यो लामो अन्तराल यतिखेर एकै गुजुल्टो भएर डल्लिएको धागो जस्तै हत्केलामै खेलाउन सक्ने भएको छ । यो कस्तो भने भनौं न सर्सर्ती सम्झिएको यो अन्तराल भरीको समय चैं डल्लिएको धागो र अलि बिस्तारमा त्यही समयलाई सम्झिंदा चैं त्यही धागो फुकाएर बिस्तारमा तन्काईएको जस्तो ।

यस अन्तरालभित्रका कुराहरु कहाँबाट सुरु गर्ने ? खोतल्ने मेसो नै हराईसकेको झैं भएको छ । हुनपनि यस अन्तरालमा धेरै उथलपुथल र फेरबदल भयो जिन्दगीमा । तिहार थियो त्यो बेला जब मैले पछिल्लो टाँसो तिहारकै बारेमा लेखेको थिएँ । तिहारको टाँसो चढाईसकेपछि अनेक पल्ट अनेकथरी कुराहरु लेखें तर ब्लगमा राखिँन फलत समयले त्यसमध्ये कतिलाई पुरानो बनाईदियो कतिलाई तर्साएर सातो लियो ओभरडोज हुन्छ भनेर । कठै ! ओभरडोज हुने डरले सातो उडेका मेरा ति रचना सामाग्रीहरु पछि कालोनीलो भएर तर्साउने समयले नै ओभरडोज खाएको ट्वाल्ल परेर हेर्न बाध्य भए । अब म क्रम मिलाउने छु ताजगी भरेर तिन्लाई ओकल्ने । अहिले त म मात्र भूमिका लेख्न बसेको रहेछु हो यो केवल भूमिका हो भोलीको ।

हे समय
केहि सम्हालिन त देउ मलाई
दुरुस्तै बुझाउंन नसकुँला
तर लगभग हिसाब राखेको छु तिम्रो
भाचुँला औंलाहरु, नसके
गनेर आँख्ला आँख्ला औंलाहरुको
तिम्रै गन्ती गरीगरी
निकाल्नेछु हिसाब आफ्नै जिन्दगीको ।

8 comments:

कृष्णपक्ष उज्यालोको खोजिमा said...

तपाइको यो सुन्दर भुमिका ब्लगका अनेकौं टासोहरुमा आफै एउटा उत्कृष्ट र उच्चतम महत्वको लाग्यो ... पृथक लाग्यो । समय संगै बेहिसाब किताब थन्किएका जिन्दगीका धेरै पलहरुको हिसाब राख्दै जानु होला ।

goma said...

nice one deepak g

Ashesh said...

भुमिकै यति ससक्त भएपछि लेख चैँ झन् कस्तो आउने होला!!
"अथाह गहिराई भएर पनि जिन्दगी आँखिर सतहमै समाप्त हुन जान्छ"
यो भनाईले मन छोयो साह्रै ।

Shiva Prakash said...

"तिम्रै गन्ती गरीगरी
निकाल्नेछु हिसाब आफ्नै जिन्दगीको ।"

कति निकाल्नु भो त अहिलेसम्म ?
राम्रो छ, दीपकजी ।

Prabesh said...

छुट्नु नै कहिले भएको थियो र जोडिनलाई दाजु ? ढिलोचाँडो भन्ने त भईहाल्छ नि कहिलेकाहिँ...

Dilip Acharya said...

दमदार भूमिका !!!
तपाईको यो भूमिका पढेपछी मैले पनि यसो औंला भाँचेर जिन्दगीको हिसाब किताब गर्न खोजेको....म त अल्मल्लिएँ है ।

अब तपाईकै आर्को पोष्ट पढेपछि म पनि कोसिस गर्छु ।

चूडामणि/मणि said...

यति भूमिका राखेपछी समयले कुरो बुझ्नु पर्ने हो सबै जिन्दगीहरू बेहिसाब बाँच्न चाहंदैनन् भनेर | तर कहिले कहीं समयले अनेक क्लिक मार्छ जिन्दगीमा जसको हामी हिसाब राख्नै भ्याउँदैनौ | समयले कुरो बुझोस् जिन्दगीको हिसाब राख्न हामीलाई पनि मन छ | तपाईंको भोलिको भूमिका मनपर्यो दिपकजी |

Jotare Dhaiba said...

हिसाबकिताबको यो चाँजोपाजो सार्थक लाग्यो । लोभलाग्दो भूमिका छ, यात्रा नै सुरु भएपछि झन् के होला ?
जिन्दगीमा कस्तो हुँदोरहेछ भने, हिसाब राख्न नखोज्दा पनि उपलब्धी अँगालोभरि ओइरिन आउने, अनि कुनै बेला चाही मरितरी हिसाब जोड्न खोज्दा पनि बुङ्गो भइने ! लीला अपरम्पार !!