Saturday, October 17, 2009

तिहारका कुरा,कविता र शुभकामना !

तिहार छ यतिबेला तर म भूगोलको त्यो अप्ठ्यारो ठाउँमा छु जहाँको वातावरणमा म तिहारको छनक बिल्कुल भेट्दिंन । न खेत छ न खेतमा झुलेका धानका बाला छन् । न आली, कान्ला छ न आली, कान्लामा फलेफूलेका मास, भट्मास छन् । बिहान त्यो घामको झुल्को आएर सयपत्रीलाई चुम्दैन यहाँ । घरहरु छन् यहाँ, आँगनहरु पनि छन् यहाँ तर करेसोमा झुप्पा झुप्पा मखमली छैन । मध्यान्हको शरिर चिर्चिराउने घाम पनि छैन यहाँ तर तिहारकै बेलाका कालो रातको झैं चिसो शीत छ यहाँ । यो शीत प्रदेशमा चिसो छ केवल चिसो र यहि चिसोमा एक प्रकारको न्यानो छ ह्रदय भित्र र त्यही न्यानो ह्रदयमा तरेली तरेली सम्झनाहरु अझ न्यानो खापका खाप छन् र ति खापहरु मध्ये पनि यतिबेला सम्झनाको घरका चोटाकोठा तिहारले भरिएको छ । हो तिहार छ यतिबेला ।

कतै नपोखिउँ म भरिएर सम्झनाको घरको बलेँसीमा त्यसैले बचाउन आफुलाई कम्प्युटरमा जिम्मा लगाउँछु ।

अहो! यो कम्प्युटर! एकान्त बासमा यसले दिएको सेवालाई म बयान गर्न सक्दिंन । कम्प्युटर प्रदत्त संसारमा पनि तिहार छताछुल्ल पोखिएको छ - हरिभक्त कटुवालको कल्पनामा संघारभरी घामको झुल्को पोखिएझैं । म सम्झन्छु - लक्ष्मी पूजाको साँझ घरमा लक्ष्मी पूजा हुँदैगर्दा मलाई लक्ष्मी प्रसाद देवकोटा पूजा गर्न मन लाग्थ्यो । आमाले लक्ष्मीको तस्विर(काल्पनिक हो तथापि) हुँदाहुँदै लक्ष्मीको प्रतिक द्रब्य(जो हुन्थ्यो आमासंग), लगायत तामा, पित्तल र काँसका भाँडाहरु(गाग्रो, लोहोटा, करुवा , थाल ईत्यादि) निर्मित पूजा स्थलमा भेलागर्दा मसँग देवकोटाको भनेजस्तो गतिलो यौटा तस्विर हुँदैनथियो राखेर पूजा गर्नलाई तर लक्ष्मीपूजाको रात आफु घरमा भएर लक्ष्मी पूजा गर्दा मलाई देवकोटा पनि पूजा गर्न मन हुन्थ्यो । मलाई पाठ्यपुस्तक पल्टाएर 'यात्री' कविता आमाले निर्माण गर्नुभएको पूजास्थलमा राखेर पूजा गरेको याद छ ।

आज लक्ष्मी पूजा । गुप्तबास बसेझैं परदेशमा आज यो पर्व, आज उ तिथी भन्दै वर्षौं बितीसकेका छन् । खै के ले कसरी रोकेको छ ? यति रमाईला चाडपर्वहरुमा सयपत्री झैं फूलेर देउसी र भैलो गाउँन गाउँघर पुग्न सकिरहेको छैन । घरमा हुँदा तिहारको रौनक बेग्लै हुन्थ्यो । दशैंले बिदा लिन नभ्याउँदै तिहारको तयारीमा जुट्थ्यौं हामी । पुरा का पुरा पाँचदिनको तिहारले नपुगेर हामी भाईटिकाको भोली पल्टसम्म घर घर देउसी गाइरहेका हुन्थ्यौं, नाच देखाइरहेका हुन्थ्यौं । ति सब सुखबाट विमुख हुँदापनि यो परदेशमा तिहार कसरी उल्लासका साथ मनाउने भनेर पहल गरिन्छ अब हरेक वर्ष अझै जोडतोडका साथ सबैतिर । हामीले धेरै गर्न नसकिने भएपनि भोली आइतबार भाइटिका लगाएर चेली कमाउने सम्मको योजना बनाएका छौं ।

त्यसभन्दा पर(यो मेरोलागी वर हो हुनत तर भन्नलाई पर भन्ने गरिन्छ) मैले महाकवि देवकोटाको पूजा गरेँ ह्रदयले र यौटा कविता लेखेँ उनको सर्वाधिक लोकप्रिय तथा अमर कृति मुनामदनमा प्रयुक्त झ्याउरे लयमा । महाकविकै सम्मानमा , महाकविकै सम्झनामा ; मुख्य कुरा देवकोटाको प्रेममा । हो देवकोटाको प्रेममा मैले कविता लेखें भन्दा मलाई सजिलो भयो किनभने महाकविको सम्मानमा त धेरैले धेरै गरिसकेका छन् । मैले गर्नसक्ने भन्दा निक्कै धेरै या भनौं मैले जीवनभर गर्न नसक्ने जति धेरै । देवकोटालाई मैले आफुले जीवनभर गर्न सक्ने भनेको केवल प्रेम हो । भलै मैले गर्नुपर्ने अनेक पात्रप्रेमहरु मध्ये यो एक झिल्का नै किन नहोस् तर यो प्रेम नै हो त्यसैले मैले देवकोटाको प्रेममा कविता लेखें र उनकै प्रेममा उनैलाई समर्पण स्वरुप आज लक्ष्मीपूजाको दिन ब्लगमा राख्दैछु । तस्विर गूगल मार्फत लिएको हुँ ।

(यस कवितालाई माइसंसारमा स्थान दिनुहुने उमेशजीलाई पनि मेरो अनेक धन्यवाद छ । मेरो कविताले स्थान पाएकोमा हैन बल्कि महाकवि देवकोटाले माइसंसारमा स्थान लिएकोमा ।)

पख्नुस् ! कविता पढ्नु भन्दा अगाडी सयपत्री र मखमली ईत्यादि फूलहरुको पर्व, झिलीमिली झिलीमिली बत्तिहरुको पर्व यो रमाईलो तिहारको मंगल कामना दिँदैछु लिएर जानुस् - हार्दिक शुभकामना !



आकाशमा देवकोटा



बनाई बाटो चिनाएँ माटो भूस्वर्ग त्यो धराको ।
कल्कल नदी सँगीत सरी स्वर सुरिलो चराको ।।
सुनाएँ खोलि आत्माको झ्याल निनाद ह्रदयको ।
देखाएँ झेलि गरीबी हाल अभावको भयको ।।
बुझाउनु'थ्यो कष्टमा पनि हाँस्न सक्छौं कसरी ।
रुझिरहँदा झरीमा पनि फूल्छ फूल जसरी ।।
मरेर अर्कै लोकमा पुग्दा पनि म त्यै नेपाली ।
जो छुन्छ तराई-पहाड-हिमाल पुग्दछ मेचिकाली ।।
यतिका पछि वायूमण्डलमा घुमिघुमि यो कवि ।
हेर्दैछ उस्को प्यारो नेपालमा उदाएनछन् रबि ।।
शरिरैभरी घाउ लगाई आमालाई लुछेर ।
कुरुपै पारी रुवायौ आमाको आँशु नपुछेर ।।
मैले देखेको ठुलो नेपालमा के भेटेनौ ए मदन् ?
काटेर मुग्लान् नाघेर भोट कहाँ पुग्यौ खोज्दै धन् ??
सबैले पढ्दा त्यो बोली मेरो मदन भै बोलेको ।
अशान्त मुटु भा'को थ्यो शान्त यो छातीमा पोलेको ।।
ब्यावहार तर चिताए जति देखिँन फेरिएको ।
ए, बन्धू तिम्रो ह्रदय कस्तो छ के ले बेरिएको ??
मेटाई आ'थेँ ति रेखा तप्का मैले ई नै हातले ।
अझै नि तलै रहेका कठै ! नेपाली नै जातले ।
******
नेपाल देश नेपाली भाषाको यहि आशक्तिले ।
लत्याई दैलो स्वर्गको पनि नेपालीकै भक्तिले ।।
हेलिँदै नभमण्डलभरी यै नेपाल भूमी माथी ।
उज्यालो दिब्य ज्योति दिएर अझै हामीलाई साथी ।।
भन्दैछन् आज त्यो देवलोकमा मान्छे भएछन् छोटा ।
झार्दैछन् आँशु पीडाले तप्प आकाशमा देवकोटा ।।

10 comments:

आश्मा said...

तिहारको धेरै शुभकामना दीपकजीलाई पनि!!

Dilip Acharya said...

कविता जति राम्रो छ, कविता अगाडिको अभिव्यक्ति त्यत्तीनै भावपूर्ण र मन छुने !!! ।

साह्रै मन पर्‍यो ताइको यो टाँसो (पछि पछि पनि फेरि आएर पढ्ने छु )

तिहारको शुभकामना सहित !

Sujan Sharma said...

सार्है मिठो र मार्मिक कविता !!
साथै दीपावलीको हार्दिक मंगलमय शुभकामना!

कृष्णपक्ष उज्यालोको खोजिमा said...

शव्द र साहित्यमा रम्ने तपाईको लेखनी यसरी नै सधै अगाडी बढिरहोस ! दिपावलीको हार्दिक मंगलमय शुभकामना तपाईलाई , धेरै मिठो छ कविता अनि अत्यन्तै भावपूर्ण शव्दहरु !

खुल्लामन्च said...

सुन्दर कथा अनी कबिता, तिहार कस्तो भयो परदेशको ?

कैलाश said...

दीपकजीको देवकोटा प्रेम र सृजनशील व्यक्तित्व र उनको सृजनाप्रतिको झुकाव र सृजनात्मकताप्रतिको लगावप्रति म नतमस्तक! ढिलैभएपनि तिहारको मुरी मुरी शुभकामना।

Luna said...

भाबपूर्ण र मन छुने कबिता !!!
यसरी नै मन छुने गरी लेखिरहनुहोस् ! शुभ कामना ।

Jotare Dhaiba said...

ढिलो पढ्न आइपुगेँ । तर पनि जे होस् आइत पुगेँ भनेर सन्तोष मान्दैछु ।
;)
मलाई भने कविताले उत्तिको तानेन । ३+२,३+२,३+३ को लहरमा राम्ररी नबगेर होला, कविता रसिलो अलि नबने जस्तो लाग्यो । माथिको कुराले भने साह्रै छोयो ।
देवकोटाप्रेममा त्यतिबेला देखि नै एकोहोरिनुभएको रहेछ ।
देउसी भने हामी पनि खेल्थ्यौँ रातभर शीतमा नुहाएर । र पनि भोलिपल्ट भाइटीकामा उँघ्दै टीका लाउथ्यौँ । ती दिन गैगए !

दिनेश राज said...

अन्त पनि देउसी खेल्दै आउँदा अलि ढिलो भएछु । हेहेहेहे ,तपाईंको कबिता माइ संसारमा पढेको थिएँ ,साहित्य अनुरागीहरुलाई देबकोटा तपाईंले भन्नु भएझैं पुजनीय छन् । झ्याउरे छन्दलाई फेरि जिबित पारिदिनु भयो तपाईंले त्यसको लागि धन्यबाद । अनि फेरि धन्यबाद मिठो कबिताको लागि ।

Chaitanya said...

देवकोटाको प्रेममा डुबुल्की मारेर जडितजीले उहाँको योगदानलाई मनैदेखि सम्झनुभएको छ | देबकोटाले हामी सबैलाई लगाएको गुनको पहाडमा फूलको थुंगा थपिदिनुभएको छ |