Wednesday, October 14, 2009

कविता : के म मान्छे हुँ त ?

म चोर्दछु लुट्छु गर्छु काटमार
जुटाउन फगत् पेटको आहार ।
जानेर हो यो पाप नै तार-तार
हिंड्दछु म बाटो पापकै हजार ।। १

गरि पशुतुल्य कर्म ब्यावहार
थुनेर सब आत्मज्ञानका द्वार ।
म लाउँछु मान्छे नामको जुहार
पुकार्छु मैलाई मान्छे बार-बार ।। २
**
भन्छु पाएँ धन्य यो मान्छेको भेष
म बोल्छु अब्बल अर्ति उपदेश ।
हिसाब 'मेरो'को राखि केश-केश
म उमार्छु आफैं रीस, राग, द्वेष ।। ३

जान्दछु म भाग लानेछु निशेष
गर्दाकन यो प्राण हरिमा पेश ।
जगको म हुँ मिथ्या बीजन क्लेश
सम्झन्छु म मान्छे आफुलाई बेश ।। ४
**
जोडिन म आफु रचि धेर झूट
गराउँदछु सदा अरुमा फूट ।
तृष्णा अमेट प्यूँने यो प्रेम-घुँट
बाँड्नु परे दिन्छु छली कालकूट ।। ५

सदगूण मानि जो छ आफ्नो खुट
देख्छु दुर्गुण जगैको पुट-पुट ।
गुणगान आफ्नै गाउँदै अटुट
मै दिन्छु मलाई मान्छे ठान्ने छुट ।। ६
**
तुजुक हुन्जेल किन अरु चिन्छु
म ईश्वरैसँग पनि टेक लिन्छु ।
गलेर जब म ह्याउले खिइन्छु
तब ईश्वरको पाउमा झुमिन्छु ।। ७

उ ईश्वर हो म शरण लिइन्छु
र स्वार्थी म ईशैलाई धोका दिन्छु ।
म झूटै ईशको पूजा गरिहिन्छु
र उस्को एकमात्र भक्त भनिन्छु ।। ८
**
बटुली घरमा द्रब्यादि अकूत
भुल्दछु म आफ्नै भविश्य र भूत ।
नशाले धनको म भएर धूत
गरिरन्छु अनेक भाँति कर्तुत ।। ९

भएर मानिस योनिको कपूत
भनाउँछु आफुलाई देवदूत ।
जगतमा जति छन् ई प्राणीसूत
हो निघृणी मै छु, के म मान्छे हुँ त ? १०

6 comments:

gufgaf.com said...

एकदम मार्मिक लाग्यो दाइ मलाई त यो कविता !!

Dilip Acharya said...

वर्तमान मानिसको सजीव चित्रण । मन छुने र सोच्न बाध्य पार्ने भावहरु, उत्कृष्ट !!!

Jotare Dhaiba said...

कविता नै पढेको आनन्द त दियो नै यस रचनाले, आजको मान्छेको रुपरङ राम्ररी खिपिएको पाउँदा बिषयगत हिसाबमा पनि तृप्‍ति मिल्यो ।

दीपकज्यू, यहाँलाई यस कविताको लागि निकै आभार । कविशिरोमणि भेटे जस्तै लाग्यो ।

Sujan Sharma said...

मन छुने अति उत्कृष्ट रचना !

कृष्णपक्ष उज्यालोको खोजिमा said...

जगको म हुँ मिथ्या बीजन क्लेश
सम्झन्छु म मान्छे आफुलाई बेश ।।

हो यस्तै छ मान्छे ...
यो मान्छेको बयान गरिएको पद्य कविता भाका हालेर लयमा पढ्दा अर्कै अर्कै मिठो अनुभूति भै रहेछ मलाई पनि ।
कविता मिठो छ ।

Luna said...

मार्मिक कबिता !