Wednesday, February 04, 2009

अहा !! बाँसुरी बजाउँदा

खुत्रुक्कै ६ वर्ष पछि धोको फुकाएर बाँसुरी बजाएँ आईतबार दिनभरी र राती पनि अबेर सम्म । कतैबाट उज्यालो छेकिएझैं , त्यसै कालो बादलले ढाकेझैं मनभरी कस्तो कस्तो नरमाईलो जस्तो वैराग उठिरहेको बेला यो बाँसुरीसँग यतिका वर्षपछि भेट हुँदा पत्यार लाग्यो "कसैप्रति या कुनै वस्तुप्रति हामीले हाम्रो मुटुमा प्रेम मेटाएका छैनौं भने उ सँगको भेटले चाहे सिँगै युग पछि किन नहोस् हर्ष र उल्लास नै लिएर आउँदोरहेछ ।" बाँसुरी बादनमा म निपुण त होईन तर बजाउन सक्छु टाँ टाँ टुँ टुँ भन्दा अलि मास्तिर । नेपाली लोक गीतका धूनहरु , केही आधुनिक गीतका धूनहरु तथा केहि अन्य आफैंले बनाईने धूनहरु ( बजाउन सकेसम्म ) बजाउँदा यसपटक प्राप्त आनन्दलाई म शब्दमा उल्लेख नै गर्न सक्दिँन ।

धेरै अन्तरालमा बाँसुरी भेट्दा पहिले पहिले बजाउन जानेका केहि धूनहरु पनि भसक्कै बिर्षिएछ जस्तो पनि भा'थ्यो एकछिन् तर बिस्तारै बिस्तारै अलि अलि गर्दै पारा आउँदै गयो । हरेक कुरामा अभ्यासको निरन्तरता नभए कौशल कम हुँदै जाने त भई नै गयो र पनि थोरै नै होस् एकपल्ट सिकेको कुरा ठ्याप्पै भने भुलिँदैन रहेछ । अर्कोतिर बाँसुरी फुकुञ्जेल समाउँदा हत्केलो बाउँडिएर हैरान् ।

यही बाँसुरीले नै हुत्याएर मलाई बाँसुरीसँग पहिलो नाता जोड्दाका दिनहरुमा पुर्यायो । सानै हुँदा घरमा टने नामको यौटा डल्लो डल्लो कदको सतार युवकलाई खनजोत गर्न , बस्तुभाउ हेर्न लगायतका धेरै कामहरुको जिम्मा दिएर काम गर्न राखिएको थियो । टनेसँग खालपरीका बाँसुरी हुन्थ्यो , उसले आफैं बनाएर छालाले टमक्क छेउ टुप्पा बाँधेको ता कि उसले त्यही बाँसुरी बस्तुभाउ कुट्न पनि प्रयोग गर्न सक्थ्यो । हाम्रै खेतमा भएको माली बाँसको टुप्पो काटेर सुकाएर मेरै अगाडी उ आफैं पनि बनाउंथ्यो बाँसुरी । आमाले सतारको बाँसुरी बजाउन हुँदैन नबजाउनु है भन्नुहुन्थ्यो त्यो बेला । म आमाको अगाडी ठिक्क पारेर हुन्छ बजाउँदिन भन्थेँ तर खेतमा वा अन्यत्र कतै गोठालातिर भने उसका बाँसुरी पालैपालो रोजीछाडी बजाउँथें । नेपाली लोकगीतको धूनहरु मलाई टनेले नै बजाउन सिकाएको थियो । त्यसबेला रेडियोमा समाचार आउनेबेला बजाईने धून पनि सिकाएको थियो उसले मलाई बजाउन । पछी अलि हुर्केपछि म आफैं बनाउँथे बिभिन्न साईजका बाँसुरीहरु । कोठामा बाँसुरीको संग्राहलय नै हो कि जस्तै पारेर भित्तामा काँटी ठोकेर झुण्ड्याएर राख्थेँ दर्जन बेसी बाँसुरीहरु । स्कूल जाँदा बाहेक अन्य बेला हर्दम बाँसुरी हुन्थ्यो मसँग साथमा । कतिलाई बाँसुरी बजाएर झर्को लगाउँथेँ म खासगरी बर्खामास पानीझरी परेको बेला बाहिर खेतमा काम छैन भने घरकै सदस्य पिडीत हुन्थे मेरो बाँसुरीले । शुरुशुरुमा मैले बाँसुरी बजाउँदा हजुर आमाले ' हैन कति फुक्छस् ए तेरो नलि खुट्टा ? जा उ पर पल्ला खेतमा गएर फुक । ' भन्नुहुन्थ्यो अलि पछि गीतको भाका मिलाउन थालेपछि भने हजुरआमाले बोलाएर 'तिरिरि मुरली बज्यो बनैमा भन्ने गीत बजा बजा' भन्नुहुन्थ्यो । कतिपयले त मलाई बाँसुरी सहीत देख्दा उ आयो जादुवाल भनेर जिस्क्याउँथे । मैले हाटबजारतिर जादु देखाउने चटकेले झैं बजाउँथें रे उनिहरुको टिप्पणी हुन्थ्यो । त्यसबेला मलाई जादुवाल भनिँदिँदा अलिअलि चित्त दुख्थ्यो अहिले सम्झँदा भने आनन्द लाग्दो रहेछ ।
हाम्रोमा चित्त नपरेको कुरा प्याच्चै पुच्चै भन्ने चलन छ यहाँ भने सोचेर आफुले भनिएको कुराले अरुलाई सिधै असर नगरोस् भनेर मोलाकाज हेरेर भन्ने गरिन्छ त्यसैले रातभरी बाँसुरी बजाएर भोलीपल्ट काममा हिंड्नलाई बाहिर निस्कँदा छिमेकी 'आज रातभरी कस्तो अनौठो चरा कराएर सुत्नैदिएन' भन्दैथियो । ' ए !' भन्दै म बाटो लागेँ र सोचिरहेँ पक्कै उसले मलाई चेतावनी दिएको हो अब बाँसुरी त्यसरी राती अबेरसम्म नबजा भनेर । हुनपनि यो मुलुकमा डराउनु पर्छ नत्र बाँसुरी बजाएकै कारणले ढोकामा पुलिस नआउला भन्न सकिन्न । शान्त बस्ने पाउने अरुको अधिकार मैले बाँसुरी भेटेँ भन्दैमा हनन् गरिदिनु नि भएन । त्यसैले अब छुट्टीको बेला भने खाजा सामल माया मारेरै बाँसुरी बजाउनु पर्ला भनेर सोचेको छु अनि अलिदिन त उत्पातै जाँगर चल्दो हो पनि भन्छु ।

8 comments:

Dilip Acharya said...

लौ, यो चाहि तपाईको र मेरो मिल्ने शोख रहेछ। हुन त म पनि जान्ने होईन तर सानोमा भने निकै शोख थियो । अहिले त बाँसुरी नछोएको पनि ५ बर्ष हुन लाग्यो होला । पहिला कोठामा झुन्ड्याएर राखेका ३-४ वटा बाँसुरी सानी छोरीले १-१ गरेर फुटालीदिए पछि अहिले त कोठामा बासुँरी पनि छैन ।

तपाईको टाँसो पढेपछि भने फेरी "किनौं किनौं" लाग्दैछ । मेले पनि बाल्यकालसंग जोडिएका धेरैकुराहरु याद गरें यहि टाँसोका कारण ।

सिकारु said...

दीपक् जी बासुरिको धुन भनेपछि त म पनि भुतुक्कै नै हो । बजाउन नजानेपनि सुन्न लाई त म टाढा टाढा सम्म जाने गर्छु ।अझै लोक् भाकामा त अति नै रमाउछु ।

अनि त्यो तपाइले बजाएको धुनलाई पनि समाबेश गरेको भए त सुनेर मुग्ध हुन पाइन्थ्यो होला ।

Luna said...

दिपक जि !
प्यारो दिपक जि !
म त प्यारो दिपक जि लेखिदिन्छु ! अब तपाईंको लेख हरु लाई मन पराउने भए पछी तपाईं लाई प्यारो लेख्दै मा के बिग्रन्छ र ! फेरी तपाईंको माया लागेर त यस्तो लेखे नि ! अब मान्छे ले मान्छेलाई माया गर्न नपाउने भन्ने छैन क्यारे ! माया को पनि बिभिन्न स्बरुप होला , मेरो माया को स्बरुप त निर्मल निश्चल मेलम्चिको पानी जस्ताइ छ ।
बोल्दा बो ल्दै लुना कता कता दौडी फेरी ! लौ जता जता यो मन दौडिन्छ त्यताइ त्यती दौडिन्छु ! कती मनलाई बाधेर राख्नु ! भन्ने बेलामा चाँही जिबन कर्कलाको पानी जस्तो भन्न्छन मान्छे हरु , अनी मनलाई बाध्ने बेलामा चाँही खुत्रुक्कै हुने गरी बाध्छन मान्छे हरु ! हा ! म चाँही मनलाई बाध्ने पक्ष मा छैन । त्यसो भने के त ! किन म यो लेख्दै छु अहिले ! किनकी म रोइरहेकी छु अहिले । किन रोए म ? म आँफै देखी छक्क पारीराख्या छु ! मेरो प्यारो राइटर ले बासुरी बजाएको देख्दै मा मेरो आँखामा आशु भरिनु पर्ने ! किन मेरो मन यती बिघ्न भाबुक हुन्छ !!!किन उस्को मनलाई मेरो मनले छुन्छ ! म आँफै देखी हैरान छु ---

बेदनाथ पुलामी ( उमेश ) said...

दीपक जी ले बासुरीको धित निकै राम्ररी मार्नु भएजस्तो छ । कृष्ण ले जस्तै - गोपिनीहरु फकाउने रहर जाग्यो क्याहो कुनी ? तपाईको परिवर्तित गेटअप सहित को फोटो पनि एक दम दामी छ ।

Basanta Gautam said...

दीपकजीका प्रतिभाहरु एकपछि अर्को जान्न पाऊँदा साह्रै खुशी लागेको छ। कुनै दिन तपाईँले बाँसुरीमा फुकेको धून पनि राख्नुहोला यहाँ।

कैलाश said...

बसन्तजीको कुरामा म पनि सहमत छु है दीपकजी। बासुरी बजाएको कुरा शब्दमा पढ्दैमा लुनाजीको मन भरिएर बाहिरै छल्किएछ दीपकजी। तपाईको बासुरीको धुन प्रत्यक्ष सुन्न र धुन बजाएको देख्न पाइयो भने त के के मात्रै नहोला भन्ने पो म सोच्दैछु। साँच्चै बेदनाथजीले भन्नुभएझैँ कलियुगका गोपिनीहरु त भुसुक्कै होलान्।

दीपक जडित said...

दिलीपजी , तपाईंको पनि बाँसुरीको सोख रहेछ अनि बजाउन छाडेको पनि मैले झैं ५ / ६ वर्षै भएछ । साह्रै रमाईलो लागेको छ मलाई त बाँसुरी फेलापार्दा कोही अति नै मनपरेको तर हराएको मान्छे भेटे जस्तै ।

सिकारुजी , बसन्तजी र कैलाशजी , कुनैदिन अवश्य सुनाउंनेछु म मैले बजाएको बाँसुरी धून तर कैलाशजी म बाँसुरी बादनमा निपुण चैं छैन भनेर माथी नै स्विकारी सकेको हुँ है त्यसैले मेरो बाँसुरी सुनेर त्यस्तो के के नै त नहोला है । जनाई राखेन भने मेरो बाँसुरी धूनको गुणस्तरको तुलनामा नसुहाउँदो माग होला फेरी ।

बेदनाथजी (कैलाशजी पनि ) , कलियुगको पनि घोर कलिको अवस्थामा म जाबोले बजाएको बाँसुरी धूनमा द्वापरयुगका चर्चित महापुरुष कृष्णकै जस्तो शक्ति भए त म जडित हैन जोड्ने रसायन चैं हुन्थेँ होला । फेरी भएन त्यो बिन्द्राबन यहाँ कहाँ पाउंनु , कोठामै बजाएको पो मैले त अझ भएन यो कलिमा त एक एक गोपिनीहरु स्वयँ राधा भएका छन् एक्लो कृष्णले मात्रै भाउ पाउने जमाना कहाँ हो र यो ?

लुनाजी , तपाईंको आत्मियता र तपाईंभित्रको करुणालाई मेरो सलाम छ । कमेण्ट लेखिसकेर मेटाईदिन अनुरोध गर्नुभएको थियो तर मैले टेरिनँ है , अन्तरले नै मेटाउने आज्ञा दिएन । कसैलाई माया गर्न र मायालु स्वरले बोलाउन तपाईंलाई बाह्र हातको टाँगोले नि रोक्दैन र अबको दुनियाँ मान्छे मान्छे भित्रको आत्मियता र सद्भावलाई पक्कै चिन्न सक्ने भएको छ । त्यसैले चिन्ता मानिरहनु पर्लाजस्तो मलाई त लाग्दैन ।

अन्त्यमा सबैलाई धन्यवाद !!

Kumar said...

दीपकजी बाँसुरी बजाउनुहुन्छ भनेर मैले पनि सोचेको थिइन। रमाइलो मानेर पढ्याँ तपाईंको दैनिकी । मिल्छ भने कुनै दिन यसो सुन्न पाइयोस्।

कुमार