Monday, February 09, 2009

कविता : पढ अझै डोको पढ

ख्वाउ हरियो घाँस काटेर
निम्ठो भर या छाँद हाली झुसी पार
डोको ईमान्दार छ
उ पशु हुँदैन
ल्याउ डोकोमा घाँस बोकेर
खटाएर देउ या एकैफेर हाल
पशु घाँस खान्छ
उ बेईमान हुँदैन
तर नखाएरै घाँस
मान्छे पशु हुन्छ
नभएरै पशु
मान्छे बेईमान हुन्छ
डोको पढेर मान्छेले कहिल्यै जानेन
घाँसै खाए नि पशु नहुने काईदा
त्यसैले
मान्छेले घाँस खाँदै खाएन
पशु पढेर मान्छेले कहिल्यै सिकेन
पशु भए नि बेईमान नहुने कला
त्यसैले
मान्छे ईमान्दार हुँदै भएन
उ हेर बरु
हरियो चउरमा दिनभरी घोप्टिएर
यौटा कवि डोको बनेको छ
पारदर्शी
अन्तरमा केहि राख्नै नसक्ने
हरेक प्वालबाट चिहाएर
तिमी भन्छौ
आजको कवि भोको रहेछ
आजको कवि नाङ्गै रहेछ
पढ अझै डोको पढ
र हेर असंख्य प्वालहरुबाट
डोको , भोक , नग्नता र पशुमाझ
केलाउ मान्छेको सम्बन्ध
किन घाँस खाएर डोको पशु हुँदैन ?
किन मान्छे पशुझैं ईमान्दार हुँदैन ?
डोको पढ्न सके
छिद्र छिद्र प्वालका
सयौं आँखाहरुबाट
डोकै पाउँनेछौ तिमी आफुलाई
रहरका दुई कानहरुमा
आयुको बरियो छिराएर
थाप्लोमा जिन्दगी नामको नाम्लो लगाई
कर्तब्यको नाममा स्वार्थको भारी हालेर
प्रेमको नाममा भ्रमको छाँद कसेर
यौटा यौटा डोको बोकी
समय हिँडिरहेको ।

7 comments:

suphi said...

रहर हरु बरियो ले बाध्न छाडे साथी,
सबै आफु सम्झदै छन ,आफै धेरै माथि,
निम्ठो भरि कहाँ पुग्नु ,चुलाउनै खोज्छन्,
चुलिए नि झर्न गाह्रो ,मेरै देश रोझ्छन।

शब्द कै ति सन्जाल मा ,आशा हरु छर्छन्,
कुहिरो भित्र राखी फेरी, आँफै बाली भर्छन,
गरिबि र भोक हरु शब्द भित्र बुन्छन,
बहाना त्यो सारथी को ,उनी मात्र बुझ्छन।

पारदर्सिता को सुगा रटाइ भित्र, शब्द ले अर्थ नै बुझ्न छोडि सक्यो,
एे साथी त्यो डोको त आज ,लाखे नाच् को मुकुन्डो बनिस्क्यो,
देख्दा देख्दै ,अनी कबिता लेख्दा लेख्दै,
जाँदा जाँदाइ, उनिहरु मान्छे नरहेको मान्दा मान्दै,
सडक मै फेरी अर्को लाखे नाच आएछ,
एेक हुल मान्छे हरु जस्ता छन्,
हेरे पनि द्रिस्य उही,
नहेरे पनि द्रिस्य उही।
निरिह हेरी मात्रै रहे।

कैलाश said...

दिपकजी घच्चीको कविता ।

Luna said...

very nice poem Deepak ji .
Suphi's poem also very nice .
keep it up !

Jotare Dhaiba said...

वक्रोक्ति अलङ्कारको भरमार प्रयोग ! मानवताको गिर्दो मूल्यलाई जगाउने भाव । साँच्चि किन घाँस खाएर डोको पशु हुँदैन ? तर मान्छे भने चिरिच्याट्ट बनोटभित्र पनि कसाहीको अवतार लिएर हिँड्छ । दीपकजी, राम्रो अपेक्षासहित राम्रै कविता आयो तपाईँबाट । गजलसँगै कविताको बीज पनि फुट्दै गरोस् तपाईँबाट ।

एकल यात्री said...

दीपकजीको कविताले पढ्नेको मन छुन्छ पक्कै
मान्छे बन्न नसकेका पशुको मन रून्छ पक्कै

बेदनाथ पुलामी ( उमेश ) said...

कति गजब को कविता ......ए घास खाएर डोको पशु हुदैन तर मान्छे .... भेरिएबल छ जे पनी हुन्छ ...के गर्ने ।
बरु भात खाएर भाते ...भएका मान्छे लाइ अब घास नै खुवाउने की? कतै सुद्दी पलाउला की ?
तपाईको शैली मलाई धेरै मन पर्छ ।

Anonymous said...

छाँद को अर्थ के हो