Friday, August 11, 2006

राजा , गिरिजा र साहाजको रुख ।

- दीपक जडित

बर्तमान राजनीतिका शिखर पुरुष भनेर कहलिएका नेपाली काँग्रेशका अध्यक्ष्य तथा बर्तमान नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री जस्तो सम्माननिय पदमा रहेपनि आम जनताले सम्मानको शट्टा शँकाको नजरले हेर्ने गरेका छन । त्यसो त प्रधानमन्त्री कोइरालालाई आम जनताले शँकाको नजरले हेर्नु भन्दा पर्तिर अरु के गर्नु पनि? कोइराला कसैको सुन्दै सुन्दैनन , हत्पती बोल्दैनन तर जब बोल्छन एउटा भु कम्प नै ल्याउंछन भन्ने चर्चा जताततै भैरहेको छ । हालसालै उन्ले प्रजातन्त्रमा राजालाई पनि स्थान दिनु पर्छ भन्ने अभिब्यक्ती दिंदा नेपालको राजनीतिक बृतमा एउटा भु कम्प नै गएको थियो । हुनपनि कत्रो मायामोह हो त प्रधानमन्त्री कोइराला र राजाको बिचमा । सारा नेपाल र नेपाली जनताले छि छि र दुर दुर गरिरहेको बेलामा पनि नरसँहारकारी , बँशबिनासी एवं हत्याराको अलँकारले बिभुषित राजालाई स्थान दिनु पर्छ भन्ने प्रधानमन्त्रीको राजा , राजदरबार र राजतन्त्र प्रेम अलौकिक नै मान्नु पर्छ नत्र भने अहिलेको स्थितिमा मै हुँ भन्ने कट्टर राजावादिहरुले पनि राजालाई स्थान दिनु पर्छ भन्ने खालको सार्बजनिक अभिब्यक्ति दिने हिम्मत गर्न सकेका छैनन । यसबाट स्पस्ट हुन्छ कि जनता चाहे भड्खालोमा जाउन , सातदल र आफ्नो पार्टी जे सुकै होस , माओवादिहरु जँगल गएनि एत्रै सिती, गिरिजाले राजतन्त्रलाई शिरोपर गर्दा मात्र अनि जन आन्दोलनको मर्म र भावनालाई राजाको गोडामा दाम राखे झैं राखेर ढोग्दा मात्र आफ्नो भलो देखेका छन । त्यसैले गिरिजा र गिरिजाहरु सँग सधैं चनाखो रहनु आवश्यक छ ।

प्रधानमन्त्री कोइरालाको चर्तिकला देखेर अनि हामिहरुले नै उन्लाई सतिसाल भनिदिंदा आज मलाई मेरो खेतबारीमा भएको एउटा अजँगको ठुलो साहाजको रुखको सम्झना आईरहेछ । वरपर गाँउघरमा भए मध्धेमा सबै भन्दा ठुलो उक्त रुख वास्तबमा मेरो र मेरो छिमेकिको खेतको साँधभन्दा थोरै भित्र मेरो खेत पट्टी थियो । त्यो रुख हामिले रोपेका थिएनौं उहिल्यै झोडी जँगल हुंदै देखिको त्यो रुख हाम्रो खेतमा उभिएको भएपनि छिमेकिको खेतलाई समेत बालिनालिमा सेप पारेर बराबर असर गर्थ्यो तर त्यो रुखबाट फाईदा भने हामीमात्र लिन्थ्यौं । हाम्रो समाजमा धेरै यस्ता बिकृत मुद्दाहरु छन यौटाले साँधसिमाना नजिक भएका रुखबिरुवाहरुबाट फाईदामात्र लिईरहने र अर्कोले नोक्सानमात्र बेहोरिरहने । कतिपयको त सिमाना नजिकको रुखबिरुवाहरुकै कारण बोलचाल बन्द हुने देखि लिएर पानी बाराबार ( काटाकाट , मारामार ) सम्म हुने गर्छ । यसरी साँधसिमाना नजिक भएको रुखबिरुवाले यदि दुबै पट्टीको खेतबारीलाई असर गर्छ भने त्यो रुख बिरुवामा दुबै सँधियारको बराबर हक लाग्नु पर्ने हो तर त्यसो हुन नदिन हाम्रो समाजमा भएको हेपाहा मिचाहा प्रबृतीले काम गरेको छ । जे होस आउदै गरेको समयले हाम्रो समाजमा बिद्दमान यस्ता अनेकौं झिना मसिना बिकृत समस्याहरुको पनि निराकरण गरोस भन्ने आशा गरौं ।

मैले उल्लेख गर्दैरहेको उक्त ठुलो साहाजको रुख आफ्नो खेतमा भएकोमा म निक्कै घमण्ड गर्थें । हुनत त्यो उमेर मेरो केटाकेटी उमेरनै थियो तर अहिले सम्झंदा लाज लागेर आउंछ । त्यसबेला म सँगैका दौंतरीहरुलाई आफ्नो खेतमा भएको रुख सबैको भन्दा ठुलो भएको धाक दिन्थें।

समयक्रम सँगै एकाएक त्यो ठुलो रुखको टुप्पोको निक्कै भाग सुकेर गयो । यहाँ सम्मकि ठुलो हुरी बतास आउंदा त्यो रुखको टुप्पो (सुकेको भाग) भाँचिएर मान्छे या गाइबस्तु मार्ला भन्ने त्राहि त्राहि हुन थाल्यो । धेरै मान्छेहरुले हामिलाई त्यो रुख चैत्र महिना तिरै खेतबारी खाली भएको बेलामा ढाल्ने सल्लाह पनि दिए तर हामीसँग खै कस्तो मोह थियो कुन्नि त्यो रुख सँग हामीले त्यो रुख ढाल्न चाहेनौं बरु त्यसको टुप्पोमा सुकेको भाग जति मात्र काट्ने निधो गर्यौं । त्यो यसकारणले पनि हुन सक्थ्यो कि हामी त्यो अजँगको रुख ढालिसकेपछि त्यसलाई खेतबाट हटाउने झण्झट उठाउन चाहदैनथ्यौं । त्यतीबेला टोल छिमेकमा अलि मुर्ख तरिकाको मुढे काम गर्न प्रख्यात सुपारीलाल नामगरेका एक जना छिमेकि जस्लाई हामी मामा भन्थ्यौं लाई त्यो रुखको टुप्पो सुकेको भाग काट्ने जिम्मा दिईयो । त्यत्रो बडेमानको रुखको टुप्पो भन्दा अलि तल चढेर हाँगाको आडमा बसेर सुपारीलाल मामाले उक्त रुखको सुकेको टुप्पो ढाल्न बिँड छोटो पारिएको प्रहार गर्न थाले । सुकेको काठमा बन्चरोको चोटपर्दा आउने ठ्वाक ठ्वाक आवाज पर पर सम्म तरँगित हुंदै गएछ क्यार छरछिमेकी देखि वल्लो पल्लो गाँउका सम्म धेरै मान्छेहरु त्याँहा जम्मा भएका थिए । मानौं त्याहा ठुलै जात्रा भै रहेको छ । उपस्थित मध्धे कोहि मर्छ होला आज यो सुपारीलाल भन्दै थिए तर सुपारीलाल निक्कै खप्पिस थिए यस्तो कामको लागी । ढलाई छाडे उन्ले त्यो अजँगको रुखको सुकेको भाग । जसै त्यो रुखको अग्लाई घट्यो मलाई म आफु पनि होचो भएझैं महशुस भएको थियो । घरमा भने सबैजना हुरी बतासले भाँच्न सक्ने त्यो रुखको सुकेको टुप्पो काटेर ढुक्क थिए ।

समय बित्दै थियो । त्यहीसाल असौज महिनाको एक राती झम झम झरी परिरहेको बेला त्यो अजँगको रुख त हाम्रै खेत पट्टी पसाउंदै गरेको धानबालीको सर्बनाश गर्दै ढलेछ । झरी परेको ले गर्दा अनि राती सबै निदाएकोले गर्दा त्यत्रो ठुलो रुख ढलेको आवाज सम्मपनि कसैले थाहा पाएनौं । मेरो त्यो धाकधक्कु लगाउने रुख ढल्नाले मलाई पर्नु चोट परेको थियो । घरका अरु म भन्दा ठुला सदस्यहरु चैत्रतिरै फेदै ढालेको भए हुने रहेछ , त्यत्रो धानबालीको सर्बनास भयो भन्दैथिए । म भने कसरी ढल्यो होला भनेर आफ्नै हिसाबले अनुसन्धानमा खटिएं । मेरै अनुसन्धानबाट पत्ता लाग्यो त्यो रुखको टुप्पो सुकेझैं जराहरुपनि कुहिएर मक्किसकेको रहेछ ।

आज आएर हाम्रा सम्माननिय प्रधानमन्त्री कोइरालाले राजालाई पनि स्थान दिनु पर्छ भन्दै राजतन्त्रको पक्षमा वकालत गरेको देख्दा लाग्छ त्यो साहाजको रुखको टुप्पो सुके झैं कोइरालाको पनि टुप्पोबाट बुद्धि सुक्दै गै रहेछ । उक्त साहाजको रुख ढाल्न छरछिमेकीले चैत्र बैसाख तिरै सल्लाह दिएझैं चैत्र बैसाख तिरै जन आन्दोलन्को उत्कर्स देख्न पाइयो । छिमेकीको त्यत्रो सल्लाह सुझाबको बावजुध पनि हामिले त्यो साहाजको रुखको टुप्पो मात्र काटेका थियौं जुन मलाई राजाको अधिकार मात्र कटौती गरेर राजा राख्ने कोइरालाको कुरा जस्तै लाग्छ । त्यो रुखको जराहरु धमिरा लागेर या बुढो भएर मक्किएझैं गिरिजा प्रसादको पनि आफ्नो पार्टीभित्रको अनि सारा जनताहरु सँगको पकड खुस्कंदो स्थितिमा छ । उमेरले पनि साथ छोडदै छ उन्को त्यस्तै राजाको पनि सारा पकडहरु खुस्किईसकेको छ र राजा र गिरिजा दुबैको ढल्ने समय नजिकिंदै छ । असौजमा त्यो साहाजको रुख ढले झैं राजा र गिरिजाको पनि तेस्तै समयतिर ढल्ने सम्भावना बढेर गएको छ । उक्त रुख ढल्दा धानबाली नष्ट गरे झैं राजा र गिरिजाको अवसान हुने समयमा फेरी रक्तपात हुन सक्छ किनभने आफु आफु बिचमा सहमती नभै गिरिजा र प्रचण्डले राष्ट्रसँघ लाई दिईएको पत्रमा हस्ताक्षर गरेका छन र हतियार ब्यावस्थापन जस्तो मुख्य मुद्दालाई पछि मिलाउने भनेर टारेकाछन जुनकुरा अहिले सम्म दुई पक्ष ( सरकार र माओवादि ) को अडान हेर्दा असम्भब देखिन्छ । त्यस्तैगरि उक्त रुख ढलेकै महिनातिर राजा र गिरिजाको पतन हुने सँकेत माओवादिहरुले भन्ने गरेको अक्टोबर क्रान्ती पनि हो । अक्टोबर क्रान्ती नहोस भन्ने कमना गरौं तर के थाहा सरकार र माओवादि दुबै पक्ष आ आफ्नो अडानमा ठोस बस्दै पग्लिन चाहेनन भने त्यसो नहोला भन्न पनि सकिन्न ।

यो सबै मैले भविश्यबाणी गर्न खोजेको हैन । बर्तमान राजनीतिको हकमा संभावित कुराहरु अनि मेरो त्यो साहाजको रुखको हकमा घटित कुराहरु मात्र गर्न खोजेको हुँ । मेरो ब्याक्तिगत बिचारमा पनि सरकारले तुरुन्त सातदल , नागरिक समाज र माओवादिहरु पनि समेटिएको अन्तरिम सरकार गठन गरेर उक्त सरकार मार्फत नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्नु पर्थ्यो । त्यसो गर्दा माओवादिहरुले पनि हतियार छाड्ने भनिरहेका थिए । तर सरकारले त्यसो गरेन र गर्ने छाँट पनि देखाईरहेको छैन । सरकारको ध्याउन्न हेर्दा माओवादिहरुलाई कुनै पनि युक्तीले हतियार बाट अलग गरेर सम्बिधानसभाको हैन सँसदको चुनाबमा लाने कसरत गरिरहेको देखिन्छ भने माओवादिहरुपनि झुक्दा झुक्दा नसकिने भो भन्ने भित्री मनसायमा अझ झुक्दै जांदा आफ्नो पार्टी भित्र नै फुट उत्पन्न होला भन्ने आशँकामा अगाडी बड्ने हो कि पछाडी हट्ने हो भन्ने दोधारमा छन । उनिहरु त यसै पनि बिद्रोहीहरु पछि हटेर फेरि जँगल नै गए भने पनि सरकारलाई दोष थुपार्ने छन तर सरकार??? सरकार ले पछि हटेर कहाँ जाने हो?? अझ गिरिजाप्रसाद कोइराला त छिमेकिको घरमा आउने चोर रुङ्न आफ्नो घर खुल्लै छाडेर हिंडेका छन चोरले उन्कै घर मा लट्टी पट्टी पार्न के बेर ?

1 comment:

www.cblognepal.blogspot.com said...

ramro chha I liked ur blog