Wednesday, March 02, 2011

मुक्तक र म

जाई फुलेन जीवनमा
चुवा फुलेर हेला भो
माया फक्रेन जीवनमा
बैंश फक्रेर खेला भो
त्यसैले,
गंभीरता छाएन जीवनमा
सर्वथा रेला रेला भो । 
 
******


नमस्कार !

धेरै पछि जाँगर चल्यो ब्लगमा केहि लेख्ने ।

तर के लेख्ने?

आफैं आफ्नै नजरमा धेरै सम्म बेपत्ता भएर आफुलाई भेट्दा पनि आफैंलाई उदेक लाग्दोरहेछ । अरु त अरु ब्लगमा के लेख्ने होला है? भन्ने नै चिन्ता परेपछि पो अत्यास लाग्यो । नियमित लेख्दै आईरहेको भए केहि न केहि खुराक अवश्य बन्ने थियो । तर अन्तराल पछि के लाई खुराक बनाउने? केहि न केहि त अवश्य बनाउनु पर्छ । घोत्लिएँ र खोज्नथालें अन्तराल पछि ब्लगमा राख्न उपयुक्त सर्जाम । र फेला पर्यो 'रेला' शिर्षक राखेर मुक्तक भन्दै धेरै अघि लेखेको लघुत्तम कविता । यसलाई मुक्तक भन्न मिल्थ्यो मिल्दैनथ्यो त्यो त मुक्तकका मर्मज्ञ पाठकहरुलाई थाहा हुन्छ । 'रेला'ले सम्झायो कि पहिले पहिले मलाई पनि मुक्तके भूत निक्कै चढेको थियो र खुबै लेखिहिंड्थें । त्यसबेला लेखेका सबै टुक्राहरु मुक्तक थिएनन् होला किनकि नयाँ वर्ष वा अन्य त्यस्तै अवसरमा पोष्टकार्डका पछिल्तिर त्यस्ता टुक्राहरु लेख्दै साथीहरुलाई दिइन्थ्यो । मैले त्यस्ता टुक्राहरु संकलन गरेर राखेको पनि थिएँ तर आज त्यो संकलित पुस्तिका छैन र नहुनुको बिस्मात पनि ति सबै मुक्तक थिएनन् भनेर लिएको छैन । यस्ता मुक्तके टुक्राहरुलाई सायरी लेख्ने भन्थ्यौ हामी त्यो बेला र स्वरुपमा पनि अलि फरक हुन्थे । त्यो बेला कुनै केटिसाथीलाई चिढ्याउन लेखेको यो टुक्रा त म कहिल्यै बिर्षन्न -

चिठ्ठी त तिमीले लेखिछौ प्रिय
तर अक्षर हेर्दा रुन मन लाग्यो
गालामा म्वाईपनि खाईदियौ प्रिय
तर दाँतेगुहु सम्झेर धुन मन लाग्यो ।





पछि आएर मुक्तक लेख्नै छाडिएछ । कैलेकाँहि अरु ब्लगर साथीहरुको ब्लगमा मुक्तक देख्दा स्मरण हुन्थ्यो म पनि पहिले लेख्थें भन्ने र एकाध लेख्न रहर पनि लागेर आउंथ्यो । हो त्यस्तै रहर मेटाउन लेखेका थप केहि मुक्तकहरु पनि कम्प्युटरको कुनोमा फेलापारेपछि भने अन्तराल पछिको ब्लग लेख्न ढुक्क भएँ । अन्तराल पछिको लेखाईमा आफुलाई आनन्द यसकारण हुने भो कि मेरो ब्लग पढ्नुहुने पाठक मित्रहरुले अहिलेसम्म मेरो ब्लगमा मुक्तकको स्वाद लिनुभएकै छैन र यो ब्लगमा नयाँ हुने भयो । आउनुस् थप केहि 'मुक्तक'हरु पढेर स्वाद लिनुहोला र मुक्तक भए भएनन् पनि भन्दिनुहोला ।

 गोली
सुन्थें चारैसुर तुनाले कसिएकि चोली हुन् तिनी
पहाड मैदान सब नाघ्दै बगिजाने खोली हुन् तिनी
एकदिन सुटुक्क आएर पसिन् मेरो आँखाबाट र
छाति भ्वाङ पारेर निस्किंदा बुझें गोली हुन् तिनी ।
 
*****
 
आहारा
अप्ठ्यारोमा हुँदा म उनको सहारा बनें
अलि सजिलो के भयो म विचरा बनें
र ऐले उनकै सामु आफ्नो अस्तित्व खोज्दैछु
जहिले देखि म उनको दैनिक आहारा बनें ।
 
*****
 
जवानी
के जान्नु मायामा पनि अर्थोकै मिसा'को भए
बाहिर मुस्कुराउने मायालु भित्र रिसा'को भए
पत्तो पाउँदो हुँ कठै म सोझो मान्छेले पनि
सुकुमार जवानी उनको पारदर्शी सिसाको भए ।
 
*****

देश
देश अचेल हाक्पारे भाखामा हराएको छ
पिरती फुल्ने ति बनपाखामा हराएको छ
कहाँ खोज्ने हो कठै! अब मेरो देशलाई
यो सपना देख्ने प्रत्येक आँखामा हराएको छ ।
 
*****
 
(कठै! देशको कुरापनि कोरिएको रहेछ मुक्तकमा)

2 comments:

कृष्णपक्ष said...

के लेख्ने भन्दा भन्दै धेरै थोक लेख्नु भयो र मन छुनु भयो । एकछिन म पनि मुक्तकिलो भएँ तपाइसंगै .।

Luna said...

so nice muktak !
please keeep it up !