ईतिहासमा कुनैबेला
टाउको थिए तिनिहरु
भित्र खोपडीमा गिदी भरिएको
बाहिर घना केशले ढाकिएको
आँखाले हेर्न सक्ने
कानले सुन्न सक्ने
मुखले आवाज निकाल्न सक्ने
जिउंदो जाग्दो टाउको थिए
लाग्थ्यो कुनैदिन त
शरिर बन्नेछन तिनीहरु
हिंडाउनेछन समग्र युगलाई
एकै चालमा छरितोसंग
उचालेर सगरमाथा
देखाउनेछन संसारलाई
सुन्दर समुन्नत नेपाल ।
ईतिहासमा कुनैदिन
हेर्न सक्ने आँखाले
निदाएको बहाना गर्यो
सुन्न सक्ने कानले
बहिरो छु भन्यो
बोल्न सक्ने मुखले
आफ्नै गिदी चपाईदियो
छेक्न सकेनन घना केशहरुले
टाउको कुहिंदै गयो
टाउको सड्दै गयो
टाउको बचाउन तिनीहरुले
ऐँजेरुको सहारा लिए
टाउको सुक्दै गयो
ऐँजेरु झाँगिदै गयो
केशहरु झर्दै गए
टाउकोको अस्तित्व झनै
खतरामा पर्दै गयो
केश बचाउन तिनीहरुले
साबुन फेरी फेरी
टाउको धुन थाले
दुर्गन्ध हटाउन तिनीहरुले
सैम्फो दली दली
टाउको पखाल्न थाले
कालान्तरमा टाउको
खल्वाट प्राय भयो
आँखा छोप्यो ऐँजेरुले
कानहरुमा पिप भरिए ।
ईतिहासमा भर्खरै
आफैंले गिदी चपाएको
टाउकोको अस्तित्व रक्षा गर्न
पर्दा पछाडीबाट मुख बोल्यो
यो हतियार उठाउने बेला हो
बिस्थापित गरेर टाउकोलाई
झाँगिएको ऐँजेरु
हो हो गरेर हल्लियो
र गिदी चपाईएको टाउकोले
ठम्याएको समयमा
हतियार उठाउने हात
खोज्न थाले तिनीहरु
कहिल्यै पुर्ण बन्न नसकेको
आफ्नै शरिरमा ।
2 comments:
धन्यबाद दीपकजी कविता पढ्ने मौका दिनुभएकोमा।
एउटा कुरा के, वर्णन अलि बढी भएन र? कवितात्मक निवन्धजस्तो बन्न पुगेको त छैन कतै?
मेरो विचारमात्रै है, अन्यथा नलिनु होला।
प्रतिक्रियाको लागी धन्यवाद दिलिप जी ,
खै त्यस्तै नै भयो कि ? मैले जानेर नजानेर कविताको नियम मिचें पनि कि ? तर लेख्न चैं यस्तै खोजेको हुँ ।
Post a Comment