Sunday, June 08, 2008

म रोएको कुरा

जन्मना साथै सबै रुन्छन पहिलो पटक । म पनि रोएंहोला । त्यसैले मेरो रुने क्रम पनि सबैको जस्तै जन्मिने बित्तिकै शुरु भएको हो । होस नसम्हालुञ्जेल म कति रोएं होला त्यसको त लेखो छैन म संग तर होस सम्हालेपछि धेरै पटक रोएको र रुनुपरेको कारणहरु सम्झनामा अझै छ । म रोएको र रुनु परेको हिसाब पाई पाई गरेर त बुझाउन ( आफैंलाई ) सक्दिन म - सायदै कसैले सक्लान तर अहिले म भर्खरै फेरी रोएको हुनाले जीवनमा रोएका र रुनुपरेका क्षणहरुलाई सम्झन मन लागेको छ । अहिले यतिखेर रोईसकेर हलुंगो भएको स्थितीमा छु म त्यसैले मैले रोएका क्षणहरु सम्झंदै हाँस्दै पनि छु तर त्यसबेला म साँच्चै रोएको थिएं । आँशु झारेको थिएं । आँशुको नुनिलो स्वाद जिब्रोले थाहा पाएको थिएं । हिक्क हिक्क भएको थिएं । र्‍याल सिंगान काढेको थिएं । डाँको छोडेको थिएं । भक्कानो फुटाएको थिएं । सायद त्यसैले पनि होला मैले लेखेका धेरै गीतहरुमा आँशु र रुवाईले धेरै स्थान पाएका छन । कैलेकाँहि लाग्छ यि दुई शब्दहरु साथै पिंडा , दुख , घाउ जस्ता धेरै शब्दहरु जस्लाई म मेरा गीतहरुमा प्रमुखताका साथ स्थान दिएर लेखिरहेको हुन्छु , ले मलाई आशिष पनि दिंदा हुन त्यसैले म सधैं रोएको होला ।

हैन यो साँच्चै रुन्चे पो रहेछ ; म त त्यसरी रुन्न । तपाईंलाई यतिखेर यस्तै लाग्योहोला । मलाईपनि लाग्छ । कोही मान्छे रोएको देख्दा किन रोएको होला त्यो ? त्यसरी रोएर पनि हुन्छ र ? भन्ठान्छु म पनि । अझ कुनै लोग्नेमान्छे रोएको देख्दा कस्तो हुतिहारा रहेछ लोग्नेमान्छे भएर रुने भनिन्छ तर रुनु प्राकृतिक नियम हो भनेर त्यसबेला हामी भुल्छौं अथवा समस्याको समाधान रोएर हुंदैन भन्ने अर्ती दिन थाल्छौं । ति अर्कै कुरा हुन मैले यहाँ चर्चा गर्न लागेको कुरा अर्कै हो । मैले आफुलाई रुन्छु , रुन्चे छु भनेपनि यो प्रक्रिया कुनैपनि कुराले भित्र मन छोएर भाबुक बनेर आँखा रसाउंदाको हो । त्यस्तै प्रकारका पनि कतिपय क्षणहरुले बरर आँशु झार्छन ।

म निक्कै सानो छँदाको कुरा हाम्रो घरमा मधुपर्क झैं आकार प्रकारको यौटा हिंदी भाषाको रंगिन पत्रिका थियो । त्यसको नाम के थियो र त्यसभित्र कस्ता कुरा लेखिएका थिए भन्ने मलाई थाहा छैन तर त्याँहाभित्र निक्कै रंगिन तस्विरहरु थिए । ति नै तस्विरहरु मध्ये यौटा तस्विरमा यौटा सानो घर थियो । घरको पछाडीपट्टी आकाशमा ईन्द्रेणी देखिन्थ्यो भने आँगनमा यौटा लोग्नेमान्छे , यौटी आईमाई , यौटी अलि ठुलीकेटी , अर्की अलि सानीकेटी र यौटा ति दुई बिचको जस्तो देखिने केटा उभिएका थिए । त्यो तस्विरले कुनै यौटा परिवार देखाउंथ्यो । एकदिन बेलुका दिदी र दाजुले त्यो तस्विर देखाउंदै यो हाम्रो बुबा यो हाम्री आमा यो म (दिदी) , यो म (दाजु) र यो बैनि हामीले अस्ति फोटो खिचेको । तँ थिईनस भन्नथाले । त्यसबेला सम्म मलाई त्यसरी फोटो खिचाउने अवसरबाट बञ्चित भएछु भनेर दुख लागिसकेको थियो । मैले 'म त्यसबेला कहाँ ग'को थिएं ? ' सोधें । दिदीदाजुले ' तँ त हग्न ग'को थि'स । ' मलाई जवाफदिए । त्यसरात म धेरैबेरसम्म फोटो खिच्न मलाई कसैले पर्खेनन भनेर रोएको थिएं ।

धेरै पटक म दन्त्य कथाहरु सुनेर रोएको छु । मलाई दिदीले सुनकेशरी रानीको कथा सुनाउंथी । ( म दिदीलाई प्रतक्ष्यमा पनि तँ भनेर सम्बोधन गर्छु त्यसैले यहाँ ढर्रा पारिरहनु उचित ठानिनं ) सबैभन्दा धेरै म सुनकेशरी रानीको कथा सुनेर रुन्थें । त्यसबेला मलाई सुनकेशरी रानीको कपालका केशहरु सबै सुनैसुनका थिएहोलान भन्ने लाग्थ्यो । आजभोली लाग्छ त्यो कथा रच्ने कथाकारले युरोप अमेरिकातिरको सुनझैं कपाल हुने सुन्दरीलाई पो सुनकेशरी रानी भन्ने पात्र बनाएको थियो कि ? ति दन्त्य कथाहरुमा सहरको बयान गर्दा अति सुन्दर तर कोही मान्छे नदेखिने सुनसान भनेर गरिएको हुन्छ । जस्तै राजकुमार दिक्पाल भन्ने कथामा पनि त्यस्तै चकमन्न सहरको बयान छ त्यो पनि मलाई युरोप अमेरिकातिरकै स्थान कथामा चित्रण गरेको हो कि जस्तो लाग्छ किनकि यहाँ पनि बसोबास गरिने क्षेत्रहरु चकमन्नै सुनसान हुन्छन । सबै मानिसहरु घरभित्रै बस्छन । दिदीले सुनाउने धेरै दन्त्यकथाहरुले मलाई रुवाउथे । अब त दिदीले कुनकुन कथा सुनाउनुहुन्थ्यो भन्ने पनि धेरैजसो बिर्षिसकें । नहल राजा दमयन्ती रानी ( यस्तै होला जस्तो लाग्छ ) को कथाले पनि मलाई रुवाएको कताकता थाहा छ । त्यसबेला सुन्ने गरेका ति कथाका घट्ना , पात्र र स्थानहरु चलचित्रमा देखे झैं भान हुन्थ्यो त्यसबेला तर अब त भुलिसकें ।

उ बेला म सानो सानो कुराहरुमा पनि रुन्थें । एकपटक हाम्रो घरको शंख छिमेकीकोमा लगेको रहेछ पुजामा चलाउन , पुजा सकिएको केहिदिन सम्म पनि ल्याइनदिएको हुनाले मलाई लिन पठाईयो । म लिन गएं तर त्याँहाबाट फेरी पुजाकै प्रयोजनको लागी अर्कै घरमा शंख पुर्याईएको रहेछ । त्यो थाहा पाउने बित्तिकै म रुनरुन लागेको थिएं तर कसोकसो सम्हालिएर अर्को ठाउंमा पुगें शंख लिनलाई । त्याँहा म पुग्नुभन्दा अगाडीनै दिदीले शंख लिएर घर गैसकेकि रहिछे त्यसपछि त म थामिनै सकिनं । रुन थालीहालें । छिमेकी घरकाले किन रोएको भनेर सोध्दा शंख मैले घर लान पाईनं भन्ने जवाफ दिएं । म रोएको रोएकै घर आईपुगें । मलाई त्यो शंख आफुले बोकेर घर ल्याउंदा बाटोमा बजाउने ठुलो ईच्छा थियो जो पुरा हुन नसक्दा म रोएको थिएँ । पछिपछि गाउँमा पुजाआजामा बजाउन सिकेर म निक्कै राम्रो गरी शंख बजाउने भएको थिएं ।

त्यस्तै एकपटक म एक कक्षामा पढ्दाको कुरा - भोलीपल्ट स्कुलमा हाजिरी जवाफ प्रतियोगिता हुनेथियो र यौटा टोलीमा मेरो नामपनि थियो । त्यसबेला म पढ्ने अमर प्राथमिक बिद्यालय ३ कक्षा सम्म मात्र पढाई हुन्थ्यो । म एकमा हुँदा मेरो दाजु ३ मा थियो । सँधै प्रथम हुने त्यही दाजुको भाई भएकोले नै मलाई देवेन्द्र बराल सरले हाजिरी जवाफ टोलीमा सामेल गराउनुभएको थियो । त्यो थाहा पाएर हजुरबाले मलाई बेलुका खाना खाँदा खाँदै प्रतियोगितामा भोली आउन सक्ने केहि कुराहरु सिकाउन थाल्नुभयो । बाघको बच्चालाई डमरु , हात्तिको बच्चालाई छावा , घोडाको बच्चालाई बछेडु , ईत्यादी कुराहरु सिकाउनुभयो । भोलीपल्ट स्कुलमा प्रतियोगिता शुरुभयो । हरेक टोलीमा पाँच पाँच जना थियौं । सबै टोलीका पाँचजना मिलेर संगै बसेका थिए भने मेरो टोलीमा चैं चारजना मात्र मिलेका थिए , मलाई अलग्गै एक्लै पारेका थिए । उनिहरु मलाई छेउमा टाँसिएर बस्नै दिईरहेका थिएनन । मेरो टोलीको टोलीनेता ३ कक्षाको एकजना एकहातमात्र भएको केटा थियो । उसैले मलाई पर पर पारेको थियो । प्रतियोगिता चालुथियो । मैले सिकेका जानेका पश्नहरु कमै आईरहेका थिए अकस्मात हाम्रै टोलीले प्रश्न रोजेको बेला घोडाको बच्चालाई के भनिन्छ भन्ने प्रश्न आयो । मैले तत्काल उठेर ठुलो स्वरले "बच्छेडु" भन्दै जवाफ दिएं । जवाफ सहि थियो तर टोलिनेताले जवाफदिनुपर्ने ठाउँमा मैले जवाफ दिएकोमा झण्डै बदर गरेका थिए त्यसबेला पनि देवेन्द्र सरले उसलाई हेपेर एक्लै राखेका छन त्यसैले उसले भन्यो अथवा यस्तै केहि भनेर वकालत गर्दै त्यो सहि जवाफलाई खेर जान दिएनन । अन्त्यमा मेरो दाजुको टोली प्रथम भयो , अर्को टोली दोश्रो , अर्कै तेस्रो । हाम्रो टोली त हरुवा भयो । हाम्रो टोलीले हारेको घोषणा हुनासाथ म रुन थालें । मैले जस्तै सबैले एक एक प्रश्नको सहि जवाफ दिएको भए हामी दोश्रो हुन्थ्यौं भन्ने लागेर म रोएको थिएं ।

स्कुलका किताबका कथाहरुले पनि मलाई रुवाएको सम्झना छ । म भन्दा मेरो दाजु स्कुलमा दुई वर्ष अगाडी थियो उमेरमा पनि दुई वर्ष नै अगाडी छ । म उसको किताब मौका पाउनासाथ खुसुक्क चोरेर पढ्थें । तिन कक्षामै थियो जस्तो लाग्छ न्याउरी मारी पछुतो भन्ने कथा त्यो कथाले पनि रुवाएको थियो मलाई । त्यस्तै पाँच कक्षाको यौटा कविता शिर्षक बिर्षें अहिले , ले पनि रुवाएको थियो , कवितामा केहि यस्ता हरफहरु थिए ".... ......वर्षायाम एक दिन ठुलो पानी पर्यो......... बतासले हाँगो लाछ्यो गुँड पुग्यो तल......... '' त्यस्तै सात कक्षामा भएको कविता चरीको विलाप होला जस्तो लाग्छ , ले पनि रुवाएको सम्झना छ

न सक्छौ यो आँशु टपटप टिपी चप्प पिउन
न सक्छौ यो भुत्ला लिईकन कुनै वस्त्र सिउन ।

यस्ता प्रकारका मार्मिक पाठहरुले म संधैं रुन्थें । नौ कक्षाको दुई मितको कथाले पनि रुवाएको छ मलाई । सबै अहिले सम्झना आउदैन । स्कुलका पाठ्यपुस्तक बाहेक अन्य पुस्तकहरु पढेर पनि म रोएको छु । प्रकाश कोविदको उपन्यास पढेर रोएको छु । युधिर थापाको उपन्यास पढेर रोएको छु । बेदप्रकाश शर्माको हिंदी उपन्यास पढेर पनि रोएको छु । अलिपछि साहित्यिक पुस्तकहरु पढ्न थालेपछि पनि रोएको छु । मैले पहिलो चोटी पढेको साहित्यिक उपन्यास जस्को बाहिरी आवरण ( म संग भएकोमा ) थिएन । नाम ईन्साफ हो जस्तो लाग्छ र लेखक भिमनीधि तिवारी हुन जस्तो लाग्छ , ले मलाई धेरै रुवायो पनि धेरै सिकायो पनि , म सानै थिएं त्यो ईन्साफ उपन्यास पढ्दा । त्यस उपन्यासका पात्रहरु वीरबहादुर , उसको छोरो आईते , उसकी श्रीमती सेती , आईतेको साथी बुधे , शैलराज , महन्तकाजी , उनकि पत्नि नर्मदा , हाकिम सानुमान , हाफिज अलि सबै सबै सजिव छन मेरो मानसमा । त्यही उपन्यासले मैले काठमाण्डौको तस्विर मनमा बनाएको थिएं पछि काठ्माण्डौ जाँदा मलाई त्यो बेलाको काठ्माण्डौ देख्न पाए नि हुन्थ्यो जस्तो लागेको थियो । उक्त उपन्यासमा वीरबहादुरको भैंसी मर्दा साह्रै दुखित भएको थिएं म । त्यस्तै शैलराजले जुवामा लागेर सम्पती सक्दा रिस उठेपनि पछि नासपतीको छिल्का खाँदा आँशु आएको थियो । त्यस्तै पारीजातको अनिदो पहाडसंगै , शिरिषको फूलहरुले पनि रुवाएको छ । अर्को मैले सानैमा पढेको साहित्यिक उपन्यास धच गोतामेको घामका पाईलाहरु हो त्यसले पनि रुवाएको छ मलाई । त्यसो त मैले नेपाली साहित्य धोको फुकाएर पढ्न कहाँ पाएको छु र ?

चलचित्र हेर्दा पनि म पहिले निक्कै भक्कानिएर रुन्थें आजभोली पनि आँशु झर्छ चलचित्र हेर्दा । पहिलो पटक मैले बागडोग्रामा बरसात कि एकरात भन्ने हिंदी सिनेमा हेरेर रोएको थाहा छ । तुलसी घिमिरेका नेपाली चलचित्रले पनि मलाई रुवाएको छ धेरैले ।

त्यसबाहेक चोट परेर आघात परेर रुने त छँदैछ , २०७५ सालको मंशिर १ गते मेरी प्रिय पत्निको अवशान हुँदा म सबैभन्दा लामो रोएको छु । त्यसबेला मैले बादलपारीकी मायालुलाई मेरो चिठ्ठी भनेर यौटा निक्कै लामो शोक पत्र लेखेको थिएं । झण्डै सानो किताब जस्तै लाग्ने त्यो चिठ्ठी अब नेपाल जाँदा भेटाएं भने ब्लगमा राख्छु ।

अन्त्यमा म रोएको कुरा ( भर्खरै रोएको ) खोलुँ - यसपटक भने म ब्लगर साथी वसन्त गौतमको ब्लगमा ' आमा ' शिर्षकको टाँसो पढेर रोएको हुँ । यहि कुरा पढ्दा कसैलाई रुन नआउला तर म रोएं । वसन्तजीको लेखाईले गहिरो गरेर मन छोयो । लेखाई होस त त्यस्तो - क्या लेखाई छ । मैले आरती लोहारुङ्ग राईको ब्लगमा उक्त टाँसोको जिकिर पढेको थिएं र त्यहाँ पसेको थिएँ । धन्यवाद आरतीजीलाई पनि । यो भयो म रोएको कुरा , कुनैदिन म हाँसेको कुरा पनि लेख्नेछु म ।

4 comments:

Basanta Gautam said...

मिठो भावनात्मक प्रस्तुतिका लागि धन्यबाद दीपकजी! रुनु पाप हैन, न त लोग्नेमान्छे भएर रुनु अस्वाभाविक हो। जो रुनसक्छ, उ संवेदनशील र कोमल छ भन्ने जाने हुन्छ। संवेदना नभएको मान्छे ढुंगा हो र कोमलता 'कमजोरी' हैन।

मेरो लेखाईलाई दिनुभएको मायाको लागि हार्दिक धन्यबाद!

दिलीप आचार्य said...

तपाईको 'टाँसो' (यो शब्द बसन्त गौतम जी बाट बिना कपीराईट यहाँ प्रयोग गर्दैछु) पढेपछि Kahlil Gibran को यौटा वाक्य याद आयो। उनले कतै भनेका छन:"Keep me away from the wisdom which does not cry, the philosophy which does not laugh and the greatness which does not bow before children"

मानिसमा विद्वता आएपछि रुनु हुदैन र यो कमजोरको सहारा हो भनिन्छ। तर रुनु कमजोरि होईन यो सामान्य भावनाको प्रस्फुटन हो ।

मानिसहरु आफुले गरेका वा गर्दै नगरेका कामको पनि बढाई चढाई बयान गर्छन तर रोएको कुरा बताउन कसैलाई शाहस हुदैन तर तपाईले आफू रोएको घटना बाँडेर हिम्मतको काम गर्नु भएको छ।

धन्यवाद् ! आफ्ना अत्यन्त निजि जिन्दगिका आरोह-अबरोहरु बाँडनु भएकोमा ।

दीपक जडित said...

वसन्तजी र दिलिपजीलाई पनि हार्दिक धन्यवाद , नियमित मेरो ब्लगमा प्रतिक्रिया जनाईदिनु भएर मलाई प्रेरणा दिनुभएकोमा । मैले तपाईंहरु दुबैजनाबाट धेरै सिकें र अझै धेरै सिक्न पाउनेछु भन्ने लागेको छ ।

Arati Lohorung said...

आमाबारे त्यो पोस्ट साँच्चीनै पढिसकेर सासनै रोकिने खालको छ। ढिलोनै भएपनी मेरो नाम यहाँ देख्दा खुशी लाग्यो । धन्यवाद । तपाईंको लेखाइ ज्यादै राम्रो छ। यस्तै राम्रो लेख हरु पढिराख्न पाइयोस।