Saturday, June 07, 2008

गजल : क्लिष्टता नआवोस / (कहिल्यै)

जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता नआवोस ।
देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता नआवोस ।

छोपेर सत्य औ माथीबाट पोतेर झुटको रंगले ,
भ्रम फैलाउन कुनै कलममा धृष्टता नआवोस ।

स्वस्थ प्रतिस्पर्धा बनोस पाओस सुयोग्य अघि बढ्न ,
धोकाधडी , चाकरी , छल्छामको उत्कृष्टता नआवोस ।

मान्छेको त के कुरा म भित्र छ भने ईश्वरकै पनि ,
भक्तिमा स्वार्थ मिसाउनुपर्ने त्यो निष्ठता नआवोस ।

मनुवा प्राणी 'दीपक' पनि ठान्दछ सब बराबरी ,
नउ'म्रोस जिलोबुटो अहँको विशिष्ठता नआवोस ।

अहो ! अहिले आफैंलाई सुन्दर लाग्यो । दिलिप जीलाई धन्यवाद पुन एकपटक । मैले पहिलेको र अहिलेको दुबै स्वरुप यहाँ राखेको छु ता कि संधै मलाई प्रस्तुती कसरी सुन्दर बनाउने भन्ने हेक्का रहोस ।
________________________________
जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता कहिल्यै नआवोस ।
देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता कहिल्यै नआवोस ।

सत्यतथ्य छोपछाप पारी रंगरोगन झुटको लगाएर ,
भ्रम फैलाउन कुनै कलममा धृष्टता कहिल्यै नआवोस ।

'दीपक' पनि त एक मनुवा प्राणी ठान्दछ सबै बराबरी ,
नउ'म्रोस जिलोबुटो अहँको विशिष्ठता कहिल्यै नआवोस ।

स्वस्थ प्रतिस्पर्धा बनोस पाओस योग्यमात्रै सँधै अघि बढ्न ,
धोकाधडी चाकरी छल्छामको उत्कृष्टता कहिल्यै नआवोस ।

मान्छेहरुको त के कुरा भो म भित्र छ भने ईश्वरकै पनि ,
भक्तिमा स्वार्थ मिसाउनुपर्ने त्यो निष्ठता कहिल्यै नआवोस ।

यस अघिको गजलमा दिलिपजी ले गर्नुभएको प्रतिक्रियाले यो गजलको मेसो निस्किएको हो । दिलिपजीलाई धन्यवाद ! दिलिपजीले नै यहाँ मलाई 'धृष्टता ' शब्द लेख्न सिकाएर गुनपनि लगाउनु भएको छ ।

2 comments:

दिलीप आचार्य said...

हो पक्कै पनि सरलतामा नै स्वाद हुन्छ , आफुले लेखेको कुरा अरुले बुझ्नै सकेनन् भने त्यो बुद्दी बिलास गरेर “मै हूं” भन्ने घमण्ड मात्रै बन्छ ।

यो गजलको चाहि मत्ला (पहिलो शेर) नै दामी छ “देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता नआवोस” , त्यसपछि अन्तिम शेर अर्थात मक्ता पनि बेजोड छ ।

यौटा कुरा राखौं है:
यो गजलका सबै शेर बाट >एक चोटि “कहिल्यै” भन्ने शब्द झिकेर हेर्नुस त, कस्तो लाग्छ? (मलाई चाहि यसो गर्दा अझ सरल भा’ जस्तो लाग्यो)

अनी प्राय: गजलको अन्तिम शेर (मक्ता) मा नै तख्ल्लुस (लेखकको नाम वा उपनाम) राखिन्छ जस्तो लाग्छ मलाई । त्यसैले तपाईको तेस्रो शेरलाई मक्ता बनाएर हालको मक्तालाई स्थानान्तरंण गर्दा कसो होला?

अन्तमा यौटा नबुझेको कुरा पनि सोधी हालौं है ! यो ‘जिलोबुटो’ भनेको के हो? । यो चाहि मेरो लागि ‘क्लिष्ट’ भयो है !

दीपक जडित said...

सहस्र धन्यवाद दिलिपजी लाई ,

कहिल्यै ले भन्न खोजेको कुरामा अलिधेरै जोड दिएको हुँ मैले हटाउँदा हटाउंदा अझ सुन्दर हुन्छ भने त्यसो गरेरपनि हेरुँला र मक्ता सार्ने कुरापनि म गर्छु है ।

' जिलोबुटो ' चैं एकैठाउँ जोडिएर आएका ' जिलो ' र ' बुटो ' दुई शब्दहरु हुन , ' बुटो ' त तपाईंलाई थाहा होला ? स सानो रुखलाई पनि यो शब्दले जनाउछ त्यस्तै अलि ठुलो झारलाई पनि बुझाउंछ । जस्तै खस्रे / खनिउँ जस्ता रुखहरु , जस्लाई डालेघाँस काट्दा धेरै ठुलो हुन दिईन्न , लाई बुटो भनिन्छ । अलि ठुलो झार जस्तै बाबरीको बुटो , भाँगको बुटो , यो मेरो ठाउँतिर भन्ने तरिका हो अन्यत्र बुट्यान पनि भने लेखेको पाईन्छ ।

' जिलो ' भनेको चैं अन्नबालीलाई भन्दा बिउ/बिजन हो । अझै फल बिउ हैन बोट बिउ हुने अन्नबालीको बिउलाई जिलो भनेको मलाई थाहा छ । जस्तो सखर खण्डको जिलो । यस्लाई हाम्रोतिर प्रयोग गर्दा ' लौ मेरोमा त फलानो बालीको जिलै मासियो । ' यसरी गरिन्छ । त्यस्तै पैसालाई पनि जिलो शब्द प्रयोग गरेको थाहा छ मलाई । खास गरेर तास जुवा खेल्ने , पैसामा खोपि , गुच्चा खेल्नेहरुले , पैसालाई जिलो भन्दा चैं साँवाभन्दा घटेको अवस्थामा पुग्दापनि दाउ राख्न पुग्ने सम्मको अवस्थालाई जिलो भनिन्छ जस्तो मलाई लाग्छ । खेलमा दाउ राख्ने न्युनतम रकमलाई 'बोट' भनिन्छ भने त्यो बोट राख्नै नसक्ने गरेर हारिसकेपछि जिलै मासियो भनिन्छ ।