Tuesday, June 17, 2008

म आफैंलाई केलाउंदैथिएं

म आफैंलाई केलाउंदैथिएं । लाग्यो मैले यो हत्ते गर्नु हुंदैन । यो मरिहत्ते पट्टक्कै गर्नुहुंदैन । त्यसैले लाग्यो अब केहिदिन म सोच्दिनं ( नसोचि बस्न सक्ने कुरै भएन ) । हुनपनि उत्पातै गर्दैथिएं म । खै किन यस्तो गर्दैछु म ? कुरा लेखाईको हो । खै के को फुर्ती आएको हो मलाई ? ब्लगमा दिन नबिराई यौटा यौटा कुरा (कहिले गीत , कहिले गजल कहिले के , कहिले के ) राख्न लागेको छु । मेरो ब्लगमा पस्नेहरुलाई पनि दिक्क लाग्छहोला । पछिल्लो पटक यौटा गीत राखेको छु । त्यो लेखाई त्यस्तै परेर जुर्यो । त्यहि कुरा नै मैले पहिले गीतमै लेखिसकेको छु सायद । त्यसैले लेखेर ब्लगमा राखिसकेपछि मलाई स्थाईमा बाहेक अरुकतै मनपरेन त्यो गीत तै पनि मैले त्यो गीत हटाईनं बरु कुनैदिन फुर्सदमा त्यसलाई काँटछाँट गरुँला भन्ने मनमा आयो । त्यसपछि अर्को एउटा गजल केहिदिन अघि मात्र लेखेको राखेको छु । के मसंग ब्लगमा लेख्न अरुकुराहरु छैन ? खाली मैले मेरो ब्लगमा गीत , गजल , कविताहरु मात्र राख्नु ? यो प्रश्न गंभिर भएर मेरो सामु खडा भएको छ आजभोली । त्यसैले म ब्लगमा दिनहुँ पोष्ट थप्न छाडेको छु । त्यसैले मसंग केहि ड्राफ्टहरु थपिएका छन ब्लगमा । थपिउन म धैर्यले राख्दै जानेछु ।

मैले लेखनीमा गुणात्मक वृद्धि गर्दै जानेबेला हो अब संख्यात्मक वृद्धितिर लागें भने लेख्नु र नलेख्नुमा फरक नआउला । यो कुरा मैले लेख्न शुरु गर्दैतिर सिकेको हुँ आफ्नै दाजुबाट । प्रसंग उठेको बेला अलिकति कुरा जोडीहालौं - सानैदेखि मलाई लेखाईमा रुचि बढ्यो तर लेख्नलाई प्रेरणा मिल्ने खालको ठुलो संगत कहिल्यै पाईनं बरु अहिलेलाई मैले निक्कै ठुलो संगत पाएको छु ब्लगर साथीहरुको । सानो छँदा म र मेरो दाजुको होड चल्थ्यो कस्ले किताबमा पढेको कविताहरु रिट्ठो नबिराई कण्ठस्थ पार्ने भनेर , म उसलाई कहिल्यै जित्न सक्दिनथें । उसको दिमाग साह्रै चतुर थियो साथै साह्रै धारिलो पनि म अलि कमजोर नै थिएं तर पनि कविता घोक्ने कुरामा म पनि कम हुन्नथें । म आफुले कक्षामा दुई वर्षपछि पढ्नुपर्ने दाजुको किताबको कविता पनि सर्लक्कै कण्ठ पार्थें । म पाँचमा हुँदा हो बेलुका पढ्न हामी तिनजना भेला हुन्थ्यौं म मेरो दाजु र अर्को पनि मेरै दाजु , फुपुको छोरा । उनिहरु दुबै सातमा थिए । एक बेलुका मैले उनिहरुलाई धमास दिएं ' तिमरको किताबको कोपिला कविता मलाई कण्ठ छ ' भनेर । उनिहरुलाई कक्षामा नपढाएको पाठ भएकोले उनिहरुले पढेका भएपनि घोकेका रहेनछन तर मलाई कण्ठै थियो । उनिहरुले पत्याएनन र मैले कविता भन्नथालें उनिहरु किताबमा हेर्नथाले । मैले नबिराई कविता भनेर जितेको उनिहरुलाई मनपरेन क्यार मेरो दाजुले कविता लेख्ने प्रस्ताव निकाल्यो । सबै मञ्जुर भयौं र कविता लेख्न थाल्यौं । लेखेर सुनाएको कवितामा मेरो दाजुले नै राम्रो लेखेको थियो । मलाई अहिले न दाजुले लेखेको कविता याद छ न मैले त्यतिबेला के लेखेको थिएं याद छ तर मेरो फुपुको छोरा , दाजुले त्यतिबेला लेखेको कविता भने मलाई राम्रै याद छ । उनले यस्तो लेखेका थिए -

त्यो रुखमा बटर पाकेको
मेरो डरले त्यो केटा भागेको ।

हामीले ६/७ हरफ कविता लेख्दा उनले दुई लाईन मात्र लेखेका थिए । त्यसबेला हामीले उनलाई खुब जिस्काएका थियौ । 'बडहर' लाई बटर लेखेको भनेर र उनले नै भनेका थिए लेख्न खोज्दा नजिकैको बडहरको रुख सम्झना आएर लेखेको भनेर । यसरी नै लेख्ने बानीको बिकाश हुंदै गएर पछि ९ /१० कक्षामा पुग्दा मैले कविताहरुले यौटा सिंगै कापी भरेको थिएं । संख्याको हिसाबमा मसंग मेरो दाजुको भन्दा धेरै कविता थिए । त्यो पनि उसलाई मननपरेर हुनुपर्छ दाजुले मलाई भनेको थियो तँ संख्या बढाएर हजारवटा कविता लेख तर मैले गुण बढाएर लेखेको १० वटा कविताले जित्छ । मलाई साह्रै घत लागेको थियो उसको कुरा । यहि कुरा पछि अन्त पनि सिकें मैले तर पहिले दाजुले नै सिकाएको थियो ।

मलाई दाजुले नेपालका कविहरुको बारेमा पनि कतिकुरा बनाएरै भएपनि सुनाउंथ्यो । विचरा ! उसले पनि सिक्न कहाँ पाउंथ्यो र ? हामीदुबैले किताबहरु पढ्न पाउने अवसर उस्तै त थियो आँखिर । जे होस उसले मलाई सुनाएको उसको बनावटी कुरा भएपनि यौटा यस्तो थियो - लक्ष्मीप्रसाद देवकोटा , लेखनाथ पौड्याल र बालकृष्ण सम ( उसले यि नै तिनजनाको नाम लिनु चाँही मलाई गफदिंदा तुरुन्तै सम्झनामा आएका नामहरु हुन सक्छन , अहिले मैले अनुमान गर्दा ) का कविताहरुमा लक्ष्मीप्रसाद देवकोटाका कविताहरु जंगलका फूलहरु हुन त्याँहा सुन्दर लालीगुराँस देखि बनमारा सम्म फुलेका हुन्छन । लेखनाथ पौड्यालका कविताहरु यौटा फूलबारीका कविताहरु हुन त्याँहा छानीछानी रोपिएका सुन्दर फूलहरु सयपत्री , मखमली ईत्यादी हुन्छन तर लालीगुराँस हुंदैन र बालकृष्ण समका कविता गमलाको फूल हो त्याँहा विशेष गरेर फुलाएको गुलाफ जस्ता फूलहरु हुन्छन । यो उसले सिकेको , सुनेको , पढेको आधारमा थपेर मलाई दिएको गफबाहेक केहि नभए पनि केहि हदसम्म मलाई चित्त बुझेको थियो उ बेला । अहिले सम्झंदा लाग्छ हामी फराकिलो आकाश खोज्थ्यौं त्यो बेला , साहित्यमा ज्ञानको सागरमा पौडन चाहन्थ्यौं त्यो बेला तर हाम्रो शिरमाथी न आकाश थियो फराकिलो न पौडनलाई सागर नै कहिँ । अहिले मेरो दाजुले लेख्न छाडीसक्यो लेखिरहेको भए उ म भन्दा धेरै राम्रो लेख्न सक्थ्यो । म चाहीँ लेख्दै नै छु जे पायो तेहि भए पनि निरन्तरता दिईरहेछु लेखनीलाई तर यहि निरन्तरता केहिदिन यता मलाई बिझाउन थालेको भान भैरहेछ ।

अब लेख्दा मैले लेखाईमा आफ्नो वजनको हेक्का राख्नुपर्छ कि पर्दैन भन्ने प्रश्न दिमागमा उठ्न थालेको छ । खासगरी पछिल्ला केहिदिन मैले दिन नबिराई ब्लगमा पोष्ट राख्न थालें । हरेक पोष्टमा कि कविता , कि गीत , कि गजल आदि हुनथाले र अझै नभएर ड्राफ्टको रुपमा पनि बस्न थाले । अन्य मैले नियमित हेर्ने साथीहरुको ब्लगमा कति शान्त र सौम्य तवरले विस्तारै पोष्ट थपेको पाएं त्यसैले मलाई लाग्यो अब मैले अलिकति फरक ढंगले प्रस्तुत हुनुपर्छ बरु ड्राफ्टनै राखेर पनि यस्तै गन्थन मन्थन लेखेर पोष्ट गर्नुपर्छ बरु तर ब्लगमा पस्नेलाई नै दिक्क लाग्ने गरेर एकोहोरो रचना थुपार्नु हुंदैन भन्ने सोच आयो । यहि सोचले लेखनीमा संख्यात्मक हैन गुणात्मक वृद्धि गर्नुपर्छ भन्ने सोचपनि ल्यायो । त्यसो त म सक्दिनं नलेखि । केहि न केहि दिमागमा गुजुल्टिन शुरु भैहाल्छ र त्यसलाई फुकाउन खोज्दा कि त गजल कि त कविता आदिको जन्म भैहाल्छ र अर्कोकुरा के पनि हो भने गुणात्मक वृद्धि गर्नको लागी कम लेख्न थाल्यो भने झन अभ्यासमा कमि हुन गएर गुणमा अझ ह्रास पनि त आउला । एकातिर यो गुण र संख्यालाई ध्यानमा राखेर कम लेख्ने हो कि अझ धेरै लेख्दै जाने हो साँच्चै द्विविधामा परेको छु म भने अर्कोतिर लेख्ने क्रमको गति अझै उस्तै छ खालि ब्लगमा राख्ने क्रममा न्युनिकरण गर्ने सोच बनाएको छु त्यसो गर्नलाई पनि मन थाम्न सक्छु कि सक्दिनं त्यो चैं आफैंले पनि हेर्नैपर्छ ।

4 comments:

Basanta Gautam said...

रमाइलो लाग्यो यो 'टांसो' पढ्न। यसरी सललल-- बगेको रसिलो टाँसो पढ्नुमा बेग्लै आनन्द छ!

वास्तवमा तपाईँको दाइले एकदम सरल भाषामा देवकोटा, लेखनाथ र समका रचनाहरुको भिन्नता राम्ररी वर्णन गर्नुभएको छ।

जहाँसम्म धेरै लेख्ने-थोरै लेखे भन्ने कुरा छ, मेरो विचारमा थोरै लेख्दैमा गुणात्मक हुने भन्ने हैन। आफूलाई फुरेजति लेखिरहने र चित्त बुझेकालाई तु. कतै टाँस्ने, चित्त नबुझेकालाई कतै थन्काएर फुर्सद हुँदा काँटछाँट
गर्नुनै राम्रो हो जस्तो लाग्छ मलाई।

दिलीप आचार्य said...

संख्या र गुणबत्ताको कुरामा बसन्त जि को कुरा नै सहि हो जस्तो लाग्छ मलाई पनि ।

मुख्य कुरा हामी ब्लगमा लेख्‍छौं, पत्रीकामा होईन (मतलब हामी हाम्रो लेखाई बेचिरहेका छैनौं यतिबेला) त्यसैले आफुलाई फुरेको बेलामा लेखेकै राम्रो हो ।

त्यसो त ब्गल नै भए पनि नविनता र बिबिधता भएमा पक्कै रमाईलो र रोचक हुन्छ त्यसैले यस्तै खाले संझनाका कुराहरु र अनौपचारिक विचारको आलेखहरुमा पनि कलम चलाउदां पक्कै राम्रो हुन्छ होला तर गितै गीत वा गजलै गजल हुन्छ भनेर लेख्‍न नछाड्नु होला । कत्ती कुरा यहाँ टाँसे पछि परिस्कृत हुन्छ (साथीहरुले कमेण् ट नै नलेखे पनि कहिले काही “अफ-लाईनमा” सल्लाह दिन्छन भने कति चोटी लेखेर राखे पछि आफैले पनि फुर्सदमा “परिमार्जन” गर्न सजिलो हुन्छ )

आजकल पत्र-पत्रीकाको राजनैतीक समाचार बाट वाक्क भएकोले फुर्सदमा साथीहरकै ब्लग पढ्दा रमाईलो लाग्छ । तपाईको बाल्यकालको अलिकता झलक यो भन्दा पहिलेको “टाँसो” मा पढेको हो त्यसपछि यो पनि रोचक छ, जिवनमा यस्ता रोचक प्रसंग निक्कै होलान लेख्दै गर्नुहोला ।

aAkaR said...

आँफैलाई केलाउँदा केलाउँदै दाइलाई पनि ल्याउनुभयो । साथै अर्को कुरा ब्लग भनेको आफ्नो कुरो बिसाउने चौतारी हो, त्यसैले जे मन लाग्छ अनि जस्तो फुर्छ, लाइहाल्ने हो टाँसो ब्लग मा ।

दीपक जडित said...

वसन्तजी , दिलीपजी र आकारजी तपाईंहरुलाई धन्यवाद । वास्तवमै म भित्र अन्यौल थियो ब्लगनै भएपनि यसको अकर्षण त घटाईरहेको छैन एकोहोरो एकै प्रकारका पोष्टहरु राखेर भन्ने । प्रतिक्रियामा यो अन्यौल चिरिदिनुभएर मलाई शान्त बनाईदिनुभएको छ ।