Monday, June 23, 2008

दुई गफहरु

गफ एक -

केहिदिन अगाडी मैले ब्लगर साथी आकारको ब्लग http://aakarpost.blogspot.com/ मा डा . कृष्णहरी बराल सरको गीतहरु सुनेको थिएं त्यसबेला मलाई आफ्नो ब्लगमा पनि किन आफ्नो गीत नबजाउने भन्ने लाग्यो । आकारजीसंग ईमेलमा सम्पर्क गरेर कसरी गर्ने भन्ने सोधिखोजी गरेर आज आफ्नो गीतहरु आफ्नै ब्लगमा सुन्नलाई उपलब्ध गराउन सकेको छु र यसमा मलाई खुशी लागेको छ । आकारजीलाई सहस्र धन्यवाद दिन चाहन्छु यसको निंती ।

मैले एक अञ्जुली माया नामको गिती एल्बम गतवर्ष नै तयार पारेको हुँ । आफैंले सबै खर्च बेहोरेर तयार पारेको यस एल्बमलाई बजारमा निकाल्ने जिम्मा लिएको धौलागिरी क्यासेट सेण्टरलाई मैले विज्ञापनको जिम्मा समेत दिएको भएपनि न आवश्यक विज्ञापन गर्यो न बजारमा नै कसैले देख्यो मेरो एल्बम । एक त आधुनिक गीतहरुको बजार कम भैरहेको अवस्था त्यसमाथी मलाई यसबारेमा धेरै थाहा नभएको र म यता अमेरिकामा भएको ; के चाहियो र धौलागिरीलाई झण्डै ३०० सिडीहरु र १०० / २०० क्यासेटहरु मलाई नै बेचेपछि धौलागिरीले मेरो एल्बम बजारमा पनि किन लानुपर्थ्यो र ? मसंग धौलागिरी प्रति असंतुष्टी भएपनि उसलाई केहि गर्न सक्ने अवस्थानै थिएन । यस्ता कुराहरुमा नियत नै ठग्ने भएपछि कस्को के लाग्छ ? न गीत संगितको क्षेत्रमै गतिलो कानुन छ (कुनै क्षेत्रमा नभएको) । खै बजारमा मेरो एल्बम किन देखिंदैन भन्दा विज्ञापनमा खर्च गर्नुपर्यो नि भन्ने जवाफ पाईने । आफ्नो तर्फबाट पनि विज्ञापनको निंती केहि नै नगरेको हैन तर स्थिती यस्तरी देखापर्दै आयो की विज्ञापनको लागी जतिनै गरेपनि हातलागी शुन्यको शुन्यनै हुने तसर्थ मैले बरु चुपचाप बस्नु नै निको ठानें । बरु मलाई अहिले खुशी लागेको छ ब्लगमा आफ्नो गीत सुनाउने उपाय फेला पारेर । मैले एक अञ्जुली माया नाम दिएर बनाएको अनलाईन गिती संग्रह ( http://ekanjulimaya.blogspot.com/ ) मा पनि मेरा गीतहरु सुन्ने ब्यावस्था गरेको छु ।


गफ दुई -

अहिले ईन्टरनेटको माध्ययमले हामी आफुले लेखेको गीत , कथा , कविता , गजल जेसुकै पनि तुरुन्तै सबैलाई बांड्न सक्छौं । ब्लग चलाउनेहरुले आफ्नो ब्लगमार्फत , ब्लग नचलाउनेहरुले पनि ईमेल मार्फत कुनै अन्तरजाल पत्रिकाका पठाएर आफ्ना रचनाहरु सबैलाई पुर्याउन सहज भएको छ । मेहनत गरेर कागजको पन्नामा सफासंग लेखि त्यसलाई खामबन्दी गरि हुलाक घर पुगेर पैसा खर्च गरिगरि रजिस्ट्री गरेर कुनै पत्रिकाको ठेगानामा पठायो र आफ्नो रचनाले स्थान पाउंछ कि भनि हरेक अंक किन्यो तर कहिल्यै स्थान नपाउंदा म लेख्न जान्दिनं कि के हो भन्ने भ्रम पाल्यो अनि अरुको रचनाहरु हेरेर हैन यो भन्दा त मेरो राम्रो थियो भन्दै भित्रभित्रै कुंढियो गर्नुपर्ने स्थिती अहिले रहेन ।
साहित्यकै कुरा गर्दा कसैकसैले अहिलेको समयलाई साईबर साहित्यको समय भनेर लेखेको पनि देखेको छु । वास्तवमै म पनि मान्छु यो साईबर साहित्यकै युग हो । आफ्नै कोठाभित्र बसेर हामी आफ्ना रचनाहरु अरुलाई विश्वको हरेक कुनामा सुनाउन सक्छौं । त्यसमाथी क्रिया प्रतिक्रिया गर्न सक्छौं । ईन्टरनेटमा देखापरेका भिभिन्न पत्रिकामा निकाल्न सक्छौं । यहाँ सम्म कि यौटै रचना २/३ वटा ईन्टरनेट पत्रिकामा छपाउन सक्छौं । म आफैंले पनि त्यसो गर्ने गरेको छु । कसैले कतै हेर्लान कसैले कतै , त्यसैले उपलब्ध सञ्जालमा सबैतिर छर्नसके धेरैले हेर्न पाउंथे भन्ने लाग्छ मलाई पनि । तर यो ठिक हो वा हैन भन्ने कुरामा चैं म अन्जान छु । मैले पठाउने गरेको धेरैजसो ईन्टरनेट पत्रिकामा यहाँ प्रकाशित रचनाहरु अन्यत्र प्रकाशित गर्दा स्रोत खुलाउन पर्ने वा मनाहि नै छ भनेर लेखेको देखेको छैन ; बरु कहिँ यहाँ प्रकाशित रचनालाई पारिश्रमिक उपलब्ध गराउंन असमर्थ छौं भन्ने लेखेको देखेको छु तर केहि हिंदी साहित्यिक पत्रिकाहरुले भने त्यस्तो प्रावधान राखेको देखें । जस्तै - http://srijangatha.com/ तव मनमा जिज्ञासा उठ्यो के उनिहरुले रचना संप्रेषण गरेबापत पारिश्रमिक दिने गर्छन र त्यसो गरेका हुन ? के नेपाली भाषाका ईन्टरनेट पत्रिकाले पारिश्रमिक नदिने भएर नगरेका हुन ? पारिश्रमिक दिईने रचनालाई अन्यत्र प्रकाशन गर्दा कि त स्रोत खुलाउनु पर्ने कि त निश्चित अवधीभर अन्यत्र प्रकाशन गर्न नपाउने भन्ने कुरासम्म ठिकै होला तर सित्तैमा रचना लिएर यो रचना अन्यत्र प्रकाशित गर्नुपर्दा स्रोत खुलाईदिनु या अन्यत्र नपठाउनु भन्नु कतिको उचित होला ? के रचनाकारले आफ्नो रचना कतै राख्दा या पठाउंदा जबर्जस्ती कसैको पत्रिकाको स्रोत खुलाएर विज्ञापन गरिदिनुपर्छ र ? अनि आफ्नो रचना प्रकाशनार्थ कुनै पत्रिकालाई दिएको अवस्थामा उक्त पत्रिकाले सित्तैमा रचना लिएर यो रचना अन्यत्र प्रकाशन नगर्नुहोला भन्न उचित हुन्छ ? मैले झैं सानोतिनो रचना लेख्ने कसैले पनि आफ्नो रचनाबाट पारिश्रमिक पाउने आशा गर्दैनन भन्ने मलाई लाग्छ । कुनै पत्रिकामा आफ्नो रचना पठाउंदा प्रकाशित हुनुलाई नै पारिश्रमिक सम्झन्छु म त अझ त्यसमा प्रतिक्रिया पाउंदा पुरस्कार पाए जस्तो महसुस हुन्छ त्यसैले होला सित्तैमा रचना उपलब्ध गराउंदा पनि यो रचना अन्यत्र प्रकाशित नगर्नुहोला भन्ने सुन्नुपर्दा कानलाई अप्ठ्यारो हुंदो रहेछ । (यो मेरो विचार है ; यस सम्बन्धमा नियम चैं के छ मलाई थाहा छैन ।)

3 comments:

दिलीप आचार्य said...

तपाईको गितहरु ब्लगमा अपलोड गर्नु भएकोमा खुशि लागेको छ , तर २,४ दिन एता मेरो ब्रोडब्याण्डले काम नगरेकोले सुन्न पाएको छैन । यो ठीक हुने बित्तिकै सुन्ने छु ।

दोस्रो कुरा ईन्टरनेट र ब्लग लेखन पक्कै पनि अभिव्यक्तिको यौटा सशक्त माध्यमको रुपमा बिकसित हुदैछ।

बास्तबमा सोच र अभिव्यक्ति केहि फरक भएपनि जसले पनि लेख्छन, ति सबैजना आफ्नो बिचार सकेसम्म धेरैको पहुँचसम्म पुगोस भन्ने चाहन्छन । त्यसैले पारिश्रमिक नलिई लेख छपाउने सन्दर्भमा म पनि सोच्छु की कुनै एक ठाँउमा प्रकाशित भएपछि सोहि लेखलाई आर्को ठाँउमा छाप्न पाईन्न भनेर बिचारको बिस्तारलाई अंकुश लगाउनु ठीक कुरा भने होईन ।

नारायण गोपालको गितहरु भलै सबै रेडियो नेपालकै स्टुडियोमा रेकर्ड भए होलान तर के अरु कुनै पनि रेडियो स्टेशन वा एफ एम मा त्यो गित नबजाउने त?।

लेख्‍ने मान्छेले पारिश्रमिक नलिदांको समयमा उसले आफ्नो रचना सबैतिर छाप्न र आफ्नो बिचार बढि भन्दा बढि माध्यमद्वारा बाँडन पाउनु पर्छ ।

aAkaR said...

नेपाली गितसंगित मा यस्ता धेरै विकृतिहरु छन् जस्तो लाग्छ । जस्तो कि मैले ती गितहरु बराल सरको बाट ल्याउनेक्रम मा केही गफगाफ भएको थियो । बराल सर ले भन्नुभाथ्यो, मेरो नाम "रचनाकार" का रुप मा हरेक एवार्ड फंङ्सनमा हुन्छ तर म विरलै पाउने गर्छु, कसलाई एवार्ड दिने भनेर पहिले नै निर्णय गर्दार'छन् अनि आफूले के पाउनु । सन्दर्भ फरक छ, तर पनि मैले भन्न खोजेको के हो भने, सबैतिर बाट कलाकर्मीहरु धैरै चेपिएका छन् । अझ तपाइजस्ता नयाँ अनुहारहरु धेरै पेलिएको अनुभव मैले गरेको छु ।

साथै, यो पनि जानकारी गराइहालौँ कि, अब बराल सरका गितहरु मेरो ब्लगमा रहेनन् । पहिले बरालसरले मौखिक अनुमति दिनुभएको भएपनि, १ महिना पछि उहाँले कपिराइटको कुरा उठाउँदै, ब्लग बाट ती गितहरु हटाउन भनेपछि, मैले गितहरु निकालिदिँए । मलाई पनि एउटा कुरा के अनुभव भयो भने, जुनसुकै फिल्डमा पनि नयाँलाई समस्या छ । कति साइटहरुमा बरालसरका गितहरु विनाअनुमति निर्वाद बजिरहेकाछन् र डाउनलोड भैरहेकाछन् तर मलाई पहिले अनुमति दिएर पनि पछि कपिराइटको भुत ले तर्साएर ब्लग तथा अर्काइब डट ओआरजी बाट गितहरु निकाल्न लगाइयो । ----------- यस्तै छ यहाँ को चलन !

दीपक जडित said...

प्रथम त दिलीपजी र आकारजीलाई प्रतिक्रियाको लागी धन्यवाद !

दिलीपजी , आशा गर्छु गीतहरु सुनेर उता गिती संग्रह बनाएको ब्लगमा प्रतिक्रिया लेखिदिनुहुनेछ ।
हुनत नेपाली भाषाका धेरैजसो ईन्टरनेट पत्रिकाहरुले आफुकहाँ आएका रचनाहरु अन्यत्र प्रकाशित गराउन हुन्न भनेर बन्देज लगाएका छैनन र सबै लेखक रचनाकारहरुलाई पारिश्रमिक दिन सक्ने खालका पनि छैनन । मैले जम्मा एकपल्ट मात्र अनुरोध स्वरुप नै सुनेको हुँ त्यस्तो कुरा र पनि मलाई कुरीकुरी महसुस भएर ब्लगमा पोखेको हुँ । मेरो पनि तपाईंको जस्तै नै धारणा छ रचनाहरु प्रकाशित गर्ने सम्बन्धमा ।

आकारजी , तपाईंले ठिक भन्नुभयो , यद्यपि समस्या स्थापित भएकाहरुमा नहुने हैन तर नयाँलाई हरेक ठाउँमा समस्या हुनेगर्छ । बराल सरले वहाँका गीतहरु मार्फत कतैबाट फाईदा पाईरहनुभएको हुनसक्छ र तपाईंलाई रोक्नुभएको हुनसक्छ । पहिले मौखिक रुपमा अनुमति दिनुभएर पछि कपिराईटको कुराले हटाउन लगाउनु भएको चैं डाउनलोड गरेर अनधिकृत उपयोग हुन्छ भनेर हुनसक्छ तर जहाँसम्म निर्वाध रुपमा जताततै डाउनलोड गरिने कुरा छ त्यो चाहीँ वहाँले रोक्न सक्नुहुन्न निश्चय नै ।