Friday, December 29, 2006

गजल : तिर्दा तिर्दै बित्यो ।

पैंचो पो हो कि जिन्दगी त तिर्दा तिर्दै बित्यो ।
आफ्नै नजरबाट आफैं गिर्दा गिर्दै बित्यो । १

तेर्सिनु सम्म तेर्सिएछ समस्याको मुढा ,
एउटा जुनी त्यहि मुढा चिर्दा चिर्दै बित्यो । २

माया पनि आज भयो कहिं न'भाको घाणो ,
करै लाग्ने भिर्न , जीवन भिर्दा भिर्दै बित्यो । ३

स्वभिमान नि बेच्नु पर्ने लोकलाज राख्न ,
त्यै ठेसले आफ्नै जीवन पिर्दा पिर्दै बित्यो । ४

कैले देख्नु जिन्दगीमा यौटा मिठो सपना ,
रात आज पनि त कोल्टे फिर्दा फिर्दै बित्यो । ५

केहि गर्न जिन्दगीमा कम्मर निकै कसें ,
आँखिर जीवन मद्दशाला छिर्दा छिर्दै बित्यो । ६

No comments: