Sunday, December 03, 2006

दुई गजलहरु ।

१. यस्तै हुँदो रै'छ हजुर ।
__________________

लाज शरम पचेपछि यस्तै हुँदो रै'छ हजुर ।
गोहीको आँशु झार्दै मान्छे त्यसै रुँदो रै'छ हजुर । १

मपाईँ बन्न मान्छेलाई सिकाउनु नै पर्ने हैन ,
फलै बिना पनि रुखको हाँगा नुँ'दो रै'छ हजुर । २

आफन्तको साईनो गाँसी कसैलाई विश्वास गर्दा ,
मक्किएर त्यहि साईनो पनि चुँ'दो रै'छ हजुर । ३

रीत नै यस्तो बस्या हो कि मलाई मात्रै खट्कीएको ,
मौका पाउंदा मान्छेले नै मान्छे दुँ'दो रै'छ हजुर । ४

समय नै उल्टो भए दीपकको भन्नु केही छैन ,
तर तल गिर्नेले नै शिखर छुँदो रै'छ हजुर । ५

(तन्नेरी डट कममा प्रकाशित ।)

२ बोल्नु पर्ने रै'छ बोल्दा ।
__________________

बोल्नु पर्ने रै'छ बोल्दा छाती ठोक्दै कराएर ।
नत्र नबोल्नु नै रै'छ सबै सँग डराएर । १

भन्नु पर्ने थियो मैले साँचो कुरा सबै सामु ,
मुखै फोरीएन आफ्नो त्यसै त्यसै सर्माएर । २

यात्रा थाल्दा हतारोमा होसै कता थियो कुन्नि ,
अलपत्रै परें ऐले ठाम् ठेगानै हराएर । ३

अरु अरुकै घाउमा मलम् पट्टी गर्दैगर्दा ,
खप्नै गार्हो भो मलाई आफ्नै घाउ चर्याएर । ४

बाटै भरी हल्ला थियो कोही लुटीएछ भन्ने ,
आफैं लुटीएको रै'छु थाहा पाएं घर् आएर । ५

मनै थे'न तिमीलाई टाढा भ'को हेर्ने तर ,
आफैं पर भयौ उल्टै लेखापढी गराएर । ६

No comments: