Saturday, December 02, 2006

मैले लेखेको राष्ट्रिय गीत ।

जन आन्दोलन - २ भै रहेको थियो नेपालमा । लाखौं करोढौं नरनारीहरु एकजुट भएर शाही शासन बिरुद्ध छाती खोलेर सडकमा ओर्लिएका थिए । समस्त विश्वलाई नै चकित तुल्याउंदै मानब सागर सडकमा उत्रीरहेको बेला म चाहिं यता अमेरिकामा बसेर आन्दोलनरत नागरिकको समर्थनमा अनि फासिस्ट शाही सत्ताको बिरोधमा आफ्नो बर्कतले भ्याए सम्म कविता , गीत , गजल ईत्यादी लेख्दैथिएं । आन्दोलनको त्यती छोटो अवधिमा विश्वमै सबै भन्दा धेरै जनताहरु सडकमा उत्रीएको भन्ने जस्ता समाचारहरुले अन्तर्राष्ट्रिय जगतमा सनसनी मचिईरहेको थियो । यहाँका मेरा केहि अमेरिकन साथीहरु जो पर्यटकिय आनन्द लिन पटक पटक नेपाल पुगेका थिए अब भने नेपालीले नेपालमा सहि परिवर्तन ल्याउछन भन्ने जस्ता टिप्पणी गर्दथे भने केहि भने विश्वको नक्सामा नेपाल कहाँ छ ? कस्तो छ ? भनेर हेर्ने गर्थे । त्यसबेला मैले यौटा यस्तो गजल लेखेको थिएं -

विश्व सारा मानचित्रमा नेपाल हेर्दैछन ।
भन्छन अब नेपालीले नेपाल फेर्दैछन ।

त्यसबेला मैले लेखेका केहि कविता र गजलहरु नेपाली कविता डट कमले र केहि नेपाली पोष्टले प्रकाशित गरिदिएको थियो । " ए ! राजन , तिमी त मरीसक्यौ ।" भन्ने शिर्शकमा मैले लेखेको यौटा कविता भने कतै पनि प्रकाशित नहुंदा सार्है खिन्न भएको थिएं । बलिदान मार्ग भन्ने शिर्षक पनि दिएको सोही कविताको अन्त्य भाग यस्तो थियो ।

हे ! राजन ,
कि त फुकाल श्रीपेच
र राखिदेउ सङ्राहलयमा
कि त निस्क बाहिर
म तिम्रै घर अगाडीको मुल बाटोमा
छाती खोलेर तिमीलाई मुर्दाबाद भन्दैछु
मेरो आवाज दबाउन सक्छौ भने
ठोक गोली मेरो छातीमा
म राजा मुर्दाबाद भन्दै
तिम्रै घर अगाडीको मुलबाटोमा
आफुलाई बलिदान दिएर
तथाकथित दरबारमार्ग भनिने
तिम्रो घर अगाडीको मूल बाटोलाई
बलिदान मार्ग बनाउन तैयार छु ।

यो कवितालाई मैले यहि ब्लगमा July 04 , 2006 का दिन राखेको छु । यसरी लेख्दै जाँदा मैले खडेरीको खेती भन्ने गणतान्त्रीक गीत , गजल र कविताहरुको संग्रह बनाएको छु जसमध्येको यौटा गीत बाल गायिका दीन्जुश्रीको स्वरमा स्वराङ्कन भै सकेको छ । त्यस्तै कुनै कुनै गजल , कविताहरु मैले उमेश जीको माईसन्सार डटकममा प्रतिकृयाको स्थानमा लेखेको पनि छु ।

नेपालमा जनाअन्दोलन - २ ले शाही सत्तालाई झुकाई छाड्यो र त्यसैले बर्खास्त गरेको प्रतिनिधी सभा पुनर्स्थापना भयो । प्रतिनिधी सभाले धेरै कुराहरु परिवर्तन गर्दै गयो र विविध अप्ठ्यारोहरुको बावजुध अझै परिवर्तन गर्दैरहेको छ । त्यस्तै मध्ये परिवर्तन गर्न अपरिहार्य रहेको नेपालको राष्ट्रियगान भनिने राजाको स्तुती गीत पनि थियो जस्लाई खारेज गरियो र नयाँ राष्ट्रियगान को खोजीकार्यको थालनी भयो । समाचारमा मैले यो कुरा थाहा पाउंदै गर्दा मलाई मेरो दाजु डेगेन्द्रले ईमेल लेखेर तँ पनि लेख न यौटा राष्ट्रियगान भनेर सल्लाह दिनुभयो । दाजुकै प्रेरणाले म पनि लेख्न कस्सिएं । लगभग ४ घण्टाको परिश्रम पछि मैले यौटा राष्ट्रिय गीत तयार पारें । लेखुञ्जेल सम्म त मलाई मेरो गीत राष्ट्रियगान को लागी पठाउंछु भन्ने थियो तर लेखीसकेपछि भने पठाउन मन लागेन । नयाँ नेपाल निर्माण गर्नको लागी नेपालमा लाखौं करोढौं जनताहरु आफ्नो ज्यानको पर्वाह नगरी सडकमा उत्रीरहेका छन । सयौंहरु छातीमा तातो गोली थापेर सडकमै ढल्दैछन यता म भने डिभी भिषा पाएर मख्ख परेर ३ बर्ष अगाडी देखि अ मेरिकामा आनन्दले बसेको छु । अमेरिकामा बसे पनि म पनि यौटा नेपाली नै हुँ र ति नै नेपाल आमाको छोरो हुँ त्यसैले मलाई नेपाली नागरिक भएको हैसियतले राष्ट्रियगीत लेख्ने अधिकार त छ तर बिदेश पलायन भएको हुंदा राष्ट्रियगान को निम्ती पठाउने अधिकार छैन जस्तो लाग्यो । मलाई मेरो नैतिकताले नै सायद आफ्नो रचना राष्ट्रियगान को निम्ती पठाउन दिएन र नपठाउने निर्णय गरें । उता दाजुलाई पनि ईमेलमै मैले राष्ट्रियगीत त लेखें तर पठाउन मन लागेन । एक त मेरो गीत १०० औं नम्बरमा पनि नपर्न सक्छ अर्को म आफु बिदेशमा बसेर कुन मुखले राष्ट्रियगान लेखुं भनेर जवाफ लेखें पछि फोनमा कुरा हुँदा " पठाउनु नपठाउनु तेरो बिचार हो तर १००औं नम्बरमा पर्यो भने पनि पछि पुस्तकाकार भएर निस्कंदा तेरो पनि निस्कन्थ्यो भनेर मात्र लेख भनेको हुं । त्यसो त भोली राजावादीहरुकै रचना राष्ट्रियगान हुन पनि के बेर? यो नेपालमा जे पनि हुन्छ । " भन्नुभएको थियो । नभन्दै प्रस्तावित राष्ट्रियगानका रचयिता ब्याकुल माहिला अहिले विवादमा परेका छन । उनको रचना सरल , सहज अनि सबै पक्षलाई समेटिएको भएता पनि मलाई पहिलो हरफमै चित्त बुझेको थिएन । सयौं थुङ्गा फूलाका हामी यौटै माला नेपाली..... यहाँ निश्चित रुपमा ब्याकुलजीले सयौं थुङ्गा फूललाई नेपाल भित्रका विविध जात जाती भाषा भाषी को प्रतिक बनाउनु भएको हो तर सयौं थुङ्गा फूल भन्दा यौटै जात/प्रकारको सयौं थुङ्गा बुझिन आउछ ( मैले मात्र त्यसरी बुझेको पनि हुन सक्छु )। त्यसैले विविध जात जाती भाषा भाषीकै प्रतिक लेख्दा सयौं फूलका थुङ्गा हामी... लेख्नु पर्थ्यो अथवा सयौं थरी फूलका.... भनेर लेख्नु पर्थ्यो कि ? मलाई लगेको कुरा हो यो जुन कुरामा म नै गलत पनि हुन सक्छु । अन्यत्र भने ब्याकुल जीको रचनामा मैले कतै खोट भेटिनं बरु ब्याकुलको रचना र मैले लेखेको राष्ट्रिय गीत कता कता मिल्दो जुल्दो रहेछ । यसो भनेर मैले आफ्नो रचना पनि राष्ट्रियगानको निम्ती योग्य छ भन्न खोजेको हैन । मैले त आफैले आफुलाई राष्ट्रियगान लेख्ने अधिकार बाट बञ्चित गराएको छु । जती बेला मलाई म आफु राष्ट्रियगानको लागी आफ्नो रचना पठाउन अयोग्य छु भन्ने बोध भयो अर्थात मलाई नैतिकताले राष्ट्रियगान को निम्ती आफ्नो रचना पठाउन रोक्यो त्यतीबेला मलाई आफु भित्र सार्है नमिठो पिंडा भएको थियो र त्यो पिंडा पोख्न मैले यौटा गीत लेखेको थिएं जुन यस्तो छ -

मेरो देशले रगत मागेको थियो तर म बलि भईनं
मेरी आमा रोईरहेकी थिईन म आँशु पुछ्न गईनं।

तातो रगत मेरो नशाहरुमा पनि त उम्लिरहेको थियो
क्रान्तीको आगो बाल्न सकिनं जलाउदैछु शान्तीको आशामा दियो
मलाई छोरा नभन ए ! आमा , म तिम्रो सपूत हुन सकिनं
शहिद भएर मैले आफ्नो रगतले तिम्रो पाउ धुन सकिनं ।

मेरो धर्तीले मलाई सरापेछ क्यार मैले फर्किने बाटो पाईनं
मुठ्ठीमा उठाई टिका लगाउन मैले आफ्नै माटो पाईनं
मैले आफ्नो पसिना बगाई आफ्नै माटो भिजाउन सकिनं
माफीदेउ मलाई ए ! आमा , मैले तिमीलाई रिझाउन सकिनं ।

सायद यही गीत लेखेर मैले राष्ट्रियगान को लागी आफ्नो रचना नपठाउनुको पिंडा भुलें । राम्रो छ भनेर हैन मैले पनि राष्ट्रियगान को लागी भनेर यस्तो रचना लेखेको थिएं भनेर आज उपयुक्त संदर्भ निस्किएकोले गर्दा यहाँ राख्दैछु ।

नेपाली हौं सयौं थरी फूलका माला एक
बिभुषित छौ भाषा , जाती , धर्मले अनेक ।

विविध संस्कृतीको एकै संगम थलो विशाल
पृथ्वीकै स्वर्ग - शान्त , अनुपम नेपाल ।

मेची काली , हिमाल तराई संगै उठीरहोस
उन्नतीपथमा नेपाली हात संधै जुटीरहोस ।

उभिएको पहाड भै एकतामा अटल
शहिदको रगतले धोईएको नेपाल ।

विश्व सामु उच्च सदा शिर सगरमाथा
गाईरहुँ जय ! जय ! जय ! नेपाल गाथा ।

No comments: