Friday, December 08, 2006

कविता : आगो , मान्छे र म ।

पत् पत् धुवाँएर
चट् चट् आवाज गर्दै
एक्कासी सुकेका पतिङ्गरमा
आगो सल्कियो
वरिपरीका सबै त्यतै दगुरे
कोहि यता कोहि उता छरिएर
कसैले पानी
कसैले सेउला हरियो
कसैले माटो हालेर
आगो निभाएर गए ।
त्यहीं नजिकै
भित्र भित्रै ह्वारह्वारी सल्किएर
चुपचाप उभिएको मलाई
सबैले देखेर पनि नदेखे झैं
बाटो काटेर गए
सोचें केवल सोचें
पतिङ्गरमा सल्किएको आगोले
तिनिहरुलाई सायद
पोल्न सक्थ्यो
जलाउन सक्थ्यो
त्यसैले तत्काल त्यसको
निदानको उपाय रचियो
तर यहाँ
यौटा मान्छे भित्र
सल्किएको आगोले
अबदेखि सायदै
अर्को मान्छेलाई छुन सक्दैन
त्यसैले म
अझै पनि
छाती भित्र दन्किएको
आगो बोकेर
करोडौं मान्छेको भिंडमा
आफैं मात्र जलेर
ठिँग उभिएको छु
एक्लै अनि एक्लै ।

१३ माघ २०५७ रानी , बिराटनगर ।

No comments: