Monday, December 25, 2006

छानिएका तीन राष्ट्रिय गानहरू र छानिएका दश रचयिताहरु ।

ब्याकुल माईला (पहिला)

सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली
प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

हरिरह तिमिल्सिना (दोस्रा)

नेपाली हौ आमा तिमी, हामी छोराछोरी
रङ्गरुप, जात, धर्म, भाषा थरीथरी
कोही बस्छौँ फेदीतिर, कोही टाकुरामा
श्रमशक्ती फुलिदिन्छ हाम्रा पाखुरामा
वुद्ध हाम्रो मुटु बनोस् सगरमाथा शिर
चन्द्रसूर्य ध्वजा बोकी बढ्छौँ लक्षतिर
दु:खसुख साझा हाम्रा बाँच्ने साझा धर्ती
एक अर्को नेपालीमा गाँसी माया प्रीति
हातमाथि हात दिन्छौँ, मुठ्ठीमाथि मुठ्ठी
एकताको सुगन्धमै फुल्छ हाम्रो मट्टी ।

रामप्रसाद ज्ञवाली (तेस्रो)

मेची-काली झंकरत पारी, गुञ्जिरहेको जागृत गान
जनजनको मन मर्दछ नुतन, छर्दछ जीवन भर्दछ सान
स्वतन्त्रताले राष्ट्टरियताले, सम्प्रभुताले गर्वित भाल
जय होस् मेरो जीवनमाली, गौरवशाली देश नेपाल
हिमगिरिदेखि पर्वतवेंसीसम्म तराई पौरख गान
धर्म र जाति संस्कृतिमाथि दृष्टि भएको एक समान
प्रकृतताले उच्च कलाले शोभित सुन्दर शान्त विशाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल ।

उत्कृष्ठ दसमा परेका गीतकारहरू -

१. प्रदीपकुमार राई ‘व्याकुल माइला’
२. हरिहर तिमिल्सिना
३. रामप्रसाद ज्ञावाली
४. गंगाप्रसाद लुइँटेल
५. सूर्यप्रसाद भुसाल
६. अञ्जुल
७. कृष्णहरि बराल
८. प्रेमविनोद नन्दन
९. सुधन पौडेल
१०. गणेश ज्ञवाली
------------------------------------------------------------
नेपाली कविता डट कममा राखिएको तिनवटा छानिएका राष्ट्रिय गानहरू र छानिएका दशजना रचयिताहरु कपि पेष्ट गरेर राख्न मनलाग्यो र राखेको छु । पहिलो उत्कृष्ट गान नै विवादमा परिसकेको भएपनि र पहिलोको बारेमा मैले पहिले नै लेखिसकेको भएपनि फेरी राखेको छु । मलाई दशवटै गीतका शब्दहरु हेर्ने उत्कट ईच्छा छ तर थाहा छैन कसरी पाउन सक्छु ।

No comments: