Monday, September 18, 2006

कविता : आज फेरि जिन्दगी ।

आज फेरी जिन्दगी ।

पुष्प गुच्छा सम्झेर
जिन्दगीलाई
फूलदानमा सिसाको
सजाईदिएँ
तर भ्रम रहेछ
के थाहा र ?
जिन्दगी कठोर
पत्थर रहेछ
थाहै नपाई
फुलदान टुट्यो
टुक्रा टुक्रा भएर
झर्यामझुरुम ।

फेरी सम्हालेर
जिन्दगीलाई
टाँगीदिएँ भित्तामा
तस्विर सम्झेर
उफ् !! अर्को भ्रम
भित्र भित्र यहाँ
जिन्दगी त
धमिराको गोलो रहेछ
तस्बिर बाँकि रहयो
जिन्दगीमा
पोचिएर भित्ता ढल्यो
गर्ल्यामगुर्लुम ।

आज फेरी जिन्दगी
काँचको चुरा
चुक्यो बेकाम भो
त के भो ?
नाडी खाली नराख्न
भिरीरहेको छु
कतै पुर्व जन्मको
अभिशप्त पैंचो
सम्झेर
यो जिन्दगी
तिरीरहेको छु ।

कस्ले भन्यो
यस्लाई जिन्दगी ?
जिन्दगी नै ठानेर
म पनि
एक भ्रमबाट क्रमश:
अर्को भ्रमको प्वालमा
छिरिरहेको छु ।

यो कविता नेपाली पोष्ट डट कममा प्रकाशित भै सकेको छ ।

No comments: