Sunday, September 10, 2006

मायाका केहि कुराहरु ।

कैलेकाहीं मेरो मन त्यसै त्यसै उच्चाटिएर आउने गर्छ । भौतिकरुपमा कुनै दुखाई नभएर पनि यो मन भित्र भित्रै पोलेझैं कता कता दुखेझैं महशुस हुन्छ । यसरी मन बिरक्तिने र बिथोलिने क्रम त्यतिबेला हुन्छ जतिबेला कुनै खास काम नभएर समय कटाउने कुनै माध्यम पनि फेलापार्न सकिएको हुन्न अथवा कुनै बिषयबिषेशले मेरो मनभित्र कटेरोहालेर रासोबासो बसाउन थाल्छ । दिनभरी प्रायजसो म सँग कुनै पनि बिषयमाथी मनन गर्ने समय हुन्न त्यसैले पनि होला जब राती सुत्नेबेला हुन्छ मेरो मनभरी नानाथरी तर्कबितर्क उठने गर्छ । यसरीनै मनमा कुरा खेलाउंदा खेलाउदै म हरेक रात कि त कुनै गीत या गजल कि त कविता या कथालेख्ने गर्छु । यसरी मनभित्रको छटपटीले साहित्य श्र् जना हुँदा खुशी त म स्वभाविकरुपमा हुन्छु नै तर सुत्नुपर्ने समयमा मन भित्र बिचारहरुको आँधी चल्दा कता कता डरपनि लाग्छ कतै यो प्रकृया कुनै रोगभएर निस्कने त हैन? मैले ठुला ठुला साहित्यकारहरुले कुनै खास समयमा लेख्ने मूड आउंछ भनेको धेरैपटक सुनेको छु त्यसरी भन्नेहरु प्राय सबै जना उमेरले म भन्दा धेरै परिपक्व र जिवनमा धेरै गरीसकेर अवकाशको जीवन बाँचिरहेका हुन्छन र तिनिहरुलाई एकान्त र एकाग्र हुनको लागि प्रसस्तै समय हुन्छ । मलाई भने सायद समय नभएर नै होला जब सुत्ने समय हुन्छ तबनै मनभित्र अनेकन लहरहरु उठ्न थाल्छ । साथीहरु मलाई कैलेकाहीं निशाचर भनेर सँज्ञा दिने गर्छन हुनपनि हो म दिनभरी साथीभाई सँगै कामगरेर पनि रात अबेर सम्म कि त केहि लेखिरहेको हुन्छु कि त केहि अध्ययन गरीरहेको हुन्छु । यसरी बिचारको सागरमा गोतामार्न पनि रमाईलो नै लाग्छ ।

भन्नेहरु भन्छन मनलाई जसरी जता लगायो त्यतै लाग्न सक्छ तर म मा यो लागु हुदैन किन हो मेरो मन बहकिन थाल्यो भने यस्लाई मैले नियन्त्रण म राख्नुको सट्टा यस्ले मलाई नियन्त्रण गरेर मलाई सारा रात जाग्रम बसाएर छाड्छ । जस्तो कि गए राती नै मेरो मनमा मायाका कुराहरुको सुनामी चल्यो । माया भन्नासाथै मेरो मनले मेरो आँखा अगाडी यौटा बिछट्टै सुन्दर नारी आकृती ल्याएर उभ्याईदिने गर्छ । बलीउडकी सुप्रसिद्द नायिका दिया मिर्जा - जो मलाई हिन्दि चलचित्रमा हेर्दा सुन्दरी लाग्छ , को जस्तै मुहारको मोहडा भएकि मेरी एक असल साथी , जस्लाई मैले भेटेको छैन , जस्को नाम अर्कै भएपनि म माया भनेर चिन्छु । उसैको मुहार मेरो आँखा अगाडी माया भन्ने शब्द निस्कँदा आउने गर्छ । मैले केहि समय अगाडी मायालाई नै बिषय बनाएर भगवान हराएपछि भन्ने कथा पनि लेखेको थिएँ भलै त्यो कथा मेरो मनको लहड पोख्ने प्रकृया भन्दा पर केहि थिएन । न कथाको स्वरुपमा थियो न कथा हुनलाई त्याहाँ कुनै कथा नै थियो ।

वास्तबमा माया मेरो यौटा असल साथी मात्रै हो त्यो पनि इन्टरनेटमा भेट भएको तर पनि सायद धेरै लामो समय सम्म कुरा गरेकोले होला मेरो मनले मायालाई साथी भन्दा पनि अझै नजिक राखेको थियो क्यार । मैले मायालाई साथी भन्दा पर अर्को नजरले हेरेको थिईनँ । बातचितको क्रममा मैले मायालाई आफ्नो बारेमा सबै कुरा भनिसकेको छु । म यौटा बिवाहित पुरुष हुँ र म सँग यौटी प्यारी सानि छोरी छे भन्ने कुरा सुनाईसकेको छु । यो कुरा मैले दुईकारणले सुनाएको थिएँ एक त म झूटो कसैसँग कहिले पनि बोल्न चाहन्न र अर्को मेरो बारेमा मायालाई कुनै भ्रम नहोस भन्ने चाहन्थें । यहिकुरा सुनाउने क्रममा मायाले मलाई छोरी छे तर छोरी कि आमा छैन भन्ने सुनाउंदा तिमिलाई अरुले मनपराउछन नि भनेकि थिईन् , त्यो मायाको बिचार थियो मैले त्यसरी सोचेको थिईनँ । म आफ्नो अतितलाई भजाएर कसैको माया या दया पाउने हिम्मत गर्न सक्दिन । मेरो अतितलाई मैले साह्रै नै सम्हालेर राखेको छु । मायाको हिसाबकिताबमा आज म शुन्य छु । साथको लेखामा आज म एक्लो छु यसकारण सायद मैले कतै कसैको सहारा खोजिरहेको हुन सक्छु । कसैको साथबिनाको जीवन अधुरो हुन्छ अपुरो हुन्छ भन्ने पनि मैले सुनेको छु तर मलाई लाग्दैनकि जीवनलाई पुरा बनाउन कसैको साथनै चाहियोस । जीवन एक्लै बाँचेर पनि पुरा हुन सक्छ भन्ने मत राख्छु म । यस्को मतलब फेरि यो हैन कि गृहस्थीको महत्वलाई नै मैले नकारेको छु । गोरेटोमा फेरि कतै कसैको साथ पाए म सँगै सँगै हिंड्छु निश्चयनै तर पहिले स्पस्ट तवरले त्यो साथ कस्को हो कस्तो छ भन्ने बुझेर मात्र ।

लामो अन्तराल पछि पहिले झैँ हिजोपनि फेरि मायासँग इन्टरनेटमा भेट भयो कुराकानीको शिलशिलामा मायाले हिजो आफुले अमेरिकाको लागी फियान्सी भिसाको अन्तर्बार्ताको डेट पाएको बताईन । पहिलेपहिले पनि फियान्सी भिसाको बारेमा मायाले मलाई सोधखोज गरेकि थिइन् । त्यसबेला कस्को लागी भनेर मैले सोध्दा मेरो साथीको लागी भनेकि थिइन् तर आज भने आफ्नोलागी हो र आफ्नो ब्वाईफ्रेण्डले प्रोसेस गरिदिएको भनिन् । मायाको यो खुशीको कुराले मलाई पनि निक्कै खुशी बनायो । अझैपनि मायाले मलाई यस्कोबारेमा बुझ्न भनेकि छन मैले जानकारहरु सँग सल्लाह गरेर उन्लाई बताईदिने बिचार गरेको छु । लगभग यस्तै कुराहरु गरेर माया म सँग बिदा भईन् र म पनि रात निक्कै ढलिसकेकोले सुत्ने उपक्रममा लागें । स्वभाविकरुपमा मायाको बारेमा मनमा कुराहरु खेल्न थाल्यो । मायाको खुशीको कुरा सुन्न पाएर म हर्षित भएको थिएँ तर मनमा कुराहरु खेल्ने क्रममा मायाले पहिले पहिले मलाई मेरो ब्वाईफ्रेण्ड छैन भनेको सम्झेँ अनि त्यतीकुराले पोल्न थाल्यो मेरो मन ; किन पहिले मलाई झूट बोल्नु पर्थ्यो र मायाले? मैले मायालाई जिस्केर तिमि बनिदेउ न त मेरो गर्लफ्रेण्ड भनेको त थिएँ तर यो बिषयलाई मैले गम्भिर भएर भनेको थिइनँ । यदी मैले गम्भिर भएर भनेकै भएपनि मायाले त्यहिबेलानै मलाई आफ्नो ब्वाईफ्रेण्ड छ भनेको भए के हुन्थ्यो र? मैले असल सम्झेको साथीले मलाई यतीका दिनसम्म झूट बोलिरहंदा र आज आएर यो सत्य हो भन्दा मैले कुनकुराको बिश्वास गर्ने?

मेरो असल साथीले पहिले झूट बोलेको हो कि अहिले झूट बोलेको भन्ने कुरानै निर्क्योल गर्न नसकेर मलाई रातभर निद्रा परेन । म त मायाले अहिले भनेको कुरानै सत्य होस र मायाको अमेरिकाको लागी भिसा लागोस भन्ने कामना गर्छु । तर झूट??? मैले सोधेको पनि थिएँ पहिले किन झूट बोलेको त म सँग भनेर जवाफमा मायाले भन्न मनलागेन र नभनेको भनिन । यदी पहिले भन्न मननलागेको नै हो भने आज आएर किन भन्न मनलाग्यो त?? निश्चयनै त्यसो हैन होला तर फेरी किन झूट बोल्नु पर्यो मायाले म सँग?? अनुत्तरित प्रश्नहरु अझै छन म सँग । जस्लाई पनि मैले आफैले हल् गर्न खोजिहेरेँ । मैले केहि समय अगाडी मायालाई यौटा सानो गणेशजी को मुर्ती उपहार स्वरुप पठाएको थिएँ - कुनै खुशीको उपलक्ष बिनानै मैले गणेशजी को मुर्ती उपहार स्वरुप पठाउनुलाई मायाले उनिप्रतिको मेरो आशक्ती हो भन्ने ठानिन कि? त्यस्तै गरी केहि सिडीहरुमा नेपाली गीतहरु कपि गरेर पनि पठाएको थिएँ उन्लाई मैले र प्रत्येक सिडीहरुमा विथ लव दीपक लेखेको थिएँ कतै त्यसैलाई पो मेरो आशक्ती बुझिन कि? अनि मलाई टाढा रहोस भन्ने मनसायले अहिले झूट बोलेकि हुन कि? पहिले झूट बोलेकि भएपनि अहिले झूट बोलेकि भएपनि मायाले म सँग झूट बोल्दिरहिछन । मैले असल साथी मानेको भएपनि उन्ले मलाई असल साथी मानेकि रहिनछन । म प्रति मायालाई साथीको रुपमा बिश्वास रहेनछ । यस्तै यस्तै बुझेँ मैले । मेरो बुझाई गलत होला तर यस्तै बुझेँ । यो बिषयलाई मनबाट हटाएर निदाउने अनेक चेष्टा गर्दागर्दै बिहान भैसकेको थियो । अनि उठेर कफि पिउँदै यौटा गीत लेखें जो यस्तो छ ------------------

किन हुन्छ भेटघाट गोरेटोमा कसैसँग
हिंड्दाहिंड्दै माया किन बस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

कसैसँग बरु कतै भेटै नभईदिए हुन्थ्यो
न त छुटिनुनै पर्थ्यो न त फेरी मुटु रुन्थ्यो
किन लाग्छ माया मिठो एकैछिनको चिनारीमा
कोहि किन मुटुभित्र पस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

बुझाउदा बुझ्ने हैन मन त एकोहोरो हुन्छ
नचिनेको माया कल्पि मुटु त्यसै त्यसै रुन्छ
किन भाग्छ निदरी नि आँखाबाट पर पर
आशँकाले मुटु किन डस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

No comments: