गीत
भन्थ्यौ तिमी फूल हो जीवन बल्ल आज मैले मानें
पारीजात रैछ जीवन बिहान त झरीजाने ।
दुई दिनको जिन्दगीलाई ब्यर्थै नष्ट गरिगयौ
मुटुभित्र झुसी पारी बिरह त भरीगयौ
आँखिरी त दुईदिनको चोला हो यो मरीजाने
पारीजात रैछ जीवन बिहान त झरीजाने ।
पिरहरु भोलि रुँला भन्थ्यौ आज हाँस्नुपर्छ
के थाहा र भोली कस्तो कर्म खेपी बाँच्नुपर्छ
किन यती हतार भयो सारा खुशी तरी जाने
पारीजात रैछ जीवन बिहान त झरीजाने ।
हिउँ जस्तै रैछ जीवन घाम लागे पग्लिजाने
सम्झना नै सँधै सँधै हिमालझैं अग्लीजाने
घाउ दियौ सम्झँदैमा आँखाहरु भरीजाने
पारीजात रैछ जीवन बिहान त झरीजाने ।
२०५७ सालको पौष २ गते मैले लेखेको यो गीत कम्पोज गर्न भनेर सँगीतकार टिका भण्डारीलाई दिंदा म सँग यसको प्रति थिएन । मैले सम्झन सके जति लेखेर टिका भण्डारीलाई दिएको थिएँ र त्यस अनुसारनै रामकृष्ण ढकालको स्वरमा यो गीत बजारमा आउदैछ । आज बल्ल मैले यो गीतको पुर्णपाठ भेट्नसकें र यहाँ राख्दैछु ।
-दीपक जडित
No comments:
Post a Comment