Saturday, September 30, 2006

यसपालीको दशैंमा ।

फोटो कान्तिपुर अनलाईनबाट लिएको हुं ।
बिछोडको पिंडा नसकि खप्न दशैंको बेलामा
तिमिलाई भेट्न आउदैछु फर्की रमाईलो गाँवैमा ।

स्वर सम्राट नारायण गोपालले गाउनु भएको यो गीत यतीबेला घरघरमा रेडियो नेपालबाट अनि बिभिन्न एफ एमहरु बाट बजीरहेको होला । यो गीतको रचनाकार को हुन सँगीत कस्ले गरेको हो त्यो मलाई थाहा भएन । मैले सुनेसम्मकै मलाई मनपर्ने दशैंगीत हो यो । यो गीतको शब्द , सँगीत र स्वर तिनै कुराहरुले नेपाली ग्रामिण जनजीवनको सग्लो चित्र बोकेको छ र बर्षौं परदेशिएको एउटा प्रेमीले आफ्नी प्रेमिका प्रति या भनौं एउटा लोग्नेले आफ्नी श्रीमती प्रति पोखेको लछेप्रै मायाको चित्रण छ यो गीतमा । सम्भवत दशैं गीतहरु मध्येकै सबैभन्दा लोकप्रीय गीत यहि हुन सक्छ । मैले भन्नु पर्दा भने यो सर्बोत्कृष्ट दशैं गीत हो ।

बर्ष दिनको खुशीसँगै मेरो बाटो हेर
यसपालीको दशैंमा आउंछु प्रीय घर ।

जगदिश समालले गाउनु भएको यो अर्को मलाई मनपर्ने दशैंगीत हो । यस गीतका रचनाकार ज्ञानेन्द्र गदाल र सँगीतकार टिका भण्डारी हुनुहुन्छ । शब्द , स्वर र सँगीत तिनै हिसाबमा उत्कृष्ट यो गीतले पनि नेपाली समाजको आधुनिकताको झल्को दिलाउंछ । यो गीतले प्रेमिका प्रतिकै मायालाई प्रमुखता दिएको भएपनि दशैंको सम्पुर्ण पक्षलाई पनि उत्तिकै समेटेको छ ।

माथीका दुबै गीतहरु उस्तै प्रकृतीका भएपनि नारायण गोपालको गीतले मलाई दशैं सम्झाएर रोमाञ्चित बनाउने गर्छ भने जगदिश समालको गीतले गंभिर बनाउने गर्छ सायद संगीतको प्रकारले त्यसो भएको हुन सक्छ र त्यो मलाई मात्र पनि भएको हुन सक्छ ।

यसपालीको दशैंमा मैले नारायण गोपालको गीतलाई निक्कै मिस गरिरहेको छु । म सँग त्यो गीत छैन तर जगदिश समालको गीत म आफैं सँग भएकोले दशैंगीतको तृषना ( तृष्णा )मेटीरहेछु । धन्यबाद ती सर्जकहरुलाई जस्ले यस्तो मिठो गीत हामीलाई उपहार दिएर यो दशैंको घडिमा सम्झनामै मात्र भएपनि गाँउघर सम्म पुर्याईदिएका छन ।

तपाईंले यसपाली दशैं गीत सुन्न पाउनु भएको छैन भने अहिल्यै मुर्चुङ्गा डट कममा जानुहोस त्यहां गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना , सँगीतकार टिका भण्डारीको सँगीत र गायक जगदिश समालको स्वरमा दशैंगीत सुन्न पाउनुहुनेछ ।

दशैंगीतहरुकै लिष्टमा पर्न सक्ने अर्को एउटा गीत म आफैले पनि लेखेको छु । गीत लेख्दा मैले एउटा परदेशी बाबु र छोरी बिचको ममतालाई प्रमुखता दिएको छु ।

म किन रोउँ बाबाको माया आलै छ छातीमा
दशैंमा आषिस दिनलाई बाबा आए फूलपातीमा ।

यसरी दशैंमा सबै परिवार सँगै भेलाहुने चाहना समेटिएको यो गीतमा टिका भण्डारी र मेरी ७ बर्षकि छोरी दीञ्जुश्रीको स्वर रहेको छ भने सँगीत टिका भण्डारीकै रहेको छ । बिभिन्न कारणहरुले गर्दा यसपालीको दशैंमा यो गीत बजारमा आउन नसक्ने भएपनि दशैं पछि सायद आउन सक्छ ।


बिगत चार बर्षदेखि परिवार सँग बसेर दशैं नमनाएको भएपनि यो दशैंको बेलामा दशैं गीतहरुले गाँउघरको रमझम , साथीसँगी , लिँगे पिँग , जात्रामात्रा सबैकुराहरुको मिठो सम्झना दिलाईरहेछ । आमा बाबाको हातको टिका आषिस र जमरा सम्झंदै दशैंगीतहरु सुन्दै अर्को साल घरजाने मिठो कल्पनामा यसपालीको दशैं कोलोराडो राज्यकै डुराङ्गोमा मनाउंदैछु ।

No comments: