हिंड्दा हिंड्दै यात्रामा
थकित मन
कतिखेर कतिखेर
एक क्वारको उकालो नाघेर
तिमीसंगै बिसाएछ
त्यो शितल
पिपल चौतारीमा
मन्द बतास संगै
त्यो साँझ
बिस्तारै ओर्लिएको थियो
पिपल चौतारी, तिमी
र मलाई छोपेर
बिरक्त लाग्दोगरी
पश्चिम सगर
डढेको थियो सायद
अँध्यारोको त्रासदी बोकेर
पूर्ब क्षितिज हामीतिरै
बढेको थियो सायद
छेकिएर पहाडहरुले
वरिपरीबाट
शिरमाथीको खुल्ला आकाशमा
हामीले एकहुल चराहरु
गुन्गुनाउंदै
बास फिरेको देख्यौं
चराहरु गैसकेका थिए
हाम्रो आकाशभरी
आवाज छोडेर
तिमीले आकाशभरी
चराहरुको आवाजलाई
अक्षरमा कोर्यौ
मैले आकाशभरी
तिमीले कोरेको अक्षरहरुमा
तिम्रो हृदयको
चाहनाहरु पढें
एकाएक हाम्रो धर्ती
वर वर सर्यो
त्यो नीरब रातको अँध्यारोलाई
सानो आगोको उज्यालोले
अलिकती हटाएर
हामीले रातैभरी
बनफूल फूलाईरहयौं
लठ्ठीएर बनफूलको सुगन्धले
हामीसंगै बिहानीपख
पिपल पनि निदाएछ
घामको झुल्कोले
पिपलको शिर छोएपछि
चराहरु ब्युँझिएर
हामीलाई उठाए
उठेर तिमीले देख्यौ
रातभरी हामीले फूलाएको
बनफूल ओईलीसकेको रहेछ
उठेर मैले देखें
रातभरी हामीलाई पहरा दिने
सानो आगो निभिसकेको रहेछ
घामले हामीलाई
छुन नभ्याउंदै
तिमीले बिदा माग्यौ
म अर्कै बाटो लागें
समयले
आजसम्म हामीलाई
अलग अलग पोल्टोमा
लुकाईरहयो
त्यो रात फूलाएका
बनफूलको सुगन्धले
तिमीलाई पनि मलाई झैं
अझै लठ्याएको भए
त्यही आकाशमा तिमी फेरी
आवाजका अक्षरहरु कोरिराख
भावनामा तिमी फेरी
अक्षरका फूलहरु फूलाईराख
लठ्ठीएर अक्षरका फूलको सुगन्धले
तिमीलीई खोज्दै
त्यही चौतारीमा
आवाजका अक्षरहरु पढ्न
फेरी आउनेछु म ।
नेपालीपोष्ट डटकममा प्रकाशित ।
No comments:
Post a Comment