Thursday, February 08, 2007

गजल : कसम किन खुवाउंछौ ?

झूटो माया लाउनु रै'छ कसम किन खुवाउंछौ ?
त्यै कसमले घोचि घोचि मलाई किन रुवाउंछौ ? १

नाटक पनि कति गर्न सकेको होला तिमिले त ,
आगो झोसी मेरो छातीमा किन हँ तिमी धुवाउंछौ ? २

म भिजेको बाँस जस्तै तिम्रो अघिल्तिर नुहिरहें ,
भुईं छुन मात्रै बाँकी रह्यो अझै कति नुहाउंछौ ? ३

पग्लिएर तप्प तप्प तिम्रै मायामा म चुहिरहें ,
किन टाल्थ्यौ 'दीपु'को मुटु चुहाउ कति चुहाउंछौ ? ४

भन्थ्यौ अरे म त तिम्रो खुट्टामा राख्नै सुहाउंदिन ,
जाने हो त ? गए हुन्छ जाउ जहाँ तिमी सुहाउंछौ ? ५

माया पनि तिमीलाई छिनको छिनमा फेर्नु परे ,
मेरो पुरानो यो मायामा जिन्दगी किन कुहाउंछौ ? ६

No comments: