Tuesday, February 13, 2007

गजल : धेरै पछि आज कोहि ।

धेरै पछि आज कोहि मित जस्तो लाग्यो ।
रुखो बोली पनि उस्को गीत जस्तो लाग्यो ।

बोलीचाली चिनारी नि केहि भा'को छैन
हेराईमै कुन्नि किन हित जस्तो लाग्यो ।

लामा लामा केशराशी बाटुलो मुहार
झिम्काउंदा परेली ति प्रित जस्तो लाग्यो ।

पहिले नि थिए धेरै अघिपछि लाग्ने
ऐले तिनिहरु सबै कथित् जस्तो लाग्यो ।

मख्खै छु है आज लौ न आफैं संग म त
यो पनि त पिरती कै रीत जस्तो लाग्यो ।

अझै पनि उस्को मन छुन बाँकी नै छ
नछोईनै यो मनको जीत जस्तो लाग्यो ।

मुटु मुटु एकार्कामा साटेको नि छैन
आफ्नो मुटु उस्लाई अर्पित जस्तो लाग्यो ।

No comments: