Friday, October 31, 2008

गजल : नियम बनाउँ भन्छन्

कोही मान्छेले हिँड्ने पनि नियम् बनाउँ भन्छन् ।
कोही मान्छेले हिँड्ने बाटो नै कम् बनाउँ भन्छन् ।

लामा कसैका कद्काँठी कोही कदै होचा पुड्का ,
के आधारमा सब्को एकै कदम् बनाउँ भन्छन् ?

सड्दै गा'ति मार्फाका स्याउ रसै निकाले हुने ,
कोही तर त्यो स्याउ निचोरी 'रम्' बनाउँ भन्छन् ।

हुँदै नभएको शेर बाल्कृष्णले जस्तै झिकि ,
देखाउनैलाई किन कोही सम् बनाउँ भन्छन् ?

लेउ टेकी चिप्लिएर लड्दा पनि मान्छे यहाँ ,
'खडा छु' को ब्यर्थमा किन अहम् बनाउँ भन्छन् ?

न त बोलीचाली एकै न त ल्वाईख्वाई एकै ,
'दीपक' समावेशी हुँदै रम्झम् बनाउँ भन्छन् ।

7 comments:

Yumesh Pulami said...

Dipak Ji, sabai natak nai dher gar6n ni!
shanti ra bikash ko lagi bhane समावेशी bhane hun sakin6ni . hain r?
tar kasko niyam ma ko hidne? kuni ? tyo ta nepal ka netaharu laai nai sodhanu parlani, hain r?

Prabesh said...

दीपक दाइ,
साँच्चै भन्नुपर्दा मलाई यो गजल मनैपरेन ।
खै के लेख्‍नुभा'को लेख्‍नुभा'को !!
कस्तो कस्तो लागो हौ दाइ, साह्रै छोएन ।

Unknown said...

उजेलीजी , यो गजल लेखिएको र लेखिनुको कारण नै बरु बताउँछु है । सशक्त गजल भएन क्यार , त्यो पनि ठिकै छ तर गजल लेखनकै नियम सम्बन्धमा आफुले पनि दोष सहित लेख्ने तर अरुको दोष रहित खोज्ने चलनलाई यहाँ लेख्न खोजेको थिएं । कुरा यस्तो थियो -

तिर्खै मेट्नलाई गजलकै जल लिन नजाउँ भनेर ढुक्कले बसेको छु म त तर गजल ग्रुपमा आँखाभने लगाईरहेकै छु । गजलको जल म मा तिर्खा जगाएर आफैं आओस् अनि कोरुँला नत्र गजल नै मैले किन लेख्नु पर्यो ? आदरणिय दीपक खड्काजीबाट पाठ सिकेकै हुँ भन्दा शरम पनि लाग्दैन भन्नलाई धक पनि लाग्दैन । पछिल्ला दिनहरुमा गजलका मात्रा , बहर ईत्यादी विषयमा छलफल भै रहेको पनि टुलुटुलु हेरेको मात्र छु - गजलको बहर , मात्रा ईत्यादीको ज्ञान नभएर । हातमा बन्दुक बोकेको धन्धुकारीले जथाभावी ढ्वाङ्ग पड्काए जस्तो गजल यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भन्ने सामर्थ्य नभएकोले गजलको सम्बन्धमा मैले नजानेको कुरा र मैले जानेको कुरा समेटेर यौटा गजलनै लेखेर ल्याएको छु । ( गजल हो कि फजल हो चैं छुट्याउने जिम्मा तपाईँहरुकै । ) यो गजल ( मैले त भन्न पाउँछु क्यारे नि ) बहुअर्थी ढँगमा लेखेको हुँ र मक्तामा राखेको तिन अक्षर तखल्लुस् चैं म नभएर दीपक खड्काजी लाई लेखेको हुँ भनेर पनि सादर जानकारी गराउँछु ।

उता गजल ग्रुपको कुरा क्या ।

Prabesh said...

ए यस्तो पो थियो कुरो । मैले अलिअलि गजलको भाव बुझेजस्तो त लागेको थियो । तर मेरो बुझाइ र तपाईँले बुझाउन खोज्नुभएको कुरो अलि फरक परेछ । भाव त राम्रो रै'छ दाइ । तपाईँका अरू गजलभन्दा प्रस्तुतिमाचैँ अलि कमजोर नै हो कि यो गजल जस्तो लाग्यो मलाई । कुरो बुझाइदिनुभएकोमा धन्यवाद ।

Basanta said...

गजलको नियम-कानून थाहा भएन, त्यसैले त्यो हिसाबले कत्तिको जँचेको छ भन्न सक्दिन म, तर पढ्दा खेरि कता-कता के के बिग्रेजस्तो, मकै चपाऊँदा घरी-घरी ढुंगाको टुक्रा परेजस्तो लाग्दो रहेछ। मैले बुझेसम्म गेयात्मकता गजलको गहना हो। गेयात्मकता नभएका गजल'प्राविधिक गजल' मात्रै हुन् र ती सुन्दर हुँदैनन्। यो गजलमा गेयात्मकता छँदैछैन, दीपकजीको अरु गजलमाथि पूरा अन्याय गरेको छ यसले।

त्यो गजल ग्रुपमा म पनि थिएँ एकताका तर गजल अध्ययनमा समय दिन नसक्ने बाध्यताले गर्दा निक्लिएँ। निष्कृय भएर बसिरहन मन लागेन।

ठरकि दादा said...

गजल मलाई मन पर्ने विधा भएकोले तपाईको ब्लगमा बराबर छिर्ने गर्छु । हुन त गजलको 'फर्मुला' वा लेखन विधि बारे मलाई केहि पनि थाहा छैन तर कहिले काँहि विना कुनै जानकारि म पनि लेख्‍ने गर्छु गजल ।

रह्यो तपाईको यो गजलको कुरा:
यो गजलले दिन खोजेको शन्देस स्पष्ट छ र गजल सरल छ । गाउन मिल्ने वा नमिल्ने बारेमा पनि तपाईले पक्कै पनो लेख्‍ने बेलामा (मनमनै भएपनि)गुन्गुनाउँदै गाउनु भएको होला तर तपाईले कुन लयमा ढाल्नु भएको छ त्यो थाहा नभए सम्म यो गजल 'गेय' छैन भन्न म चाहि सक्दिन ।

सरल र सरस भएको हिसावले हेर्दा भने मलाई यो गजल मिठो लाग्यो । जदौ !

Unknown said...

गजल नलेख्दाको अवस्थामा लेखेको हुनाले वसन्तजीको भनाईमा पनि सहमत छु म र ठरकी दादाको भनाईमा पनि सहमत । के सहमत के असहमत केहिदिनलाई गजलमा गिजोलिन्न
भन्ने हिसाबमै लेखेको हुँ यो गजल । प्रस्तुति फितलो भएकोपनि हुन सक्छ । मलाई चैं मक्तामा बाहेकका पाँचवटै शेरमा नयाँ कुरा लेखेको छु भन्ने लागेको थियो ।