Tuesday, June 24, 2008

कविता : वाग्मतीको नियति ; गति नेपालको

कठैबरा ! वाग्मती
कहिल्यै बग्न सकिनन्
स्वतन्त्र भएर सलल
खोसे मान्छेहरुले
स्वतन्त्रता उनको
खुल्न नसकेर कहिल्यै
पर्यावरणको तन्तु
मान्छेहरुको चेतमा
मात्रै सडकहरु बगिरहे
जुलुश भएर सलल
न रोक्यो कहिल्यै
पेटीमा थुपारिएको डंगुर फोहोरले
डण्डीफोर निचोरेको अनुहार जस्तो
काठ्माण्डौ खित्का छाड्छ
खुट्टा उचालेर अधुरो खुशीमा
नयाँ बजार
यौटा विचार भड्काउंछ
वालुवाटार
यौटा विचार अड्काउंछ
बल्खु ट्वाल्ल परिरहँदा
नयाँ बानेश्वर
लाजले टाउको झुकाउंछ
र भन्छ
काठ्माण्डौ बाहिर
खै नेपाल कहाँ छ ?
कर्णालीको आवाज
आवाजहरुकै भिडमा बिलायो
अब त रोल्पापनि
काठ्माण्डौ मै हरायो
निमुखो रत्नपार्क बरा !
अझै विचार बगाउंछ
उरालेर मान्छेहरु सडकमा
लहर - लहर
तरंग - तरंग
जुलुशहरुमा सलल
स्थिरप्राय: वाग्मती
पुलुक्क हेर्छिन काठ्माण्डौलाई
र भन्छिन
कठैबरा ! गति नेपालको
उन्को र मेरो नियति उस्तै
संधै रोकिनुपर्ने आफ्नो गति
स्वतन्त्रता गुमाएर
अरुअरुले नै बनाएको फोहोरमा ।

3 comments:

Aakar said...

अमेरिका मा रहेरै पनि काठमाडौँ प्रति कडा प्रहार गर्नुभए'छ । जस्तो तपाईँले लेख्नु भो, कुरा सबै सहि छन् ।।।।।। एउटा कुरा, स्वच्छ र सफा बाग्मति हेर्न अब बागव्दार जानुपर्छ अथवा "सर्लाही" (तराई) आएपनि हुन्छ । मैले खाने प्रत्येक अन्न यही बाग्मति ले सिञ्चित गरेको छ । अनि हाम्रो भूमीलाई हराभरा बनाइदिएको छ । --------- म साथीहरुलाई फोटो देखाउँछु, मेरो घरछेउको बाग्मति को तर कोही पत्याउँदैनन् किनकी सबैको मनमस्तिष्कमा मा कालो र प्रदुषित बाग्मती को छाप बसेको छ!

Anonymous said...

के हो दिपक जि" मेरो साहित्य संसार र विविध " ब्याक्तिगत ब्लगमा तपाईंलाई हार्दिक स्वागत गर्दछु भन्ने अनि फोटो चाहि अनुहार नै नदेख्‍ने गरि राख्‍ने । अलि अनुहार प्रश्ट देखिने गरि फोटो राख्‍नुस न । उता फर्केर पनि स्वागत हुन्छ ।
जाहाँ सम्म तँपाई को कबिताको कुरा छ सोह्रै आना ठिक छ अनि राम्रो पनि छ। मलाई चित्त बुझ्यो है ।

Unknown said...

हो आकारजी , हामीले त्यहींपनि ब्यंग खेपेका छौं जस्तो कि बाग्मती त केवल काठ्माण्डौमा मात्रै फोहोर भएर सलल बग्न सकेकि छैनन् तर नेपाल काठ्माण्डौमा थुप्रिएको फोहोरले गर्दा सारा देशनै गति रोकिएर ठप्प छ ।

अज्ञातजीलाई धन्यवाद कविता मनपराईदिनुभएकोमा र फोटोमा प्रतिक्रिया गरिदिनु भएकोमा । तपाईँको प्रतिक्रियाले गर्दा मैले फोटो फेरें र अझ यो पनि गर्दैछु -

अनुहार कुरुप संधै छ आँखिर सुन्दर यौटा फोटोहोस् ।
गाँसोस् त्यै फोटोले एउटा साईनो त्यो लामोहोस् न कि छोटोहोस् । ...... अधुरै छ पुरा भएपछि ब्लगमा राख्छु ल । आउंदै गर्नुहोला ।