Sunday, October 26, 2008

तिहारको शुभकामना : देवकोटाको सम्झनामा एक कविताका साथ

मेरा सम्पुर्ण ब्लगर मित्रहरु लगायत मेरो ब्लगमा प्रवेश गर्नुहुने सम्पुर्ण साथीहरुमा यो तिहारको शुभ मंगल कामना !
तिहार भन्ने बित्तिकै रमाईलो लाग्छ मलाई । मनै प्रसन्न हुन्छ । दशैंले पनि त्यति उल्लास ल्याउंदैन म मा जति तिहारले ल्याउने गर्छ । यो सालको तिहारपनि दशैं झैं रित्तै नै छ मेरो र पनि तिहारको खुशी भने बेग्लै प्रकारको छ म भित्र ।
तिहारको अवसरमा गतसाल मैले हवाईबाट यौटा कविता लेखेको थिएँ देवकोटा जयन्ती मनाएको भनेर । यो साल पनि लेखौं लागेर लेखेको त छु तर यौटै विषयमा कविता लेख्दा पहिलेकै जस्तो हुने डर पो हुनेरहेछ । त्यसो त यसपालीको तिहारलाई मैले केतकी फूलको माला भन्ने कथापनि तयार गरेको छु । यसपछिको ब्लगमा पालो आउने उक्तकथा तपाइँले खसखसमा पनि पढ्न सक्नुहुन्छ । जे होस यसपाली लेखेको कवितापनि सुनाउँछु है त - यो कविताले देवकोटा जयन्तीको उपलक्ष्यमा मेरो ब्लगमा आउनुहुने साहित्य प्रेमी साथीहरुसँग मैले शतवार्षिकि देवकोटा जयन्ती ( १०० औं ) मनाएको है ।

उज्यालो यो तिहार राम्रो फूलहरुले पार्यो
झिलीमिली बत्ति सामु औँशीले नि हार्यो ।
बारी , कान्ला जताततै सयपत्री फूले जति
केतकी र मखमली पनि मुस्कुराए उति ।
दैलो , झ्याल , आँगन , गोठ लहर फूलकै माला
फूलैसरी फूलाई चेहरा रमाए लालाबाला ।
पूजित पञ्छि पशु समेत उमँगमा मस्त ति
जनले फाले मैलोकालो मनभित्र थिए जति ।
तिहारले सद्भावको मिठो पाठ छाडेर जान्छ
सँधै मनन गरे त्यसैले समाज अगाडी लान्छ ।
मनाउँ पर्व सबै स्वार्थ भन्दा माथी उठेर
डोहोर्याउँदै उन्नतीतर्फ समाजलाई जुटेर ।
कामना छ सबका हातमा बसुन् लक्ष्मी देवि
ह्रदयमा चैं बसुन् सबैका प्यारा लक्ष्मी कवि ।

3 comments:

Anonymous said...

मिठो कबिता लेख्नु भो ।
तपाईंलाई पनि तिहार को शुभ कामना है दिपक जि ।

Aakar said...

दीपक जी !
तिहार को धेरै धेरै शुभकामना !

Dilip Acharya said...

मिठो कविता सहित दिनु भएको शुबकामनाको लागी दन्यवाद सहित मेरो तर्फबाट पनि तपाईलाई तिहारको मंगलमय शुभकामना ।