Thursday, October 02, 2008

दशैंको शुभकामना !


बडा दशैं २०६५ को हार्दिक मंगलमय शुभ कामना !

औपचारिक रुपमा आफ्नो ब्लगमा दशैंको शुभकामना लेखेर राख्छु भन्दाभन्दै दशैं भित्रिएको नि निक्कै भै सक्यो त्यसैले आज बसेको छु आफ्नो ब्लग मार्फत बडा दशैको शुभकामना लिएर । त्यसो त दशैंको रमझमले छोएको घरघरै पस्दा दशैंको शुभकामनाको लेनदेन नै नभएको त हैन ; घरघरै भनेर चैं नियमित आउजाउ हुने ब्लगलाई भन्न खोजेको है । हिँजो मात्रै उता नेपाली गजल ग्रुपमा दशैंको शुभकामना भन्न जाँदा खाली हात के जानु भनेर कोशेलीमा यौटा 'दशैं गजल' बोकेर गएको थिएँ । यस्तो कोशेलीको मज्जै बेग्लै त्यही कोशेलीले यता पनि काम चल्ने त्यसैले यो ब्लगमा भेटहुन आउनुहुने साथीहरुमा पनि यो 'दशैं गजल' कोशेली है -

न छेक्न सकियो न थुन्न लौ हेर बडा दशैँ आयो ।
घाँटीबाटै नछिर्ने हाड लिएर कडा दशैँ आयो ।

नहुने सँधै रित्ता छन उधारो खुशी हो दुखिको ,
हुनेकै त छ ठाँट् र बाँट् गज्जब तगडा दशैं आयो ।

शिकारको जोहो , दक्षिणा , पाहुनापासा , ज्वाँईचेला,
पुर्याउनु टार्नुकै छ धौ कस्तो लफडा दशैं आयो ।

राजधानी छट्पटीएकै छ काकाकुल् प्यास बोकेर ,
पहाडमा पनि त तिर्खा खप्दो छ घडा , दशैँ आयो ।

जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक् ?
ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा , दशैं आयो ।

गएसाल दशैंको बेला नेपाली कविता डटकमबाट विक्रम सुब्बा दाईले दशैं कविता लेख्न आव्हान गर्नुभएको इमेल पाएर मैले दशैं , नेता ज्यू र हामी शिर्षकमा यौटा कविता लेखेको थिएं र दशैंको कुरा छोटो आलेख सहित भनेर ब्लगमा यौटा छोटो आलेख पनि लेखेको थिएं । यसपाली भने सबै घरमा जस्तै दशैंको शुभकामना कार्ड राख्न मन मलाई पनि लाग्यो तर नजानेपछि के लाग्छ र हैन ? त्यसैले मैले चैं दुर्गे आमाकै फोटोमा चित्त बुझाएको छु । कथाहरुमा हामीले देउता त राक्षसलाई जसरी पढेको भएपनि र जसरी बुझेको भएपनि देवता र राक्षस भनेको हामी भित्रकै प्रवृति हो भन्ने लाग्छ मलाई । मान्छे नै देवता हो र मान्छे नै दैँत्य पनि भन्ने ठान्छु म त्यसैले यो दशैंले हामीभित्रको आसुरी प्रवृति नाश गरेर दैवी प्रवृति जगाई यो संसार सुखमय बनाउनको लागी दुर्गे आमा (तपाईंहामीलाई पालन पोषण गरेर हुर्काउने बढाउने , जन्म दिने आमाकै यौटा स्वरुप हो अनि प्रकृति हो भन्ने हिसाबले।) को कृपा दृष्टि समस्त मानव जातिमा परोस भन्ने कामना गर्दछु ।

तपाईंहरुको दशैं सुखमय रहोस् र दशैंले सम्पुर्ण जीवनमा खुशीयाली छाडेर जावोस् ।

7 comments:

कैलाश said...

ल दीपकजीले पनि मेसो पुर्याएरै ब्लगमा शुभकामना निकाल्नुभएछ। तपाईलाई नि धेरै धेरै शुभकामना विजयादशमीको। कसैको लागि पनि दशैँ दशा नबनोस।

अहो! बडो मन परो मलाई त यो गजल। 'दशैँ नै हो कि यो मेरो दशा' भनेझैँ हालत नै बनेको हुन सक्छ कतिपयको।

Anonymous said...

मार्मिक गजल लेख्नु भो । धेरै प्रतिशत नेपालीको मर्म लाई स मेटेको छ तपाईंको गजल ' दसैं गजल ' ले ।
भो दु:ख -पिर को कुरा गरेर कती साध्य !
बरु फेरी दसैं आयो , शुभकामना भन्न् त पाइयो । हिर्दय देखी नै शुभ कामना दसैं को उपलछ्य मा तपाईंलाई दिपक जि ।

Anonymous said...

मार्मिक गजल लेख्नु भो । धेरै प्रतिशत नेपालीको मर्म लाई स मेटेको छ तपाईंको गजल ' दसैं गजल ' ले ।
भो दु:ख -पिर को कुरा गरेर कती साध्य !
बरु फेरी दसैं आयो , शुभकामना भन्न् त पाइयो । हिर्दय देखी नै शुभ कामना दसैं को उपलछ्य मा तपाईंलाई दिपक जि ।

Yumesh Pulami said...

दीपक जी ! तपाइले-" तपाईंहरुको दशैं सुखमय रहोस् र दशैंले सम्पुर्ण जीवनमा खुशीयाली छाडेर जावोस् ।" भनेर र त हामीलाई भनु भो तर म तपाईलाई पनी सोही कामना गर्दछु । अनि यहाँ तपाईको गजल राम्ररी नै गर्जेको पाए । कैलाश जी ले भने झै - 'दशैँ नै हो कि यो मेरो दशा' चाहि कसैको पनी नहोस भन्ने कामना पनी गर्दछु । लुना जी ले भने जस्तै म पनी तपाईलाई हिर्दय देखी नै शुभ कामना दिन चाहन्छु । धन्यवाद ।

Unknown said...

कैलाश जी , लुनाजी र बेदनाथजीलाई हार्दिक धन्यवाद ।

Unknown said...

hi deepak mama k 6. ma anoj. sanchai hunu hun6. ani yeta ko yaad katiko aaun6 tapai lai. missing u so mucha

Unknown said...

hello mama how r u? are u fine? ur comments make me fallens my tears .