Thursday, March 08, 2007

कविता : फेरी आकाश मुस्कुरायो ।

दैब जानुन
कतिञ्जेल लाग्ने हो घाम
बादलहरु हराएर
चम्किलो सुर्य हाँस्दै
आजभोली
खुल्ने गर्दछ आकाश ।
बिहानीपख
पारीलो घाममा नाच्दै
समुह समुह
छिर्बिरे पुतलीहरु
रंगीबिरंगी फूलहरु संग
मितेरी गाँस्छन ।
दिनभरी तिमी डुल्छौ
मनैभरी उमंग गाउंदै
त्यो सडक - त्यो सहर
दिनभरी म हिंड्छु
आँखैभरी सपना गाउंदै
त्यो टार - त्यो पाखा ।
साँझ संधै
हामीले गाउंने सपनाको
मधुर लय समातेर
हामीले गाउंने उमंगको
पंखेटा फट्फटाउंदै
बथान बथान
साना ठुला चराहरु
बिदा हुन्छन एक अर्कामा ।
बुझ्नेहरु भन्छन
अर्को स्वर्गको कल्पना नगर
यो भन्दा सुन्दर
अर्को धर्ती कहिं छैन
हामी भन्दैछौं
धर्तीको यो स्वर्गलाई
अझै सुन्दर बनाउंदै जाउँ ।
समयले आकाशलाई सोध्यो
कहाँ गए आज
हिंजोका काला बादलहरु ?
आफैंमा सुन्य आकाश
जवाफमा हिंजो बिर्षिदिंदै
एक पटक फेरी मुस्कुरायो ।

नेपालीपोष्ट डटकममा प्रकाशित ।

1 comment:

Door to Science said...

YOu have got nice blog.
keep it up man