Sunday, March 04, 2007

गन्थन मन्थन ।

एक्कासी दुख्न शुरु भएको दाँतले मलाई एकरात रातभरी निदाउन दिएन । यतिजोडले दाँत दुख्ला भनेर सोचेकै थिईनं मैले । भोलिपल्टको काम सकाएर दाँतको डक्टरकोमा गएं । अघिल्लो रात सुत्न नसकेकोले गर्दा म तुरुन्तै त्यो दाँत उखेलेर फाल्न चाहन्थें तर डेण्टिस्टले मलाई एक हफ्ताको लागी पेन किलर दिएर एक हफ्तापछि दाँत उखेल्ने अपोईण्टमण्ट दियो । अहिले त दाँत उखेलेको पनि २ दिन भै सक्यो । देब्रेपट्टीको तल्लो सबैभन्दा पछाडीको बंगारामा किरा लागेछ । अरुमा सर्ला भन्ने पिर भयो । म आफ्नो दाँत बलियो छ भनेर ढुक्क थिएं तर अहिले यौटा गुमाएर एकतिस वटा मात्र दाँत बाँकी रहेको छ । दाँतको कारणले केहि दिन यता मैले नयाँ केहि कुरा लेखेको छैन । ईन्टरनेटमा बस्दा मैले प्रत्येक दिन poetry.com मा हाईकु भने लेख्न छाडेको छैन । माई संसार डटकममा news हेरिरहेको छु तर कमेण्ट लेखेको छैन । नेपाली पोष्ट मार्फत थाहा पाएं उमेश जी लाई मण्डलेहरुले राजाको बिरोधमा लेखे कार्यवाही गर्ने धम्की दिएका रहेछन । लोकतन्त्र र गणतन्त्र भन्दै कुर्लिने नेताहरुले नेपाललाई नयाँ नेपाल बनाउन नसकुञ्जेल सम्म यो क्रम रोकिने छैन । नेपाल नयाँ भएको प्रत्याभुती हरेक आँगनमा हुनु पर्छ र मात्र यौटा नागरिकले निर्धक्क भएर बोल्न अनि लेख्न पाउंछ । लेख्नको लागी त अहिले पनि लेखिरहेकै छन तर भयरहित वातावरण बनिसकेको छैन भन्ने कुरको पुष्टी गरेको छ माई संसारका ब्लगर ( उमेश श्रेष्ठ ) लाई दिएको धम्कीले ।

सार्है दुखलाग्दो कुरा हो यो नेपाल हामीले सोचेको दिशामा र गतीमा हिंडेको छैन । नेपालका नेताहरुको निश्चयनै हामी सामान्य मान्छे भन्दा विचारशील छन तर उनिहरुको विचारलाई प्रतिगमनको माकुरे जालोले जेलेको छ । किन उनिहरु आफ्नो विचारलाई ढाक्ने माकुरे जालो पन्साउन सक्दैनन ? अहिले फेरी एमालेले राजा बचाउने कुरा गर्न थालेको समाचार माई संसारमा पढें । एमाले कहिल्यै सुध्रिदैनं ? राजा सहितको भोलीको नेपालमा प्रधान मंत्री बन्ने सपनामा एमाले महासचिब नेपाल विबेकले शुन्य बन्दैछन त ? बरु उनले आफु र आफ्नो पार्टीलाई कम्युनिष्ट नै नभने हुन्थ्यो होला । आफुले अंगालेको सिद्दान्त अंगाल्न नसक्नेहरु कम्युनिष्ट हुन भनेर कसै कसैले भनेको मैले नेपालमा हुंदै सुनेको थिएं । के साँच्चै हो त ? मलाई कम्युनिष्टहरुको चिन्ता लगेको हैन तर अढाईसय बर्षदेखि नेपालमा भगवान भएर राज गर्नेहरुलाई हटाउलान भनेर सबैले भरोषा गर्नेहरुले गर्दा नयाँ नेपालको सपना अझैसम्म अधुरो भएकोमा चिन्ता लागेको हो ।

यसबिचमा यो संसार डटकम नामको अर्को नयाँ ब्लग उदाएको पाएं । त्यसो त मैले पनि अर्को हाम्रो गौरादह ब्लग शुरु गरेको छु । यो संसार ब्लगले राजनीतिसंग गोरु बेचेको साईनो पनि लगाउने छैन भनेर घोषणा गरेको छ । अचम्म लाग्यो , राजनीति त यौटा सचेत नागरिकले अनिवार्य छलफल गर्नु पर्ने बिषय हो । मान्छेको जीवनमा जसरी अन्य पक्षहरुको महत्व हुन्छ त्यसरी नै राजनीतिको पनि हुन्छ । राजनीतिक छलफललाई ब्लगमा राख्दैमा त्यो ब्लग राजनीतिक ब्लग हुन्छ र ? मेरो ब्लगमा मैले साहित्यलाई प्रमुखता दिएको छु । आफुले रचना गरेको कुराहरु राख्छु म तर पनि राजनीतिक बिषयमा आफुलाई खट्केको कुराहरु पनि लेख्ने गर्छु म । जे होस यो संसार डटकमले राजनीतिक कुराहरु राख्दिनं भन्नु खासै अनौठो पनि होईन र मैले बिरोध गरेको पनि होईन ।

दाँतबाट शुरु गरेको कुरा यसरी अगाडी बड्यो कि यो बिचमा म केहि भन्न नपाएर निक्कै गुम्सिएको थिएं । त्यस्तै मध्धे अर्को कुरा मैले निकाल्न लागेको अर्को गीती अल्बम अबोध परेलीहरु अहिले म्युजिक नेपालमा पुगेको छ तर त्यहाँ बाट निकाल्न पाउने हो या हैन त्यो भने थाहा भै सकेको छैन । यो हफ्ताभित्रमा थाहा हुन्छ म्युजिक नेपालले निकाल्छ कि निकाल्दैन भनेर । अबोध परेलीहरुको बारेमा अलिपछि म बिस्तारमा लेख्ने छु । अर्को कुरा मैले अब आउने अगष्टमा नेपाल जाने बिचार गरेको छु । अहिले सम्म त नेपाल जानलाई केहि तयारी गरेको छैन । त्यसो त अझै चार पाँच महिना नै बाँकी पनि छ । म सन २००३ को जनवरीमा अमेरिका आएको थिएं । चार बर्ष पुरा भै सक्यो यो पाली भने चार पाँच महिना बस्ने गरेर जाने बिचार गरेको छु ।

No comments: