Monday, January 04, 2010

गजल : तिम्रै लाग्छ भर प्रिय

पहिले लेखिएका तर ब्लगमा चढाउन नभ्याएका या भनौं पालो कुरेर बसेका गजलहरुको स-सानो चाङबाट यसपटकलाई पनि यौटा गजल ल्याएको छु । गजल ग्रुपमा यस गजललाई बाँड्दा अहिले भएको मतलाको एक(पहिलो)मिसरा(हरफ)मात्र एक शेर हुने हिसाबले प्रस्तुत गरेको थिएँ । त्यसबेला मलाई कुनै शेरहरु स्वायत्त भएनन् भन्ने चिन्ता छँदैथियो । त्यसैले अहिले यस गजललाई दुई तरिकाले प्रस्तुत गर्न सकिने हिसाबले बनाएर दुई तरिकाले नै राखेको पनि छु ।

पहिलेको तरिकाले -

जे मन लाग्छ गर प्रिय ।
मान्दिनं म डर प्रिय ।

तिम्रै छ आश र प्रिय,
तिम्रै लाग्छ भर प्रिय ।

हावा हूरी छेक्ने न्यानो,
खोजीरँ'दा घर प्रिय,

भन्यौ 'आउ सँगै बसौं,
मेरो को पो छ र' प्रिय ।

समाजले सानो भनि,
पार्दा पर-पर प्रिय ।

चाहिएन तिमीलाई,
मेरो गोत्र थर प्रिय ।

जैले देखि तिमीतिर,
आएँ वर-वर प्रिय,

जून जस्तै फूल जस्तै,
फुल्यो यो अधर प्रिय ।

बसाउँला वस्ती यौटा,
सानो नै होस् तर प्रिय ।

नसके'नि बसाउंन,
मायाको सहर प्रिय ।

सम्झनामा चलोस् हाम्रो,
हावा सर-सर प्रिय ।

रोपौं चिनो चौतारीमा,
पिपलु र बर प्रिय ।

छोडी धर्ती जानु नै छ,
हुँदैनौं अजर प्रिय ।

बनोस् यूगौं यूग हाम्रो,
पिरती अमर प्रिय ।
***

अहिलेको तरिकाले -

जे मन लाग्छ गर प्रिय मान्दिनं म डर प्रिय ।
तिम्रै छ आश र प्रिय तिम्रै लाग्छ भर प्रिय ।

हावा हूरी छेक्ने न्यानो खोजीरँ'दा घर प्रिय,
भन्यौ 'आउ सँगै बसौं मेरो को पो छ र' प्रिय ।

समाजले सानो भनि पार्दा पर-पर प्रिय,
चाहिएन तिमीलाई मेरो गोत्र थर प्रिय ।

जैले देखि तिमीतिर आएँ वर-वर प्रिय,
जून जस्तै फूल जस्तै फुल्यो यो अधर प्रिय ।

बसाउँला वस्ती यौटा सानो नै होस् तर प्रिय,
नसके'नि बसाउंन मायाको सहर प्रिय ।

सम्झनामा चलोस् हाम्रो हावा सर-सर प्रिय,
रोपौं चिनो चौतारीमा पिपलु र बर प्रिय ।

छोडी धर्ती जानु नै छ हुँदैनौं अजर प्रिय,
बनोस् यूगौं यूग हाम्रो पिरती अमर प्रिय ।
******

त्यसो त काफिया अक्षरहरु दोहोरिएका गजलहरु प्रसस्तै नभेटिने होइनन् र पनि मैले नदोहोर्याउने गरी लेख्ने कोसिस गरेको हुन्छु प्राय। यसमा भने 'स' र 'श' लेखाईमा अलग तर ध्वनीको हिसाबले एकै हुने दोहोरिएको छ । आफ्नो दर अनुशार औसतमा दरिएको हुनाले जानीजानी छोडेको हुँ यसलाई ।

Friday, January 01, 2010

गफ : कुरा उहि, पारा उहि तर नयाँ वर्ष

मैले भनिगएं नि मेरो त कहिल्यै केहि 'प्लान' बन्दैन । जे हुन्छ त्यो हुन्छ, हुन्न भने हुन्न, चिन्ता पनि लाग्दैन किन भएन भनेर । बिन्दास!!, अलि फिल्मी शैली भयो यो त, बेपर्वाह चैं भनुँ क्यार ।

हिँजो (पोहोर नै भने हुने हो हामीले गर्ने गरेको समयको हिसाबकिताब अनुशार त । यतिबेला सन २०१० को शुभ प्रभात भै सकेको छ।) दिउँसोसम्म छरछिमेकका ब्लगहरुमा पसेर नयाँ वर्षको टाँसो पढ्दै कतै कमेण्ट पनि लेख्दै हिंड्दा सन २००९ कै अन्तिम रात्रीभरमा आफ्नो ब्लगको निम्ती पनि यौटा नक्सा कोर्छु भन्ने थियो र सन २०१० लागिसक्न नपाई ब्लगमा टाँसुला भन्ने थियो तर आफ्नो चलन योजना मुताविक नचल्ने भएरै होला त्यसो हुन सकेन । सन २००९ को अन्तिम दिनको काम सिध्याउन पाएको छैन हिँडियो बरालिएर । आँखिर चमेरे जुनी जो पाईएको छ - निशाचर । दिनभरी साङ्ग्लोमा बाँधिने अनि राती फुक्ने गाउँघरको भोटे कुकुर जस्तो । फरक यति नै हो कि कुकुर साँच्चैको साङ्ग्लोले बाँधिन्छ आफुभने कामको साङ्ग्लोले ।

रातैभरी बेपत्तासंग अन्मरिएर अहो! मैले त ब्लगमा यौटा टाँसो पनि पो लेख्नुथियो भन्ने होस् खुल्दा बिहानको ५ बजिसकेको थियो । र पनि जे होस ब्लगमा लेख्नु छ भन्ने होस त खुल्यो भनेर गदगद हुँदै लेख्न सुरु गरें । यतिबेला लेख्न सुरु गरेर, कतिबेला लेखिसकेर, कतिबेला ब्लगमा टाँसेर सुत्ने अनि एकछिन पछि १० बजे बिहानको काम गर्न पुग्ने भन्ने चिन्ता भित्र कतै भएपनि त्यो चिन्ता मैले गर्ने हैन भनेर मस्त बनें । आँखिर १५ दिनको लागी मात्र बाँकी रहेको कामको कस्ले टेन्सन लिईराखोस् ? म त लिन्न ।

यसपालीको नयाँ वर्षलाई त्यसो त केहि जुगाड थिएन, अझै भएन पनि नत्रभने प्राय नयाँ वर्षको लागी कविता या गजल यस्तै केहि लेख्थें पहिले पहिलेका नयाँ वर्षहरुमा । यसपाली भने पक्का नयाँ वर्ष हुने भयो मलाई त । न नयाँ वर्षको कविता लेखेको छु, न गजल, न गीत । 'सँधै लेखेर नयाँ भएको महसुस गर्थें यसपाली नलेखेर नयाँ भएको महसुस गरुँला..' मन यसरी नै बुझाएँ । मन त हो आँखिर त्यो पनि आफ्नै, यस्लाई जसरी बुझाए नि बुझिहाल्छ नि । मुर्ख मन ।

'नयाँ वर्ष नामको या नयाँ वर्ष भन्न मिल्ने कुनै प्रकारको उम्दा रचना नभएपछि ब्लगमा यस्तै 'गफ' हानेर भएपनि झोलझाल त गर्नैपर्यो ।' कैलेकाहिँ त खुराफाती आईडिया निकाल्छ यो दिमागले पनि । आँखिर यो दुनियाँमा सबभन्दा सजिलो कुरा हो 'गफ' दिन भलै त्यही गफ बिकाउन सबभन्दा मुश्किल कुरा किन नहोस् । आफुलाई 'गफ' बिकाउने चिन्ता पनि त होईन, यो ब्यापार हो र थोडै ? त्यसैले म त 'गफ' हान्ने हो आज । त्यो पनि आजको 'गफ' हान्ने । न हिँजोको न भोलीको । हिँजो त बितिसक्यो, भोली के हो के हो ? त्यसैले मलाई गफ आजकै गर्नु ठिक लाग्छ । म आज बाँच्ने प्रकारको मान्छे भएर पनि होला । हुनपनि भोली को बाँचेको छ र ? आज ठिकसँग बाँच्न पाए सबै ठिक हुन्छ तर प्रत्येक आज भने ठिकसंग ठिक हुनुपर्यो । यत्तिनै सोच्छु म त । हिँजो, आज र भोली या ने कि भूत, वर्तमान र भविश्यको कुरा गर्दा आज(वर्तमान)लाई अलिकति 'चेन्ज' गर्न मन लागेको थियो मलाई । तर मैले एक्लैले गरेर नहुने । काल भनेर समयलाई छुट्याएका छौं हामीले । भूत, बर्तमान र भविश्य । यि तीनमा मलाई भूत र भविश्यको फिक्री छैन । यो बेफिक्री मेरो आफ्नै जिन्दगीको भूत र भविश्यको पनि हो र शब्दहरु 'भूत' र 'भविश्य'को पनि हो । यि दुईसंग म ढुक्क छु तर 'वर्तमान'को भने चिन्ता छ मलाई । आफ्नै जिन्दगीको 'वर्तमान'को पनि र शब्द 'वर्तमान'को पनि ।

यो 'वर्तमान'लाई म 'उपहार' भन्न चाहन्छु । जस्तै कि यसरी - भूतकाल, उपहारकाल र भविश्यकाल । अँग्रेजहरु 'वर्तमान'लाई कति मजाले प्रेजेन्ट भन्छन् । जति जे भने पनि अँग्रेजहरुले यो कुरा चैं सोचेकै हुन् वर्तमानलाई प्रेजेन्ट भन्न । प्रेजेन्ट अर्थात उपहार । अहा! कति रमाईलो! हुनपनि यो वर्तमान नै हाम्रो लागी उपहार जत्तिकै सर्वोत्तम समय हो जतिबेला हामी चाहे अनुशार गर्न सक्छौं । वर्तमानमा हामी जे गर्न सक्छौं त्यो न भूतमा फर्केर गएर गर्न सक्छौं न भविश्यमा पुगेर गर्न सक्छौं । 'वर्तमान' भन्दा सुन्दर उपहार हाम्रो लागी अरु के होला र ? '..................', केहि छैन भने वर्तमानलाई 'उपहार' किन नभन्ने ? तर समस्या मैले एक्लैले भनेर हुँदैन । किन पहिले नै वर्तमानलाई उपहार भनिएन होला ? चिन्ता यत्तिनै हो मेरो वर्तमान शब्द प्रतिको कि यसलाई उपहार भनिनु पर्थ्यो या पर्छ । किनभने मूल्यको हिसाबले जतिसुकै निम्नकोटीको किन नहोस् उपहार भन्ने बित्तिकै त्यसको महत्व अर्कै हुन्छ त्यसैले वर्तमानकाललाई उपहारकाल भन्न सके त्यसको महत्व अहिले जति छ त्यो भन्दा अझै हुन्थ्यो कि ? यहि कुराको कतै न कतै सम्बन्ध होला कि म आज बाँच्न चाहने प्रकारको मान्छे हुँ ।

त्यसैपनि योजना बनाएर बाँच्ने सामर्थ्य छैन होला म मा र बाँच्नुको नाममा कुनै योजना बन्दैन पनि मेरो जीवन उद्योगमा । परन्तु कैलेकाँहि लाग्छ कि जीवनलाई अलि ब्यवस्थित पारुँ । नेपालका राजनैतिक दलहरुकै जस्तै किन नहोस् जिन्दगेको रोड म्याप बनाएर त्यस अनुशार हिडुँ तर हुँदैन । अहँ पटक्कै हुँदैन । त्यसो गर्नको लागी पहिलो शर्त समयमा सुत्ने र समयमा उठ्ने हुनुपर्छ । अरु पनि शर्तहरु प्रसस्तै होलान तर सबै मध्ये यो समयलाई ब्यवस्थित गर्नुपर्ने शर्त पहिलो नम्बरमा आउँछ र मेरो समस्या भनेको नै यहि समयलाई नियन्त्रण गर्न नसक्नु हो । त्यसो त समयलाई कसैले वसमा राख्न सक्दैन तर कतिपयले समयलाई आफ्नो दैनिकीको लागी भने ब्यवस्थित पारेकै हुन्छन् त्यसैले त सायद तिनीहरु अगाडी निस्कन्छन् । आफुलाई भने जता परे पनि बाल!, अलि सडकछाप शैली भयो यो त, पर्वाह छैन चैं भनुँ क्यार ।

हो, आफ्नो त अझै कुरा उहि पारा पनि उहि तर नयाँ पनि छ है - नयाँ वर्ष । अर्थोक केहि होस् नहोस् आजको दिन कम्तिमा नयाँ वर्ष छ(हरदिनको नयाँ हिसाब राख्ने ठेक्का कस्ले लिएको छ र? त्यसैले प्रत्येक पलको नयाँ भन्ने कुरालाई छोडिदिएको)। र तपाईंहरु सबैलाई त्यहि यहि नयाँ वर्षको मंगल कामना त छँदैछ ।

अन्त्यमा बरालिएर हिँडेर घर(आफ्नो)बाहिर बाहिरै भएको बेला पनि यति कुरा लेख्नलाई कम्प्युटर उपलब्ध गराउने भाइ/साथी शैलेन्द्रराज जोशीलाई धन्यवाद!

Happy New Year 2010 !!

Sunday, December 27, 2009

गजल : बार बार जस्लाई ढोगीरहेछु

यतिबेला मसँग केहि छैन, मेरो मतलब ब्लगमा लेख्नको लागी केहि छैन । छ त केवल केहि गजलहरु जो कुनै निक्कै अगाडी नै त कुनै हालसालै लेखिएका छन् । बाँकीकुराहरु लेख्नको लागी दिमाग शुन्य छ भन्दा फरक पर्दैन । दैनिकीका धेरै कुराहरुसँग जुध्ने तयारीमा सायद ब्लगमा राख्ने कुराहरु लेख्न एकप्रकारले विश्राममा छ दिमाग भन्दा फरक नपर्ला । त्यसैले यसपटक केहिदिन अगाडीको यौटा गजललाई नै प्रस्तुत गर्दैछु । यसको बारेमा पछिल्लो पटकको गजल लेख्दा नै अस्पस्ट थोरै कुरा उल्लेख गरेको थिएँ । त्यो बेलापनि यस्तै केहि नभएको अवस्थामा यौटा गजल टाँस्नको लागी भूमिका लेख्दैथिएँ तर जब भूमिका भन्न सक्ने टिप्पणीको पहिलो वाक्य लेखेँ तब मैले त्यहीँ अर्को गजल देखेको थिएँ र सबैकुरा छोडेर त्यो गजल पुरा गरेर मात्र त्यसपटकको गजल ब्लगमा टाँसेको थिएँ । आउनुस् आज त्यहि गजल पढौं । आफ्नै जोखाई अनुशार औसतमा दरिने यो लगायत मसँग अरुपनि ६ वटा गजलहरु तयार छन् जस्लाई म क्रमश भाँती मिलाउँदै राख्दै जानेछु ।


अनियमित दैनिकी भोगीरहेछु ।
लाग्छ म कस्तो मनोरोगी रहेछु ।

संगालेर राखुँ त म छरपस्ट,
नबटुलिने घोगाघोगी रहेछु ।

कोहि चिमोट यो चाम्रिएको छाला,
लौ घसें खरानी, म जोगी रहेछु ।

किन हुँदैछ टाढा मनको हरी,
बार बार जस्लाई ढोगीरहेछु ।

बुझेर पनि यो संसारको लिला,
म मन रुवाउने सोगी रहेछु ।

कि म जिन्दगीको यो कारखानामा,
निरन्तर सोच्ने उद्योगी रहेछु ।

Monday, December 21, 2009

प्रसङ्ग - अन्तरालका कुराहरुको

एक त के अनेक भूमिकाले पनि बाँध्न सक्दैन रहेछ बिथोलिएको अवस्थितीलाई चाहे त्यो मनको होस् या अर्थोकै केहिको ।

प्रसङ्ग - अन्तरालका कुराहरुको
समय - मैले हिसाब गर्न जाने देखि आजसम्म र यो तन्कँदै जानेछ म रहुञ्जेल
स्थान - मैले देखेजति आकाश र टेकेजति धर्ती


यो अन्तरालका कुराहरुको प्रसङ्गलाई अब थियो भन्ने कि छ भन्ने ? दोधारमा छु । यो दोधार छँदै थिएन जब मनमा लेख्ने तानाबाना बुन्दैथिएं तर लेख्दै जाँदा नितान्त ब्याक्तिगत कुराहरुलाई म यति महत्व दिएर किन लेखिरहेछु ? यो सब कुराहरुको अर्थ म स्वयंलाई बाहेक कति महत्वको छ र ? भन्ने जस्ता तर्कनाहरु उब्जँदै गए, कुनै बाली लगाईएको खेतमा झार पलाएझैं पलाएका तर्कनाहरु यस्तरी बलिया बनिदिए कि एक पटक हैन अनेक पटक मैले यौटा सानो अन्तरालका कुराहरु लेख्दै मेट्दै गरें र त्यसैले अर्को अन्तराल बनाउँदै गयो । हो रहेछ, अन्तराल यसरी नै बन्दो रहेछ । हामी निरन्तर प्रयासरत हुन्छौं जीवनका कुनै पक्षमा अन्तराल नबनोस् र त्यसको अप्ठ्याराहरु सामना गर्नु नपरोस् भनेर तर त्यहि प्रयासले अर्को अन्तराल निर्माण गरिरहँदो रहेछ र हामी जीवनमा आफैंले बनाउन पुगेका अन्तरालका गहिरा गहिरा खाडलहरुमा पुरिइरहँदा रहेछौं । ति खाडलहरु घातक नै हुन्छन् भन्ने पनि छैन । निस्कन्छौं, उम्कन्छौं ति खाडलहरुबाट तर उम्कनलाई गरेको प्रयासले या भनौं प्रयासरत रहेको समयावधीले फेरी अर्को खाडल निर्माण गरिसक्दोरहेछ र धकेल्दोरहेछ हामीलाई फेरी अन्तरालकै खाडलमा ।

प्रक्रिया उहि उस्तै चलिरहने निरन्तर जिन्दगीको र त्यसमा प्रत्येक पल भए/गरेको नयाँ देख्न नसक्ने हामी मुर्ख मनुवाहरु ।

यौटा निश्चित समयावधीको अन्तरालका कुराहरु उप्काउन खोज्दै जाँदा क्रमश आजसम्मकै जीवनका अन्तरालहरु उपस्थित हुँदै गए र म अन्यौलमा फँस्दै गएं कि कुन कुरालाई लेखुँ ? लेखिसकेका धेरै कुराहरु त मेटिसकेको छु । के अब सबै सुरुवातबाट लेखुँ ? अहँ यो यति सजिलै लेखिने कुरा होईन । यस्तै मात्र लागिरहयो, त्यसो त यहाँनेर पनि अन्यौलमा छु म, यो यस्तै लागेको नै हो कि अथवा मैले यस्तो लाग्नुलाई जोड दिएको हो ? लेख्दै जाँदा थपिँदै गएका कुराहरुले कि त मेरो लेखलाई भद्दा बनाउने छ या त जति लेखेर पनि यो अधुरो नै रहने छ । निचोड यस्तै बन्यो ।

लेख्न खोजिएको अन्तरालको कुरा लेख्ने नै हो भने दुई वाक्यांसमा लेखिएला तर अन्तरालका कुराको सीमा वृहद बन्दै गयो । थपिंदै गए अन्तरालहरु र म केवल गोडा पाँचेक हरफमा आफ्ना कुरा लेख्ने ब्लगर(लेखक नै भनुँ न) रहिनं । म स्वयं यौटा यस्तो पात्र बनें जस्ले भोगाईको हकमा जीवनका सबै यामहरु भोगेको छ र अन्तरालका कुराहरुमा ति सबै यामहरुको उपस्थिती आवश्यक छ । जो नफुल्नु खुशी फुलेको छ, नदुख्नु पीडा दुखेको छ र ति खुसी र पीडाका क्षणहरुले पनि अन्तरालका कुराहरुमा आफ्नो वर्चस्वको हकदाबी गर्दछन् । जब थोरै कुराहरु भन्न खोज्दा अर्थात लेख्न खोज्दा आफुलाई यस्तो अवस्थामा पाईंदोरहेछ तब लाग्दोरहेछ कि त यो लेख्नुको औचित्य छैन या फेरी लेख्ने समय नै भएको छैन ।

त्यसो त एक ब्लगर भएर मैले आफुलाई एक खुल्ला किताब भनेको छु । यो मलाई लाग्छ - म मात्र हैन हामी सम्पुर्ण ब्लगरहरु नै यौटा खुल्ला किताब सरह हौं जो आफ्ना मनका अक्षरहरु, ति जतिसुकै नितान्त ब्याक्तिगत किन नहुन ब्लगका पानामा कुनै न कुनै माध्ययमले छाप्ने गर्छौं र अलिकति राहतको स्वास फेर्छौं । यस्तो सोच्दासोच्दै, अनायस कति कुराहरुमा हामी मनका अक्षरहरुलाई ब्लगका पेजहरुमा हुबहु फोटोकपिझैं उतार्न सक्दैनौ पनि । भनौं न ब्लग मनको ऐना हो भने मनको अक्षर त्यसमा देखाउनलाई प्रतिविम्बित मात्रै गरेर पुग्दैन, त्यसो गर्दा त्यो उल्टो देखिन जान्छ यसर्थ हामी मनका अक्षरहरुलाई अरुले बुझ्ने गरेर र धेरैजसो चैं आफुले अरुलाई बुझाउन चाहे अनुशार आकार/प्रकारमा फेरबदल गर्ने गर्छौं । ब्याक्तिगत कुराहरुको लेखाईमा यो प्रयास प्रायस सबै ब्लगरहरुमा लागू हुन्छ । जस्तै मलाई नै भै रहेछ ।

अन्तरालका कुराहरु लेख्ने जमर्कोमा म ति नै अन्तरालका गहिरा खाडलहरुमा यसरी खसुँला भन्ने कहाँ थियो र ? लेख्दैथिएँ सरर सरर मानौं कि ममा उस जूगका महान लेखन्दास गणेशकै जस्तो बिद्युतिय लेखन शक्ति छ तर लेख्दै जाँदा महसुस हुँदै गयो लेखन्दास बन्ने शक्ति हुनु र लेखक बन्ने शक्ति हुनु दुई पृथक कुराहरु हुन् । प्रसंग उप्किंदा अलिकति गणेशको बारेमा बोलीहालुँ - त्यत्रो विद्युतिय गतिमा लेखन शक्ति भएका गणेशले किन यौटा पनि आफ्नो कृति लेखेनन् होला ? आफ्नो यौटा पनि कृति नलेख्ने गणेशको कस्तो बिद्युतिय गति थियो होला त लेख्ने ? के गणेशसँग कम्प्युटर थियो छिट्टो लेख्नलाई जस्तो अहिले मैले प्रयोग गरिरहेछु ? त्यसो हो भने गणेशसँग द्रुत गतिमा लेख्ने बिद्युतिय शक्ति हैन साधन थियो भन्न पर्छ होला सायद र साधन प्रयाप्त भएर मात्र निर्माण हुन्छ भन्ने जरुरी छैन । कृति तयार गर्नु एक प्रकारले निर्माण न हो जहाँ यथेष्ट परिकल्पनाको खाँचो पर्छ । त्यसैले गणेशले आफ्नो कृति लेखेनन् होला । आँखिर उनि परिकल्पना प्रेमी भन्दा पनि परिक्रमा प्रेमी त दरिएकै हुन् । लगभग त्यस्तै नै अवस्था होला मेरो यो अन्तरालका कुराहरु लेख्नु जो म साधन भएर मात्र लेख्न सकिरहेको छैन । सायद ब्यापक परिकल्पनाको खोजीमा छु ।

अन्तरालका कुराहरु लेख्ला यो ज्यानले । म आशावादी छु आफैंसँग । त्यसले समय लेला । त्यसको स्वरुप अहिले मैले कल्पना गरेको भन्दा अलग होला तर अन्तरालका कुराहरुले मनमा एक प्रकारको जुन घर बनाउँदैछन् तिनले पूर्णता पाएपछि त्यो अवश्य लेखिएला कुनै न कुनै उपायले । अहिलेलाई अन्तरालका कुराहरु मध्येको यौटा कथा एक हरफमा लेख्दैछु साथमा यौटा तस्विर राखेर । यो लेख्दिंन, लेख्नेबेला भएको छैन ईत्यादी ईत्यादी प्रतिको अन्तरविरोध हो अर्थात बनाउँदैछु । कथा भनिसकेपछि यौटा शिर्षक पनि चाहियो भनेर यो कथालाई 'जीवन साथी' शिर्षक दिएको छु ।

'जन्मेदेखि आज पर्यन्त कहिल्यै नछोडी सँगै लिएर हिँडीरहेको जीवनले थाहै नपाई बनाएका अन्तरालका गहिरा गहिरा खाडलहरु माझको कतै पुगेर साथी भेटाएको छ - जीवन साथी ।' यो फोटो कथा यति नै ।

फोटोको सम्बन्धमा: यो मेरो दोश्रो विवाहको तस्विर हो र उपज जीवन-अन्तरालकै ।

क्रमश...........(भलै यसको अत्तोपत्तो छैन ।).................

Tuesday, December 08, 2009

गजल : ब्यर्थै तिम्रो ईश्वरलाई

अनियमित दैनिकी भोगीरहेछु । .........'यो वाक्य लेखिसक्ने बित्तिकै म रोकिएँ । एकैछिनलाई हैन धेरैबेरलाई । के गरेँ त रोकिएर ? यसको कथा पछि फेरी अर्को ब्लगमा भनुँला ।...........' त्यसैले ब्लगमा सोचे जसरी प्रस्तुत हुन सकिरहेको छैन । लामो अन्तराल पछि ब्लगमा भोलीको भूमिका भनेर लेखेको थिएँ । जस्को प्रतिक्रियाले मुख्य भन्न खोजेको कुरा अझै सशक्त ढँगले भन्नुपर्ने दवाव दिएको छ । त्यसलाई निरन्तर लेखिरहेको छु तर पुरा गर्न सकेको छैन । त्यहि लेख्दालेख्दै 'सुर्काउने गाँठो जिन्दगीको' भन्ने कविता लेखेँ र ब्लगको एक पेज थपें । यसपल्ट पनि म अन्तरालका कुरा लेख्न बसेको थिएँ तर लाग्यो त्यो म एकैछिनमा एक टुक्रा कविता लेखे जसरी वा यौटा गजल जबर्जस्ती पुरा गरे जसरी पुरा गर्न सक्दिंन । त्यसैले ब्लगमा अर्को पेज थप्नको लागी निक्कै पहिले लेखेको तर फुर्सद नपाएर ब्लगमा चढाउन नभ्याएको यौटा गजल लिएर आएको छु । यसको पहिलो शेर(मतला)लाई निक्कै पहिले फेसबुकमा लेखेको पनि थिएँ ।

गलत् भनिंन तिमीले पूजिरँ'दा पत्थरलाई ।
नलगाउ मेरो कुरा ब्यर्थै तिम्रो ईश्वरलाई ।

नटेक्दैमा मठ्-मन्दिर हुन्न म अनिश्वरवादी,
सकेको छु मैले मान्न मन्दिर आफ्नै घरलाई ।

के हिसाबले भन्छौ तिमी द्यौता आफ्नै मात्र पेवा,
उसले आफ्नै ठान्छ भने जगत् चराचरलाई ।

मन्दिर धाई फिर्दा अरु मान्छे होचो देखेसम्म,
खेद ! रहनेछ द्यौता ढोग्ने ति दुई करलाई ।

तिम्रो पूज्य ईश्वरमात्र हैन मान्छे पनि हुन्छ,
सक्यौ हटाउन भने यदि मनको 'तर'लाई ।

ईश्वरत्व त्यसमा पो छ जस्ले सक्छ अहँ त्यागी,
स्विकार्न 'यो धर्तीका सब जीव बराबर'लाई ।

Friday, December 04, 2009

कविता : सुर्काउने केहि गाँठोहरु जिन्दगीका


सुर्काउने केहि गाँठोहरु
फुस्कँदै गए जिन्दगीका
मानौं सबै सबै नै थिए ति
यसैगरी फुस्कनलाई सहजै
जालान कतिहरु त अझै
फुस्कँदै झनै हेलैसँग
क्रमै अनुशार सुरुरु सुरुरु
जस्तो कि,
बाँधिएकै थिएनन् कतैपनि गाँठोहरु
जिन्दगीको डोरीमा
कुनै साईनोहरुको ।

साईनोहरु
अर्थात साईनोहरु जिन्दगीका
अप्रत्यासित बदलिएर
बाटिँदै पोया पोया डोरीझैं
सुर्काउने केहि गाँठोहरु
कसिँदै गए जिन्दगीका
भनौं यि पनि हुन सबै सबै
यसैगरी कसिनलाई सजिलै
जालान कतिहरु त अझै
कसिंदै झनै मेलैसँग
क्रमै अनुशार टिमिक्क टिमिक्क
जस्तो कि,
फुक्नै पर्दैन कहिल्यै पनि गाँठोहरु
जिन्दगीको डोरीमा
कुनै साईनोहरुको ।

हो साईनोहरु
अर्थात साईनोहरु जिन्दगीका
फगत सुर्काउने गाँठोहरु हुनभने
म मान्छे
किन रुन्छु बेस्सरी
फुस्कँदा जिन्दगीको
यौटा सुर्काउने गाँठो
किन फुर्किन्छु बेस्सरी
कसिंदा जिन्दगीको
यौटा सुर्काउने गाँठो ।

Tuesday, December 01, 2009

यो केवल भूमिका हो भोलीको


हिसाब कैले पो गरिएको थियो र जिन्दगीलाई ? बेहिसाब यो जिन्दगीको पनि तर हिसाब खोज्न लागिंदोरहेछ कैलेकाँही । भनौं न जिन्दगीलाई हिसाब नगरी त राखिएकै थिएन । यहिँनेर जिन्दगीको केरमेट सुरु हुन्छ र पत्तै लाग्दैन कहाँ कैले के लेखियो र मेटियो । गर्दै नगरेका कामकुराहरुको पनि हिसाब निस्कन्छ कैले जिन्दगीमा त कैले एक एक हिसाब संगालेको जिन्दगी पनि बेपत्ता हुन्छ जिन्दगीबाट । कैलेदेखि आफुलाई हराएं ? कैले आफुलाई भेटाएँ ? कस्तो अवस्थामा जिन्दगीलाई छोडेको थिएँ ? र भेटाउँदा जिन्दगी कस्तो भयो ? नढल्नु अर्कै कुरा हो तर रिँगटा छुटट्छ जिन्दगीको हिसाब मिलानमा तब भनिंदो रहेछ - हिसाब कैले पो गरिएको थियो र जिन्दगीलाई । सायद जिन्दगीको भाउन्नबाट छुटकरा पाउन यसो भनिन्छ तर के पाईन्छ त छुटकरा जिन्दगीको भाउन्नबाट ? अहँ मलाई त पट्टक्कै लाग्दैन जबसम्म कोसिस गरिन्छ मिलाउन तबसम्म जिन्दगीको हिसाब किताबको झमेला कायम रहन्छ जब कोसिस गर्न बन्द हुन्छ तब झमेला पनि समाप्त हुन्छ ।

यसको गहिराईमा नगएकै राम्रो अहिले । अथाह गहिराई भएर पनि जिन्दगी आँखिर सतहमै समाप्त हुन जान्छ । हामी सतहबाट न माथी उठ्न सक्छौं न तल तल गहिराईमा पुग्न सक्छौं । जति पुगेका छौं भन्छौं त्यो केवल भ्रम हो भन्छु म । प्रकाश सायमिको शब्द सापटी लिएर भन्दा जिन्दगीको गोबर झ्याउलोमा लुट्पुटिएर म कतिखेर गोब्रेकिरो भएर जिन्दगी देखि हराएँ र आज जिन्दगीको धागो समाएर आएँ ? यत्तिकुराले फेरी ब्लगमा जोडिने कोसिस गर्दैछु वास्तवमा म । त्यसभन्दा पर जिन्दगीको कुरा त कुरै मात्र न हो ।

लामो भएको हो यो अन्तराल । समयको यो लामो अन्तराल यतिखेर एकै गुजुल्टो भएर डल्लिएको धागो जस्तै हत्केलामै खेलाउन सक्ने भएको छ । यो कस्तो भने भनौं न सर्सर्ती सम्झिएको यो अन्तराल भरीको समय चैं डल्लिएको धागो र अलि बिस्तारमा त्यही समयलाई सम्झिंदा चैं त्यही धागो फुकाएर बिस्तारमा तन्काईएको जस्तो ।

यस अन्तरालभित्रका कुराहरु कहाँबाट सुरु गर्ने ? खोतल्ने मेसो नै हराईसकेको झैं भएको छ । हुनपनि यस अन्तरालमा धेरै उथलपुथल र फेरबदल भयो जिन्दगीमा । तिहार थियो त्यो बेला जब मैले पछिल्लो टाँसो तिहारकै बारेमा लेखेको थिएँ । तिहारको टाँसो चढाईसकेपछि अनेक पल्ट अनेकथरी कुराहरु लेखें तर ब्लगमा राखिँन फलत समयले त्यसमध्ये कतिलाई पुरानो बनाईदियो कतिलाई तर्साएर सातो लियो ओभरडोज हुन्छ भनेर । कठै ! ओभरडोज हुने डरले सातो उडेका मेरा ति रचना सामाग्रीहरु पछि कालोनीलो भएर तर्साउने समयले नै ओभरडोज खाएको ट्वाल्ल परेर हेर्न बाध्य भए । अब म क्रम मिलाउने छु ताजगी भरेर तिन्लाई ओकल्ने । अहिले त म मात्र भूमिका लेख्न बसेको रहेछु हो यो केवल भूमिका हो भोलीको ।

हे समय
केहि सम्हालिन त देउ मलाई
दुरुस्तै बुझाउंन नसकुँला
तर लगभग हिसाब राखेको छु तिम्रो
भाचुँला औंलाहरु, नसके
गनेर आँख्ला आँख्ला औंलाहरुको
तिम्रै गन्ती गरीगरी
निकाल्नेछु हिसाब आफ्नै जिन्दगीको ।

Saturday, October 17, 2009

तिहारका कुरा,कविता र शुभकामना !

तिहार छ यतिबेला तर म भूगोलको त्यो अप्ठ्यारो ठाउँमा छु जहाँको वातावरणमा म तिहारको छनक बिल्कुल भेट्दिंन । न खेत छ न खेतमा झुलेका धानका बाला छन् । न आली, कान्ला छ न आली, कान्लामा फलेफूलेका मास, भट्मास छन् । बिहान त्यो घामको झुल्को आएर सयपत्रीलाई चुम्दैन यहाँ । घरहरु छन् यहाँ, आँगनहरु पनि छन् यहाँ तर करेसोमा झुप्पा झुप्पा मखमली छैन । मध्यान्हको शरिर चिर्चिराउने घाम पनि छैन यहाँ तर तिहारकै बेलाका कालो रातको झैं चिसो शीत छ यहाँ । यो शीत प्रदेशमा चिसो छ केवल चिसो र यहि चिसोमा एक प्रकारको न्यानो छ ह्रदय भित्र र त्यही न्यानो ह्रदयमा तरेली तरेली सम्झनाहरु अझ न्यानो खापका खाप छन् र ति खापहरु मध्ये पनि यतिबेला सम्झनाको घरका चोटाकोठा तिहारले भरिएको छ । हो तिहार छ यतिबेला ।

कतै नपोखिउँ म भरिएर सम्झनाको घरको बलेँसीमा त्यसैले बचाउन आफुलाई कम्प्युटरमा जिम्मा लगाउँछु ।

अहो! यो कम्प्युटर! एकान्त बासमा यसले दिएको सेवालाई म बयान गर्न सक्दिंन । कम्प्युटर प्रदत्त संसारमा पनि तिहार छताछुल्ल पोखिएको छ - हरिभक्त कटुवालको कल्पनामा संघारभरी घामको झुल्को पोखिएझैं । म सम्झन्छु - लक्ष्मी पूजाको साँझ घरमा लक्ष्मी पूजा हुँदैगर्दा मलाई लक्ष्मी प्रसाद देवकोटा पूजा गर्न मन लाग्थ्यो । आमाले लक्ष्मीको तस्विर(काल्पनिक हो तथापि) हुँदाहुँदै लक्ष्मीको प्रतिक द्रब्य(जो हुन्थ्यो आमासंग), लगायत तामा, पित्तल र काँसका भाँडाहरु(गाग्रो, लोहोटा, करुवा , थाल ईत्यादि) निर्मित पूजा स्थलमा भेलागर्दा मसँग देवकोटाको भनेजस्तो गतिलो यौटा तस्विर हुँदैनथियो राखेर पूजा गर्नलाई तर लक्ष्मीपूजाको रात आफु घरमा भएर लक्ष्मी पूजा गर्दा मलाई देवकोटा पनि पूजा गर्न मन हुन्थ्यो । मलाई पाठ्यपुस्तक पल्टाएर 'यात्री' कविता आमाले निर्माण गर्नुभएको पूजास्थलमा राखेर पूजा गरेको याद छ ।

आज लक्ष्मी पूजा । गुप्तबास बसेझैं परदेशमा आज यो पर्व, आज उ तिथी भन्दै वर्षौं बितीसकेका छन् । खै के ले कसरी रोकेको छ ? यति रमाईला चाडपर्वहरुमा सयपत्री झैं फूलेर देउसी र भैलो गाउँन गाउँघर पुग्न सकिरहेको छैन । घरमा हुँदा तिहारको रौनक बेग्लै हुन्थ्यो । दशैंले बिदा लिन नभ्याउँदै तिहारको तयारीमा जुट्थ्यौं हामी । पुरा का पुरा पाँचदिनको तिहारले नपुगेर हामी भाईटिकाको भोली पल्टसम्म घर घर देउसी गाइरहेका हुन्थ्यौं, नाच देखाइरहेका हुन्थ्यौं । ति सब सुखबाट विमुख हुँदापनि यो परदेशमा तिहार कसरी उल्लासका साथ मनाउने भनेर पहल गरिन्छ अब हरेक वर्ष अझै जोडतोडका साथ सबैतिर । हामीले धेरै गर्न नसकिने भएपनि भोली आइतबार भाइटिका लगाएर चेली कमाउने सम्मको योजना बनाएका छौं ।

त्यसभन्दा पर(यो मेरोलागी वर हो हुनत तर भन्नलाई पर भन्ने गरिन्छ) मैले महाकवि देवकोटाको पूजा गरेँ ह्रदयले र यौटा कविता लेखेँ उनको सर्वाधिक लोकप्रिय तथा अमर कृति मुनामदनमा प्रयुक्त झ्याउरे लयमा । महाकविकै सम्मानमा , महाकविकै सम्झनामा ; मुख्य कुरा देवकोटाको प्रेममा । हो देवकोटाको प्रेममा मैले कविता लेखें भन्दा मलाई सजिलो भयो किनभने महाकविको सम्मानमा त धेरैले धेरै गरिसकेका छन् । मैले गर्नसक्ने भन्दा निक्कै धेरै या भनौं मैले जीवनभर गर्न नसक्ने जति धेरै । देवकोटालाई मैले आफुले जीवनभर गर्न सक्ने भनेको केवल प्रेम हो । भलै मैले गर्नुपर्ने अनेक पात्रप्रेमहरु मध्ये यो एक झिल्का नै किन नहोस् तर यो प्रेम नै हो त्यसैले मैले देवकोटाको प्रेममा कविता लेखें र उनकै प्रेममा उनैलाई समर्पण स्वरुप आज लक्ष्मीपूजाको दिन ब्लगमा राख्दैछु । तस्विर गूगल मार्फत लिएको हुँ ।

(यस कवितालाई माइसंसारमा स्थान दिनुहुने उमेशजीलाई पनि मेरो अनेक धन्यवाद छ । मेरो कविताले स्थान पाएकोमा हैन बल्कि महाकवि देवकोटाले माइसंसारमा स्थान लिएकोमा ।)

पख्नुस् ! कविता पढ्नु भन्दा अगाडी सयपत्री र मखमली ईत्यादि फूलहरुको पर्व, झिलीमिली झिलीमिली बत्तिहरुको पर्व यो रमाईलो तिहारको मंगल कामना दिँदैछु लिएर जानुस् - हार्दिक शुभकामना !



आकाशमा देवकोटा



बनाई बाटो चिनाएँ माटो भूस्वर्ग त्यो धराको ।
कल्कल नदी सँगीत सरी स्वर सुरिलो चराको ।।
सुनाएँ खोलि आत्माको झ्याल निनाद ह्रदयको ।
देखाएँ झेलि गरीबी हाल अभावको भयको ।।
बुझाउनु'थ्यो कष्टमा पनि हाँस्न सक्छौं कसरी ।
रुझिरहँदा झरीमा पनि फूल्छ फूल जसरी ।।
मरेर अर्कै लोकमा पुग्दा पनि म त्यै नेपाली ।
जो छुन्छ तराई-पहाड-हिमाल पुग्दछ मेचिकाली ।।
यतिका पछि वायूमण्डलमा घुमिघुमि यो कवि ।
हेर्दैछ उस्को प्यारो नेपालमा उदाएनछन् रबि ।।
शरिरैभरी घाउ लगाई आमालाई लुछेर ।
कुरुपै पारी रुवायौ आमाको आँशु नपुछेर ।।
मैले देखेको ठुलो नेपालमा के भेटेनौ ए मदन् ?
काटेर मुग्लान् नाघेर भोट कहाँ पुग्यौ खोज्दै धन् ??
सबैले पढ्दा त्यो बोली मेरो मदन भै बोलेको ।
अशान्त मुटु भा'को थ्यो शान्त यो छातीमा पोलेको ।।
ब्यावहार तर चिताए जति देखिँन फेरिएको ।
ए, बन्धू तिम्रो ह्रदय कस्तो छ के ले बेरिएको ??
मेटाई आ'थेँ ति रेखा तप्का मैले ई नै हातले ।
अझै नि तलै रहेका कठै ! नेपाली नै जातले ।
******
नेपाल देश नेपाली भाषाको यहि आशक्तिले ।
लत्याई दैलो स्वर्गको पनि नेपालीकै भक्तिले ।।
हेलिँदै नभमण्डलभरी यै नेपाल भूमी माथी ।
उज्यालो दिब्य ज्योति दिएर अझै हामीलाई साथी ।।
भन्दैछन् आज त्यो देवलोकमा मान्छे भएछन् छोटा ।
झार्दैछन् आँशु पीडाले तप्प आकाशमा देवकोटा ।।

Wednesday, October 14, 2009

कविता : के म मान्छे हुँ त ?

म चोर्दछु लुट्छु गर्छु काटमार
जुटाउन फगत् पेटको आहार ।
जानेर हो यो पाप नै तार-तार
हिंड्दछु म बाटो पापकै हजार ।। १

गरि पशुतुल्य कर्म ब्यावहार
थुनेर सब आत्मज्ञानका द्वार ।
म लाउँछु मान्छे नामको जुहार
पुकार्छु मैलाई मान्छे बार-बार ।। २
**
भन्छु पाएँ धन्य यो मान्छेको भेष
म बोल्छु अब्बल अर्ति उपदेश ।
हिसाब 'मेरो'को राखि केश-केश
म उमार्छु आफैं रीस, राग, द्वेष ।। ३

जान्दछु म भाग लानेछु निशेष
गर्दाकन यो प्राण हरिमा पेश ।
जगको म हुँ मिथ्या बीजन क्लेश
सम्झन्छु म मान्छे आफुलाई बेश ।। ४
**
जोडिन म आफु रचि धेर झूट
गराउँदछु सदा अरुमा फूट ।
तृष्णा अमेट प्यूँने यो प्रेम-घुँट
बाँड्नु परे दिन्छु छली कालकूट ।। ५

सदगूण मानि जो छ आफ्नो खुट
देख्छु दुर्गुण जगैको पुट-पुट ।
गुणगान आफ्नै गाउँदै अटुट
मै दिन्छु मलाई मान्छे ठान्ने छुट ।। ६
**
तुजुक हुन्जेल किन अरु चिन्छु
म ईश्वरैसँग पनि टेक लिन्छु ।
गलेर जब म ह्याउले खिइन्छु
तब ईश्वरको पाउमा झुमिन्छु ।। ७

उ ईश्वर हो म शरण लिइन्छु
र स्वार्थी म ईशैलाई धोका दिन्छु ।
म झूटै ईशको पूजा गरिहिन्छु
र उस्को एकमात्र भक्त भनिन्छु ।। ८
**
बटुली घरमा द्रब्यादि अकूत
भुल्दछु म आफ्नै भविश्य र भूत ।
नशाले धनको म भएर धूत
गरिरन्छु अनेक भाँति कर्तुत ।। ९

भएर मानिस योनिको कपूत
भनाउँछु आफुलाई देवदूत ।
जगतमा जति छन् ई प्राणीसूत
हो निघृणी मै छु, के म मान्छे हुँ त ? १०