Friday, January 16, 2009

श्रद्धाञ्जली बाबुराम दाइलाई

यो तस्विर उनि अगष्ट २००७ मा वासिङटन डि सी आएको बेलाको गुगल सर्च गरेर लिएको हुँ तस्विरमा कालो कोटमा छन उनि ।

सँधैं झैं कम्प्युटर खोलेर माई संसारमा पहिलो पाईला हालेँ आजपनि । कामको बिचमा ३ घण्टे ब्रेकको समयमा हुनाले सरर एक सर्को नेपालका खबरहरुमा आँखा दौडाउने बिचारमा थिएँ । आँखा पर्यो - श्रद्धाञ्जली ईन्द्र लोहनीलाई - जय होस् भन्ने टाउको भएको माई संसारको पोष्टमा । ह्रदय घातको कारणले अधिवक्ता ईन्द्र लोहनी , वहस कार्यक्रमका हक्की प्रस्तोता ईन्द्र लोहनीको अवशान भएछ । पत्याउनै गाह्रो भयो । भित्रै देखि मुटु काँपेर आयो । मृत्यु हरेकको निश्चित छ तर असामयिक मृत्युले धेरैलाई दुखि बनाउँदो रहेछ । ईन्द्र लोहनी गाउँले दाइ भएर पनि म त्यतिधेरै नजिक थिईनँ तर म सानो फुच्चे हुँदा सत्य हरिश्चन्द्रको कथा सुनाएको स्थल कृष्णे खोलाको पुरानो भत्किएको कल्भर्ट याद आयो । गोठालाको कुरा हो यो - हामी फुच्चा फाच्चेहरुलाई गोठालामै पनि फट्याँई गर्नुहुन्न भन्थे उनि नत्र गोठालामा उपद्रो सिकाउने बाहेक कहाँ हुन्छ र ?

उनि पारीपट्टी तोपगाछी गाबिसका र म वारीपट्टी गौरादह गाबिसको भएपनि गाउँ एकै जस्तो भएकोले होला साथै शारिरिक उचाई जस्तै उनि प्रतिको श्रद्दा चुलिएको भएर होला यो दुखद समाचार सुनेर पनि अझै विश्वास हुन सकिरहेको छैन तर सत्य यहि नै हो कि ईन्द्र लोहनी अब रहेनन । हामी उनलाई बाबे दाइ भन्थ्यौं , घरमा उनलाई बाबुराम भनेर बोलाईन्थ्यो । गाउँले गर्व गर्न लायक ब्याक्तित्व बाबुराम दाइको आत्माले परलोकमा चीर शान्ती प्राप्त गर्न सकोस् साथै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न सक्ने बल दिउन । हार्दिक समवेदना सम्पुर्ण परिवारमा एवँ हार्दिक श्रद्धाञ्जली बाबुराम दाइलाई ।

6 comments:

Prabesh said...

मलाई पनि धेरै स्तब्ध बनायो दाइ इन्द्र लोहनीज्यूको दू:खद् निधनले । भर्खर टिभिमा अन्तिम संस्कारका लागि राखिएको उहाँको पार्थिव शरीर हेरेर आको मनै कस्तो अमिलो भइरको छ । अनुहार हेर्दा त अब जुरूक्क उठेर जय होस् भन्नुहुन्छ होला जस्तै लाग्ने !! मान्छेको जीबन पनि के हो के हो खै !!

Unknown said...

मन पर्ने पल्ल घरे दाई बिते भने सबैको मन दुक्छ । आज इन्द्र लोहनी जस्ता होनहार संचारकर्मी गुमाउनु परेको छ हामीले । दु:ख लागेर आउछ । चाकरीवाला पत्रकारहरु भनाउदाहरुको अगाडि असली संचारकर्मिको उदाहरण ति ईन्द्र आज बिते । ति तपाईंका आफन्त पर्थे, गाउले पर्थे वा कोही तर ति हामी सबैका नेपाली पर्थे । आज तिनी गए हामीलाई छोडेर । सतिले सरापेको मेरो देश । ईन्द्र आज गए । हिजो उमा गइन । कालको अनेक स्वरुपले । जती डोरी बाते पनि एउटै गाठो । ईन्द्र लोहनी प्रती श्राधान्जली अनी परिवार प्रती समबेदना !!!

Anonymous said...

नेपाल आमाले एक होनहार सुपुत्र लाई गुमाइन । यो बियोग को घडीमा सम्पूर्ण नेपाली - लोहनी ज्यु को परिवार सबै सबै लाई इश्बर ले धैर्य धा र ण गर्न सक्ने छेमता दिउन ।
दिबगन्त आत्माले चिर शान्ती पाओस ।
भाबपूर्ण हार्दिक श्रादन्जली ।

Jotare Dhaiba said...

साँच्चै धेरै मान्छे मर्छन् दीपकजी ! तर असमयिक निधनले मन पोल्छ । आँफै मरिन्छ अलिकता । झन् देशको लगि भुमिकदायि मान्छे गुमाउनु पर्दा कस्तो होला ?
अपूरणीय क्षति भयो ।
ईन्द्र दाईको आत्माले जहाँ गए पनि चैन पाओस् ।

Yumesh Pulami said...

उनकै शब्दमा- जय होस् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दा'छू ।

कैलाश said...

रातको ११ बजेतिर इन्द्र लोहनीको निधनबारे News Flash को रुपमा टेलिभिजनको स्क्रोलबारमा देख्दा मलाई पत्याउन गाह्रो भाथ्यो। त्यो देख्नासाथ अरु कोही या दोस्रो व्यक्ति पो हो कि भनेर न्यूज च्यानल बदली बदली हेरे। अन्तिममा उनै कर्मशील इन्द्र लोहनी भएको भन्ने मनमा पक्का भएपछि त ज्यादै खल्लो अनि नरमाइलो लाग्यो। ठूलै क्षति भएको छ उहाँको निधनबाट। त्यस दिनदेखि मलाई उहाँले सञ्चालन गर्नुभएको बहस को विज्ञापनमा देखिने दृश्य(जहाँ प्रश्नवाचक चिन्हहरु उहाँको वरिपरि छरपष्ट देखिन्थे)झैँ दिमागमा प्रश्नचिन्ह नै घुमीरहन्छ। आखिर किन देशको दक्ष, होनहार अनि व्यक्तित्वहरु नै अघि अघि बिदा हुनुपर्ने ? खैर हुने हुनार दैब नटार। जय होस्!!

हार्दिक श्रद्धाञ्जली।