Sunday, September 28, 2008

कविता लेख्न नसकेपछि

निक्कै उत्साहित भएको छु म माईसंसारमा साताको एकपटक कविता लेख्ने चुनौति सहितको फोटो राखिन थालेपछि । पछिल्ला केहि साता देखि उत्साहित हुँदै लेख्दैपनि आईरहेको थिएँ । त्यस्तै आजपनि शनिबार साहित्य अन्तर्गतको फोटो माईसंसारमा कतिखेर आउंछ भनेर प्रतिक्षामै थिएँ । जब चुनौति बोकेर फोटो आयो तब बसें कविता लेख्न । निक्कैबेर सम्म घोरिएँ । फोटोमा लटाई बिनाको चङ्गा ( कुनै धागो छिनेर खसेको झैं ) उडाउने प्रयास गरिरहेको बालक देख्दा मेरो मगजभरी अनेकौं प्रश्नोत्तरको हलचल भै रहयो परन्तु त्यस हलचललाई टुँगोमा पुर्याएर कविता लेख्न सकिनं । अनेकौं कोसिस गर्दापनि पट्टक्कै नसकेपछि कविता लेख्दिनँ भन्ने निचोडमा ओर्लिएँ म र यौटा हाईकु लेखेर छाडिदिएं माईसंसारमा । हाईकु , जापानिज भाषाबाट लेख्न शुरु गरिएको तिन हरफे कविता , लाई म नेपालीमा तिहक (तिन हरफे कविता) भन्दा उपयुक्त हुने ठान्छु । हिन्दीमा र नेपालीमा नै पनि दुईहरफका कविता लेखेर दोहक भनिने भएकोले तिहक त्यसैको नक्कल जस्तो देखिएला तर दोहक पनि नेपालीमा लेखियो भने त्यो त्यसैपनि नक्कल नै हुन्छ त्यसैले यसै नक्कल उसै नक्कल हाईकुलाई तिहक नै भन्दिउँ कि क्या हो ? तर मैले भनेर हुन्छ र ? सबैले हाईकुलाई हाईकु नै भन्छन् त्यसैले ल हाईकु नै भो । आउनुस् यौटा हाईकु सुनाउनलाई के को यत्रो महाभारत रचिराखेको होला मैले सुनाईदिन्छु ।




सँघारको दशैं
मनहरु उडेछन्
चङ्गा र बालक ।


माईसंसारमा हाईकु लेखिसकेर यता ब्लगमा यो गन्थन कोरुन्जेल सम्म १८ वटा कविताहरु जम्मा भएका थिए जसमध्ये माईसंसार मार्फत परिचित तथा आत्मिय मित्रहरु लुना र मनीषको कवितामा मैले लेख्न खोजेको तर नसकेको कुराहरु पाएँ । लुनाजी माईसंसार हुँदै मेरो यो ब्लगमा साथै मेरो ब्लगमा लिँक भएका अन्य ब्लगमा समेत परिचित भै सक्नुभएको छ । निक्कै सुन्दर सुन्दर कविता लेख्नुहुने लुनाजीलाई म करुणाकि प्रतिविम्ब उपमा दिंदै यौटा आफ्नै ब्लग लिएर आउन यहाँबाट पनि अनुरोध गर्छु ।

3 comments:

ठरकि दादा said...

त्यो फोटोले कविता नफुरे पनि हाईकु र यौटा ब्लग पोष्ट त बनेछ, त्यो पनि राम्रै हैन र?।

तपाईको गजल र कविताहरु बेला बेलामा पढ्छु, राम्रो लाग्छ।
विजया दसमिको शुभकामना ।

Unknown said...

धन्यवाद ठरकी दादा , यौटा हाईकु सम्म लेख्दा पनि आनन्द त लागेकै छ नि त्यसो त । तपाईंलाई पनि दशैंको शुभकामना है ।

Anonymous said...

दिपक जि !
राम्रो लाग्यो 'हाइकु ' :)
अनी हाइकु भनेको यस्तो रहेछ थोरै पारीभासा पनि थाहा भयो । धन्यवाद तपाईं लाई ।
ब्लग लेख्न भन्नु भो ! ओहो !
हैन म जस्तो कम्प्युटर को 'क' पनि जान्न मुश्किल भएकी मान्छे ले ब्लग कसरी चलाऊने ? हे ! हे ! फेरी समय समय मा ब्लग मा सामाग्री थपिरहनु पर्छ ।
त्यस्तै कती प्राबिधिक समस्या पनि झेल्नु पर्ने हुन्छ । बा! बा! यस्तो गर्हो काम गर्दिन म त :)
फेरी पनि धन्यवाद है तपाईंलाई यती धेरै माया दिनु भएको मा ।
शुभ कामना दसैंको उपलछ्यमा तपाईं लाई अनी त्यहा हुनु भएका सबै नेपालीहरु लाई ।