Wednesday, September 24, 2008

दुई गजलहरु : हिंड्दा घरबाट र फर्किंदा घर

मैले पछिल्लो पटक लेखेका दुई गजलहरु आज पस्किने विचार गरें । हुनत यि गजलहरुको कुरा मैले पहिले नै ब्लगमा कोट्याईसकेको पनि छु , यौटाको 'बाँको ' ले शब्दपागल बनायो भनेर र अर्कोको त मतलानै लेखेको थिएँ । यि गजलहरुमा पहिलोमा मैले घर छाड्दाको अनुभुति र दोश्रोमा लामो अन्तराल पछि घर फिर्दाको अनुभुतिलाई उतार्न खोजेको हुँ ।
-------


हिंड्दा घरबाट भनेथे कसैले भात फालेर गयो ।
कसैले भनेथे लोसे'थ्यो साह्रै , क्या बात ! फालेर गयो ।

अवसरवादी बनाई मलाई भने कसैले चाँही ,
यतिञ्जेल थामेथ्यो जस्ले उसैको हात फालेर गयो ।

शुभेच्छा भनेर गुच्छा गुच्छा ति फूल जजस्ले दिएथे ,
भनेछन् जानेबेलामा सबै फूलपात फालेर गयो ।

उज्यालो साथै लिएर गएछ भनेछन , निष्ठुरीले
हामे'र्का भागमा निष्पट्ट कालो यो रात फालेर गयो ।

छाडेथें अन्तिम चिठ्ठी लेखेर दीपक 'जडित ' भई ,
हल्ला मचाई भनेछन सबैले जात फालेर गयो ।

-----------


फर्किंदा घर वर्षौंपछि काँ'को काँ'को भएछु म ।
आफ्नैलाई कोक्याउने बनको बाँको भएछु म ।

सबको निंती छेलोखेलो खुशी ल्याएं भन्ठानेथें ,
बाँड्दै जाँदा पो पत्तो पाएँ एकै फाँको भएछु म ।

दिन नसकेको खुशी अरुको ओठ्मा खोजीहेर्दा ,
नभेटेर मुस्कान आफुचाँही डाँको भएछु म ।

लाग्थ्यो फुर्ती बेग्लै हुन्छ प्रवासबाट फर्कँदाको ,
छिमेकीका सामु तर झरेको झाँको भएछु म ।

चिरिएका ति घाउहरु धागो भई तुनुँ लाग्थ्यो ,
पुरिँदैको त्यै घाउमा फुस्केको टाँको भएछु म ।

5 comments:

Dilip Acharya said...

सबैको वास्तविक यथार्थसंग करिव करिव मिल्न खोज्ने, मनाव सवंवेदनाको जटिलताको सरल प्रस्तुतिकरण ।

उज्यालो साथै लिएर गएछ भनेछन , निष्ठुरीले
हामे'र्का भागमा निष्पट्ट कालो यो रात फालेर गयो ।
-------------------------------
सबको निंती छेलोखेलो खुशी ल्याएं भन्ठानेथें ,
बाँड्दै जाँदा पो पत्तो पाएँ एकै फाँको भएछु म ।

Anonymous said...

i like so much . Very nice !

Prabesh said...

कडा गजल लाग्यो दोश्रो चाहिँ मलाई !!

Anonymous said...

Me too, I liked second one the most.
लाग्थ्यो फुर्ती बेग्लै हुन्छ प्रवासबाट फर्कँदाको ,
छिमेकीका सामु तर झरेको झाँको भएछु म ।
However, the first Gazal too is quite nice.
उज्यालो साथै लिएर गएछ भनेछन , निष्ठुरीले
हामे'र्का भागमा निष्पट्ट कालो यो रात फालेर गयो ।

Aakar said...

मलाई पढ्न धेरै रमाइलो भो',
कुनैदिन मैले वाचन गरेको अडियो सुनाउँला है !