Thursday, September 18, 2008

चार सौ विस उत्सव : भुमिका

कुरा बिग्रिँदाको हो ।

( यसरी स्पस्ट हुन्न क्यार )

भन्न खोजेको कुरा बिग्रिँदाको हैन ।

यहाँ पनि मैले 'कुरा' लाई जोड दिएर भनेझैं पार्न खोजेको हुँ । त्यसो त 'कुरा'लाई म मोटो अक्षरमा लेख्न पनि सक्थें तर त्यसले स्पस्ट पार्छ नै भन्ने ग्यारेण्टी होला जस्तो लागेन त्यसैले यसरी कुराले नै माथीको कुरालाई स्पस्ट पारुँ लाग्यो । यसो गर्दाको यौटा फाईदा कुरा एकातिर भएपनि कुरा अर्कोतिर लगेर कुरा एकातिर हुँदा कुरा अर्कोतिर गएर अस्पस्ट हुनेकुरालाई स्पस्ट पार्नेकुरामा अक्सर मलाई उलझन हुनेकुरा लेख्न सक्छु भन्ने हो । भन्न खोजेको कतिपटक कुनैकुरा लेख्दा मलाई बोल्दा प्रस्ट बुझाउन सकिने ( स्वरलाई जोड दिएर अथवा स्वरमै भाव देखाएर ) कुरा लेख्दा कति गरे स्पस्ट पार्न नसकेको झैं लाग्छ । जस्तै माथी 'कुरा बिग्रिँदाको हो' पनि त्यतिकै हेर्दा स्पस्ट छ जस्तो लाग्दैन मलाई र कतिपटक कुनैकुरा बोल्दा लेखेझैं स्पस्ट पार्न नसकेको झैं लाग्छ । कतिपल्ट त एक पटक बोलिसकेपछि बोल्दा कमा , ब्राकेट ईत्यादी पनि बोल्न किन नसकिएको होला जस्तै लाग्छ ।

त्यस्तै कुरा चल्दा अर्को कुरा पनि थपुँ जस्तो लाग्यो । कतिपटक शब्द पागल पनि हुनेगर्छु म । अंग्रेजीमा यसलाई word psycho भनुँ क्यार - आजभोली कतिपय हामीलाई नेपाली ( आफ्नो भाषा ) को अर्थ अँग्रेजी ( अर्काको भाषा ) मा बुझाउनु पर्ने हुन्छ । यसको यौटा उदाहरण पनि यहाँ पेश गरुँ । पछिल्लो पटक मैले लेखेको गजललाई गजल ग्रुप ( हाम्रो यौटा गजल ग्रुप छ मबि सिँ ले शुरु गर्नुभएको ) मा पेश गरेको थिएँ । त्यो गजल मैले यता ब्लगमा राखेको छैन । कति गजल राख्ने ? झर्को पनि लाग्दो होला मेरो ब्लगमा पस्नेलाई भनेर । यहाँ त्यसको पहिलो शेर , मतला सुनाउँ र नेपालीको अर्थ अँग्रेजीमा बुझाउनु पर्ने उदाहरण पनि देखाउँ है त । दीपक खड्काजी ले त्यो कष्ट उठाउनु भएको छ ।

हिंड्दा घरबाट भनेथे कसैले भात फालेर गयो ।
कसैले भनेथे लोसे थ्यो' साह्रै , क्या बात ! फालेर गयो ।


अहा ! यस्तो मौलिक र उक्तिवैचित्र्यसम्पन्न शेरमा पनि के modest बनेको नि ! घाघडान शेर !
अनि सबैलाई बुझ्न कठीनाई नहोस् भनेर यो शब्दार्थ पनि,
लोसे (a laggard, sluggish)
क्याबात (bravo)
Deepak Khadka

अँ म शब्द पागल भएको कुरा गर्दैथिएँ । त्यो कसरी भने कुनैकुनै बेला मलाई लेख्न लागेको शब्द शब्द नै हैन , यो शब्द त अस्तित्व मै छैन क्यार म त जे पायो तेहि सम्झँदैछु जस्तो हुन्छ । पछिल्लोपटक मलाई 'बाँको' शब्द संग त्यस्तो भयो । लेख्दै जाँदा 'बाँको' लेखें तर लेखिसक्ने बित्तिकै यो 'बाँको' शब्द हो र गाँठे , म जे पयो तेहि लेख्दै त छैन जस्तो भयो । एक्लै थिएं , सोध्नलाई कोहि छैन , के गरुँ गरुँ ? 'बाँको' शब्द अस्तित्वमा छ कि छैन भन्ने कुरामा नि यकिन हुन सकिनँ । शब्दकोश छैन आफुसंग । अनलाईनमा समकालिन नेपाली शब्दकोशमा खोजिहेरेँ त्याँहा छैन रे संपादक मंडलमा पठाईयो भन्ने संदेश पाएँ । झन छैन क्यार यो शब्द भन्ने लाग्यो । आँखिर आमालाई फोन गरेर सोधेँ , ' आमा बाँको भनेको के हो ? '

' किन के गर्न आँटिस् बाँको को ? के छ कसो छ सोध्नु त हैन २ महिनामा एकपल्ट फोन गर्छस् त्यै पनि बाँको पो सोध्छस् ? ' आमाको जवाफ ।

भयो अब ? आफुलाई कत्रो चिन्ता छ शब्द पागल भएर । तै पनि आमालाई सम्झाएँ , ' तपाईंलाई विर्सेर हो त फोन नगरेको ? फोन गर्नै विर्षिन्छु त के गर्नु ? नरिसाउनु न , तपाईंलाई जति आई लभ यु अरु कस्लाई छ र ? ' सम्झाईबुझाई गरेपछि आमाले बाँको भनेको जंगली तरुल जस्तै हो , खाँदा कोक्याउँछ , मरिन्छ पनि भन्छन भनिदिनु भयो र शान्त भएँ । कम से कम बाँको भन्ने हो त रहेछ । मैले बाँको कोक्याउँने प्रसंगमै लेख्न खोज्दैथिएं , लेख्दैछु भनुँ न त्यसैले बाँकोको बारेमा थाहा हुनेले बताईदिनुभयो भने अझै ढुक्क हुन्छु है । हुनत जगजित सिँह ले ' मुझको यकिँ है सच केहेती थि जो भि अँमि केहेती थि ' भनेर गाए झैं पढालिखा नभए पनि आमाले मलाई ठुलो सहयोग गर्नुहुन्छ यस्तो कुरामा ।

अब बिग्रिँदाको कुरामा फर्कौं । मैले बिग्रिँदाको भनेर कुरा बिग्रिँदाको हैन म बिग्रिँदाको कुरा गर्न खोजेको । यो बिग्रिँदाको कुरा भने नि कुरा बिग्रिँदाको भने नि उस्तै हो जस्तो लाग्छ एकैछिन र एकैछिनमा त्याँहा फरक छ जस्तो पनि लाग्छ । जे होस तपाईंलाई सुनाउँदै गरेको कुरालाई चार सौ विस उत्सव शिर्षक दिएको छु र अहिले चैं त्यसको भुमिकामा मात्र छु । हामी ४२० लाई कसरी बुझ्छौं त्यो त मैले भनिरहनु नपर्ला र पनि भनुँ है । कोही मननपरेको मान्छे अलि बाठो भयो भने ए त्यो त कम्ति को छ ? चार सौ विस छ भनिदिन्छौ । चरित्रले बदनामी भएकालाई चार सौ विस भन्ने चलन छ हाम्रोमा तर यता भने चार सौ विसलाई एक प्रकारको उत्सव मानिंदो रहेछ । खास गरेर यहाँका युवाहरु माझ त्यसो त बुढाखाडा पनि के छाड्थे यस्तो उत्सव मनाउन । ' के निहुँ पाउँ कनिका बुक्याउँ' भनेझैं हुँदोरहेछ यो चार सौ विस यहाँका मान्छेलाई । अमेरिकामा ४२० थाहा पाउनेले अनुमान लाईसक्नुभयो होला ए यो बदमाशले बदमाशी गरेर यहाँ के के गरेँ भनेझैं फुर्ती देखाउँदै रहेछ भनेर थाहा नहुनेलाई भनिहालुँ न । यो चार सौ विसलाई यहाँकाहरु फोर ट्वाण्टी भन्छन । अप्रिल महिनाको २० तारिख का दिन । संयोगले गएको अप्रिल २० तारिख मेरो छुट्टि थियो । अनियमित हुने साप्ताहिक बिदा अप्रिल विसकै दिन परेको हुनाले त्यो दिनलाई म बिग्रिएको थिएँ , त्यसो त म सप्रिएकै कहाँ छु र ? बिग्रिएकै माथी थप एकदिन बिग्रिएको यौटा कथा छ म संग चार सौ विस उत्सव र त्यो कथा तपाईंलाई म अहिले सुनाउँदिन। धाराबाहिक बनाउन खोजेको पनि हैन , अलिकति अहिले नै सबै लेख्ने मूड नभएर हो भने अलिकति सबै एकै ठाउँमा लेख्दा पोष्ट लामो हुने भएर हो । जे होस चार सौ विस मा म चार सौं विस भएको कुरा सुनाउन चैं पक्कै सुनाउंछु ।

4 comments:

Dilip Acharya said...

निक्कै रमाईलो शैलिमा सुरु भएको छ तपाईको यो टाँसो।

तपाईको नेपाली शब्द भण्डार निक्कै ठूलो हुंदा हुदैं पनि कहिले काहि आमालाई फोन गर्नु पर्ने हुंदो रहेछ।
मलाई पनि कहिले काहि कुनै कुरा लेख्दा ठ्याक्कै मिल्ने शब्द नसंझीएर हैरानी भएको अनूभव छ ।

साथै यौटा जानकारी पनि:
नेपाली एकदमै ठेट शब्द त होईन तर कहिले काही (भाषामा केहि समानता भएकाले)हिन्दि भाषाको शब्दकोषले पनि काम दिन सक्छ। तपाईलाई अनलाईन हिन्दि शब्दकोषले कहिले काहि मद्दत गर्ला जस्तो लाग्छ भने त्यो यहाँ छ ।

चार सौ विस उत्सव को बाँकि भाग पढने प्रतिक्षामा

sarmi said...

420 ko katha hami pani sunau na ?

कैलाश said...

oho Introduction nai yeti lamo. main kura chahi katro hune ho kunni? j vaye ni padne huthuti 6 hai.

Unknown said...

दिलीप जी निश्चय नै ठुलो मदत गर्छ मलाई हिँदी भाषाकै त्यो शब्दकोशले निक्कै समानता जो छ आँखिर र यो चार सौ विस उत्सब लेख्ने क्रममै छु , यौटा कुरा लेख्दा लेख्दै अरु धेरै कुरा उठ्ने हुँदा धेरै लेख्दै गरेका कुरा लामो समय सम्म अधुरै छाडिन्छन् मेरो चैं तर त्यो कथा छिट्टै सुनाउछु शर्मीलाई पनि है शर्मी ।

साँच्चै यो लामो भा हो र कैलाश जी ? म त मेन कुरालाई छोट्याउंने तिर पो लागेँ है - आजभोली लामो लामो लेखेर अरुलाई पढ्नै बोर पार्नु पनि अपराध नै हुन्छ कैलेकाँही त तर के गर्ने कुनैकुनै कुरा चुट्किला झैं खतम गर्न नि सकिंदैन ।