Monday, March 31, 2008

गीत : आधी आधी

भाग लायौ किन तिमिले माया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।

भित्रभित्रै दुख्दा मुटु घाउ चर्किएर
परपरै किन गयौ तिमी तर्किएर
भेटियो कि प्रेम दाँयावाँया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।

च्यातिदिएं केहि सपना तिम्रो साथ दिन
आफ्नाहरु छाडीदिएं तिम्लाई हात दिन
रेटियो कि पाएं आफ्नै काया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।

Friday, March 28, 2008

कविता : रंगभित्रको रंगमा म

एक तमास त्यही गल्लीबिच
खाली पैताला र नांगो आङ्ग लिई
रंगिएर भोलीको स्वपनिल रंगहरुमा
लखर लखर हिंडीरहेथें म
यस्तो उजाड
यति फिक्का
यति निरस
यस्तो बेस्वाद
कहाँ थियो र मेरो भोलीको रंग
गल्लीमा थुप्रिएको फोहोर थिएन
व्यवस्थित सहर
फराकिलो सडक
प्रयाप्त हरियाली
मेरो भोली नांगो आङ्गहरुको
र खाली पैतालाहरुको स्वर्ग थियो
संगै कोही ठाँटीएर सफा पहिरनमा
रंगदेखि भाग्दैथिए
कोही तिन्को पहिरनमा रंग छ्याप्दैथिए
कोही भाग्ने
कोही लखेट्ने
हुलहरु माझ
म आफ्नै रंगहरुमा
भोली भेट्न हिंड्दैथिएं
छ्याप्नेहरुको रंगले भिजेको
मलाई देखेर एकहुल मान्छेहरु हाँसे
निलो रातो हरियो पंहेलो
मेरो अनुहारमा
रंगभित्रको भोलीको रंग
तिनले देखेनन सायद
तिनिहरु एकतमास हाँसीरहे
त्यो होलीको दिन थियो ।

Saturday, March 22, 2008

संविधान सभा निर्वाचन : मेरो क्षेत्र र मेरो मत

संविधान सभा निर्वाचनले देश बाहिर रहने सम्पुर्ण नेपालीहरुको ध्यान तानिरहेको बेला म मात्रै अछुतो कसरी रहन सक्छु र ? संविधान सभा निर्वाचन सम्बन्धि समाचारहरु हेर्ने माध्ययम अरु सबैलाई झैं मलाई पनि उमेश जी को माई संसार डट कम नै हो । हरेक पटक कम्प्युटर खोलेर सबै भन्दा पहिले माई संसार मै पसिन्छ ; कुनै धार्मिक अनुष्ठान गर्दा श्री गणेशाय नम भने झैं । माई संसारमा विचरण गरिसके पछि मात्रै नेपालको नम्बर एक भनिएको कान्तिपुरमा पसिन्छ । नेपालको राजनीतिक मुद्धाहरुमा हामी नेपाल बहिर रहनेहरुले यसो र उसो भनेर टिका टिप्पणी गर्दा विदेशमा बसेर ठुला कुरा गर्ने भन्नेहरुको पनि लामै लर्को छ भनेर उमेश जी कै माई संसारमा कमेण्ट लेख्दा थाहा लाग्छ त्यसैले आजभोली त्यहाँ कमेण्ट लेख्दा मैले आफ्नो नाम लेख्न छाडेको छु त्यो कसै संग डराएर हैन बरु अनावश्यक विवादमा नमुछिनको लागी ।

देशभरकै निर्वाचन क्षेत्रहरुमा कहाँबाट कस्ता ब्याक्तीहरु चुनाव लड्दैछन भन्ने जिज्ञासा भए पनि म यहाँ संविधान सभा निर्वाचनमा मेरो क्षेत्रको बारेमा लेख्न गै रहेको छु । पहिलेको निर्वाचनहरुमा झापाको क्षेत्र नं ६ रहेको मेरो क्षेत्र यसपाली पनि क्षेत्र नं ६ नै रहेको छ । पहिले ६ वटा मात्रै निर्वाचन क्षेत्र रहेको झापालाई यसपाली ५ र ६ का केहि भाग मिलाएर ७ वटा निर्वाचन क्षेत्र बनाईएको छ । विगतका संसदिय चुनावमा एमालेबाट खड्ग ओलीले जित्ने गरेको ६ नं क्षेत्रमा यसपाली एमालेका ओली रहेनछन । ओली क्षेत्र नं ७ तिर लागेको मलाई ज्यादै खुशी लगेको छ । हुनत यसपालीको निर्वाचनमा म भाग लिन सक्दिन तर पनि मैले मतदान गर्न पाउने भए ओलीलाई मत दिने थिईंन । नेपालमा रहेका ठुला भनिने नेताहरुमा मलाई मन नपर्ने नेता ओली एक जना हुन । ओली मलाई कति कारणले मन पर्दैन भन्ने तिर चाँही अहिले नजाउँ किनभने ओलीको राजनीतिक छबि बारे टिप्पणी गरिरहनु नपर्ला ।

यसपाली झापा क्षेत्र नं ६ मा एमालेले दीपक कार्कीलाई उठाएको रहेछ । दीपक कार्कीको लोकप्रियतामा शंका गर्ने ठाउँ छैन । उनले जित्ने संभावना प्रवल छ । उनि गौरादह गाविसका दुबै कार्यकालका अध्यक्ष पनि हुन । नेपाली काँग्रेसले आदीवासी समुदायका सुर्यनारायण सिँ राजवंशीलाई उठाएको रहेछ । सुर्यनारायण सिँ राजवंशी कस्ता ब्याक्तित्वका नेता हुन त्यो मलाई थाहा छैन । तराई मधेश लोकतान्त्रिक पार्टीले बिजय अग्रवाललाई उठाएको रहेछ भने माओवादीले पनि आदिवासी समुदायकै महिला सुलोचना राजवँशीलाई उठाएको रहेछ । क्षेत्र नं ६ को राजनीतिक बजारमा दीपक कार्की र बिजय अग्रवाल बिच घमासान प्रतिस्पर्धा हुने चर्चा छ । अग्रवाल पनि कार्की झैं महाभरा गाविसका दुबै कार्यकालका अध्यक्ष हुन ।

यसपाली चर्चामा रहेका उल्लेखित चार उम्मेदवारहरु मध्ये मेरो नजरमा लोकप्रिय एमालेका दीपक कार्की हुन तथापी यसपाली मैले मतदान गर्न पाउने भए म नेकपा माओवादिकि सुलोचना राजवंशीलाई मत खसाल्ने थिएं त्यो किनभने एमालेमा जस्तै असल नेताहरु गएपनि केन्द्रमा रहने ओली जस्ता नेताहरुको कारण एमाले हिजो जस्तो थियो आज त्यस्तै छ र भोली पनि उस्तै नै रहने छ । देश गणतन्त्रमा जानु पर्छ र गणतन्त्र राप्रपा र काँग्रेसले खोजे झैं हुन गयो भने त्यो बि पी को सपना झैं तुहिएर जाने छ । मैले माओवादी प्रति त्यत्रो धेरै विश्वास भएर माओवादी उम्मेदवारलाई मत खसाल्ने भनेको हैन । म देशको शासन व्यावस्थामा परिवर्तन होस भन्ने चाहन्छु जुन परिवर्तनले समाज परिवर्तन होस , देश परिवर्तन होस र परिवर्तनको मिठो स्वाद सम्पुर्ण नेपालीहरुको लिन पाउन ।

Friday, March 21, 2008

होलीको शुभकामना ।

फागुन हेर सखी संगी खेल्छन मिली होली
पिचकारीमा बसन्तको रंग घोली घोली
नाच्दै गाउंदै वर्षाउंदै प्रेम रंग लोला
उमंग भर्यो फागुनले सबै मनको झोला


' आज होली हो नि ? ' एकाबिहानै लोकनाथ दाईले भन्नु भो ।
' ए हो र ! खेल्ने हो त होली ? ' मैले सोधें ।
' कहाँ खेल्नु , नखेल्ने ।' दाईले जवाफ दिनुभयो । दाईले ल खेल्ने हो भन्नु भए पनि कसरी खेल्नु र ? न होली खेल्ने रंग छ न समय नै । हवाईको माउई टापुमा नेपाली भनेकै जम्मा हामी ३ जना थियौ अहिले अर्को एकजना दाईको श्रीमती र छोरा आएर ५ जना भएका छौं सबै आ आफ्नै काममा मस्त । होलीका समाचारहरु हेरेर अनि दाईले बिहानै होली हो नि भनेर होला पहिले पहिले होली खेलका दिनहरु याद आयो । हामी होलीलाई फागु खेल्ने भन्थ्यौं । सानोमा हामी किम्बु भन्ने एकप्रकारको रुखको पाकेको फल निचरेर होली खेल्ने रंग बनाउंथ्यौं । ठुलो भएपछि होलीमा भाँङ्गको लड्डु खाएर मात्थ्यौं । नेपालमा छँदा होली रमाईलै हुन्थ्यो । अब त ति रमाईला पलहरु केवल सम्झनामै मात्रै सिमित भएछन । हुनपनि ६ वर्ष भै सकेछ होली नखेलेको । होलीको बेला फेरी कुनै साल नेपालमा भईएछ भने खेल्नु पर्ला ।


अहिले होली खेल्न नपाए पनि तपाईंलाई होलीको शुभकामना है । (माथीका दुबै तस्विरहरु वेभदुनिया डट कमबाट लिएको हुँ ।)

Saturday, March 01, 2008

गजल : जल्नु कति

आफ्नै मनको तापमा जल्नु कति
यो जलनको रापमा बल्नु कति
झोसिरहयौ आगो त्यो संधै संधै
सल्किएर जिन्दगी यो चल्नु कति
छेउ लागी रोईरहें घाउ छोई
ओखति झन घाउमा दल्नु कति
शिर तिनको संधै नै उंचो देख्छु
आफु भने भुँईमा नै ढल्नु कति
झरिराछु मक्किएर हेर म त
अझै धेरै यो भन्दा नि गल्नु कति
श्राप यो हाँसेर वरदान ठानि
आफुलाई यहाँ भन्दा छल्नु कति ।

Wednesday, February 13, 2008

गीत : आँखामा नेपाल

हृदयमा छ चन्द्र सुर्य नेपाल आँखामा
नेपालकै गीत गाउँछु लैबरी भाखामा ।

झुल्छु म त धान खेतमा फूल्छु सुनाखरीमा
डुल्छु म त फाँटैभरी बनमाराको घारीमा
भञ्ज्याङ अनि देउरालीमा सुस्केरा म फेर्छु
टाकुरामा पुगी मेरै प्यारो नेपाल हेर्छु ।

सारंगीमा मनका सबै पिर रेटीदिन्छु
मादलु र डम्फू बजाई थकाई मेटीदिन्छु
मुरलीमा नेपालको नयाँ धून बजाउंछु
जानेजति कला झिकी नेपाल सजाउंछु ।

मेचि काली एउटै घर हुन्न कोही पराई
भिजाउंछु नदी भई हिमाल पहाड तराई
अक्षर तिन लेख्नुपरे मेरै नेपाल लेख्छु म
सपनीमा देख्नु परे मेरै नेपाल देख्छु म ।

Sunday, February 10, 2008

कविता : फागुन

फागुन आयो प्रकृतिमा रंग नौलो छरी
रुख विरुवा सजाउंदै मुना थरी थरी
घामको झुल्को न्यानो पर्दा चिर्बिराए चरी
भँवरा चुस्छ वसन्तको रस भुँन् भुँन् गरी
ओठ खोल्यो वसन्तले कोपिला फुटे कति
पोल्टाभरी वसन्तको खुशी कति कति
आईन कोईली बगैंचामा फर्किएर फेरी
गाईन कूहू - कूहू मिठो हरियाली हेरी
बहर दाए ठुल्दाजैले धुलो पार्दै बारी
भाउजैले डोकोभरी ल्याईन मलको भारी
दाजै भाउजै पौरखी ति हात चलाउंछन
फागुनमा मकै रोपी जीवन फलाउंछन
साँवा अक्षर चिन्छ भुण्टे फुटाई तोते बोली
असल मान्छे हुन्छु भन्दै ठुलो भई भोली
फुरुङ्ग छे भुण्टी उता छेडी नाक कान
छिचोलेर कखहरा थाली स्कुल जान
बनि भक्त ह्रदयले मागे बरदान
देलिन देवि उसलाई अथाह बुद्धि ज्ञान
पूजी माता सरस्वती दिन दिन ध्यान
विद्यादात्रि खुशी हुन्छिन लगनले जान
फागुन हेर सखी संगी खेल्छन मिली होली
पिचकारीमा बसन्तको रंग घोली घोली
नाच्दै गाउंदै वर्षाउंदै प्रेम रंग लोला
उमंग भर्यो फागुनले सबै मनको झोला
प्रेमाङ्कुर टुसाउने फागुनले मन
फागुनले हर्ष उल्लास ल्यायो रनबन ।

मलाई वर्षभरीमा सबभन्दा रमाईलो लाग्ने दिन सरस्वती पूजाको दिन हो । गतवर्ष यसै दिनमा मैले यौटा लामो ब्लग लेखेको थिएं पुराना कुराहरुको सम्झनामा । यो वर्ष भने मैले फागुन शिर्षकमा यौटा कविता लेखेको छु । यतिबेला नेपालको गाउँघर सहर बजार सबैतिर अशान्ती र त्रास छ । देशभरीका स्कुल कलेजहरु बन्दप्राय: छन । त्याँहा सरस्वती पूजा मनाउने वातावरण पनि सायदै छैन । मैले भने आजको दिनलाई त्यो त्रासदी भुलेर यो कविता लेखेको हुँ र आसा गर्दछु सरस्वती माताले सबैलाई ज्ञान दिउन , बुद्धी दिउन र मेरो देशको अवस्था कुनै यौटा सुन्दर कविता झैं बनोस ।

Wednesday, February 06, 2008

कविता : नयाँ नेपालको सपना दुख्छु म

उभिएर किनारामा
प्रशान्त महासागरको
सोच्दैछु म यतिबेला
कति दुख्दो हो कठै !
छाती महासागरको
उस्तै उस्तै होला कि
मेरो छाती र
छाती महासागरको
ओर्लिएर सगरमाथाबाट
प्रशान्तको यो किनारामा
छातीभित्रको दुखाई बिसाउन
यहाँसम्म म आएझैं
महासागर पनि पुगेको होला
धर्तीको अनेक कुनामा
छाल बनेर दुखाई बिसाउन
के के मात्र दुख्दो हो कुन्नि
महासागरको छातीमा
अज्ञानी म बुझ्न सक्दिन
या स्वार्थी म बुझ्नै चाहन्न
मात्र आफ्नो छातीमा
सबैथोक दुखेको बुझ्दछु म
कैले सुन्दर विचारहरु माझ
आफ्नै विचार दुख्छु म
कैले अनेक मुहार माझ
आफ्नै अनुहार दुख्छु म
कतै बैसाखको आँधीले
उडाएको छानो दुख्छु म
कतै भदौको अनिकालले
रित्याएको मानो दुख्छु म
म भोक दुख्छु
म रोग दुख्छु
किन होला ?
जति दुख्नु पर्ने
यहि छातीमा
दुख्नुपर्ने ?
कैले आफ्नै थातथलोमा
मिचिएको साँध दुख्छु म
कैले देशै डुबुञ्जेल
बाँधिएको बाँध दुख्छु म
कैले बर्षौं पिछडिएको
समाजको जमाना दुख्छु म
कैले जंगे पिलर ढालिएको
राष्ट्रको सिमाना दुख्छु म
म देश दुख्छु
म परदेश दुख्छु
साँच्चै यो छाती माझ
दुख्नु नदुख्नु दुख्छु म
कतै बुद्धको दिब्य ज्ञान दुख्छु
कतै आफन्तको चिहान दुख्छु
महासागर पनि यति धेरै
खै के दुखेको होला र ?
यहि छाती भित्र
हरेक नेपालीको ओठमा सुनिने
शान्तीको जपना दुख्छु म
हरेक नेपालीको आँखामा बुनिने
नयाँ नेपालको सपना दुख्छु म ।

Tuesday, February 05, 2008

कविता : मेरो मृत्युको खबर

हे शखी !
बिदा दिनु मलाई
नरोई
एकै थोपा आँशु नझारी
म त मर्दैछु आजै राती
यो जीवन
गर्दैछु बिषर्जन
पञ्चतत्वमा
भोली
जव सुन्ने छौ खबर
मेरो मृत्युको
तिमी नआउनु
अरु भन्दा
धेरै बिव्हल बनेर
तर आउनु
कुदेर
अरु अरु झैं
रमितेको लाममा
मेरो लास हेर्न
थाहा नपाओस जगतले
हाम्रो सम्बन्ध
र नउठाओस औंला
यदाकदा तिमीलाई
छोटो जीवनमा मैले
प्रसस्तै अनुभुती बाँचेको छु
थोरै प्रेम
थोरै खुशी
थोरै रस पिएर
यो जुनीमा
धेरै तिरस्कार
धेरै दुख
धेरै निरसता
पिएको छु
भो अब
पिउनु छैन जीवनमा
प्रेमका बिसंगतीहरु
त्यसैले राख्दैछु म
मेरो प्राण
यहि कवितामा
भोली सुनेर
खबर मेरो मृत्युको
पल्टाउनु एकान्तमा
मेरो डायरीको पन्नाहरु
तर नझार्नु है
एकैथोपा आँशु
नमेट्नु
मेरो कविताका हरफहरु
बरु लेखिदिनु
अर्को यौटा सुन्दर कविता
मेरो डायरीको खाली पन्नामा ।