हे शखी !
बिदा दिनु मलाई
नरोई
एकै थोपा आँशु नझारी
म त मर्दैछु आजै राती
यो जीवन
गर्दैछु बिषर्जन
पञ्चतत्वमा
भोली
जव सुन्ने छौ खबर
मेरो मृत्युको
तिमी नआउनु
अरु भन्दा
धेरै बिव्हल बनेर
तर आउनु
कुदेर
अरु अरु झैं
रमितेको लाममा
मेरो लास हेर्न
थाहा नपाओस जगतले
हाम्रो सम्बन्ध
र नउठाओस औंला
यदाकदा तिमीलाई
छोटो जीवनमा मैले
प्रसस्तै अनुभुती बाँचेको छु
थोरै प्रेम
थोरै खुशी
थोरै रस पिएर
यो जुनीमा
धेरै तिरस्कार
धेरै दुख
धेरै निरसता
पिएको छु
भो अब
पिउनु छैन जीवनमा
प्रेमका बिसंगतीहरु
त्यसैले राख्दैछु म
मेरो प्राण
यहि कवितामा
भोली सुनेर
खबर मेरो मृत्युको
पल्टाउनु एकान्तमा
मेरो डायरीको पन्नाहरु
तर नझार्नु है
एकैथोपा आँशु
नमेट्नु
मेरो कविताका हरफहरु
बरु लेखिदिनु
अर्को यौटा सुन्दर कविता
मेरो डायरीको खाली पन्नामा ।
No comments:
Post a Comment